विकासन्युज

गौतमश्री सहकारीका अध्यक्षले भने : अहिले विदेशमा छु, फर्केर सबै पैसा तिर्छु

काठमाडौं । गौतमश्री सहकारीका अध्यक्ष रामबहादुर गाैतमले आफु नेपाल बाहिर भएकोले सम्पर्कमा आउन नसकेको बताएका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले आफु काम विशेषले नेपाल बाहिर गएकोको अवस्थामा आफ्नो विषयमा भ्रमपूर्ण समाचार सार्वजनिक भएकोले आफ्नाे गम्भीर ध्यानआकर्षण भएकाे बताएका हुन् । उनले विज्ञप्तिमार्फत् नेपाल फर्केर सबै बचतकर्ताकाे बचत तिर्ने पनि बताएका छन् । उनले विश्वमहामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण ऋण असुली नहुँदा बचत फिर्ता गर्न नसकेको पनि बताएका छन् । यस्तो छ उनको धारणा : काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं १४ कुलेश्वरमा रहेको र सहकारी विभागमा दर्ता कायम भई नियमित सञ्चालनमा रहेको गौतम श्री बहुउद्धेशीय सहकारी संस्था लिमिटेडका विषयमा विभिन्न सञ्चार माध्यममा आएका समाचारहरु र त्यसबाट पर्न गएको भ्रम तथा उत्पन्न परिस्थितिका बारेमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यसका कारण सहकारीका सम्पूर्ण शेयर सदस्य, बचतकर्ता महानुभावहरु र अन्य सरोकारवाला पक्षहरुमा पर्न गएको भ्रम र असुविधाको लागी म क्षमाप्रार्थी छु । यस विषयमा यथार्थ सार्वजनीक गर्न तथा थप स्पष्ट पार्नको लागि यो विज्ञप्ति जारी गरिएको छ । १. सर्वप्रथम म सहकारी संस्थाको अध्यक्ष राम बहादुर गौतम अन्य कम्पनीको काम विशेषले नेपाल वाहिर गएको र मेरो मोवाइल सम्पर्क नभएको अवस्थामा त्यसैलाई आधार बनाई म सहकारीको बचतकर्ताको रकम खाएर भागेको भन्ने समाचार सार्वजनीक गरिएकोमा म बचतकर्ताको रकम खाएर नभाग्ने र नभागेको स्पष्ट पार्न चाहन्छु । म नेपाल आएर सहकारीको समस्या समाधानमा लागि सकेको जानकारी गराउँदछु । २. सहकारी नियमित सञ्चालनमा रहेको अवस्थामा विश्वव्यापी कोभीड महामारीको कारणले नेपालमा करिब २ वर्ष जारी रहेको लकडाउनले पारेको समस्याका कारण सहकारीबाट प्रवाह गरेको कतिपय कर्जा समयमा असुली हुन नसकेको भएता पनि हामीले बचतकर्ताहरुको रकम नियमित रुपमा फिर्ता गरिरहेको र संस्था नियमित सञ्चालनमै रहेको थियो । तर अप्रत्याशीत रुपमा केही संचामाध्यममा सहकारी समस्यामा रहेको भन्ने भ्रमात्मक समाचार सार्वजनीक भएपछि बचतकर्ताहरुमा त्रास पैदा हुनु स्वभाविक नै हो । संस्थासँग सम्वन्धीत केही कुत्सीत मानसिकता भएका व्यक्तिले फैलाएको सो भ्रमपश्चात सहकारीमा बचतकर्ताहरुको भिड लगाउने र विभागमा तथा प्रहरी प्रशासनमा समेत उजुरी गरी मेरो व्यक्तिगत र पारिवारीक सदस्यहरुलाई भौतिक आक्रमण गर्ने, अपहरण गर्ने, कर्मचारीहरुलाई समेत आक्रमण गर्ने लगायतका धम्की आइरहेको सन्दर्भमा सुरक्षाको प्रत्याभुति हुने वित्तिकैकार्यालय नियमित सञ्चालन गर्ने र बचतकर्ताहरुको रकम नियमित रुपमा फिर्ता गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । ३. म सहकारी ऐन, नियमावली र नेपाल सरकारले लागु गरेको सम्पूर्ण मापदण्ड, नीति, विधि र विधानप्रति प्रतिवद्ध रहेको र आम वचतकर्ता महानुभावहरुको समस्याप्रति अत्यन्त गम्भीर छु । सहकारी सञ्चालकको रुपमा बचतकर्ता सदस्यहरुको रकम यथासिघ्र फिर्ता गर्ने वातावरण बनाउने मेरो प्रतिवद्धतामा सहयोग गर्न म सहकारीका आम शेयर सदस्य महानुभावहरु, बचतकर्ता महानुभावहरु, सञ्चारमाध्यम, प्रहरी प्रशासन र अन्य सरोकारवाला पक्षहरुलाई हार्दिक आग्रह पनि गर्दछु । ४. संस्थाबाट प्रवाह गरिएको सम्पूर्ण कर्जा असुली गर्न केही समय लाग्ने भएतापनि म आम बचतकर्ता महानुभावहरुलाई विनम्रताका साथ आग्रह गर्दछु की म तपाईहरुको बचत रकम कुनै पनि हालतमा डुब्न दिने छैन, म तपाईहरुको बचत रकम मेरो जायजेथा र सम्पत्ती बेचेरै भएपनि केही महिनाभित्रमा रकम फिर्ता गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । ५. म सहकारी संस्थामा देखिएको समस्या समाधान गर्न प्रतिवद्ध भएको अवस्थामा मेरो र संस्थाको सुरक्षाको प्रत्याभुति गराईदिनको लागि नेपाल सरकार, भुमि व्यवस्था तथा सहकारी मन्त्रालय, सहकारी विभाग र प्रहरी प्रशासनसमक्ष विनम्र अनुरोध गर्दछु । अन्त्यमा म सम्पूर्ण सञ्चारमाध्यहरुमा म र मेरो नेतृत्वमा रहेको गौतमश्री बहुद्धेशीय सहकारी संस्थाको विषयमा भ्रमात्मक र उत्तेजनात्मक समाचार प्रवाह नगरिदिनुहुन तथा सत्य तथ्य समाचार प्रवाह गरी संस्था नियमित रुपमा सञ्चालन हुने वातावरण निर्माणमा सकारात्मक सहयोग पुर्याइदिनुहुन विनम्रताका साथ अनुरोध गर्दछु । म नेपाल आइसकेको र आवश्यकता अनुसार बचतकर्ताहरुसँगको सम्पर्कमा रहेर समस्या समाधानमा लागिसकेकोले थप उत्तेजित वातावरण नबनाउन तथा सहज वातावरण निर्माणमा सहयोग पुर्याउन सम्वन्धीत सबैमा हार्दिक अपील पनि गर्दछु ।

मेगा क्यापिटलले ९ वटा शाखा विस्तार गर्ने

काठमाडौं । पछिल्लो समय मर्चेन्ट बैंकहरु आफ्नो व्यापार तथा सेवा विस्तार गर्नका लागि आक्रामक रुपमा लागेका छन् । मर्चेन्ट बैंकहरुले विभिन्न अफरको ब्यवस्था गरेका छन् भने अब शाखा विस्तार गरेर नै ग्राहकलाई सेवा दिने भएका हुन् । मेगा क्यापिटल मार्केट्सले पनि शाखा विस्तार गर्ने योजना अघि सारेको छ । क्यापिटलले ९ वटा शाखा विस्तार गरी सेवा संचालन गर्ने योजना गरेको हो । क्यापिटलले आफ्नो व्यापार विस्तार तथा सेवालाई सहज बनाउन ९ वटा शाखा काउण्टर संचालन गर्ने जानकारी दिएको छ । क्यापिटलले मेगा बैंकका ग्राहकको चाप बढी भएका शाखाहरुमा आफ्नो काउण्टर राखेर ग्राहकलाई मर्चेन्ट बैंकका सेवा उपलब्ध गराउने भएको हो । त्यस्तै, मेगा क्यापिटलमार्फत डिम्याट खाता खोल्नेको संख्या झण्डै २ लाख पुगेको क्यापिटलले बताएको छ । क्यापिटलले अर्काे म्युचुअल फण्ड ल्याउने तयारि अन्तिम चरणमा रहेको क्यापिटलले जनाएको छ ।

गौतमश्री सहकारी : २२ प्रतिशतसम्म ब्याज दिने आश्वासनले बचत तान्यो, घरजग्गामा लगानी !

काठमाडौं । काठमाडौंको कुलेश्वरमा रहेको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाले चर्को ब्याजदरको आशवासन देखाइ बचत गर्न लगाएको बुझिएको छ । सहकारी विभागका अनुसार बचतकर्ताकाे उजुरीकाे आधारमा सहकारीले बचतकर्तालाई २२ प्रतिशतसम्म पनि ब्याजकाे आश्वासन देखाएकाे थियाे । २५ हजारभन्दा बढी बचतकर्तालाई सहकारीमा पैसा बचत गर्न लगाइ ब्याजको आश्वासन देखाएर अन्तिममा बचत फिर्ता माग्दा फिर्ता नगरेपछि सहकारीको बचत फिर्ता पाउनु पर्ने माग राख्दै बचतकर्ताहरु अहिले सडकमा छन् । गत शुक्रबार मात्रै सो सहकारीका बचतकर्ता उजुरी लिएर सहकारी विभाग पुगेका थिए । बचतकर्ताले पैसा फिर्ता मागे लगत्तै सहकारीका अध्यक्ष रामबहादुर गौतम सम्पर्कविहिन बनेका छन् । उनीसँगै संस्थाका अन्य सञ्चालक, म्यानेजर सदस्यहरु सम्पर्कविहिन छन् । अहिले सदस्यहरु दिनहुँ कार्यालय परिसरमा गएर धर्ना दिइरहेका छन् । सहकारीका महाप्रबन्धक रवीन्द्र बिष्ट हुन् । उता सहकारी संस्थाहरुको नियामक सहकारी विभागले बचतकर्ताले बचत रकम फिर्ता दिलाउने प्रयास गरिहरेको बताइएको छ । विभागले बचतकर्ताको उजुरीको आधारमा विभिन्न कागजात अध्ययन गरेर बचतकर्ताको रकम फिर्ता गर्ने तयारीका साथ काम गरिरहेको बुझिएको छ । विभागका रजिस्ट्रार रुद्रप्रसाद पण्डितले बचतकर्ताको रकम फिर्ता गर्न र सहकारीलाई कारवाहीको प्रक्रिया अगाडि बढाइसकेको बताए । उनले त्यसका लागि प्रहरी प्रधान कार्यालयलाई सम्बन्धि व्यक्रिलाई उपस्थित गराउन पत्रचार गरेको र राष्ट्र बैंकमार्फत् बैंक तथा वित्तीय संस्थालाई सञ्चालकहरुको बैंक खाता रोक्का गर्नका लागि आग्रह गरिसकेको बताए । ‘एक हजारभन्दा बढी बचतकर्ताको उजुरी प्राप्त भएको छ, सो निवेदन अनुरुप उक्त संस्थाका सञ्चालक तथा व्यवस्थापकहरुको बैंक खाता रोक्का राख्न नेपाल राष्ट्र बैंक मार्फत् सबै बैंक तथा वित्तिय संस्थाहरुलाई अनुरोध गरी पठाएका छौं, सो सहकारीको विभिन्न स्थानमा रहेका सेवा केन्द्रहरु, डिपार्टमेन्टल स्टोर्स तथा गोदामहरुमा रहेका सम्पूर्ण चल, अचल सम्पत्ति यस विभागको अनुमति विना खोल्न, चलाउन र सरसामान बिक्री वितरण गर्न नपाउने गरी आवश्यक सुरक्षा प्रदान गर्न तथा शिलबन्दी लाहाछाप गरी सो को जानकारी सहकारी विभागमा पठाईदिन र संचालक एवं कर्मचारीहरुलाई बिभागमा उपस्थित गराइदिन पनि प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग नक्सालमा पत्र पठाएका छौं,’ उनले भने । यता नेपाल राष्ट्र बैंकले भने गौमश्री सहकारीका सञ्चालकहरुको खाता रोक्का गरेको छ । राष्ट्र बैंकका अनुसार सो सहकारीका अध्यक्षसहित १५ जनाको खाता रोक्का भएको हो । राष्ट्र बैंकका अनुसार सहकारीका अध्यक्ष रामबहादुर गौतम, उपाध्यक्ष गौतमकी श्रीमती निर्मला खत्री, सचिव राम गौतम, सदस्यहरू होमकुमारी खत्री, अर्जुन गौतम, शन्तोषी केसी, भगवती थापा र सुभास भुसालको खाता रोक्का भएको हो । यस्तै, सहकारीको लेखा समिति संयोजक सुनिता तिमिल्सिना, लेखा समिति सदस्यद्वय पंकजकुमार झा, र विकास चौधरी सहकारीको व्यवस्थापक रविन विष्ट, ऋण व्यवस्थापक अनिल गौतम र लेखापाल सुनिता सिंहको खाता रोक्का भएको बताइएको छ । सहकारीका अध्यक्षसहित सञ्चालहरु सम्पर्कविहीन भएकोले संस्था बन्द हुने र संस्थाको सम्पत्तिको सुरक्षा पाउँ भन्दै सहकारीका व्यवस्थापक रविन विष्टले प्रहरी प्रधान कार्यालयसमक्ष निवेदन पनि दिएका छन् । उनले १३ असारमै यस्तो निवेदन दिएको फेला परेको छ । उनका अनुसार बचतकर्ताले २२ प्रतिशतसम्म ब्याज दिने भनेपछि बचतकर्ताले सो सहकारीमा धमाधम बचत राखेका थिए । सहकारीहरुले ऋण लगानीमा १६ प्रतिशतभन्दा बढी ब्याज लिन पाइँदैन । बचत र ऋणबीच ब्याजदर अन्तर ६ प्रतिशत कायम गर्नुपर्ने कानुनी व्यवस्था छ । गौगमश्रीको अध्यक्ष नै सम्पर्कविहिन भएपछि सहकारी रहेको भवनमा एभरेस्ट बैंकले शिल गरेको सूचना टाँसेको छ । संस्थाका अध्यक्ष गौतमको अन्य व्यवसायमा बैंकले लगानी गरेको र सोही भवनमा पनि बैंकले लगानी गरेको व्यवसायको गोदाम तथा कार्यालय रहेका कारण भवन सिल गरेको एभरेष्ट बैंकले जनाएको छ । को हुन् रामबहादुर गौतम ? काभ्रेको सामान्य परिवारमा जन्मेका रामबहादुर गौतम काठमाडौंमा आएर सामान्य व्यपार सुरु गरेका थिए । सुरुमा उनले सानो सटर राखेर ओभरसिज ब्यापार गर्थे । पछि विस्तारै चीनबाट सामान ल्याएर ब्यापार गर्दै गए । उनले कृषि सामग्री बढाउँदै लगे । ब्यापार बढेपछि उनले गौतम समूहका नाममा सहकारी, मार्ट र गाई फार्म पनि सञ्चालन गरे । सहकारीमा बचतकर्ताको रकम बढेपछि उनको सहकारीको कारोबार बैंक सरह नै हुने गरेको जानकार।हरु बताउँछन् । बचतकर्ताको रकमलाई नै उनले घरजग्गामा लगानी गरेको हुन सक्ने अनुमान विभागले पनि गरेका छ । तर, अहिलेसम्म खुल्न सकेको छैन । गौमश्री सहकारीमा एक बचतकर्ताले न्यूनतम एक लाखदेखि ३५ करोड रुपैयाँसम्म बचत गरेको बुझिएको छ । पछिल्लो समय एकपछि अर्को गर्दै सहकारीहरु समस्यामा पर्न थालेका छन् ।

७ पटकसम्म अवधि थप्दा पनि नबनेपछि बालाजु–त्रिशूली सडकको ठेक्का तोडियो

काठमाडौं । काठमाडौं उपत्यकाको फोहर ढुवानी गर्ने मुख्य सडकका रुपमा रहेको बालाजु–त्रिशूली सडक निर्माण सुरु भएको आठ वर्षमा निर्माण अलपत्र बनेको छ । पटक–पटक अवधि थप्दासमेत सम्पन्न नभएपछि अहिले सडक विभागले ठेक्का तोडेको छ । सडक अवस्था खराब हुँदा एम्बुलेन्सलगायत अरु अत्यावश्यक सेवा प्रवाहमासमेत कठीनाइ भइरहेको स्थानीयवासी र जनप्रतिनिधिले गुनासो गर्दै आएका छन् । दुई ठेक्कामा निर्माण अघि बढाइएकोमा एउटा ठेक्कामा ठेक्का तोडइसकिएको र अर्काेमा ठेक्का तोड्दा निर्माण व्यवसायी अदालती प्रक्रियामा गएकाले निर्माण अवरुद्ध बनेको हो । बालाजु–रानीपौवा सडक खण्ड निर्माणको जिम्मेवारी सन् २०१४ जुन ५ मा सैलुङ (नेपाली कम्पनी) र एआईपीएल (भारतीय कम्पनी) लाई दिइएकोमा गत असार ५ गते तोडिएको थियो । कूल १७ दशमलव एक किलोमिटर लम्बाइको सो सडक निर्माणका लागि सात पटकसम्म अवधि थप गरिएको थियो । पछिल्लो पटक चैतमा अवधि सकिएको सडक विभागका महानिर्देशक अर्जुनजङग थापाले बताए । सो ठेक्कामा भौतिक प्रगति ५४ प्रतिशत र वित्तीय प्रगति ४९ दशमलव ३२ प्रतिशत रहेको थियो । सडकको अवधि थप गरिरहँदा त्यो अवधिभित्रै सम्पन्न गर्न पटक–पटक निर्माण कम्पनीलाई सचेत गरिएको विभागका महानिर्देशक थापाले बताए । उनका अनुसार सडकको नियमित मर्मत सम्भारमा ध्यान नदिएकाले वर्षाको समयमा यातायात सञ्चालनमा कठीनाइ भएर स्थानीयवासीले सास्ती भोगेका थिए । आठ वर्ष बितिसक्दा निर्माणस्थलमा कुनै पनि सामग्री नरहेको, कामदार नभएको र निर्माणको गतिविधि ठप्प रहेको पाइएको थियो । उनले भने, ‘यसअघि निर्माण भइसकेका संरचना र अरु काम पनि स्वीकार गर्न नसकिने अवस्थामा पाइएको थियो ।’ निर्माणका क्रममा समस्या देखिएपछि परामर्शदाताले पटक–पटक लिखित रुपमा पत्राचार गरेर त्रुटि सच्याउन भनिएको भए पनि बेवास्ता भएको महानिर्देशक थापाले बताए । दातृ निकाय, योजना कार्यालयसँगको बैठकमा पटक–पटक अवधिभित्रै सकाउछु भने पनि निर्माण व्यवस्थापनमा कति पनि चासो नदेखाएको उनले बताए । सो ठेक्का तोडेसँगै योजना कार्यालयले सार्वजनिक खरिद ऐन, २०६४ र सम्झौताका आधारमा निर्माण कम्पनीलाई कालो सूचीमा राख्नका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरिएको छ । निर्माण कम्पनीको नाममा रहेको एक करोड ५५ लाख २४ हजार जमानत जफत गरी सडक विभागको खातामा जम्मा गरिएको छ । जिल्ला अदालत पाटनबाट गत असार ८ मा जारी भएको ठेक्का अन्त्य निर्णयसम्बन्धीको अन्तिम आदेश जारी भएको छ । चौतिस दशमलव ०९ किमी लम्बाइको रानीपवौवा–त्रिशूली सडकमा ठेक्का तोडिसक्दासम्म सो ठेक्कामा भौतिक प्रगति ४६ प्रतिशत र वित्तीय प्रगति ४१ दशमलव १३ प्रतिशत रहेको थियो । सो सडकको निर्माणको जिम्मेवारी भारतीय कम्पनी डिआरएआइपीएल, नागार्जुन, कोसी एण्ड न्यौपाने जेभीलाई दिइएको थियो । सन् २०१५ मा तीन वर्षमा सम्पन्न गर्ने गरी ठेक्का भएको भए पनि पटक–पटक थप हुँदासमेत आधा काम पनि सकिएको थिएन । अवधि सकिँदासम्म भौतिक प्रगति ४६ प्रतिशत र वित्तीय प्रगति ४१ दशमलव १३ प्रतिशत रहेको थियो । निर्माण व्यवसायीले सुरुदेखि नै लक्ष्यअनुसारको काम गर्न नसकेर परामर्शदाता कम्पनीबाट समय समयमा लिखित तथा मौखिक रुपमा सचेत गराएको विभागका महानिर्देशक थापाले बताउनुभयो । सुरुका दिनमा नेपाली कम्पनीले मुख्य व्यवस्थापनको काम भइरहेकामा सन् २०१८ सेप्टेम्बरबाट भारतीय कम्पनीबाट भएको थियो । दुबैले व्यवस्थापन गर्दा निर्माणमा प्रगति नभएको उनले बताए । सार्वजनिक खरिद नियमावली, २०६४ को नवौँ संशोधनअनुसार एक वर्ष अवधि थपेर सन् २०२० को डिसेम्बरसम्म अवधि रहेको थियो । बन्दाबन्दीको समयमा पास उपलब्ध गराइएको भए पनि काम नगरेको उनले बताए । सार्वजनिक खरिद ऐन, २०६४ को व्यवस्था र सम्झौताअनुसार नै विभागले विसं २०७७ मा ठेक्का अन्त्य गरेको थियो । निर्माण कम्पनी तत्काल कानुनी प्रक्रियामा जाँदा पाटन उच्च अदालतले असार १६ गते निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने र कार्य सम्पादन जमानत जफत गर्नेजस्ता कारबाही अघि नबढाउनु भनी अन्तरिम आदेश दिएको थियो । विसं २०७८ चैत १६ गते अदालतको निर्णय अनुसार व्यवसायीको फिराद पत्र खारेज भएको थियो भने सार्वजनिक खरिद अनुगमन कार्यालयले कम्पनीलाई कालोसूचीमा राखेको थियो । सो सडक स्तरोन्नतिका लागि अहिले पहिले ठेक्का गरिएको समयभन्दा १२१ प्रतिशत बढी रकम लाग्ने देखिएको विभागका महानिर्देशक थापाले बताए । मूल्याङ्कनअनुसार निर्माण कम्पनीबाट असूल गर्नुपर्ने रकम ७४ करोड ७७ लाख २० हजार २११ रहेकोमा कृषि विकास बैंकबाट रु दुई करोड २२ लाख जफत गरिएको छ । यात्रुलाई आवतजावतमा कठीनाइ भएकाले सामान्यमर्मत गरिएको विभागले जनाएको छ । बालाजु–रानीपौवा सडकको अदालतको निर्णय नआउँदासम्म केही गर्न नसकिने र रानीपौवा–त्रिशूली सडक ठेक्का तोडिएकाले नयाँ ठेक्काबाट जानुपर्ने सडक सुधार तथा विकास आयोजना निर्देशनालयले जनाएको छ । रानीपौवा–त्रिशूली सडक यही आवमा काम हुने निर्देशनालयका प्रमुख रोहितकुमार बिसुरालले बताए । काठमाडौंबाट नुवाकोट जानका लागि टोखा–छहरे र गल्छी–त्रिशूली सडक विकल्प भए पनि यो सडक बनिनसकेकाले रानीपौवा जान समस्या भएको उनले बताए । उनले भने, ‘हामीले सकेसम्म मर्मत गरेर सडक हिँड्न हुने बनाइरहेका छौँ ।’

लक्ष्मी क्यापिटलका दुई म्युचुअल फण्डको लाभांश घट्यो, कति दिने ?

काठमाडौं । लक्ष्मी क्यापिटलले आफ्ना २ वटा म्युचुअल फण्डका इकाईधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । लक्ष्मी क्यापिटलले लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्वीटि फण्डका इकाइधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो । साउन १६ गते सोमबार बसेको संचालक समितिको बैठकले लक्ष्मी बैंक कोष प्रवद्र्धन र लक्ष्मी क्यापिटल मार्केट योजना व्यवस्थापक रहेको दुई फण्डको लाभांश वितरण गर्ने भएको हो । क्यापिटलले दुवै योजनाका इकाईधनीहरुलाई आर्थिक वर्ष २०७८/०७९ का लागि कर सहित ५/५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । क्यापिटलले अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष प्रतिफल घटेको हो । क्यापिटलले अघिल्लो आर्थिक वर्ष २०७७/०७८ लक्ष्मी इक्विटी फण्डका इकाईधनीहरुलाई ३५ प्रतिशत नगद लाभांश (करसहित) र लक्ष्मी उन्नति कोषका इकाईधनीहरुलाई २५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

विपद् प्रभावितको उद्धार र राहतमा जुट्न गृहमन्त्रीको निर्देशन

काठमाडौं ।  गृहमन्त्री बालकृष्ण खाणले मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरोले पु¥याएको क्षतिबारे जानकारी लिई राहत, उद्धार र व्यवस्थापनमा जुट्न निर्देशन दिएका छन् । गृहमन्त्री खाणले म्याग्दीको मालिका गाउँपालिका–२ रुममा गएको पहिरो, चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा गएको पहिरोले पु¥याएको सडक अवरोध र चितवनकै इच्छाकामना गाउँपालिकामा गएको पहिरोबाट भएको क्षति, उद्धार र राहत तथा सडक खुलाउन भइरहेको प्रयासबारे जानकारी लिएका हुन् । उनले नेपाल प्रहरीका गण्डकी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक रामदत्त जोशी, म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना, चितवनका प्रमुख जिल्ला अधिकारी आशमान तामाङ, म्याग्दीका प्रहरी प्रमुख तिलक भारतीलगायतलाई टेलिफोन गरेर घटनाबारे जानकारी लिई आवश्यक व्यवस्थापनका लागि निर्देशन दिएका हुन् । उनले विपद् व्यवस्थापनमा समस्या परेमा मन्त्रालयमा खबर गर्नसमेत निर्देशन दिएका छन् । गएराति म्याग्दीको मालिका गाउँपालिका–२ मा माथिबाट झरेको पहिरोले घर पुर्दा सात जना बेपत्ता भएकामा दुई जनाको उद्धार गरिएको, दुई जनाको शव फेला परेको जनाइएको छ । अन्य व्यक्ति बेपत्ता छन् । म्याग्दीका प्रमुख जिल्ला अधिकारी रानाले घाइतेको उद्धार र बेपत्ता भएकाको खोजी जारी रहेको बताए । यता नारायणगढ मुग्लिङ सडकखण्डअन्तर्गत भरतपुर महानगर–२९ केराबारीमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । लेदो बगिरहेकाले तत्काल अवरुद्ध सडक खुल्ने सम्भावना नरहेको चितवनका प्रजिअ तामाङले बताए । मुग्लिङ–नारायणगढ सडकखण्डकै २० किलो र २१ किलो भन्ने स्थानमा पनि पहिरो गएको उनले बताए । अहिले नारायणगढतर्फबाट जुगेडीमा सवारीसाधन रोकिएको र पहिरोका कारण फसेकालाई सरकारी गाडीबाट चितवनसम्म लैजाने कार्य भइरहेको प्रजिअ तामाङले बताए । सडकमा रहेको अवरोध तत्काल हटाउन सक्ने अवस्था नरहेकाले चालकलाई रुट परिवर्तन गर्न भनिएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई रुस्काज ब्युटि पार्लरमा विशेष छुट

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले रुस्काज ब्युटि पार्लर एण्ड मेकअप स्टुडियोसँग सम्झौता गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई बनेपा र काठमाडौंमा अवस्थित रुस्काज ब्युटि पार्लर विशेष छुट प्रदान गर्ने सम्झौता गरेको हो । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख संचालन अधिकृत अपूर्व प्रसाद जोशी र ब्युटि पार्लर ब्युटि पार्लरका तर्फबाट उक्त कम्पनीका संचालिका रुस्का वैद्य श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले रुस्काज मेकअप स्टसडियो को ब्युटि कोर्समा १५ प्रतिशत, ब्युटि पमर्लर सर्भिसमा २० प्रतिशत र ब्युटि प्रडक्टमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकले ११२ शाखा कार्यालयहरु र ३२ एटिएममार्फत बैंकिङ सेवा दिँदै आइरहेको छ ।

कर्जाको ब्याजदर १८ प्रतिशतभन्दा बढी पुग्यो भने सरप्राइज हुनु हुँदैन : सुनिल पोखरेल

पछिल्लो समय सिभिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा एक किसिमको तरंग ल्याएको छ । हिमालयन बैंकसँग १००ः८१ को स्वाप रेसियोमा मर्जर सम्झौता गर्नु र पछिल्ला केही त्रैमासमा उच्च रूपमा नाफा गर्नुले सिभिल बैंकको हैसियत वाणिज्य बैंकहरुबीच बढेको छ । विशेष गरेर ३२ वर्षको बैंकिङ अनुभव लिइसकेका बैंकर सुनिल पोखरेल बैंक व्यवस्थापनको नेतृत्व सम्हाल्न सुरू गरेपछि सिभिलका सूचकहरु माथि लाग्न सुरू गरेका हुन् । विदेशी बैंकमा समेत काम गरेका सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल पोखेरलसँग बैंकको बिजनेस, हिमालयन र सिभिल बैंकको मर्जर सम्झाैताको विषय र बैंकिङ क्षेत्रको समसामयिक विषयवस्तुको विषयमा विकासन्युजका रामकृष्ण पौडेल र सन्तोष रोकायाले कुराकानी गरेका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ, मौद्रिक नीतिमार्फत् भएका व्यवस्थाप्रति बैंकर्सको धारणा के हो ? बजारमा जुन अवस्थाको चुनौति थियो, त्यो परिस्थिती हेरेर राष्ट्र बैंकबाट केही ‘रिल्याक्सेसन’ पाइँदैन कि भन्ने अनुमान थियो । तर, मौद्रिक नीतिमार्फत केही सहजता दिएको छ । डिबेन्चर, स्थानीय तहको निक्षेप गणना लगायतका विषयमा राष्ट्र बैंकले ‘टाइट’ गर्न सक्छ भन्ने धेरैको अनुमान थियो । यस पटक काउण्टर साइक्लिकल बफर आउलाकी भन्ने डर पनि थियो । तर, त्यसलाई एक वर्षपछि मात्रै लागू गर्ने भनेको छ । यी सबै विषयलाई हेर्दा मौद्रिक नीति सकारात्मक रुपमा लिनु पर्छ । अहिले अनिवार्य नगद मौज्दात (सीआरआर) एक प्रतिशत बढेको छ । सीआरआर बढे पनि लोनेबल फण्ड बढ्छ जस्तो मलाई लाग्दैन । यसले बैंकको नाफामा भने केही असर गर्छ नै । अबको दुई त्रैमासमा बैंकलाई केही ‘टफ’ भने अवश्य नै हुन्छ । अहिले प्रणालीमा पैसा नै छैन । डिपोजिट अर्गानिक हुन्छ । तपाईं हामीले चाहेर डिपोजिट ग्रोथ हुँदैन । मूल्यवृद्धि पनि बढिरहेको छ । मूल्यवृद्धि १६ प्रतिशतसम्म पुग्न सक्छ भन्ने विषय पनि उठिरहेको छ । मूल्यवृद्धि बढेपछि निक्षेप घट्छ । किनभने तपाईंले अहिले जति खर्च गर्नु हुन्छ । मूल्यवृद्धि भएपछि त्योभन्दा बढी खर्च गर्नु पर्ने अवस्था आउन सक्छ । हामी आयातमा निर्भर छौं । हामीले जति पनि वस्तु उपभोग गर्छौं त्यो सामान आयातित हो । विदेशी मुद्रा पनि घट्दै गइरहेको छ । यी सबै विषयहरु एक अर्कासँग अन्तर सम्बन्धित छन् । ब्याजदर पनि बढ्ने संकेत देखिएको छ । जुन स्वभाविक हो । जबसम्म ब्याजदर बढ्दैन तबसम्म राम्रा प्रोजेक्टमा मात्र कर्जा जाने अवस्था आउँदैन । ब्याजदर १८ प्रतिशतसम्म पुगेपछि कम सम्भावना बोकेका प्रोजेक्ट साइड लाग्छन्, भायबल देखिन छोड्छन् । नयाँ प्रोजेक्ट आउन बन्द भएपछि त्यसले हामीलाई स्ट्रेस कम गर्छ । कर्जाको माग घट्ने भएपछि निक्षेप बढ्ने भयो । टेक्निकल रुपमा नयाँ आउन केही समय लाग्छ । त्यसका लागि ३/४ महिनापछि अवश्य नै लाग्छ । नयाँ परियोजना आएन भने अर्थतन्त्रमा केही असर अवश्य नै पर्छ । तर, अहिलेको अवस्था अर्थतन्त्रको ग्रोथभन्दा पनि सस्टेन गर्ने हो । केही समय कुर्नु पर्छ । चुनाव पनि आउँला । पर्यटनको चहलपहल बढ्छ । तेस्रो क्वाटरमा बैंकहरुमा पनि जोखिम कम पर्न सक्छ । अब बैंकहरुले घाँटी हेरेर हाड निल्ने हो । मेरो व्यक्तिगत विचारमा ब्याजदर निर्धारणको विषय मार्केटलाई छोड्नु पर्छ । प्राइस मार्केटले निर्धारण गर्ने हो । मार्केटले जुन मूल्य निर्धारण गर्छ त्यही प्राइसमा अगाडि बढ्ने हो । मौद्रिक नीतिको नयाँ व्यवस्थाले ब्याजदरमा कस्तो परिवर्तन आउँला ? अहिलेको नीति अनुसार जाने हो भने बैंकहरूले १० प्रतिशत मात्रै ब्याजदर बढाउन पाउँछन् । अब नयाँ निर्देशनमा के आउँछ, त्यसमा निर्भर हुन्छ । राष्ट्र बैंकको गाइडलाइनमा निरन्तर जाने हो भने त एक प्रतिशत मात्रै बढ्छ । डिपोजिट रेट ११ बाट १२ प्रतिशत पुग्न सक्छ । यदि राष्ट्र बैंकले ब्याजदर खुला छोड्यो भने सबै बैंकहरुको फरक–फरक हुन सक्छ । आधारदर सबै बैंकको बढेर जान्छ । भोलिको दिनमा १८ प्रतिशत ब्याजमा पनि कर्जा लिनु पर्ने दिन आयो भने म त्यसमा सरप्राइज हुँदिन । किनकि निक्षेपकाे व्याज भनेको ‘र मेट्रेलियल’को कष्ट हो । निक्षेपकाे व्याज १२ प्रतिशत पुगेपछि कर्जाकाे व्याज १८ प्रतिशत पुग्छ । त्यस अवस्थामा धेरै प्रोजेक्ट भायबल हुँदैन । उसले तत्काल त्यसबाट बाहिरिनु पर्ने हुन्छ । त्यसमा बैंकले कर्जा लगानी पनि गर्नु भएन । जबसम्म बैंकमा पैसा हुँदैन तबसम्म ब्याजदर घट्छ जस्तो मलाई लाग्दैन । १०/१२ प्रतिशत ब्याजमा ऋण लिन्छु भन्ने कुरा सम्भव हुँदैन । अहिले सबैं बैंकहरुको मुद्दति निक्षेपमा एकै किसिमको ब्याजदर छ, यो नीतिलाई निरन्तरता दिनु पर्छ वा ब्याजदर खुला छोड्नु पर्छ ? मेरो व्यक्तिगत विचारमा ब्याजदर निर्धारणको विषय मार्केटलाई छोड्नु पर्छ । प्राइस मार्केटले निर्धारण गर्ने हो । मार्केटले जुन मूल्य निर्धारण गर्छ त्यही प्राइसमा अगाडि बढ्ने हो । अहिले धेरै बैंकहरुले डलर खातामा १८ प्रतिशत ब्याज पनि दिएका छन् । त्यसका कुनै सीमा नभएकै कारण हो । डलर डिपोजिट १८ प्रतिशत भनेको धेरै उच्च हो । डलर डिपोजिटमा १८ प्रतिशत ब्याजदर कुनै पनि देशमा छैन । बैंकहरुले सीडी रेसियो मेन्टेन गर्नैका लागि १८ प्रतिशतसम्म दिन बाध्य भएका हुन् । त्यो भनेको मार्केटले निर्धारण गरेको रेट हो । भोलि सबैले २० प्रतिशत नै दिन सक्दैनन् नी । भोलि अवश्य नै यसले एउटा साइज लिन्छ । जब मार्केट ओपन हुन्छ त्यसपछि मात्रै यकिन मूल्य कति हो भन्ने कुरा थाहा हुन्छ । विगतमा नेपालमा ८/९ प्रतिशतको मुद्रास्फिती हुँदा विकसित देशमा १/२ प्रतिशतको मात्रै हुन्थ्यो । तर, अहिले ती देशहरुमा ८/१० पुगेको छ । यो हिसाबमा नेपालको मूद्रास्फिती धेरै बढ्ने देखियो नि ? अहिले अमेरिकाको मुद्रास्फिती ९ प्रतिशतभन्दा बढी छ । विगतमा अमेरिका २ प्रतिशतको हाराहारीमा मुद्रास्फिती हुन्थ्यो । सामान्यतया अमेरिकाको मुद्रास्फिती ३ प्रतिशत हो । उनीहरुले कोभिडको समयमा मुद्रास्फिती बढाउनै लागि पैसा बाँडेका थिए । त्यसकाे असर ३ प्रतिशत थपियाे र  ६ प्रतिशत पुगेकाे हाे ।  अर्को ३ प्रतिशत वस्तुको आयातका कारण बढेको हो । रसिया र युक्रेन युद्धले अमेरिकामा पनि मूल्यवृद्धिमा याेगदान गरेकाे छ ।  नेपालमा कोभिडको बेलामा पैसा बाँडेको छैन । कर्जाकाे व्याजमा सहुलियत दिए पनि त्यसलाई यसमा गणना गर्न मिल्दैन । विदेशमा बढेको  मूल्य वृद्धिकाे प्रभाव नेपालमा पनि अवश्य पर्छ । मुद्रास्फिती अझै बढ्छ । सरकारले केही वस्तुहरुको आयातमा प्रतिबन्ध लगाएको छ, यसको प्रभाव बैंकिङ क्षेत्रमा कस्तो छ ? यसले बैंकहरुको एलसीको बिजनेसमा धेरै प्रभाव परेको छ । बिजनेस घटेको छ । यसको प्रभाव असार मसान्तकाे रिपाेर्टमा पनि देखिएको छ । अहिले बैंकहरुको ठूलो पैसा एकाएक हराएको भन्ने विषय पनि आइरहेको छ, निक्षेपको पैसा कहाँ गयो ? पैसा त हराउँदैन । पैसा घटेको छ । चौथो क्वाटरको अन्त्यपछि निक्षेप अवश्य नै घट्छ । आर्थिक वर्षको अन्त्यमा मानिसहरुले खर्च पनि बढाउँछन् । धेरैले निक्षेप निकालेर कर्जाको ब्याजदर पनि तिर्छन् । लोन सेटलमेन्टमा गएको हुन सक्छ । उपभोग पनि बढ्छ । गत वर्ष पनि यही ट्रेण्ड देखिन्छ । धेरैले नयाँ आर्थिक वर्ष लागेपछि खाताबाट पैसा निकाल्छन् । व्यवसायीहरुले ऋणको ब्याजदर सिंगल डिजिटमा हुनु पर्छ भन्छन्, तपाईंहरुले बढ्नु पर्छ भन्नुहन्छ, यो अवस्थामा कसरी अगाडि बढ्न सकिन्छ ? कर्जाकाे व्याजदर सिंगल डिजिटमा आउनु भनेर इच्छा देखाउनु राम्रो कुरा हो । सिंगल डिजिटमा मात्रै किन पाँच प्रतिशतमै आउनु पर्ने हो । तर, पाँच प्रतिशतमा निक्षेप ल्याउन सक्छौं ? हामीसँग स्रोत छ ? आजको दिनमा यसको उत्तर छैन । निक्षेप भनेको ‘र मेट्रियल’ हो । शून्य प्रतिशतमा निक्षेप पायो भने ५ प्रतिशत ब्याजमा कर्जा लगानी गर्नु स्वभाविक हो । हामीले बाहिरबाट निक्षेप ल्याउन सकिने अवस्था छैन । त्यसैले हाम्रो मार्केटमा जुन अवस्था छ, सोही हिसाबमा प्राइसिङ गर्ने हो । कुनै दिन हामीले ६ प्रतिशतमा पनि ऋण लगानी गरेका थियौं । बैंकले कम मूल्यमा पायो भने त सस्तोमै दिने हो । आउने दशौं वर्षमा पनि सिंगल डिजिटमा ब्याजदर आउने देखिँदैन । अहिले धेरै बैंकहरुले डलर खातामा १८ प्रतिशत ब्याज पनि दिएका छन् । त्यसका कुनै सीमा नभएकै कारण हो । डलर डिपोजिट १८ प्रतिशत भनेको धेरै उच्च हो । डलर डिपोजिटमा १८ प्रतिशत ब्याजदर कुनै पनि देशमा छैन । विदेशमा ब्याजदर केही प्रतिशत बढ्ने बित्तीकै ठूलो ‘इस्यू’ बन्छ । तर, नेपालमा ठूलो मात्रामा ब्याजदरमा उतारचढाब हुन्छ, जति बढेपनि खासै प्राथमिकता दिइँदैन, किन ? नेपालमा अहिलेको ब्याजदरको उतारचढाब कम हो । धेरै हुनु पथ्र्यो । नेपाल राष्ट्र बैंकको नीतिगत कारणले नै कम भएको हो । नभए अझै ठूलो उतारचढाब हुने देखिन्छ । आज १२ प्रतिशतमा ब्याजदर छ । निक्षेप घट्यो भने मैले १४ प्रतिशत कायम गर्न सक्छु । पर्सी निक्षेप धेरै बढ्यो भने १० प्रतिशतमा झार्न सक्छु । मार्केटले त्यसरी निर्धारण गर्छ । नेपालमा एक महिनामा मात्रै घटबढ हुन्छ । बिचमा जे जस्तो अवस्था आएपनि घटबढ गर्न पाइँदैन । तर, गत वर्षको तुलनामा धेरै बढेको छ । त्यो स्वभाविक हो । कोभिडको बेलामा निक्षेप बढ्यो, कर्जा लगानी भएन । ब्याजदर घट्यो । अहिले निक्षेप घट्यो र ब्याजदर बढ्यो । यो हामीमा मात्रै होइन विश्वव्यापी रुपमा कर्जाको माग बढेको छ । कर्जाको माग बढेपछि रेट अवश्य नै बढ्छ । रेट बढे पनि निक्षेप बढेन । त्यो पनि फ्याक्ट हो । बुक भने मिलाउन सकिन्छ । ब्याजदर बढाउने बित्तिकै निक्षेप बढ्छ भन्ने कुरामा भने विश्वस्त हुन सकिँदैन । रेट भनेको डिमाण्ड र सप्लाईले नै निर्धारण गर्ने हो । अहिले कर्जाको माग कस्तो छ ? पहिलेको तुलनामा कर्जाको माग घटेको छ । अब आउने परियोजनामा ब्याजदर बढ्छ भन्ने सबैको अनुमान छ । हिजो उचित हुने परियोजना आज उचित नहुन सक्छ । अहिले सबै वस्तुको मूल्य विश्वभर नै बढिरहेको छ । अहिले हाम फालेर जानुभन्दा पनि केही समयमा लागि रोक्ने वा अर्कै रोज्ने कुरा पनि हुन्छ । सिभिलले हिमालयनसँग १००ः८१ को स्वाप रेसियोमा मर्जरमा जानु र एकाएक बिजनेस विस्तारमा आक्रामक हुनुले बैंकिङ क्षेत्रमा एक किसिमको तरंग ल्याएको छ, यो सम्भव कसरी भयो ? हामीले पर्फेन्स राम्रो गरेको स्वभाविक हो । कोरोनाको बेला धेरैले रिक्स देखे । यस्तो समयमा कर्जा दिनु हुँदैन भने । हामीले अवसरका रुपमा लियौं । हामीले यो अवसरलाई गुमाउनु हुँदैन, हाम्रो पोर्टफोलियो बढाउनु पर्छ भन्ने अवधारणाका साथ अगाडि बढ्यौं । त्यसपछिको यो नतिजा हो । सबै जनाले त्यो कमिटमेन्ट गरेपछि अहिले यो किसिमको रिजल्ट देखिएको हो । टीमले राम्रो ड्रीम देखेपछि सिभिलको सपना पुरा भएको हो । अझै हामी माथि पुग्नु पर्छ भन्ने रणनीतिका साथ काम गरिरहेका छौं । आक्रामक बिजनेस विस्तारमा हुनुहुन्छ, क्यापिटल एड्युकेसी रेसियो मेन्टेन नुहुने जोखिम कत्तिको छ ? त्यस्तो जोखिम छैन । हाम्रो पुँजी प्रयाप्त छ । टायर वान पनि प्रयाप्त छ । अहिलेको अवस्थामा ३० अर्बको बिजनेस विस्तार गर्न पनि हामीलाई कुनै समस्या छैन । आक्रामकसँगै क्यापिटल पनि जोगाउने रणनीतिमा हामी छौं । हामीले डिवेन्चर जारी गरेपछि सहज अवस्थामा छौं । चौथो त्रैमासमा बैंकहरुको नन् बैंकिङ एसेट बढेको हो ? त्यति धेरै बढेको छैन । तर, ब्याज असुल गर्न भने चुनौति नै छ । खराब कर्जा खासै बढेको छैन । असार महिनामा सबैले राम्रो नै ल्याउँछन् । बैंकहरुले राम्रोसँग नै बुक मिलाउँछन् । सिभिल बैंकको वित्तीय विवरण पनि राम्रै आउँछ । नाफा पनि राम्रै हुन्छ । यो बिचमा सिभिल बैंकका तत्कालीन अध्यक्ष इच्छाराज तामाङ पक्राउ पनि परे तर, त्यो विषयले बैंकलाई कुनै असर परेन है ? यसमा बैंकिङ भनेको रेगुलटरी बिजनेस हो । मान्छेहरुले त्यो कुरा बुझिसकेका छन् । राष्ट्र बैंकको नियमनको कारण पनि हो । म्यानेजमेन्टसँगको विश्वास हो । यी दुइटा कुराले यसमा कुनै समस्या देखिएन । मंसिर मसान्तभित्रै हिमालयन र सिभिल बैंकबीच एकिकृत कारोबार गर्ने तपाईंहरुको योजना छ, यो बिचमा केही उतारचढाव आउने जोखिम कत्तिको छ ? अहिलेसम्मको अवस्था हेर्दा त्यस्तो जोखिम आउने अवस्था छैन । मंसिरको मसान्तसम्म एकिकृत कारोबार गर्ने भन्ने लक्ष्य छ । मंसिरमा हुन नसकेपनि पुसभित्रै गरिसक्नु पर्ने दबाब छ । धेरै कुराहरुमा हाम्रो सम्झौता भइसकेको छ । केही अस्पष्टता छैन । धेरै विषयमा सम्झौता भइसकेपछि मात्रै एमओयूमा सम्झौता हस्ताक्षर भएको हो । डीडीए भइसकेपछि स्वाप रेसियोमा घटबढ भयो भने मर्जर भाँडिने जोखिम बढ्छ कि भन्ने कतिपयको बुझाइ छ नी ? मैले त्यस्तो जोखिम देखेको छैन । डीडीए पनि एउटा सिद्धान्तमा आधारित भएर गरिन्छ । त्यसमा पनि सम्झौता भएर नै हामीले एमओयू गरेका हौं । ५० पैसा तलमाथि स्वभाविक हो । तर, त्यो भन्दा धेरै तलमाथि हुँदैन भन्ने हामी विश्वस्त छौं । किनकी सिभिल बैंकको चौथो त्रैमासको वित्तीय विवरण पनि राम्रै आउँछ । त्यसलाई आधारमान्दा पनि हाम्रो भ्यालुएसन अझै बढ्छ जस्तो लाग्छ । कुनै पनि कम्पनीको भ्यालू उसको पफर्मेन्सले हुन्छ । हाम्रो फफर्मेन्स राम्रो छ । धेरै बैंकले वितरणयोग्य नाफालाई पनि जगेडा कोषमा राखेर कोषलाई बलियो बनाएका हुन्छन् । तर, मर्जरमा जाँदा त्यो रकमलाई पनि नाफाका रुपमा वितरण गर्ने गरेको देखिन्छ, यो सबै मिलाएर सिभिल बैंकले सेयरधनीलाई कतिसम्म लाभांश दिन सक्छ ? हामी मर्जरमा गएपनि नगएपनि यस पटक डबल डिजिटमा लाभांश दिने तयारीमा छौं । यो हाम्रो पहिलेदेखिको नै योजना हो । हामी दुई बैंकबीच सबै रकम सेयरधनीलाई नबाड्ने भन्ने विषयमा सम्झौता भइसकेको छ । हामी ‘म्यासिभ्लि! बाँड्दैनौं । सेयरधनीलाई रिजेनेवल लाभांश दिन्छौं । हुनत ओभर क्यापिटालाइज्ड पनि राम्रो होइन तर अर्को सिनर्जी आउने वर्षमा पुँजी पनि चाहिन्छ । त्यसमा हामी सजग छौं । सिभिल बैंक हिमालयन बैंकसँग मर्जर सम्झौता गर्दा बैंकका सेयरधनी र कर्मचारीहरु खुसी नै देखिन्छन् । तर अलि त्यागचाहिँ तपाईंसहित टप म्यानेजमेन्टले बढी गर्नु पर्यो है ? यसलाई त्यागका रुपमा हेर्नु हुँदैन । म यसलाई सहर्ष स्वीकार गर्छु । मैले आफुलाई बिचमा राखेर सेयरधनी र कर्मचारीलाई हेर्नु पर्ने हुन्छ । उनीहरुको सन्तोष नै मेरो सन्तुष्टि हो । मर्जरको महत्वपूर्ण यी दुई विषय नै हुन् । म चारै वर्ष यता बस्छु भन्ने पनि छैन । अन्य विकल्पहरु पनि होलान् । मर्जरको विषयमा धेरै बैंकमा टप लेभलको म्यानेजमेन्ट बाहिरिने गरेका छन्, तपाईंले त्यो बाटो रोज्ने सम्भावना कति छ ? अहिलेसम्म निर्णय गरेको छै । तर, विकल्प सधैं खुला छ । तर, म दुई बैंकबीचको मर्जर हेर्न मन छ । सिनर्जी आउनु पर्छ भन्ने मेरो पनि धारणा हो । बैंकिङ करिअरको ३२ वर्षे अनुभवलाई तपाईंले कसरी व्याख्या गर्नुहुन्छ अर्थात् यसका आरोह–अवरोह र ‘प्रोफेसन रिल्याक्सेसन’ कति गरिरहनु भएको छ ? प्रेसर अवश्य नै हुन्छ । बैंकको कर्मचारीहरु धेरै प्रेसरमा हुन्छन् । त्यो हुनु पनि पर्छ । अझ हाम्रो स्तरका बैंकलाई झन् प्रेसर नै हुन्छ । अन्य ठूला बैंकहरुसँग हामीले भाग खोज्नु पर्ने हुन्छ । त्यसकारणले पनि हामीले उनीहरुभन्दा अलि बढी नै परिश्रम गर्नु पर्ने हुन्छ । उनीहरुसँग प्रतिस्पर्धा नगरेर अगाडि पनि बढ्न सकिँदैन । पछिल्ला वर्षहरुमा हामीले धेरै ग्रोथ गरेका छौं । धेरै कर्मचारी घटाएर पनि राम्रो ग्रोथ गरेका छौं । प्रविधिमा धेरै फड्को मारेका छौं । हामी स्टार्टअप कम्पनीको जसरी काम गरिरहेका छौं । काम गरे अनुसार परिवर्तन पनि भएको छ । बजारमा रिकगनाइज्ड भएका छौं भन्ने महसुस पनि कर्मचारीहरुले गरेका छन् । जुन हाम्रो ठूलो सम्पत्ति हो । अन्य बैंकहरुको नजरमा सिभिल बैंकका परिरहेका छन् । हामीले दुःख पनि गरेका छौं । ओभरअल बैंकिङ क्षेत्रको विषयमा कुरा गरौं, विगतमा यो क्षेत्रमा धेरै ठूलो आकर्षण थियो । तर, पछिल्लो समय बैंकिङ क्षेत्रप्रति युवाहरुको आकर्षण घट्दै गइरहेको छ भन्ने पनि सुनिन्छ नी ? यसमा दुइटा कुरा छ । एउटा विदेश जान खोज्ने र अर्को नेपालमै बसेर काम गर्न चाहने । म कलेजमा पनि पढाउँछु । उनीहरुलाई म तपाईंहरु कुन क्षेत्रमा काम गर्न चाहनु हुन्छ भनेर सोध्यो भने अधिकांश बैंकमा काम गर्ने भन्नुहुन्थ्यो । कतिपयले आफ्नै बिजनेस गर्ने पनि भन्नुहुन्छ । मैले पढाएको ६ वर्षको अवधिमा उद्यमी बन्ने र राष्ट्र बैंकमा काम गर्ने भनेर उत्तर दिनेहरु बढेका छन् । तर, पहिलेको तुलनामा केही ट्रेन्ड घटेको छ । अहिले बैंकिङसँगै अन्य क्षेत्रहरु पनि बढ्दै गए र त्यो क्षेत्रमा पनि आकर्षण बढ्दै गएको देखिन्छ । पहिले वाणिज्य बैंकमात्रै थियो । तर, अहिले अन्य विकल्प पनि हुँदा विकल्पहरु बढेका छन् । तर, बैंकिङ नराम्रो जब भने होइन ।