दिउँसो प्रधानाध्यापक, साँझ किसान
तुलसीपुर । दिनभर विद्यालयमा व्यस्त हुने मीनबहादुर केसी साँझ–बिहान र बिदाको समयमा भने सधैँजसो बारीमै व्यस्त हुन्छन् । दिनभरको विद्यालयको थकान मेट्ने एउटा माध्यम उनको बारी बन्ने गरेको छ । शान्तिनगर गाउँपालिका–४ गिधनिया निवासी उनले आफ्नो छ कठ्ठा जग्गामा कागती र केराखेती गरेका छन् । शान्तिनगर गाउँपालिका–३ स्थित आधारभूत विद्यालय केराघारी लामो समयदेखि प्रधानाध्यापकको भूमिकामा रहेका शिक्षक केसीले आफ्नो बारीमा कागती र केराखेती गरेका छन । ‘दिनभर स्कुलमा व्यस्त हुन्छु, दिनभरको थकान मेट्न बारीमा व्यस्त हुने गरेको छु’, उनले भने । उनले अहिले छ कठ्ठामा कागती खेती गरेको भए पनि केही समयपछि ११ कठ्ठामा खेती गर्ने लक्ष्य राखेका छन् । खेती गरेको एक वर्षको भएकाले तत्काल आम्दानी लिन नसकेको भए पनि केही समयपछि मनग्य आम्दानी गर्ने उनको धोको छ । ‘तत्कालन आम्दानी लिन सकिएको छैन’, उनले भने, ‘केही समयपछि मनग्य आम्दानी हुन्छ भन्ने अपेक्षा गरेको छु ।’ दिनमा दुई घण्टा हिँडेर विद्यालय पुग्ने शिक्षक केसी अबको दुई वर्षपछि अवकाश लिँदै हुुनुहुन्छ । लामो समय एउटै विद्यालयमा पढाउँदै आएका उनले अवकाश पछि पूर्णरूपमा व्यावसायिक कृषिखेती गर्ने धोको राखेका छन् । ‘म विसं २०४५ देखि शिक्षण पेशामा छु, लामो समय केराघारी स्कुलमा पढाउँदै आएको छु’, उनले भने, ‘अवकाशपछि व्यावसायिक कृषिखेती गर्ने सोच बनाएकोे छु ।’ आफू शिक्षक पनि भएकाले आफूले समाजमा कृषि खेतीबाट मनग्य आम्दानी गरेपछि आफ्ना छिमेकीलाई पनि त्यो खेतीतर्फ प्रोत्साहन गर्ने योजना छ । उनले आफू त्यस क्षेत्रको उदाहरणीय किसान बनेर मनग्य आम्दानी गर्ने र त्यसबाट अरूलाई पनि आकर्षित गराउने योजना रहेको बताए । पहिलेदेखि नै कृषि खेतीप्रति चासो रहे पनि शिक्षण पेशाले गर्दा त्यस्तो समय मिलाउन नसके पनि पछिल्लो समय भने समय निकालेर व्यावसायिक खेती गर्ने गरेको उनको भनाइ छ । रासस
पहिरोले नारायणगढ–मुग्लिन हुँदै जाने सवारीसाधन नवलपुरमै रोकियो
नवलपुर । पहिराका कारण नारायणगढ–मुग्लिन सडक र पृथ्वीराजमार्ग अवरुद्ध भएपछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को सडक रोकिएको छ । नवलपुर हुँदै पोखरा तथा काठमाडौं जाने सवारीसाधन जिल्लामै रोकिएको ट्राफिक प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीप थापाले चितवनको नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्ग अवरुद्ध भएपछि जिल्लामा नै सवारीसाधन रोकिएको बताए । ‘नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर–२९ को केराबारी र १७ किलो तथा पृथ्वी राजमार्गअन्तर्गत चितवनकै कुरिनटारमा पहिरो गएको खबर आएको छ’, उनले भने, ‘चितवनतर्फ सवारीसाधनको चाप कम गर्नका लागि नवलपुरबाट नारायणगढ–मुग्लिन हुँदै चल्ने सवारीसाधनलाई जिल्लाका विभिन्न स्थानमा रोकेका छौँ ।’ चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई उदृत गर्दै प्रहरी निरीक्षक थापाले केराबारीमा झरेको पहिरो हटाउन आज दिनभरि लाग्नसक्ने तर नारायणगढ–मुग्लिन सडक हुँदै चल्नेबाहेकका सवारीसाधनलाई भने गन्तव्यसम्म जान दिइएको बताए । आइतबार रातिदेखि यस क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ । रासस
नारायणीमा पानीको सतह बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह
नवलपुर । नारायणी नदीको पानी सतर्कता तह नजिक पुगेको छ । नारायणी नदीको देवघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको र पानीको सहत बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जिल्लाका पाँचवटा स्थानीय तह नारायणी नदीबाट प्रभावित हुने जनाउँदै नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरे । ‘पानी निरन्तर परिरहेको छ, नारायणी नदी बढ्दो क्रममा छ,’ उनले भने, ‘नारायणी नदी बढेर जुनसुकै बेला पनि दुर्घटना निम्त्याउन सक्छ, त्यसैले नदी तटीय बासिन्दाले उच्च सतर्कता अपनाउनुहोला ।’ आइतबार रातिदेखि निरन्तररूपमा पानी परेपछि नदीमा पानीको सतह बढ्दै गएको हो । सो नदीमा अहिले बिहान पानीको सतह सात दशमलव १८ मिटर पुगेको छ । देवघाट बाढी मापन केन्द्रमा जलसतह सात दशमलव तीन मिटरलाई सतर्कता तह र नौ मिटरलाई खतराको तह मानिएको छ । रासस
खोटाङ भूकम्प : दुई विद्यालय भवन, एक प्रहरी चौकी र चार सय ७५ घरमा क्षति
फाइल फोटो खोटाङ । साकेला गाउँपालिका-५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी र चार सय ७५ घरमा क्षति पुगेको छ । जिल्ला विपद् व्यवस्थापन कार्यालयका अनुसार एक घर पूर्णरूपमा भत्किएको छ भने अन्यमा चर्किएर क्षति भएको जनाइएको छ । यही साउन १५ गते बिहान ८ बजेर १३ मिनेट जाँदा गएको छ म्याग्निच्युडको भूकम्पले केपिलासगढी गाउँपालिका-५ सप्तेश्वरस्थित थर्पुडाँडा माविको चारकोठे भवन, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङस्थित सुर्केडाँडा माविको चारकोठे भवन तथा केपिलासगढी गाउँपालिका-२ खार्ताम्छामा प्रहरी चौकी भवनमा क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिमस्थित चुमाखुका तेजबहादुर नेपालीको घर पूर्णरूपमा भत्किएको छ । साकेला गाउँपालिकाका प्रमुख रविप्रकाश राईले भूकम्पको ‘इपिसेन्टर’ साकेलामा हालसम्म चार सय ६४ घरमा क्षति भएको जानकारी दिए । उनका अनुसार बाँझेच्यानडाँडामा एक सय ३४, रतन्छामा ८८, खिदिमामा ५७, मात्तिममा एक सय पाँच र भूम्पकको केन्द्रविन्दु मात्तिमविर्तामा ८० घरमा क्षति भएको हो । भूकम्पले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको विभिन्न वडामा छ घर, हलेसी तुवाचुङ नगरपालिकाको महादेवस्थान र सल्लेमा एक-एक घर, खोटेहाङ गाउँपालिकामा दुई र रावाबेँसी गाउँपालिकामा एक घरमा क्षति भएको विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईँले जानकारी दिए । ‘स्थानीय तहहरूले भूकम्पसँगै बाढी र पहिराको समेत क्षतिको विवरण टिपाउने क्रम जारी छ,’ उनले भने, ‘जिल्लाका १० वटै स्थानीय तहलाई भूकम्पको क्षतिको वितरणचाहिँ तीन दिनभित्र दिन आग्रह गरिएको छ । जिल्लामा भारी वर्षा भइरहेकाले यकिन विवरण आउन समय लाग्ने देखिएको छ ।’ विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्प पछाडिको यो नेपालमा हालसम्मकै शक्तिशाली भूकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारसँग सिमाना जोडिएको साकेला गाउँपालिकामा भूकम्पको केन्द्र भएपछि जिल्लावासी त्रसित बनेका छन् । भूकम्पले जिल्लामा अहिलेसम्म मानवीय क्षति नभए पनि पराकम्प जाने क्रम जारी रहेकाले सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेर जिल्लावासीलाई आग्रह गरिएको प्रजिअ सेढाईँले बताए । ‘जिल्लामा अहिले पनि भूकम्पको पराकम्प जाने क्रम जारी छ,’ उनले भने, ‘कतैबाट सूचना प्राप्त हुनासाथ परिचालित हुने गरी नेपाली सेना, प्रहरी र विपद् व्यवस्थापनको टोली तयारी अवस्थामा राखिएको छ ।’ हलेसी तुवाचुङ नगरपालिकाले भूकम्पको क्षति मूल्याङ्कनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पत्राचार गरेको छ । भूकम्प गएलगत्तै नगरपालिकाले ‘इन्टग्रेटेड डिजास्टर भल्नेरेबिलिटी एसेसमेन्ट’का लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालयलाई पत्राचार गरिएको नगरप्रमुख विमला राईले जानकारी दिए । जिल्लाका अन्य स्थानीय तहले पनि भूकम्पबाट आ-आफ्नो क्षेत्रमा भएका क्षतिको विवरण सङ्कलन गर्ने क्रम जारी राखेका छन् । भूकम्प, बाढी-पहिरो, आगलागीलगायतका प्राकृतिक प्रकोपमा परेकालाई तत्काल उद्धार, राहत वितरण तथा व्यवस्थापन गर्न जिल्लाका १० वटै स्थानीय तहमा विपद् व्यवस्थापन समिति गठन गरिएको छ । रासस
जब एक्कासी तीन बैंकमा आगो दन्कियो
काठमाडौं । सोमबार महोत्तरीको बर्दिवासको बजार सुनसान थियो । मानिसहरु आफ्नो गतिमा थिए । बैंकका कर्मचारीहरु बैंकमा काम गर्न व्यस्त थिए । दिउसो २ः१५ बजेको समय एक दुई जना मानिसको चिच्याहट सुनियो । सबैका कान ठाडा भए । एक्कासी तीन तले भवनबाट धुवाँको मुस्लो निस्कियो । ठूलो भवनभित्र काम गरिहरेका मानिसहरु एकाएक हतारिँदै बाहिर निस्किए । तीन तले भवनको दोस्रो तल्लामा रहेको सिद्धार्थ बैंकको कोठाबाट ठूलो धुवाँको मुस्लो आएपछि बैंकर्स डराए । सो भवनमा सिद्धार्थ बैंकसँगै नेपाल एसबिआई बैंक र कामना विकासकाे शाखाहरु थिए । तीन वटै बैंकका कर्मचारीहरु हतारिँदै बाहिरिए । मानिसहरुको ठूलो जमात जम्मा भयो । लगत्तै प्रहरीको भ्यान नजिकै आपुग्यो । त्यस लगत्तै दमकल आइपुग्यो । तीन तले सो भवनबाट ठूलो धुवाँको मुस्लो बाहिरिएपछि धेरैले तीन वटै बैंकमा ठूलो क्षति हुन सक्ने अनुमान गरेका थिए । स्थानीयबाट अचानक आगलागी भएको सूचना पाएपछि प्रहरीसहित नेपाली सेनाको टोली र दमकल पुगेर आगो निभाउने प्रयास भयो । दिउसो २ः१५ बजे लागेको आगो स्थानीय, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी र दमकलको सहयोगमा २ः५० बजे पूर्ण रुपमा नियन्त्रणमा आयो । इलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी रबी रावलका अनुसार सो भवनको तेस्रो तल्लामा अभिषेक झाले सञ्चालन गरेको ३६५ फिटनेस जिम सेन्टरमा विद्युत सर्ट भएर आगलागी भएको थियो । आगलागीले फिटनेस जिम सेन्टरमा प्रयोग भएको ट्रस, जिमको सामग्री जल्दा ९० लाख रुपैयाँ बराबरको क्षति भएको उनले बताए । तीन वटा बैंकसँगै भएको र सोही भवनमा आगो लाग्दा ठूलो क्षति हुने अनुमान धेरैले गरेपनि बैंक भने सुरक्षित रहेको रावलको भनाइ छ ।
रिलायन्स लाइफ इन्स्योरेन्सबाट सबै विवरण पायौं, अब अध्ययन गर्छौं : अध्यक्ष सिलवाल
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले बाँके कोहलपुरका मृतक सर्जन बिकको बीमा गरेदेखिको सबै विवरणहरु बीमा समितिलाई बुझाएको छ । इन्स्योरेन्सले बीमा समितिको निर्देशन अनुसार २४ घण्टाभित्रै उक्त विवरणहरु समितिमा पेश गरेको हो । समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले पनि इन्स्योरेन्सबाट सबै डकुमेन्टहरु पाइसकेको बताए । ‘कम्पनीबाट डकुमेन्ट झिकाइएको छ, अध्ययन हुन्छ, कानुनी प्रकृया अनुसार नै अध्ययन गरेर कमी कमजोरी पत्ता लगाउँछौं र थप निर्णय गर्छौं,’ उनले भने । यससँगै अब समितिका नियमन विभागले उक्त विषयमा थप अध्ययन गर्ने छ । र, कारवाहीको प्रकृया अघि बढाउने छ । इन्स्योरेन्सले साउन १६ गते बीमा समितिलाई बुझाएको सम्पूर्ण डकुमेन्टलाई एकमुष्ट रुपमा ‘पोलिसी डकेट’ भनिन्छ । जसमा पोलिसी जारी गर्दा बुझाएको डकुमेन्ट, अण्डराइटिङ् गरेको डकुमेन्ट, बीमितको आयश्रोत लगायतको सबै विवरणहरु समेटिने समितिका अध्यक्ष सिलवालले जानकारी गराए । इन्स्योरेन्सका अध्यक्ष तारा चन्द केडिया भने यो काण्डले बीमा क्षेत्रमै नराम्रो निजिर परेको र अब आम मानिसमा शंका पैदा हुनेमा चिन्ता व्यक्त गरे । यस्तो थियो घटना ? गरिब परिवारका २१ वर्षीय सर्जन बिकको परिवारलाई डिपेण्डेण्ट भिसामा अस्ट्रेलिया लैजाने भन्दै नक्कली विवाह गराई २ करोड ५० लाख रुपैयाँको बीमासमेत गराएको पाइएको छ । २ महिला र ४ पुरुषको गिरोहले नक्कली विवाह गरी इच्छाइएको व्यक्तिको नाममा नक्कली श्रीमतीको नाम राखेर बैंक खाता खोलिएको र बीमा गराइएको पाइए पछि सो ६ जना अहिले प्रक्राउ परेका छन् । पक्राउ पर्नेमा मृतकसँग नक्कली विवाह गरी बीमाबाट प्राप्त २ करोड ५० लाख लिएकी २१ वर्षीया सपना मल्ल, मुख्य योजनाकार ३१ वर्षीय सञ्जीव अर्याल, सञ्जीव अर्यालसँग पूर्व चिनजान एवं बीमा एजेन्ट ३२ वर्षका सरदार अहमद खाँ, सपना मल्ललाई विदेश लैजाने भनि चिनाइएका व्यक्ति ३३ वर्षका टोपबहादुर राना क्षेत्री, काठमाडौंमा बीमाको भुक्तानि लिन सपना मल्ललाई ल्याउने ३८ वर्षका दीपक केसी र विवाह गरेर विदेश जाँदा फाइदा हुन्छ भनेर प्रतिवादी सपना मल्ललाई सञ्जीवसँग चिनजान गराउने वर्ष २१ की ललिता सापकोटा रहेका छन् । वार्षिक आम्दानी २ लाख मात्रै भएका युवकको २ करोड ५० लाख रुपैयाँ बराबरको बीमा गराइएको र ती युवकलाई योजनामै हत्या गरिएको पाइएको छ । हत्यापछि इन्स्योरेन्सबाट आएको पैसा गिरोहका सदस्यहरूले बाँडेर लिएको पाइएको पनि बताए । जसमध्ये सपना मल्लको खातामा आएको २ करोड ५० लाख रुपैयाँमा ८० लाख ३६ हजार रुपैयाँ सञ्जीव अर्यालको खातामा, ६० लाख दीपक केसीको खातामा, सपनाकी आमा छविकुमारी मल्लको खातामा १७ लाख ४६ हजार, सपना मल्लाको खातामा ४६ लाख ८९ हजार रहेको बताए । उक्त रकमबाट ३ लाख ३ हजार पाँच सय एटीएम कार्डबाट निकालिएको, स्वाइप गरेर निकालिएको रकम २ लाख ६९ हजार ९ सय र ५ हजार ३ सय १६ रुपैयाँ रिचार्ज गरिएको पाइएको बताए । मृतकसँग एकपटक विवाह दर्ताका बेलामा मात्रै भेट भएकोले विवाह नक्कली भएको प्रमाणित हुने बताए । २ करोड ५० लाख रुपैयाँ बराबरको इन्स्याेरेन्स गराइएका सर्जन बिकको २०७८ वैशाख २ गते बाँकेको कोहलपुरमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको बताइएको थियो । मोटरसाइकल चलाउने लाइसेन्ससमेत नभएका बिकलाई टोपबहादुर राना क्षेत्री भन्ने व्यक्तिले चलाएको मिनिबसले ठक्कर दिएपछि बिकको मृत्यु भएको थियो । सवारी दुर्घटनामा युवकको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट सवारी ज्यान मुद्दा चलाइएकोमा २०७८ माघ २५ मा फैसला हुँदा रानालाई एक महिना कैद र २ हजार रुपैयाँ जरिवाना गरी छाडिएको थियो । मुद्दा सकिए लगत्तै प्रहरी प्रतिवेदनका आधारमा मृत्यु दर्ता, दुर्घटनाको प्रमाण आदि पेस गरी गिरोहले रिलायन्स लाइफ इन्स्याेरेन्सबाट २ करोड ५० लाख रुपैयाँ भुक्तानी लिएका थिए ।
साढे १४ करोड रुपैयाँको कोदो आयात
काठमाडौं । नेपाल कृषि प्रधान देश भएपनि दुई आर्थिक वर्षमा झण्डै साढे १४ करोड रुपैयाँ बराबरको कोदो आयात भएको सरकारी तथ्याङ्कले देखाएको बताएको छ । आर्थिक वर्ष २०७७/०७८ मा ७ करोड २२ लाख रुपैयाँ र गत वर्ष ७ करोड १५ लाख २७ हजार रुपैयाँ गरी कूल १४ करोड ३७ लाख रुपैयाँ बराबरको कोदो आयात भएको राष्ट्रिय कृषक समूह महासंघले बताएको छ । राष्ट्रिय कृषक समूह महासंघ, नेपाल, एशोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज) र छवेली कृषक समूहले मनाएको कोदो दिवस कार्यक्रममा कोदो खाद्यान्न बालीको मुख्यबाली साथै औषधी गुणसम्पन्न तथा पोसिलोयुक्त खाद्यान्न भएकाले जगेर्ना र उत्पादन तथा उपभोगमा जोड दिन माग गरेका छन् । समावेशी आयोगका सदस्य (किसानतर्फ) विष्णु माया ओझाले कोदोको संरक्षणमा जोड दिनुपर्ने बताउँदै उपभोग बढाउनुपर्नेमा जोड दिईन । अब कोदा लुकाएर सेवन भन्दा पनि सबैलाई देखाउने गरि सेवन गर्न उनले आग्रह गरिन् । कोदो सबैभन्दा बढी पोषिलो रहेकाले किसानले आर्थिक तथा स्वास्थ्यको फाइदा लिन सक्ने उनको भनाइ छ । लोप हुन लागेको कोदोबाट थुप्रै परिकार बनाउन सकिने बताउँदै बजारको समस्या नहुने उनको बुझाइ छ । किसान आयोगका प्रवक्ता जीवन्ती पौडेलले कोदो नेपालको महत्वपूर्ण खाद्यान्न भएपनि लोप हुने अवस्थामा पुगेको प्रति चिन्ता व्यक्त गरिन् । कोदोलाई सांस्कृतिक खानाका रुपमा विकास गर्दै राष्ट्रिय बालीको मान्यता दिलाउन पहल गर्नुपर्नेमा उनको जोड छ । कृषि अभियानका संयोजक उद्धव अधिकारीले कोदो हेपहा बालीको रुपमा चिनिएको भएपनि अन्य बाली भन्दा १० गुणा पोषिलो रहेको बताए । कोदो विज्ञ छवि पौडेलले कोदोमा औषधी हुने भएकाले नियमित सेवन गर्न सुझाव दिए । जलवायुमैत्री खेतीका साथै कोदोको स्वास्थ्य लाभ र यसको खेतीका लागि उपयोगिताबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ७० भन्दा बढी देशहरूको समर्थनमा संयुक्त राष्ट्रसंघको महासभाले २०२३ लाई कोदो अन्तराष्ट्रिय वर्षको रुपमा मनाउने घोषणा गरेको छ । नेपालमा २०७७ साउन १५ देखि कोदो दिवसका रुपमा मनाउन सुरु गरिएको हो । रैथानीबालीको रुपमा रहेको कोदो बालीको संरक्षण, सम्वर्द्धन तथा उत्पादनमा वृद्धिका लागि आइतबार ‘कोदोको योगदानः खाद्य तथा पोषण सुरक्षामा बरदान’ कोदो दिवस मनाएको हो । राष्ट्रिय कृषक समूह महासंघ, नेपाल, एशोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज) र छवेली कृषक समूहले मकवानपुरको भिमफेदी गाउँपालिकाको छवेलीमा गएर कोदो दिवस मनाएको महासंघका अध्यक्ष नवराज वस्नेतले जानकारी गराए । कोदोको महत्व कोदो पोष्टिकताको हिसाबले विश्वको महत्वपूर्ण बाली हो । यो थोरै खाएर पनि पेट भरिने र धेरै पोषण प्राप्त गर्न सकिने हुन्छ । यसमा असाध्यै धेरै पौष्टिक तत्व रहेको हुन्छ । खाद्य तथा पौष्टिक सुरक्षामा ठूलो योगदान गर्दछ । रेसा र शरिरलाई चाहिने क्याल्सियम, फसफोरस, फलाम, लवन, अमिनोएसिड लगायतका खाद्य पदार्थ पाईने हुनाले मधुमेह, एनिमिया, हड्डि बलियो बनाउने, मुटु तथा रगतको मात्रा बढाउनलाई औषधीय बस्तुको रुपमा प्रयोग भएको पाईन्छ । यसले रगतमा बोसो र कोलेस्टरोलको मात्रा घटाउछ । जाडो याममा कोदो खानाले चिसोबाट बचाउन र सर्दि हटाउन यो उपयोगी हुन्छ । कोदोलाई हिमालयन सुपर फुड (हिमालयन सर्बेाउत्तम खाना)को रुपमा चिनिन्छ । नेपालका आदिवासी जनजाती समुदायहरुमा चाडपर्व तथा पुजा आजामा कोदोको रक्सी चढाउने तथा अतिथि सत्कारमा प्रयोग हुने भएकाले यसको सांस्कृतिक महत्व रहेको छ । पशु बस्तुको लागि समेत यो महत्वपूर्ण आहार हो । भाते संस्कृतिलाई न्यूनिकरण गरी खाद्य विविधता र पोषण सुरक्षामा नयाँ आयाम शुरुवात गर्न सकिन्छ । पौष्टिकता र औषधीयपन तथा मानव स्वास्थमा पुर्याउने टेवाबारे ज्ञानको प्रसार गरि यसको प्रवद्र्धन गराउन सकिन्छ । शिशु खाद्य, बृद्ध खाद्य, तथा विभिन्न परिकारको रुपमा विस्तार गर्न सकिन्छ । अनुसन्धानबाट उन्नत प्रविधिको विकास गरि उत्पादन गराउन सकिन्छ । सम्मानित बालीको रुपमा विकास गरी यसको महत्वलाई बृद्धि गर्न सकिन्छ । राष्ट्रिय नीतिमा सम्बोधन गराई कोदोलाई मदिरा उद्योगको आधारको रुपमा विकास गर्न सकिन्छ । राष्ट्रिय कानुनमा नै सुधार गरी नेपाली ब्राण्डेड कोदोको मदिरा उत्पादन र विदेश निकासी गर्न सकिन्छ । जलवायु परिवर्तनको न्यून प्रभाव पर्ने भएकाले दिर्घकालीन कृषि बालीको रुपमा विकास गर्न सकिन्छ । सिमावर्ती क्षेत्रमा हुने सस्तो र कम गुणस्तरको उत्पादन र आयातले आन्तरिक उत्पादन विस्थापन गरायो । फलस्वरुप गत वर्ष सात करोड १५ लाख २७ हजार रुपियाँ बराबरको कोदो आयात भएको पाईन्छ भने आर्थिक वर्ष २०७७/७८ मा सात करोड २२ लाख रुपियाँ बराबरको कोदो आयात भएको सरकारी तथ्याङ्क छ । पाखो खोस्रेर दाना फाल्दा पनि उम्रेर फल्ने भएकाले उत्पादनलाई व्यवस्थित गर्दै करोडौंको आयात रोक्न स्वेदशमै कोदो उत्पादनलाई प्रवद्र्धन गर्न आवश्यक देखिन्छ ।
नागरिक उड्डयन प्राधिकरणको आम्दानी बढ्यो, वित्तीय प्रगतिमा ४८ प्रतिशतको सुधार
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आर्थिक वर्ष २०७८/७९ मा १६.६७ प्रतिशतले आम्दानी बढाएको छ । प्राधिकरणले विमानस्थल शुल्कको आम्दानीमा वृद्धि गर्दै उक्त वर्ष सात अर्ब ४४ करोड ७१ लाख रुपैयाँ बराबरको आम्दानी गरेको हो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले अघिल्लो वर्ष प्राधिकरणले विमानस्थल शुल्कवापतको ल्याण्डिङ पार्किङ, नेभिगेशन, भाडा आदिबाट आम्दानी गर्न सफल भएको जानकारी दिए । उनका अनुसार प्राधिकरणले गत वर्ष छ अर्ब ६८ करोड २९ लाख रुपैयाँ आम्दानी प्रक्षेपण गरेकामा सात अर्ब ४४ करोड ७१ लाख रुपैयाँ आम्दानी भएको छ । प्राधिकरणले अघिल्लो आर्थिक वर्ष जम्मा ४३ अर्ब ६७ करोड ७७ लाख रुपैयाँ बजेट विनियोजन गरेकामा २१ अर्ब ३२ करोड एक लाख रुपैयाँ खर्च भएको जनाएको छ । यसमध्ये वित्तीय व्यवस्थापनमा सात अर्ब ५३ करोड ३८ लाख रुपैयाँ विनियोजन गरिएकोमा चार अर्ब ६९ करोड ७४ लाख रुपैयाँ खर्च भएको छ । कार्यालय सञ्चालनतर्फ चार अर्ब १० करोड ८१ लाख रुपैयाँ विनियोजन भएकोमा तीन अर्ब २६ करोड २७ लाख रुपैयाँ खर्च भएको छ । प्राधिकरणले समग्रमा गएको आवमा वित्तीय ४८.८१ प्रतिशत प्रगति गरेको छ । प्राधिकरणले सार्वजनिक गरेको आव २०७९/८० को बजेट तथा कार्यक्रममा विमानस्थल पूर्वाधार विकास, विमानस्थल सञ्चालन, प्राधिकरणको संस्थागत सुधार, उड्डयन तथा हवाइ सुरक्षा सुदृढीकरण, मानव संशाधन विकास र गैरउडान आय वृद्धिलाई प्राथमिकता दिएको छ । प्राधिकरणले चालु आव २०७९/८० का लागि ४१ अर्ब ८५ करोड ९२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । अघिल्लो आव ४३ अर्ब ६७ करोड ७७ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । पर्यटन पुनरुत्थानका लागि प्राधिकरणले चालु आवभित्र गरिने कामको सुरुवात गरिसकेको जनाएको छ । त्यसका लागि नीतिगत सुधार, पूर्वाधार विकास, दक्ष जनशक्ति उत्पादन र उच्चतम प्रविधिको उपयोग गर्दै सेवालाई सुदृढीकरण बनाइनुका साथै आन्तरिक तथा अन्तराष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन व्यवस्थापन तथा सौन्दर्यकरणलगायत कार्य गरिने प्राधिकरणको बजेट तथा कार्यक्रममा उल्लेख छ । रासस