विकासन्युज

अमेरिकाको सरकारी पाठ्यक्रममा सामाजिक अभियान्ता डा. परियार बारे पढाइ

काठमाडौं । अमेरिकाको मासाचुसेट्स राज्यको एक विद्यालयस्तरको पाठ्यक्रममा नेपाली सामाजिक अभियान्ता डा. विष्णुमाया परियारबारेको पाठ समावेश गरिएको छ । सो राज्यको कक्षा ७ को सरकारी पाठ्यक्रममा अमेरिका निवासी डा परियारबारेको पाठ समावेश गरिएको अमेरिका निवासी पत्रकार प्रदीप परियारले जानकारी दिए । विश्वको इतिहास र भूगोल विषयको १२ नम्बरको ‘च्याप्टर’मा डा. परियारका बारेमा तयार पारिएको वृत्तचित्र ‘अनटचेवल’ समेत समावेश गरिएको उनको भनाइ छ । उनले भने, ‘अमेरिकाको मासाचुसेट्स राज्यको डिपार्टमेन्ट अफ एजुकेशनबाट स्वीकृत पाठ्यक्रममा विश्वको इतिहास र भूगोल विषयमा नेपाली डा. विष्णुमाया परियारका बारेमा पाठ समावेश गरिएको छ, भिडियो र ‘स्लाइड शो’को माध्यमबाट पढाइने उक्त पाठमा डा. परियारका बारेमा र जातीय विभेदबारे जानकारी दिने आठवटा स्लाइडसमेत समावेश गरिएको छ ।’ सो पाठ मासाचुसेट्सका सबै सरकारी विद्यालयमा उपलब्ध रहेको र आगामी वर्षदेखि राज्यका धेरै विद्यालयमा लागू हुने डा. परियारले जानकारी दिइन् । पाठमा नेपालमा जातीय विभेद र असमानताबारे समेटिएको छ । रासस

विप्लवसहित नेकपाका कार्यकर्ताहरु विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । ललितपुर जिल्ला अदालतले नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अदालतले विप्लवसँगै पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा, उदयबहादुर चलाउने, धर्मेन्द्र बास्तोला लगायतका अन्य नेता–कार्यकर्ताहरुविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको हो । हातहतियार तथा खरखजाना, विष्फोटक पदार्थ विष्फोटन गराई कर्तव्य ज्यान र राज्यविरुद्धको अपराध गरेको आरोपमा उनीहरुविरुद्ध  पक्राउ पुर्जी जारी गरेको बताइएको छ । ३५ दिनभित्र अदालतमा उपस्थित हुन पक्राउ पुर्जीमार्फत भनिएको छ ।

सानिमा बैंकको मोबाइल बैंकिङ्ग एप चलाउन इन्टरनेट निःशुल्क

काठमाडौं । सानिमा बैंकले आफना ग्राहकहरुलाई मोबाइल बैंकिङ्ग सेवा प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा उपलब्ध गराउने भएको छ । यो योजना अन्तर्गत नेपाल टेलिकम वा एनसेल सिम प्रयोग गर्ने बैंकका ग्राहकहरुले सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा पाउनेछन् । मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले एपमा रहेका सबै सेवाहरु जस्तै फन्ड ट्रान्सफर, बिल भुक्तानी, क्युआर कोड भुक्तानी, मोबाइल टपअप प्रयोग गर्दा असिमित निःशुल्क इन्टरनेट डाटा प्रयोग गर्न पाउनेछन् । यो योजना साउन १६ (सोमबार) देखि लागू भएको छ । सानिमा बैंकले डिजिटल बैंकिङ्गको अधिकतम प्रयोग र नगद रहित कारोबारलाई प्रोत्साहन गर्न यो सेवा ल्याएको जनाएको छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा एटिएम संचालनमा रहेका छन् ।

कामना सेवा बैंकका ग्राहकलाई सिद्धार्थ बिज्नेस ग्रुप अफ हस्पिटालिटीका होटलहरुमा छुट

काठमाडौं ।  कामना सेवा विकास बैंक र सिद्धार्थ बिज्नेस ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता सम्पन्न भएको छ । अब बैंकका कर्मचारी तथा ग्राहकहरुले सिद्धार्थ बिज्नेस ग्रुप अन्तर्गतका देश भर फैलिएका विभिन्न होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा क्याफेहरुको सेवा सुविधाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । बैंकको ग्राहक भएको कुनै पनि प्रमाण पेश गरी यो सुविधा सजिलै प्राप्त गर्न सकिने बैंकले जमनकारी दिएको छ । यस सम्झौताबाट ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको जनाएको छ ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कीर्तिमान तोड्नेलाई ५० हजार

काठमाडौं । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीले ५० हजार रुपैयाँ पुरस्कार पाउने भएका छन् । आइतबार युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा बसेको राष्ट्रिय खेलकुद परिषदको एक सय १३ औं बैठकले राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीलाई ५० हजार रुपैयाँ पुरस्कार दिने निर्णय गरेको हो । पोखरामा असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म हुने खेलकुदमा सो पुरस्कार दिने राखेपका सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए । बैठकले प्रतियोगिताको एकल प्रतिस्पर्धामा स्वर्णपदक विजेत खेलाडीलाई नगद २५ हजार, टिम इभेन्टमा स्वर्ण विजेतालाई १५ हजार पुरस्कार दिने समेत निर्णय गरेको छ । बैठकले आर्थिक बर्ष २०७९/८० को वार्षिक योजना, कार्यक्रम तथा बजेट समेत पारित गरेको छ । त्यसैगरी बैठकले अर्को व्यवस्था नभएसम्मका लागि विभिन्न जिल्लामा रहेका कर्मचारी प्रदेश खेलकुद मातहत रहने गरि काम गराउने निर्णय पनि गरेको छ । यस्तै खेलाडी तथा अफिसियललाई दैनिक दुई हजार भत्ता दिने, प्रदेश छनौटका लागि आवश्यक बजेट उपलब्ध गराउने, सम्बन्धित जिल्ला तथा प्रदेशका खेलाडीहरुले मात्र सम्वन्धित टिममा सहभागी हुनु पर्ने लगायतका निर्णय पनि बैठकले गरेको छ । प्रदेश तथा विभागीय टिमहरुले भदौ १५ गते सम्म खेलाडीको संख्या र २५ गते सम्म नाम दर्ता गराउन समेत निर्देशन गरेको छ । प्रत्येक टिमबाट खेलाडी महिला ३३९ र पुरुष ३६९ कोटा निर्धारण गरेको छ । प्रतियोगिताको मूल ट्रफी प्रधानमन्त्रीज्यूबाट सार्वजनिक गरिने तथा ट्रफीलाई सातै प्रदेश तथा तीन विभागिय टोलीको मुख्यालयमा प्रर्दशन गरिने छ । यस्तै परिषद्को कर्मचारी सेवा, शर्त सम्वन्धी विनियम तयार गर्न परिषद सदस्य प्रकाश कुसारीको संयोजकत्वमा समिति गठन गरिने भएको छ । यस्तै परिषद्को भौतिक संरचना तथा सम्पती यकिन तथा प्रदेशमा हस्तान्तरण सम्वन्धी परिषद् सदस्य अन्जन धमलाको संयोजकत्वमा समिति र खेल संघ विवाद सहजीकरणमा उपाध्यक्ष शिव कोइरालाको संयोजकत्वमा समिति गठन गरिने भएको छ ।

सिटिजन्स बैंकका ग्राहकलाई एपोलो डाइग्नोेस्टिकमा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र धुम्बाराही काठमाडौंस्थित एपोलो डाइग्नोस्टिक केन्द्रबीच सिटिजन्स बैंकको कार्डवाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डवाहकहरुले एपोलो डाइग्नोेस्टिक केन्द्रका विभिन्न स्वास्थ्य सम्बन्धि जाँच र हेल्थ प्याकेजहरुमा १५ प्रतिशतसम्मको छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको जनाएको छ। बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

प्रभु बैंक र सेञ्चुरी बैंकबीच मर्जर सम्झौता, चुक्ता पूँजी २२ अर्ब २६ करोड पुग्ने

काठमाडौं । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंक मर्ज हुने भएका छन् । दुबै बैंकले मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेसँगै एक हुने भएका हुन् । आइतबार भएको सम्झौतामा प्रभु बैंकका तर्फबाट रमेशसिंह खड्का र सेञ्चुरी बैंकका तर्फबाट मनबहादुर राईले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । हाललाई दुबै बैंकबीच १ः१ अनुपातको रेसियोमा मर्ज हुने भनिएपनि यसमा परिवर्तन हुन सक्ने बताएको छ । मर्जर पश्चात् बन्ने बैंकको नाम प्रभु बैंक नै रहनेछ । सहमति अनुसार प्रभु बैंकले सीईओ र अध्यक्ष दुबै पाउने छ । मर्जरपछि बैंकको सीईओमा प्रभु बैंकका अशोक शेरचन नियुक्त हुनेछन् भने डेपुटी सीईओमा सेञ्चुरी बैंकका सीईओ मनोज न्यौपाने हुनेछन् । हाल प्रभु बैंकको चुक्ता पूँजी १२ अर्ब ७० करोड ८७ लाख रुपैयाँ रहेको छ भने सेञ्चुरी बैंकको चुक्ता पूँजी ९ अर्ब ५५ करोड ३९ लाख रुपैयाँ रहेको छ । मर्जर पश्चात् बन्ने बैंकको चुक्ता पूँजी २२ अर्ब २६ करोड २६ लाख रुपैयाँ पुग्नेछ ।

विभिन्न स्थानमा प्रदर्शन ट्रायलहरु गर्दै फोटोनको अमार्क

काठमाडौं । नेपालका लागि फोटोन मोटर्सको आधिकारिक बिक्रेता एम.ए.डब्लु वृद्धी कमर्सियल भेहिकलले भेहिकलको पावर, पर्फोमेन्स र प्रदर्शन ट्रायल शुरु गरेको छ । हालै केही दिनअघि काठमाडौंमा मिनीट्रक अमार्क ल्याएको खुलासा गर्दै कम्पनीले उक्त ट्रायलहरु शुरू गरेको हो । कम्पनीले बजारमा औपचारिक रुपमा गाडी बिक्री हुनुभन्दा अघि नेपालका विभिन्न स्थानहरूमा एकल र ब्याक-टु-ब्याक ट्रायल सहित टेस्ट ड्राइभ, कस्टमर मीट, डिस्प्ले र रोड शो जस्ता कार्यक्रमहरू सञ्चालन गर्ने छ ।