आठ घण्टापछि आँबुखैरेनी–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालन
दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड आठ घण्टापछि दुईतर्फी सञ्चालनमा आएको छ । आइतबार रातिदेखि परेको वर्षाका कारण आज बिहान २ बजेदेखि अवरुद्ध भएको उक्त सडकखण्ड आठ घण्टापछि दुईतर्फी सञ्चालनमा आएको हो । आँबुखैरेनी गाउँपालिका–४ ऐनापहरामा सडकमाथिबाट पहिरो खस्दा अवरुद्ध भएको सडकखण्ड पहिरो पन्छाएर दुईतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । बिहान ७ बजेदेखि एकतर्फी सञ्चालनमा आएको उक्त सडकखण्ड अहिले बिहान १० बजेदेखि दुईतर्फी सञ्चालनमा आएको हो । बिहान पनि वर्षा भइरहेको र ढुङ्गा खसेका कारण दुईतर्फी सञ्चालनमा ल्याउन ढिलाइ भएको थियो । रासस
२५० भन्दा माथी नेटवर्थ भएको धौलागिरी लघुवित्तले साउन २४ गते सार्वजनिक सेयर निष्काशन गर्दै
काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले साउन २४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बागलुङ जिल्ला केन्द्रिय कार्यालय रहेको लघुवित्तले जारी पूँजी १० करोड ३१ लाख रुपैयाँको ३२.१० प्रतिशत अर्थात् ३ करोड ३१ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । लघुवित्तले यसको लागि बिक्री प्रबन्धकमा सनराईज क्यापिटललाई नियुक्त गरेको छ । हाल उक्त कम्पनीको चुक्ता पुँजी ७ करोड रहेकोमा सार्वजनिक सेयर निश्कासन पश्चात १० करोड ३१ लाख पुग्नेछ । हाल ७ करोड पुँजी रहेको कम्पनीको अपरिस्कृत वित्तीय विवरण बमोजिम जगेडा तथा कोषमा ११ करोड रहेको छ । जसबाट प्रतिसेयर नेटवर्थ २५७ रुपैयाँ हुन आउँछ । कम्पनीको संचित नाफा नोक्सानी समेत ४.६ करोडभन्दा माथि रहेकोले सार्वजनिक सेयर निश्कासन पश्चात् समेत सेयरधनीहरुको लागी ४० प्रतिशतभन्दा बढि लाभांश वितरण गर्ने क्षमता रहेको वित्तीय विवरणले देखाउँछ । हाल राष्ट्रिय स्तरको उक्त लघुवित्त कम्पनीले ४४ वटा शाखा कार्यालयबाट सेवा विस्तार गर्दै आईरहेको छ । जसबाट करिब ३६ हजार ग्राहक सदस्यहरु मार्फत कुल १४४ करोड कर्जा विस्तार र ६८ करोड बचत संकलन गरेको छ । आ.व. २०७८/७९ को अपरिस्कृत वित्तीय विवरण बमोजिम उक्त कम्पनीको पैसा प्रतिसेयर आम्दानी ३७.२५ पैसा रहेको छ ।
साढे १० करोड रुपैयाँमा जग्गा बेच्दै राष्ट्रिय वाणिज्य बैंक
काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले साढे १० करोड रुपैयाँ बराबरको जग्गा बिक्री गर्ने भएको छ । बैंकले मुख्य शाखा कार्यालय काठमाण्डौंको नाममा रहेको उक्त जग्गा बिक्री गर्ने भएको हो । गैह्र बैंकिङ्ग सम्पती शिर्षक अन्तर्गत रहेको उक्त जग्गा (सम्पत्ति) लिलाम बिक्री गर्न १५ दिने शिलबन्दी बोलपत्र आव्हान गरेको छ । बैंकले काठमाडौं महानगरपालिका १३ मा ८३४ बर्गमिटरमा रहेको २४८ कित्ता नम्बरको जग्गा बिक्री गर्ने भएको हो । बैंकले उक्त जग्गा १० करोड ३५ लाख रुपैयाँमा बिक्री गर्ने भएको हो । सो जग्गा गोप्य सिलबन्दी बोलपत्रद्वारा लिलाम बिक्री गरिने हुँदा खरिद गर्न ईच्छकले सूचना प्रकाशित भएको १५ दिनभित्र मुख्य शाखा कार्यालय काठमाण्डौंमा सम्पर्क गर्न बैंकले भनेको छ ।
ग्राण्डी सिटीले ग्राण्डी इन्टरनेशनललाई ९ वर्ष अघि दिएको १० करोड रुपैयाँ ऋण फिर्ता ल्याउन सकस
काठमाडौं । ग्राण्डी सिटी हस्पिटलले ९ वर्षअघि ग्राण्डी इन्टरनेशनल हस्पिटललाई दिएको ऋण फिर्ता गर्न ठूलो सकस परेको छ । ग्राण्डी सिटीले हस्पिटलले विभिन्न अड्डा अदालत धाउँदा पनि ग्राण्डी इन्टरनेशनबाट सहयोगका दिएको ऋण फिर्ता ल्याउन अहिले ग्राहो परेको हो । ‘९ वर्ष अघि ग्राण्डी इन्टरनेशनल अस्पतालले बैंकको ब्याज तिर्न, डाक्टर/नर्स तथा कर्मचारीहरुको पारिश्रमिक भुक्तानी गर्न, सामान सप्लायर्सहरुलाई रकम भुक्तानी गर्न रकम अभाव भएको भन्दै ग्राण्डी सिटी हस्पिटलसँग सहयोग स्वरुप ऋण दिन आग्रह गरेकाले उपलब्ध गराएको थियो,’ ग्राण्डी सिटीले विज्ञप्तिमा भनेको छ । ‘ग्राण्डी इन्टरनेशनल हस्पिटलले २०७० जेष्ठ १० गतेका दिन ३ करोड रुपैयाँ, जेष्ठ १७ गते र २० गतेका दिन ६०/६० लाख रुपैयाँ गरी १ करोड २० लाख रुपैयाँ ऋण लिएको छ, त्यस्तै, २०७० जेष्ठ २६ गतेका दिन ४ करोड रुपैयाँ, असार ७ गतेका दिन १ करोड रुपैयाँ र असार १२ गतेका दिन १ करोड रुपैयाँ गरी जम्मा १० करोड २० लाख रुपैयाँ ऋण लिएको छ,’ ग्राण्डी सिटीले भन्यो ‘अस्पतालले ९ वर्ष अगाडी ९ महिनामा तिर्ने बाचा गरेको भएपनि हालसम्म साँवा र ब्याज कुनै रकम उपलब्ध गरेको छैन् ।’ यो बीचमा ग्राण्डी सिटी आफ्नो रकम असुल गर्नका लागि काठमाण्डौं जिल्ला अदालतमा मुद्दा दायर गरेपछि अदालतले २०७६ असार १६ गते रकम तिर्न निर्देशन दिएको थियो । उल्टै फैसला बमोजिम साँवा ब्याज नतिरी उच्च अदालतमा पुनरावेदन दायर गरेको थियो । उच्च अदालत पाटनले २०७८ फागुन २ गतेका दिन काठमाडौं अदालतको फैसलालाई सदर गरेको थियो । उच्च अदालतको समेत फैसालालई वेवास्ता गर्दै अझै पनि रकम फिर्ता नगरेपछि कार्यान्वयनको लागि अदालत गुहारेपछि कारवाही भइरहेको ग्राण्डी सिटीले जनाएको छ । दुई तहबाट फैसला गर्दापनि ग्राण्डी इन्टरनेशनलले पुनः मुद्दा दोहोर्याई हेरी पाउँ भनी सर्वोच्च अदालतमा निवेदन दिएर समय लम्ब्याइरहेको आरोप ग्राण्ड सिटीले लगाएको छ । ग्राण्डी इन्टरनेशनलले ग्राण्डी सिटी हस्पिटलसँग ऋण लिएको रकम १० करोड २० लाख रुपैयाँ मात्र भएपनि ४८ करोड रुपैयाँ साँवा भुक्तानी गरिसकेको भनेर झुठो तथा गलत प्रचार गरेको ग्राण्डी सिटीले बताएको छ । अहिले आएर अस्पतालले साँवा ब्याज रकम भुक्तानी गर्दा टाट पल्टने भन्दै बाहना गरिरहेको ग्राण्डी सिटीले जनाएको छ ।
बुटवलमा निर्माणाधिन लुम्बिनी केबलकार माघदेखि सञ्चालनमा आउने
काठमाडौं । रुपन्देही जिल्लाकाे निर्माणाधिन लुम्बिनी केबलकार आगामि माघ महिनादेखि सञ्चालनमा आउने भएको छ । उक्त केबलकार बुटवलकाे बमघाटदेखि पाल्पा जिल्लाको तिनाहूँ गाउँपालिका बसन्तपुर डाँडासम्म पुग्ने छ । हालै सम्पन्न कम्पनीको विशेष साधारणसभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै लुम्बिनी केबलकार प्राइभेटका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकारको निर्माण आगामी पौषभित्र सम्पन्न हुने र माग १ गतेदेखि सञ्चालनमा आउने बताएका हुन् । करिब तीन किलोमिटर लामो केबलकारको यात्रापछि पुगिने बसन्तपुर डाँडामा सुविधासम्पन्न होटल, मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचनाहरु निर्माण हुने बताइएकाे छ । ‘केबलकारको तल्लो स्टेशनसम्म पुग्ने करिब ४०० मीटर पहुँचमार्गको निर्माण कार्य सम्पन्न भएको छ । तल्लो स्टेशनको सव–इस्टक्चरको निर्माण कार्य करिव सम्पन्न भई सुपर स्टक्चरको कार्य र साईट डेभलपमेन्टको काम अगाडी बढिरहेको छ । नौ वटा टावरमध्ये ८ वटा टावरको सिभिल निर्माण कार्य सम्पन्न भइसकेको छ भने बाँकी रहेको टावरको कार्य अगाडी बढिरहेको छ,’ उनले भने । साथै, उनले माथिल्लो स्टेशनमा सव–इस्टक्चरको कार्य अन्तिम चरणमा रहेको र केबलकारको उपकरण तथा पार्टपुर्जाहरुको आयात गर्ने काम अगाडि बढेको बताए । त्यसैगरी, माथिल्लो स्टेशनमा रहेको मन्दिर क्षेत्रको निर्माण कार्य पनि केबलकार परियोजना सँग–सँगै सम्पन्न गर्नुपर्ने भएकोले हाल कार्यरत निर्माण कम्पनीलाई नै पुरानै सर्त बमोजिम कार्य प्रारम्भ गर्न निर्देशन दिइएको उनले जानकारी दिए । ढकालले माथिल्लो स्टेशनमा प्रस्तावित होटललाई अन्तराष्ट्रिय चेन–होटलसँग आबद्ध गराउन अन्तराष्ट्रिय परामर्शदाताहरुसँग छलफल भइरहेको जानकारी समेत गराए । केबलकारको २०७७ साल फागुन १ गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिलन्यास गरेका थिए ।
३ बजेदेखि ३ मिनेटसम्म पठाओबाट बुकिङ गरिएका सबै ट्याक्सी राइड नि:शुल्क
काठमाडौं । पठाओ कार लाइट (ट्याक्सी) सेवा तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा पठाओ नेपालले आकर्षक योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत सित्तैमा ट्याक्सी बुकिङ गर्न समेत सकिने कम्पनीले जनाएको छ । कार लाइट तेस्रो वार्षिकोत्सवका दिन साउन २४ गते ३ बजेदेखि ३ मिनेटसम्म पठाओ एप प्रयोग गरी बुकिङ गरिएका सबै ट्याक्सी राइड नि:शुल्क हुने प्रबन्ध निर्देशक असिममान सिंह बस्नेत बताउँछन् । जसमा सेवाग्राहीले कुनै शुल्क तिर्नुपर्दैन, सो रकम पठाओ नेपालले ट्याक्सी चालकलाई भुक्तानी गर्नेछ । साथै साउन १६ देखि साउन २४ गते भित्र ‘तीनछक्क पर्ने योजना’ अन्तर्गत तीन जना क्याप्टेन ट्याक्सी चालकले राइडको समयमा तीन जना प्रसिद्ध सेलिब्रेटीको हातबाट आकर्षक धनराशिका साथै उपहारहरू पाउने व्यवस्था गरिएको छ । कार लाइट सेवालाई नेपालमा लोकप्रिय बनाउन मद्दत गर्ने क्याप्टेन र सेवाग्राहीको अमूल्य योगदानको पहिचान गर्दै यो योजना ल्याइएको बस्नेतले बताए । ‘म र हाम्रो कम्पनी यो कोसेढुङ्गा पार गर्न पाएकोमा धेरै कृतज्ञ छौँ,’ बस्नेत थप्छन्,’हामी हाम्रा हजारौँ क्याप्टेन र सेवाग्राहीको समर्थनमा अर्को सफल वार्षिकोत्सवको प्रतीक्षामा छौँ ।’ गेटदेखि गेटसम्म सेवा रहेको पठाओको एपमा नै भाडा देखिने भएकाले बार्गेनिङको झन्झट नभएकाले पठाओ ट्याक्सी सहज र लोकप्रिय बनेको छ । सन् २०१९ अगस्ट ९ मा पठाओले शुरू गरेको ‘कार लाइट’मा हाल करिब ९ हजार ट्याक्सी आवद्ध छन् । नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड सेयरिङ मार्फत नेपालमा सेवा सुरू गरेको ट्याक्सी सेवासँगै पठाओले पठाओ बजार, पठाओ फुड, पठाओ लोकल समेत सञ्चालनमा ल्याएको छ ।
‘आइएमई पे’ बाट मोबाइलमा रिचार्ज गर्दा थप २ प्रतिशत क्यासब्याक पाइने
काठमाडौं । ‘आइएमई पे’ ले मोबाईल रिचार्जमा ल्याएकाे अफर अपडेट गरेकाे छ । यसै सेवामा थप प्रवर्दन गर्ने मुख्य उद्देश्यका साथ आइएमई पेले मोबाईल रिचार्जमा थप २ प्रतिशत क्यासब्याकको अफर ल्याएको छ । आइएमई पे एपमा दर्ता भएको आफ्नै मोबाईल नम्बरमा टप–अप गर्दा ५ प्रतिशत क्यासब्याक पाउने सुविधा थियो । यस अफरको साथ अब सेवाग्राहीहरुले आइएमई पे एपबाट कुनै पनि मोबाईल नम्बरमा टप–अप गर्दा २ प्रतिशत क्यासब्याक पनि पाउनेछन् । यस क्यासब्याक अफरलाई अझ राम्राे बनाउन कम्पनीले एक जना विजेताले पहिलो महिनामा ‘वान प्लस टेन प्रो’ स्मार्टफोन पनि उपलब्ध गराउने बताएकाे छ । जसकाचे लागि सेवाग्राहीले महिनाभरी कम्तीमा ५० रुपैयाँको १० टप–अप गर्नुपर्ने छ ।
नेशनल, मेट र नेपाल लाइफको बीमालेख बढी निष्कृय, पौने ६३ अर्बको व्यतित हुँदा नोक्सानमा १९ कम्पनी
काठमाडौं । हालसम्म कूल ६२ अर्ब ७९ करोड रुपैयाँ बराबरको बीमालेख (बीमा पोलिसी) व्यतित भएका छन् । आर्थिक वर्ष २०७८/७९ सम्ममा कूल १९ वटा जीवन बीमा कम्पनीहरुको ११ लाख १९ हजार ५९४ वटा बीमालेख व्यतित भएको हो । जसमध्ये रकमका आधारमा सबैभन्दा बढी बीमालेख व्यतित हुनेमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सको हालसम्ममा ३२ अर्ब ५२ करोड रुपैयाँ बराबरको बीमालेखमा ल्याप्सेस् देखिएको हो । संख्याको आधारमा भने ८५ हजार ४०१ वटा बीमालेखहरु ल्याप्सेस् अर्थात व्यतित् भएका छन् । त्यस्तै, अधिकांश कम्पनीकोे अर्बौं बढीको बीमालेख व्यतित भएका छन् । जसमा नेशनल लाइफसँगै मेट लाइफ, नेपाल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), गुराँस लाइफ, सिटिजन लाइफ, सूर्या लाइफ र राष्ट्रिय बीमा संस्थानहरु रहेका छन् । यसमध्ये मेट लाइफको ८ अर्ब ४१ करोड रुपैयाँ, नेपाल लाइफको ७ अर्ब ६३ करोड रुपैयाँ बराबरको बीमालेखहरु व्यतित भएका छन् बाँकीको १ देखि पौने ३ अर्ब रुपैयाँसम्मको बीमालेखहरु व्यतित भएका बीमा श्रोतले जनाएको छ । र, बाँकी रहेका ११ कम्पनीहरुको करोडौंको बीमालेखमा ल्याप्सेस् देखिएको छ । गत आर्थिक वर्षको तथ्याङ्कको आधारमा सबैभन्दा कम बीमालेख व्यतित हुनेमा महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेको छ । समीक्षा अवधिसम्ममा इन्स्योरेन्सको १० करोड ३० लाख रुपैयाँ बराबरको बीमालेख व्यतित भएको छ । यो अवधिमा महालक्ष्मीको कूल २ हजार ६७९ वटा बीमालेखहरु यतिकै व्यतित भएका हुन् । कुनको कति ? कसरी हुन्छ बीमालेख व्यतित ? कुनै पनि कम्पनीबाट लिएको बीमालेख समयमै नवीकरण नगरेपछि उक्त बीमालेख स्वतः व्यतित हुने गर्छ । कम्पनीहरुले तोकेको समयभित्र बीमितले आफ्नो बीमालेखको नवीकरण गरेमा उक्त बीमालेख व्यतित हुँदैन । यदि बीमालेख व्यतित भएको खण्डमा कम्पनीले बीमितहरुलाई नवीकरण गर्नको लागि थप समय दिएको हुन्छ । सो अवधिभित्रमा पनि बीमालेख नवीकरण नगरेमा सो बीमालेख निष्क्रिय हुनेछ । र, बीमितिले बीमा गरेवापतको कुनै पनि जोखिम सुरक्षा पाउँदैनन् । तर, म्यादी बीमाको हकमा भने यो प्रावधान लागू नहुने समितिले जनाएको छ । बीमालेख व्यतित हुँदा बीमा गर्ने बीमित र बीमा गराउने कम्पनी दुबैले घाटा हुने देखिन्छ । सो अवस्थामा बीमितले बीमा गरे वापतको सुरक्षा तथा सेवा सुविधा पाउँदैनन् भने बीमा कम्पनीले प्रिमियम पाउँदैनन् ।