लुम्बिनी विकास गुरूयोजना विपरीत संसारा वेलनेसलाई जग्गा दिने निर्णय खारेज
रुपन्देही । लुम्बिनी विकास गुरूयोजनाविपरीत रिसोर्टलाई जग्गा दिने निर्णय खारेज गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा लुम्बिनी विकास कोष परिषद्का अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा आज बसेको परिषद् बैठकले ‘संसारा वेलनेस’ नामक कम्पनीलाई लुम्बिनी विकास कोषभित्र रिसोर्ट सञ्चालन गर्न दिने निर्णय खारेज गरेको कोषका सदस्य सचिव सनुराजा शाक्यले जानकारी दिए । संसारा वेलनेसले लुम्बिनी ग्रामस्थित श्रीलङ्काको पिलग्रिमेज हाउससँग जोडिएको क्याम्पियन ग्राउन्डको जग्गा रिसोर्ट सञ्चालनका लागि उपलब्ध गराउन लुम्बिनी विकास कोषसामु प्रस्ताव गरेको थियो । सोही प्रस्ताव यसअघि स्वीकृत गरिएको थियो । तर, लुम्बिनी विकास गुरूयोजनाविपरीत रहेकाले सो निर्णय परिषद् बैठकले खारेज गरिदिएको सदस्य सचिव शाक्यले बताए । परिषद् बैठकले गौतमबुद्धले २९ वर्ष बिताएको कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा क्षेत्रमा सूचिकृतका लागि अन्तर्राष्ट्रिय विज्ञ समावेश गरेर नोमिनेशनको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । तिलौराकोटलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृतका लागि प्रक्रिया अघि बढाउन गठित समितिको प्रस्तावमा अष्ट्रेलियाका डङकन मार्सललाई विज्ञको रुपमा समावेश गर्ने निर्णय भएको सदस्य सचिव शाक्यले बताए । परिषद् बैठकले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन नोभेम्बरमा गर्ने निर्णय गरेको छ । यसैगरी लुम्बिनी र पाल्पाको तानसेनलाई बुद्ध सर्किटमा जोडेर लैजाने निर्णय पनि भएको छ । सदस्य सचिव शाक्यका अनुसार बैठकले दुई महिनाभित्रै लुम्बिनीमा पर्यटक सुविधाका लागि विद्युतीय बस सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकमा परिषद्का अध्यक्ष श्रेष्ठले लुम्बिनी र तिलौराकोटका पर्यटकीय सम्पदा र पुरातात्विक क्षेत्रको विकासका लागि पुरातत्व विकाससँग समन्वय गरी मन्त्रालयस्तरबाटै काम अघि बढाउने प्रतिबद्धता जनाएका थिए । रासस
नेपाल ६ महिनामा तरकारीमा आत्मनिर्भर हुनसक्छः अर्थमन्त्री शर्मा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अहिलेको बजेट उत्पादनमुखी रहेकाले सबै उत्पादनमा जोडिनुपर्ने आवश्यकता रहेको बताएका छन् । मंगलबार भीमदत्त पन्त स्मृति दिवसको कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । मन्त्री शर्माले सरकारसँग सबैकुरा भएकाले उत्पादनसँग जोडिनुपर्ने बताउँदै नेपालले तरकारी निर्यात गर्नुपर्ने ठाउँमा आयात गरेको भन्दै किसान संघहरुले उत्पादनमा जोड दिन आग्रह गरे । उनले सरकारले ल्याएको बजेट कृषि उत्पादनमा केन्द्रित भएको उल्लेख गर्दै उत्पादनको क्षेत्रमा लाग्न सबैलाई आग्रह गरे । मन्त्री शर्माले कृषिमा आत्मनिर्भरता र औद्योगिक उत्पादनमार्फत आयात प्रतिस्थापन गर्ने बजेटले व्यवस्था गरेको पनि बताए । मन्त्री शर्माले भूमिहीनहरुलाई जमिन दिएर,पुँजी नहुनेहरुको लागि पुँजी उपलब्ध गराएर र औजार नहुनेलाई औजार दिएर कृषिमा जोड्नुपर्ने आवश्यकता रहेको र कृषिमा जोडेमात्रै मुलुकको अर्थतन्त्र सवलिकरण हुनसक्ने बताए ।
दाल भनेर विदेशी चुराेट ल्याउनेलाई साढे १० कराेड जरिवाना
वीरगञ्ज । दुबईबाट खाद्यन्न सामग्री (मुङको दाल) भनेर ल्याइएको कन्टेनरमा विदेशी ब्रान्डका चुरोट बरामद भएको घटना प्रकरणमा भन्सार कार्यालयले आयातकर्ता कम्पनी कालिका इन्टरप्राइजेज प्रालिलाई १० करोड ७२ लाख जरिवाना तोकेको छ । दुबईबाट भारतसम्म पानी जहाजमा र भारतको कोलकोत्ताबाट रेलमार्ग हुँदै मुङको दाल भनेर सुक्खा बन्दरगाहमा वीरगञ्जसम्म ल्याइएको (जीइएसयू ५०४८८०३४५ जी१) नम्बरको कन्टेनरमा गत जेठ १३ मा शङ्का लागि जाँच गर्दा उक्त ठूलो परिमाणमा विदेशी ब्रान्डको चुरोट फेला परेको थियो । दालको कन्टेनरभित्र चुरोट आयात गर्ने कम्पनी काठमाडौं टोखाको कालिका इन्टरप्राइजेज प्रालिका सञ्चालक काठमाडौं टोखाका नवराज गिरीलाई भन्सार ऐन अनुसार नक्कली मालसामान घोषणा गरेबापत बिगो जरिवाना १० करोड ७२ लाख जरिवाना तोकिएको भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष न्यौपानेले जानकारी दिए । कन्टेनर जाँच्दा २६ हजार छ सय दश किलो दाल घोषणा गरिएको कन्टेनरमा १४ हजार आठ सय २५ किलो मात्र दाल थियो । यसबाहेक ५८ लाख ३८ हजार चार सय खिल्लीका चार सय कार्टुन विदेशी चुरोट भएको फेला परेको थियो । उक्त बिगो जरिवाना बापतको रकम तिरेपछि सो कम्पनीले माल लैजान पाउने कार्यालयले जनाएको छ । अन्यथा कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढ्नेछ । कार्यालयका अनुसार बन्दरगाह नाकामा विभिन्न मालसामान भित्र्याउने तीन वटा फरक–फरक रङ्को लेन हुन्छ । उक्त कन्टेनर पहेँलो लेनबाट आएको थियो । कन्टेनरको अगाडि र पछाडिको भागमा मुङ दालको बोरा र बीचमा भने चुरोटका कार्टुन राखेको भेटिएको थियो । कन्टेनरबाट इन्डोनेसियन ब्रान्ड गुडाङ गरम र बेलायती ब्रान्ड मोन्ड भेरियन्सका चुरोट फेला परेको थियो । भन्सार ऐनको दफा ५७ अनुसार घोषणा गरिएको वस्तु र परिमाण फरक भेटिएकोले नियमानुसार बिगो जरिवाना गरिएको र नियमानुसार कारबाही प्रक्रिया अघि बढाइएको कार्यालयका अनुसन्धान अधिकृत भूपेन्द्र कार्कीले जानकारी दिए । यसरी जरिवाना गरिएपछि भन्सार कार्यालयले कम्पनी सञ्चालक गिरी ( धादिङ ) र भन्सार एजेन्ट नीरञ्जन घिमिरे ( मकवानपुर) लाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्राचार गरिसकेको छ । उनीहरुलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयमा लेखिपठाइएकोे पर्साका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए । रासस
कर्पोरेट पाहुनाको लागि आईएमइ ग्रुपको ‘द लेकसाइड रिट्रिट’ मा थप सुविधा
पोखरा । आईएमइ ग्रुप अन्तर्गतको बेस्ट रिसोर्ट नेपाल प्रालिले सन्चालन गरेको पोखराको ‘द लेकसाइड रिट्रिट’ले आफ्ना कर्पोरेट पाहुनालाई लक्षित गर्दै नयाँ सुविधा थप गरेको छ । सुविधा सम्पन्न ४ वटा प्रिमियम कटेज सहित ४० वटा कोठा भएको रिसोर्टमा २०० जना क्षमताको सेमिनार हल, स्विमिङपुल बार, १५ जना क्षमताको क्लोज मिटिङ हल लगायतका सुविधा थपिएको रिसोर्टका अपरेसन म्यानेजर मनमोहन रिमालले बताए । पहिले नै स्विमिङपुल, स्पा लगायतका सुबिधा प्रदान गरिरहेको रिसोर्टमा कर्पोरेट क्षेत्रलाई प्राथमिकतामा राखि काम गरिएको र अन्य आवश्यक पर्ने सेवाहरू पनि थप्ने क्रममा रहेको रिमालले बताए । हरियाली सहित करिब ९ रोपनीमा रहेको रिसोर्ट प्रकृतिक, शान्त वातावरणमा रहेको हुँदा मिटिङ, सेमिनार र रिफ्रेसमेन्टका लागि निकै राम्राे हुने उनी बताउँछन् । यस्तै, आईएमइ ग्रुप अन्तर्गतको बेस्ट रिसोर्ट नेपाल प्रालिले हस्पिट्यालिटी चेनको रुपमा नेपालका विभिन्न ठाउँमा छिट्टै नयाँ होटल तथा रिसोर्टहरु सन्चालनको तयारीमा रहेको उनले जानकारी दिए ।
औद्योगिक क्षेत्रमा बढाइएको भाडा तत्काल फिर्ता गर्न आग्रह
काठमाडौं । नेपाल उद्योग परिसंघले औद्योगिक क्षेत्रमा बढाइएको जग्गा भाडा तत्काल फिर्ता लिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूलाई आग्रह गरेको छ । परिसंघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद अधिकारी नेतृत्वको टोलीले मन्त्री बडू र उद्योग सचिव अर्जुनप्रसाद पोखरेललाई भेट गरी औद्योगिक क्षेत्र व्यवस्थापनले बढाएको भाडा फिर्ता गर्न र दीर्घकालीन रुपमा समस्या समाधान गर्न आग्रह गरेको हो । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले २०७५ साउनदेखि भाडा वृद्धि गर्ने निर्णय गरेको थियो । उद्योगीहरूको असहमति तथा विरोधपछि सो निर्णय तत्काल कार्यान्वयन नगर्न र त्यस सम्बन्धमा विस्तृत अध्ययन गर्न तत्कालीन उद्योग मन्त्रीले निर्देशन दिएका थिए । २०७९ असार २२ गते बसेको औद्योगिक क्षेत्र व्यवस्थापन बैठकले फेरि २०७५ साउन १ गते देखिकै भाडा असुल गर्ने निर्णय गरेको हाे । यसले उत्पादनमुलक उद्योगमा हुने लगानी नै प्रभावित हुने तथा निजी क्षेत्रलाई हतोत्साहित गर्ने भन्दै परिसंघले फिर्ता लिन आग्रह गरेको छ । औद्योगिक क्षेत्र व्यवस्थापनले उद्योगमा रहेका उपकरणका आधारमा विद्युतको डिमाण्ड चार्ज लिने, उद्योगलाई आवश्यक पानी उद्योग आफैले वोरिङ गरी निकालेको पानीमा समेत मिटर जडान गरी शुल्क लिने र जग्गाको भाडा बढाउने लगायतका कार्य गरेको भन्दै परिसंघले आपत्ति जनाएको छ । औद्योगिक क्षेत्रमा ९८ देखि ६८७ प्रतिशतसम्मको भाडा वृद्धि उद्योगहरुले थेग्न नसक्ने परिसंघका कार्यवाहक अध्यक्ष अधिकारीले बताए । औद्योगिक क्षेत्र व्यवस्थापनको पुनर्संरचना गर्नुपर्ने आवश्यकता रहेको समेत उनले बताए । ‘भाडा बढाउन उद्योगहरू सहमत नभएको अवस्थामा जग्गाको करार अवधि थप नगर्ने, बैंकको कर्जा नवीकरण गर्न सिफारिस नगर्ने वा उद्योगका लागि कुनै पनि कार्य अगाडि नबढाउने जस्ता कार्य औद्योगिक क्षेत्र व्यवस्थापनले गरेकोमा हाम्रो आपत्ति छ,’ परिसंघले भनेको छ । परिसंघसँगको भेटमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बडूले भाडा वृद्धि सम्बन्धी विषयलाई मन्त्रालयले उच्च प्राथमिकता राखेको र निजी क्षेत्रसँगको सहकार्यमा समाधान गर्न प्रतिबद्ध रहेको बताए ।
टिभिएसको आयोजनामा अपाचे ओनर्स ग्रुप राइड विराटनगरमा सम्पन्न
काठमाडौं । टिभिएसको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले अपाचे ओनर्स ग्रुप (एओजी) राइड सम्पन्न गरेको छ । उक्त एओजी राइड टीभीएसको ३५ अपाचे राइडरहरुको सहभागीता थियो । कम्पनीले वर्षौंदेखि उक्त राइड आयोजना गर्दै आएको छ । टीभीएसले अपाचे बाइक हुनेहरुको एओजी ग्रुप बनाएर राइडमा लाग्दै आएको छ।राइड साउन १४ गते शनिबार विराटनगरको महेन्द्र चोकबाट सुरु भएर नेता चोक, विराट चोक, इटहरी, इनरूवा र कोशीटप्पुस्थित अक्वा बर्ड रिसोर्ट पुगेर सकिएको थियो । विभिन्न पेसामा रहेका सहभागीले भाग लिएको एओजीमा २०० भन्दा धेरैले आवेदन दिएका थिए । तर आयोजकले आवेदन दिएका मध्येबाट ५३ जना राइडरहरुलाई मात्रै छनोट गरेको जनाएको छ। विराटनगरमा भएको यो संस्करणका लागि दर्ता गरेका बाँकी राइडरहरूलाई कम्पनीले विराटनगरमा भविष्यमा हुने अरू संस्करणहरूमा उपस्थित गराउने भएको छ । टीभीएसले ग्राहकलाई विभिन्न कार्यक्रम र एडभेन्चर राइड सञ्चालन गरिरहेको छ। कम्पनीले विराटनगरसँगै अरु ठाउँमा पनि एओजी राइडको लागि दर्ता प्रक्रिया खुला गरिसकेको बताएको छ । एओजी राइडमा सहभागी हुने राइडरहरुले यस्तै खालका अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा पनि सहभागी हुने मौका पाइने कम्पनीले जनाएको छ । यस एओजी राइडमा सहभागी हुने सबै राइडरहरुलाइ कम्पनीले फ्री राइडिङ गियर्स उपलब्ध गराएको थियो ।
बीमा पोलिसी त्याग्नेको संख्या बढ्दो, १२ अर्ब बढीको सरेन्डर (कुनको कति ?)
काठमाडौं । हालसम्म १२ अर्ब १८ करोड रुपैयाँ बराबरको जीवन बीमालेख समपर्ण (सरेन्डर) भएका छन् । आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्ममा मात्रै बीमितहरुले ८१ लाख ८३० वटा बीमा पोलीसीबाट १२ अर्ब १८ करोड ८ लाख रुपैयाँ बराबरको बीमा पोलिसी त्यागेका हुन् । बीमा पोलिसी सरेन्डर गर्नु भनेको जीवन बीमा गरेर अवधि नपुग्दै रोक्नु हो । पछिल्लो समय उक्त संख्या बढ्दो छ । बीमितहरुले निश्चित वर्षको लागि भनेर जीवन बीमा गराउने र समय नपुगी उक्त पोलिसी बन्द गर्न थालेका छन् । सञ्चालित १९ बीमा कम्पनीहरुमध्ये सबैभन्दा बढी नेपाल लाइफको बीमितले बीमा पोलिसी त्यागेका छन् । यो अवधिमा सो कम्पनीका बीमितहरुले २६ हजार ६०३ वटा अर्थात ५ अर्ब १ करोड रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेका हुन् । त्यस्तै, बढी पोलिसी सरेन्डर गर्नेको दोश्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) रहेको छ । समीक्षा अवधिमा लाइफ इन्स्योरेन्सका बीमितले २ अर्ब ९३ करोड रुपैयाँ बराबरको पोलिसी रोकेका छन् । जुन संख्याको आधारमा ९ हजार ८६८ वटा पोलिसी हुन् । त्यस्तै, ५० करोडभन्दा बढी बीमालेख सरेन्डर गरेकामा नेशनल लाइफ, राष्ट्रिय बीमा संस्थान र एशियन लाइफबाट रहेको छ । यी कम्पनीका बीमितले क्रमशः ८५ करोड ९७ लाख, ८५ करोड ५५ लाख र ५८ करोड ९० लाख रुपैयाँ बराबरको बीमालेख निश्चित अवधि पुग्नु अगावै रोकिएका छन् । त्यसैगरी, अधिकांश कम्पनीहरुबाट १० करोडभन्दा बढी र ५० करोडभन्दा कम रुपैयाँका बीमा पोलिसी सरेन्डर भएका छन् । त्यसमा गुराँस लाइफ, मेटलाइफ, सूर्या लाइफ, प्राइम लाइफ, रिलायन्स लाइफ, प्रभु लाइफ र युनियन लाइफ इन्स्योरेन्स रहेका छन् । त्यस्तै, सानिमा, ज्योती, महालक्ष्मी, सिटिजन, रिलायबल नेपाल, सन नेपाल र आइएमई लाइफको १० करोडभन्दा कमको पोलिसी सरेन्डर भएका छन् । जसमध्ये सानिमा, ज्योति र महालक्ष्मीको ६ करोडभन्दा बढीको, सिटिजनको ३ करोड बढी, रिलायबल नेपाल, सन नेपाल र आईएमई लाइफको एक वर्षको अवधिमा २ करोड बढीको बीमालेख सरेन्डर भएका हुन् । रकमका आधारमा सबैभन्दा कम बीमालेख सरेन्डर हुनेमा आईएमई लाइफ इन्स्योरेन्स रहेका छन् । समीक्षा अवधिमा इन्स्योरेन्सका बीमितले २ करोड ४० लाख रुपैयाँ बराबरको पोलिसी निश्चित समय नपुगी रोकेका हुन् । संख्याको आधारमा भने सानिमा लाइफ इन्स्योरेन्सको पोलिसी सबैभन्दा कम सरेन्डर भएको छ । यो अवधिमा इन्स्योरेन्सको २२६ वटा पोलिसी सरेन्डर भएका छन् । कुनको कति ?
घरजग्गामा लगानी नगर्न राष्ट्रिय सहकारी महासंघको अपील, यस्ता दियो सुझाव
काठमाडाैं । राष्ट्रिय सहकारी महासंघले तरलताको चाप पर्न गई सदस्यहरूलाई बचत फिर्ता गर्न कठिनाई भइरहेको सहकारीलाई संयमित रुपमा कदम चाल्न अनुराेध गरेकाे छ । मंगलबार एक सूचना जारी गर्दै महासंघले यस्ताे बताएकाे हाे । ‘कतिपय सहकारी संस्थामा समेत तरलताको चाप पर्न गई सदस्यहरूलाई बचत फिर्ता गर्न कठिनाई भईरहेको तथ्य सार्वजनिक भएको छ । यस सन्दर्भमा सम्पूर्ण सहकारी संघ/संस्था तथा सदस्यहरुमा धैर्यताका साथ सतर्कता अपनाई थप संयमित रुपमा कदम चाल्नुहुन अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएकाे छ । महासंघले यस अवस्थामा ध्यान दिए काम गर्न अनुरोध गर्दै ८ सुझाव दिएको छ । यस्ताे छ सुझाव : १. करिब एक वर्षदेखि देखिएको तरलता संकटको असर सहकारी क्षेत्रमा समेत देखिन थालेको अवस्थालाई मध्यनजर गर्दै आफ्नो वित्तीय जोखिम विश्लेषण गरी सामान्य अवस्थामा भन्दा बढि तरलता कायम राख्नु । २. सदस्य एवंम् सरोकारवाला निकायहरुसँग संस्थाको वर्तमान अवस्थाको बारेमा निरन्तर समन्वय र सम्वाद जारी राख्नु। ३. सहकारीका मूल्य, मान्यता र सिद्धान्त बमोजिम आन्तरिक नियन्त्रण प्रणालीलाई चुस्त राख्दै संस्थागत सुशासन कायम गर्नु । ४. परिस्थिति सहज नहुदा सम्म घरजग्गालगायत अनुत्पादक क्षेत्र एवं ठूलो लगानी नगर्नु । ५. जोखिम विश्लेषण कार्यविधि तयार गरी जोखिम न्यूनीकरणका लागि योजनावद्ध तथा प्रभावकारी रूपमा असुलीमा केन्द्रित रहनु । ६. महासंघ, संघ एवं सहकारी बैंकले सञ्चालन गरेका स्तरीकरण कार्यक्रम एवं तालिमहरूमा सहभागी भई संस्थागत क्षमता मजबुद बनाउनु । ७. सहकारी अभियानको ऐक्यवद्धतालाई कायम राख्न माथिल्लो संघहरूसंग नियमित सम्पर्कमा रहँदै यथासम्भव अभियानभित्रै कारोबार गर्नु । ८. राष्ट्रिय सहकारी बैंक, केन्द्रिय, प्रदेश तथा जिल्लास्तरीय संघहरूले आफ्ना सदस्य संस्थाहरूसंग नियमित सम्पर्क र समन्वय गरी संस्था संचालनमा आवश्यक सहजीकरण गर्न सदस्यहरूले समेत अस्वाभाविक व्याजको लोभमा नपरी संस्थागत क्षमता भएका र सुशासनमा सञ्चालित संस्थाहरूसँग मात्र कारोबार गर्नु ।