कम पूँजी भएका बैंकलाई मर्जरको दबाब, बिजनेस विस्तारमा चुनौति
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा मर्जरको नीति प्राथमिकताका साथ लागू गरेपछि बैंकहरू मर्जरको दबाबमा छन् । विशेष गरेर वाणिज्य बैंकहरू मर्जरका लागि एकआपसमा घनिभूत रूपमा छलफलमा व्यस्त देखिन्छन् । नबिल बैंक र नेपाल बंगलादेश बैंकबीच मर्जर सम्झौता भएर पनि एकिकृत कारोबार भएपछि अन्य वाणिज्य बैंकहरू मर्जर प्रक्रियामा जानका लागि तातेको प्रष्ट बुझिन्छ । राष्ट्र बैंकले जेठ अन्तिम सातामा वाणिज्य बैंकका सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूलाई बोलाएर मर्जरमा पाइने छुट सुविधा असारमसान्तपछि रोकिने भनेपछि असार महिनामाा बैंकहरूबीच मर्जरका लागि फरक खालको ‘नेगोसियसन’ देखिएको थियो । ठूला वाणिज्य बैैंकहरुले साना बैंकहरुलाई महँगो मूल्यमा मर्जर सम्झौता गर्ने परिपाटी पनि सुरू भयो । आफ्नो प्रतिस्पर्धीहरू धमाधम ठूलो बैंकसँग मर्जरमा जान थालेपछि सानो पूँजी भएका बैंकहरु अहिले दबाबमा देखिएका छन् । आइतबार मात्रै प्रभु बैंक र सेञ्चुरी बैंकबीच १ः१ स्वाप रेसियोमा मर्जर सम्झौता भयो । यो सम्झौताले साना बैंकहरुलाई मर्जरमा जान थप दबाब सिर्जना गरेको देखिन्छ । ठूला बैंकहरुले साना बैंकहरूलाई महँगो मूल्यमा मर्जर सम्झौता गर्दा १५ अर्ब रुपैयाँभन्दा कम चुक्ता पूँजी भएका वाणिज्य बैंकहरुलाई ठूलो दबाब परेको छ । हालसम्म विभिन्न ८ वटा वाणिज्य बैंकले मर्जरमा जान प्रारम्भिक सम्झौता गरिसकेका छन् । मर्जर सम्झौता गरेका ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू (बीओके) को चुक्ता पूँजी ३४ अर्ब ४१ करोड ९७ लाख ६७ हजार रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट (एनआईबिएल) र मेगा बैंकको चुक्ता पूँजी ३२ अर्ब ८२ करोड ५९ लाख ५६ हजार रुपैयाँ, प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकको चुक्ता पूँजी २२ अर्ब २६ करोड २६ लाख रुपैयाँ र हिमालयन बैंक र सिभिल बैंकको चुक्ता पूँजी २० अर्ब ३० करोड २१ लाख ५९ हजार रुपैयाँ पुग्नेछ । यसअघि नै नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गरि एकीकृत कारोबार गरेको नबिल बैंकको चुक्ता पूँजी २२ अर्ब ८३ करोड २९ लाख ८ हजार रुपैयाँ पुगेको छ । यसरी धमाधम मर्जर सम्झौता गरेर ठूलो पुँजी बनाउने प्रतिस्पर्धा बैंकहरुबीच चलिरहँदा साना पूँजी भएका वाणिज्य बैंकहरु अहिले पाटर्नर खोज्न भौतारिरहेका छन् । पूँजी जति बढी भयो त्यति नै ब्यापार विस्तारमा बैंकहरूलाई सहज हुन्छ । चुक्ता पूँजी बढी भएका बैंकले लगानी क्षमता धेरै राख्ने र उनीहरुको व्यापारमा समेत ग्रोथ हुने भएकाले साना बैंकलाई त्यसले ठूलो असर पर्न सक्ने अनुभवी बैंकर्सको धारणा छ । अहिले २० वटा बैंकको पूँजी १५ अर्ब रुपैयाँभन्दा कम छ । कुमारी, नेपाल बैंक, सिटिजन्स बैंक, राष्ट्रिय वाणिज्य बैंक, हिमालयन, प्रभु, सिद्धार्थ, एनआईसी एशिया, लक्ष्मी, सानिमा, एनसीसी, बैंक अफ काठमाण्डू, माछापुच्छ्रे, सनराइज, नेपाल बंगलादेश, नेपाल एसबिआई, सेञ्चुरी, एभरेष्ट, स्ट्याण्डर्ड चार्टट र सिभिल बैंकको चुक्ता पूँजी १५ अर्ब भन्दा कम छ । सनराइज, लक्ष्मी, सिटिजन्स इन्टरनेशनल, माछापुच्छ्रे, एभरेष्ट, एनसीसी, सिद्धार्थ र कुमारी बैंकलाई मर्जरमा जान बढी दबाव परेको छ । उसो त यी बैंकहरु अहिले मर्जरका लागि एकापसमा छलफल गरिरहेका छन् । हाल सनराइजको १० अर्ब ११ करोड ८८ लाख, लक्ष्मीको ११ अर्ब ५५ करोड १३ लाख, सिटिजन्सको १४ अर्ब २० करोड ९ लाख, माछापुच्छ्रेको १० अर्ब २५ करोड ७१ लाख, एभरेष्टको ९ अर्ब ४६ करोड ७३ लाख, एनसीसीको ११ अर्ब १३ करोड ९६ लाख र कुमारी बैंकको १४ अर्ब ७१ करोड ११ लाख रुपैयाँ चुक्ता पूँजी छ । यिनै बैंकहरु अहिले मर्जका लागि पाटर्नर खोजिरहेका छन् भने कुरा मिलेमा छिट्टै मर्जर प्रक्रियामा सामेल हुने तयारी गरिरहेको बुझिएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् पुस मसान्तसम्म मर्जर सम्झौता गरेर एकिकृत कारोबार गर्नेलाई मात्रै कर छुट सुविधा दिने घोषणा गरेसँगै बैंकहरू थप हतारिएर छलफल चलाइरहेका छन् । के भन्छन् बैंकर्स ? सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निश्चलराज पाण्डे बैंकहरु आ-आफ्नो मिसन अनुसार चल्ने भएकोले मर्जरमा नहतारिएको धारणा राख्छन् । स्वभाविक रूपमा कोही ठूला र कोही साना हुने भएकोले सानाले तत्काल मर्जरमै जानु पर्छ भन्ने बाध्यता पनि नरहेको उनको तर्क छ । उनले बैंकको पूँजी ठूलोभन्दा पनि क्यापिटल एडुकेसी रेसियोले महत्व राख्ने बताए । ‘पूँजी ठूलो हुँदा धेरै बिजनेश गर्न त सकिन्छ तर, बैंकको रिस्कबाट हेर्ने हो भने क्यापिटल एडुकेसी रेसियो कस्तो छ, साइज कस्तो छ, ठूलो बैंक हुँदैमा सानो बैंकले काम गर्न सक्दैन भन्ने विश्वका कुनै पनि देशमा अभ्यास छैन्,’ उनले भने । कति रुपैयाँको व्यवसाय गर्नेलाई कति रुपैयाँ पूँजी आवश्यक हो भनेर राष्ट्र बैंकको नियममा रहेकाले सोही दायराभित्र सबै बैंकले बस्नुपर्ने उनको भनाइ छ । यस्तै, एभरेष्ट बैंकका सीईओ सुदेश खालिङले साइज र क्यापिटलका हिसावले सबै बैंकहरु ठूला नै रहेको धारणा राखे । उनका अनुसार साना बैंकलाई भन्दा ठूला बैंकलाई अझै ठूलो हुनका लागि हतारो भएको देखिन्छ । ‘बैंकलाई अर्गानिक ठूलो हुनका लागि ब्यापार बढाएर गाह्रो छ, त्यो भन्दा चाँडो भनेको मर्जर एक्विजिशनबाटै जाने हो, ठूला बैंकले मर्ज गर्दा १ः१ को स्वाप रेसियो दिइरहेका छन्, को सानो को ठूलो यसले पनि प्रष्ट पारेको छ, यति राम्रो प्राइस पाएर जाने हो भने ठूलो बैंकमा पनि गाभिन पाइने भयो,’ उनले भने । उनका अनुसार साना बैंकलाई दबाब भने स्वभाविक छ । मर्जर भएर ठूला भएका बैंकलाई पनि चुनौति रहेको उनको बुझाइ छ । ‘सबैभन्दा ठूलो चुनौति सेयरधनीलाई प्रतिफल दिनु हो, राम्रो प्रतिफल दिने हो भने सानालाई गाह्रो हुँदैन,संख्या घट्ने वित्तीकै सानालाई पनि काम गर्न सहज हुन्छ,’ उनले विकासन्युजसँग भने ।
प्राइम कमर्सियल बैंकले ल्यायो १० गुणा रकम बढ्ने तीन मुद्दती खाताहरु
काठमाडाैं । प्राइम कमर्सियल बैंकले तीन वटा मुद्दती खाता संचालनमा ल्याएकाे छ । बैंकले प्राइम धनवृद्धि मुद्दती खाता (व्यक्तिगत), प्राइम धनवृद्धि रेमिट मुद्दती खाता (व्यक्तिगत) तथा प्राइम धनवृद्धि (संस्थागत) मुद्दती खाता सञ्चालनमा ल्याएको हाे । प्राइम धनवृद्धि मुद्दती खाता (व्यक्तिगत) नेपाली नागरिकहरुका लागि, प्राइम धनवृद्धि रेमिट मुद्दती खाता (व्यक्तिगत) विदेशबाट पठाएको रकम प्राप्त गर्ने नेपाली नागरिकका लागि तथा प्राइम धनवृद्धि संस्थागत मुद्दती खाता संस्थागत लगानीकर्ताहरुका लागि लक्षित गरि सञ्चालनमा ल्याइएकाे बैंकले जनाएकाे छ । बैंकका अनुसार ग्राहकहरुले यी मुद्दती खाताहरुमा जम्मा गरेको रकम २१ वर्ष ७ महिना २० दिन (प्राइम धनवृद्धि मुद्दती खाता), १९ वर्ष १० महिना ७ दिन (प्राइम धनवृद्धि रेमिट मुद्दती खाता) तथा २६ वर्ष ६ महिना ३ दिन (प्राइम धनवृद्धि संस्थागत मुद्दती खाता) सम्ममा दश गुणा बढी रकम पाउनेछन् । प्राइम धनवृद्धि मुद्दती खाता र प्राइम धनवृद्धि रेमिट मुद्दती खाताका निक्षेपकर्ताहरुले १८ घातक रोगकाविरुद्ध बीमा १० लाख, दुर्घटना बीमामा १० लाख र १ लाखसम्मकाे स्वास्थ्य बीमाप्राप्त गर्न सक्नेछन । यस्तै, ग्राहकले आवश्यकता अनुसार ९० प्रतिशतसम्म ऋण सुविधा प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएकाे छ ।
नर्भिकले भित्र्यायो अल्माको लेजर मसिन, छालाको अत्याधुनिक उपचार अब नेपालमै
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले नेपालमै पहिलोपटक विश्वविख्यात अल्मा कम्पनीबाट उत्पादित डर्मा क्लियर मसिन (लेजर मसिन) भित्र्याएको छ । सोमबार अस्पतालको कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टरमा सप्लायर्स कम्पनीको तर्फबाट रामशरण मल्ल, नर्भिक इन्टरनेशनल हस्पिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र अस्पतालकी छाला रोग विशेषज्ञ डा. सिरपा बज्राचार्यले संयुक्त रुपमा अत्याधुनिक लेजर मसिन सार्वजनिक गरेका थिए । सप्लायर रामशरण मल्लका अनुसार अत्याधुनिक अल्माको डर्मा क्लियर मसिन भित्र्याउने नर्भिक नेपालकै पहिलो अस्पताल हो । यो एउटै मसिनको मद्धतले तीनवटा विशिष्ट उपचारको काम गर्न सकिने उनी बताउँछन् । उनकाे अनुसार यो मसिनको मद्धतबाट छालालाई भित्रैदेखि सफा गर्ने, मोस्चराइजिङ र नरम बनाउने तथा छालाका मृत कोशिकाहरुलाई राम्रोसँग बाहिर निकाल्ने काम गर्न सकिन्छ । यस्तै, मल्लकाअनुसार मसिनमा जडित पावर सक्सनका कारण छालाको भित्रैसम्म गाडिएर बसेको फोहोर राम्रोसँग बाहिर निस्किन्छ । ‘अल्मा लेजरको आफ्नै प्रि ट्रिटमेन्ट सोल्युसन पनि रहेको छ, जसले स्कीनलाई नरम, मुलायम र हाइड्रेट गराउँछ । यो फेसियल स्कीनका लागि अहिलेसम्मकै उत्कृष्ट र सबै विशेषता एउटैमा सुसज्जित भएको मसिन हो,’ उनले भने । लेजर मसिन सार्वजनिक गर्दै नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले अत्याधुनिक मसिन पहिलोपटक नेपाल भित्र्याएर छालाकै अत्याधुनिक उपचार समेत नेपालमै सम्भव हुने अवस्था बनेको बताए । ‘अब छालाको कुनै पनि समस्या आउँदा स्तरीय उपचारका लागि विदेशिनुपर्ने बाध्यता हटेको छ,’ उनले भने,‘नर्भिकले सञ्चालनमा ल्याएको कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टरमा विश्वविख्यात अत्याधुनिक उपचार विधिहरुबाट छालाको उपचार गरिन्छ ।’
श्रीलङ्कामा इन्धन कारोबारमा क्यूआर कोड लागू
काठमाडाैं । श्रीलङ्कामा इन्धन कारोबार गर्दा क्यूआर कोडमार्फत् गर्ने व्यवस्था लागू गरिएको छ । इन्धनको अभाव हुनु र इन्धन किन्न चाहने उपभोक्ता धेरै भएकाले भिड व्यवस्थापन गर्न गाह्रो भएर क्युआर कोड प्राणाली लागू गरिएको हो । क्युआर कोडमार्फत कारोबार गरेपछि इन्धनको समान तथा पारदर्शी वितरण हुने, लाइनमा भिड लगाउन नपर्नेलगायतका फाइदा हुने सरकारी अधिकारीहरुले जनाएका छन् । देशभरीका सबै पेट्रोल पम्पहरुमा यो व्यवस्था गरिएको र उपभोक्तालाई पनि यस बारेमा जानकारी गराइएको उर्जा मन्त्री कन्चना विजेसेकेराले बताउनु भयो । उहाँले इन्धन लिनका लागि पेट्रोल पम्पहरुमा भिडभाड नगर्न पनि उपभोक्तहरुलाई अनुरोध गर्नु भएको छ । सरकारले उपभोक्तको चापका आधारमा हरेक पेट्रोल पम्पलाई इन्धनको कोटा निर्धाण गरेर कोटा अनुसारको इन्धन उपलब्ध गराएको छ । एजेन्सी
एकैदिन ८९५ जनामा देखियो कोरोना संक्रमण
काठमाडौं । एकैदिन ८९५ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ५ हजार ९ सय ९ जनामा परिक्षण गर्दा ८९५ जनामा संक्रमण देखिएको छ । यस्तै, आज २६४ जना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार ९३४ पुगेको छ । मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको संक्रमणको कारण १ जनाको मृत्यु भएको छ ।
नेपाल लाइफद्वारा उत्कृष्ट व्यवसाय गर्ने कर्मचारीहरु सम्मानित
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले उत्कृष्ट व्यवसाय गर्ने कर्मचारीहरु र शाखा एवं उपशाखाहरुलाई सम्मान गरेकाे छ । कम्पनीले चितवनमा संचालन गरेकाे तीन दिने बिजनेश एक्सिलेन्स कन्फरेन्समा २१ विधामा उनीहरुलाई सम्मान गरेकाे हाे । उक्त सम्मेलनमा देशभरिबाट सेल्स तथा मार्केटिंगमा कार्यरत २३० भन्दा बढी कर्मचारीहरुको सहभागिता रहेको थियो । सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले गएको आर्थिक वर्षको व्यपार समिक्षा गर्दै चालु आर्थिक वर्ष २०७९/८० मा सेल्स रणनीतिका बारेमा सम्मलेनमा जानकारी गराएका थिए । कम्पनीमा हाल कार्यरत जोन प्रमुखहरु, क्षेत्रीय प्रमुखहरु लगायत प्रधान कार्यालयका विभागीय प्रमुखहरुले सम्मेलनमा आ–आफ्नो प्रतिवेदनहरु प्रस्तुत गरेका थिए । सम्मेलनमा मोटिभेसनल स्पीकरद्वारा क्षमता अभिवृद्धि एवं सेल्स कौशलताका सम्बन्धमा प्रशिक्षण समेत दिइएको थियो ।
को हो काठमाडौंको फोहोर व्यवस्थापनमा अवरोध गर्ने गिरोह ?
काठमाडौं । गत शनिबार राजधानीमा भएको एक कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीबराम श्रेष्ठले फोहोर भित्रको गिरोहको कारणले काठमाडौंको फोहोरमैलाको व्यवस्थापन हुन नसेकको वक्तव्य दिए । उनले फोहोरमा ठूलो गिरोह सक्रिय रहेको भन्दै फोहोर व्यवस्थापनको विषय चुनौतिपूर्ण बन्दै गएको धारणा राखे । उनले मात्रै होइन निवर्तमान सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले समेत काठमाडौंको फोहोरमैलाको व्यवस्थापनमा अवरोध गर्नेलाई उच्च राजनैतिक तहबाट नै संरक्षण भएको बताउँदै आएकी थिइन् । सिसडोलका वासिन्दाले आफ्ना केही माग राख्नुपर्यो भने फोहोरको ढुवानीमा अवरोध गर्ने गरेको उनको धारणा थियो । यसरी बहालवाला मन्त्रीबाटै उच्च राजनीतिक व्यक्तिकै संरक्षण भएको भनेपछि आम सर्वसाधारणले यस विषयवप्रति चासो देखाएका छन् । को हो फोहोर व्यवस्थापनमा अवरोध गर्ने गिरोह ? सरकारले आफुहरुसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट सरोकार समितिले आउँदो भदौ १ गतेदेखि फोहोर फाल्न नदिने घोषणा गरेको छ । सो समितिले पत्रकार सम्मेलनमार्फत् आफ्ना मागहरु सार्वजनिक गर्दै प्रधानमन्त्री कार्यालदेखि विभिन्न सरोकारवाला मन्त्रालयहरुमा ज्ञापनपत्र बुझाउने काम गरेको छ । अहिले पनि विगतदेखि काठमाडौंका विभिन्न ठाउँहरुमा थुप्रिएर रहेका फोहोर उठिसकेको छैन । साथै समयमा नै नियमित रुपमा फोहोर उठ्न नसकेको विषय पनि दोहोरिरहेको छ । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको विषयमा देखिएको समस्यालाई एकले अर्कालाई दोषारोपण गर्ने क्रम रोकिएको छैन । दोषारोपणकै क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीबराम श्रेष्ठले फोहोरमैलाको गिरोह भनेर अमुक समूहलाई आरोप लगाएका छन् । ‘फोहोरमैलाको कुराहरु अहिले लामै कथा भइसकेको छ, सामान्य कुरा हो तर हामीले त्यसलाई अहिलेसम्म पनि समाधान गर्न सकेका छैनौं, फोहोरमैला भित्रको गिरोहले फोहोरमैला समाधान गर्न दिँदैन, फोहोरमैला समाधान गर्नको लागि ठूलो कुरा होइन, ठूलो कुरा बनाइएको छ, त्यहाँ भित्रको गिरोहले,’ मन्त्री श्रेष्ठले भनेका थिए । काठमाडौं महानगरपालिका वातावरण तथा कृषि विभागका प्रमुख सरिता राइका अनुसार प्रत्येक वर्षको वर्षायाममा बाटोको कारणले गर्दा फोहोर बिसर्जनमा समस्या हुने गरेको छ । ‘प्रत्येक वर्ष वर्षायाममा बाटो बिग्रने र फोहोरको ढुवानीमा समस्या सिर्जना हुन्छ, साथै यो समयमा फोहोर पनि बढी उत्पादन हुने गर्दछ,’ प्रमुख राइले भनिन् । प्रमुख राइका अनुसारसमस्या प्राकृतिक र मानवीय ढंगले उत्पन्न भएको छ । काठमाडौंको झण्डै ४० प्रतिशत ठाउँबाट महानगरले र अन्य ठाउँबाट निजी क्षेत्रबाट सञ्चालित विभिन्न संस्थाहरुले फोहोर उठाएर बिसर्जन गर्ने स्थलसम्म पुर्याउने गर्छन् । फोहोरको क्षेत्रमा काम गर्ने संस्थाहरुले काठमाडौंको फोहोर व्यवस्थापनमा अवरोध नगरेको प्रमुख राई बताउँछिन् । ‘फोहोरको क्षेत्रमा काम गरिरहेका निजी क्षेत्रका संस्थाहरुले पनि फोहोर लैजाने भनेको सरकारले नै तोकेको ठाउँमा हो, उनीहरुले आफ्नो ढंगले फोहोर उठाइरहेका छन्, यदी उठाएनन् भने महानगरले हस्तक्षेप गरेर उठाउँछ,’ प्रमुख राइले भनिन् । फोहोर व्यवस्थापन गर्ने स्थानसम्म पुग्नको लागि बाटो बनाउन, त्यस क्षेत्रमा पूर्वाधारहरुको निर्माण गर्न, लिचेडको सही व्यवस्थापन गर्न र फोहोरको बैज्ञानिक व्यवस्थापन जिम्मेवारी सरकारको रहेको र सो विषय पूरा हुन नसकेको उनको भनाइ छ । ‘काठमाडौं महानगरले नै गिरोह पाल्ने काम गरेको छ’ काठमाडौंको फोहोर व्यवस्थापनमा अवरोध गर्ने निकायलाई काठमाडौं महानगरले वर्षौंदेखि पाल्दै आएको बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट सरोकार समितिका अध्यक्ष श्रीराम ढुंगाना बताउँछन् । मन्त्रीले कुन पक्षलाई किटान गरेर गिरोह भनेको आफुलाई थाहा नभएको तर, आफुहरुलाई भनेको भएपनि कुनै आपत्ति नहुने उनको भनाइ छ । ‘ठिकै छ हामीलाई भनेनी केही आपत्ति छैन, त्यहाँका जनता कोहीपनि बाँच्न पर्दैन भन्ने कसैलाई लाग्छ भने त्यसले त्यही किसिमको प्रचार गर ेहुन्छ,’ उनले भने, ‘यो समस्या हल नगरेको महानगरपालिकाले गर्दा हो, त्यो शक्ति भनेको बस्ने त्यहीँ हो, उनीहरुले भनेको मान्ने भनेको मेयर र उपमेयरले हो, गिरोह बस्ने ठाउँ महानगरपालिका हो, त्यो उनीहरुले नै पालेको हुन्छ ।’ पर्यटनमन्त्री जीबराम श्रेष्ठले फोहोर व्यवस्थापनका काम गरिरहेका निजी क्षेत्रलाई लक्षित गरेर गिरोह नभनेको हुन सक्ने फोहोरमैला व्यवस्थापन संघ नेपालका अध्यक्ष ध्रुब आचार्यले विकासन्युजलाई बताए । उनका अनुसार निजी क्षेत्रले विगत २० वर्षदेखि काठमाडौंको फोहोर व्यवस्थापको क्षेत्रमा काम गर्दै आएकोले मन्त्रीको सो टिप्पणी आफुहरुलक्षित हुन सक्दैन । ‘कुनै गिरोहले काठमाडौंको फोहोर व्यवस्थापनमा अवरोध गरेको भन्ने भनाइ सतही बुझाइ भएको उनले बताए । ‘यो सतही बुझाई हो जस्तो लाग्छ, फोहोरको क्षेत्रमा बाहिर सुनिएको जस्तो राजनीति पनि छैन,’ उनले भने । सबै राजनीतिक दलको नेतृत्वमा सरकार बनेको बेलामा पनि पछिल्लो १ वर्षदेखि ल्यान्डफिल्ड साइट पटक–पटक बन्द भएको र फोहोरको ढुवानीमा समस्या देखिएको उनको भनाइ छ । ‘मुख्य कुरा ल्यान्डफिल्ड साइडमा व्यवस्थापकीय कमजोरी हो, स्थानीयहरुको पनि स्वास्थ्य, बाटो, शिक्षा लगायत धेरै कुराको माग रहेको छ,’ उनले भने ‘उठेका मागहरु सम्बोधन गरेको भए अहिले यो समस्या आउने थिएन ।’ अहिले सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो र काठमाडौं त्रिशुली जोड्ने हाइवे बिग्रेको कारणले ढुवानीमा समस्या भएको अध्यक्ष आचार्यको भनाइ छ । अहिले फोहोर व्यवस्थापनमा देखिएको समस्या तिनै तहका सरकारहरु मिलेर समाधान गर्न चाहने हो भने रातारातमै सम्भव हुने आचार्य बताउँछन् ।
भारतबाट पेट्रोलको मूल्य घटेर आयो, निगम भने अझै नघटाउने मुडमा
काठमाडौं । पछिल्लो समय नियमित रुपमा भारतबाट पेट्रोलको मूल्य घटेर आएको भएपनि नेपाल आयल निगम भने मूल्य नघटाउने योजनामा छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । अगष्ट १ तारिखमा पठाएको नयाँ मूल्य सूचीअनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर १६ रुपैयाँ ८० पैसा र डिजेल/मट्टितेलमा समान प्रतिलिटर १२ रुपैयाँ ४५ पैसाले घटाएर पठाए पनि आयल निगम भने नघटाउने योजना बनाइरहेको छ । नेपाल आयल निगमका अनुसार निगम अहिले पनि मासिक ४ अर्ब ३२ करोड रुपैयाँ घाटामा छ । त्यसैले पनि मूल्य घटाउने योजना नभएको निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार मूल्य घटाउने वा बढाउने विषयमा अहिलेसम्म निर्णय नभएको भएपनि निगम नोक्सानमै रहेकोले घट्न सक्ने सम्भावना छैन । ‘दुई पटक भारतबाट मूल्य घटेर आएको छ, घटेको मूल्यअनुसार अहिले मूल्य समायोजन गर्न सक्ने अवस्था छैन, आइओसीलाई १४ अर्ब रूपैयाँ तिर्न बाँकी छ, मासिक करिब ४ अर्ब नोक्सानमै छ,’ उनले भने । उनका अनुसार मूल्य घटेर आउँदा पनि १५ दिनमा ७५ करोड रूपैयाँ घाटा छ भने मासिक १ अर्ब ५० करोड घाटामा हुनेछ । एकातिर तिर्नुपर्ने ऋण, अर्कोतिर घाटा पनि निरन्तर रहेकाले तत्काल मूल्य कम गर्न नसकिने उनको भनाइ छ । अघिल्लो पटक जुलाई १५ तारिखमा पनि आइओसीले पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेलमा प्रतिलिटर १६ रुपैयाँ ५६ पैसाले मूल्य घटाएको थियो । तर मूल्य घटेर आउँदासमेत यता आन्तरिक बजारमा मूल्य समायोजन नगरेको निगमले पेट्रोलमा प्रतिलिटर १४ रुपैयाँ १९ पैसा डिजेल मट्टितेलमा समान २१ रुपैयाँ ९२ पैसा घाटामा नै रहेको जनाएको थियो । पछिल्लो पटक अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको निरन्तरको गिरावटपछि दोस्रो पटक इन्धनको मूल्य घटेर आएको हो । हाल अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुड आयलको मूल्य प्रति ब्यारेल १०३ डलर हाराहारी रहेको छ । सो मूल्य थप ओरालो लाग्ने देखिन्छ । भारतले पठाउने मूल्य उसले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ ।