जनरल इन्स्योरेन्सका बीमितले मनमोहन मेमोरीयल हस्पिटलमा उपचार गर्न पैसा तिर्नु नपर्ने
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल र मनमोहन मेमोरीयल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलबीच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम चन्द्र श्रेष्ठ र मनमोहन मेमोरीयल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलको तर्फबाट नास्तु शर्माले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात जनरल इन्स्योरेन्स कम्पनी नेपालबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमालेखको सीमा सम्म मनमोहन मेमोरीयल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलबाट नगद रहित हस्पिटलाईजेशन सुविधा प्राप्त गर्नेछन् ।
सेलपेलाई बैंकमा लिंक गर्ने ३३३ जनालाई सामसुङको स्मार्टफोन
काठमाडौं । भुक्तानी सेवा प्रदायक सेलकमको सेलपे सेवाले वार्षिकोत्सवको अवसरमा विशेष अफर ल्याएको छ । कम्पनीले ग्राहकहरुको साथ र मायाको कदर गर्दै धन्यवाद स्वरुप अफर ल्याएको जनाएको छ । यस योजना अन्तर्गत सेलपेका ग्राहकहरुले सेलपेमा केवाइसी भेरिफाइ गरी बैंक लिंक गरेर तत्काल २०० रुपैयाँ वालेट ब्यालेन्स पाउनेछन् । साथै, यसका साथै पहिला ३३३ ग्राहकहरुले सामसुङ ग्यालेक्सी ए ५२ जित्नेछन् । ग्राहकहरुले सेलपे कार्टमा २० प्रतिशत छुट अधिकतम १ हजारसम्म पाउन सक्नेछन् । पहिलो पटक फण्ड ट्रान्सफर गर्दा २०० बराबरको सपिङ भाउचर पाउन सकिने कम्पनले जनाएको छ । कम्पनीको अनुसार यो योजना आज (आइतबार) साँझसम्मका लागि मात्र लागु हुने छ ।
स्कोडा कुशाककाे नेपालमा एक वर्ष पुरा, ५६० प्रतिशतले बढ्याे व्यापार
काठमाडौं । युरोपियन एसयुभी स्कोडा कुशाकले नेपालमा एक वर्ष पुरा गरेको छ । एमएडब्लु स्कोडाले गत वर्ष साउनमा कुशाकलाई सार्वजनिक गरेको थियो । ड्राइभिंग डाइनामिक्स, लुक्स, पर्फर्मेन्स, कम्फोर्ट र थ्रिलिंग टिएसआई इन्जिनका कारण स्कोडा नेपालले सार्वजनिक भएको १५ औं दिनमा ७५ वटा युनिक कुशाक एकै दिन डेलिभरी दिन सफल भएको थियो । कम्पनीको अनुसार कुशाक सार्वजनिक भएयता नेपालमा स्कोडाको बिक्री गत वर्षभन्दा ५६० प्रतिशतले बढेको छ । एक वर्षमा चार सय युनिट बिक्री भएको स्कोडा कुशाकको आफ्नो सेग्मेन्टमा मार्केट सेयर १८ प्रतिशत रहेको कम्पनीले जानकारी दिएको छ । नेपालमा लन्च भएपछि कुशाकले स्कोडा ब्रान्ड र नेपाली अटो क्षेत्रमै आफूलाई सेग्मेन्टलाई परिभाषित गर्ने एसयुभीका रुपमा उभ्याउन सफल भएको स्कोडा एमएडब्लुका कार्यकारी निर्देशक रौनक अग्रवालले बताउँछन् । ‘कुशाकलाई माया गर्ने र स्कोडा ब्रान्डसँग बलियो सम्बन्ध स्थापित गर्ने सबै ग्राहकसँग कुशाकको एक वर्षे कोशेढुंगालाई मनाउन पाउँदा हामी हर्षित छौं । कुशाकलाई माया गर्ने सबैप्रति हामी आभार व्यक्त गर्न चाहन्छौं,’ उनले भने । स्कोडा कुशाक एम्बिसन, एक्टिभ र स्टाइल गरी तीन ट्रिम अनि क्यान्डी ह्वाइट, ब्रिलियन्ट सिल्भर, कार्बन स्टिल, हनि ओरेन्ज र टर्नेडो रेड गरी पाँच कलरमा उपलब्ध छ । नेपालमा स्कोडाको मूल्य ४९ लाख ९० हजार देखि ७१ लाख ९० हजार रुपैयाँसम्म रहेको छ ।
टिभिएसले ल्यायो बबाल फाईनान्स अफर, ३ हजार ९०८ रुपैयाँमा नै अपाचे बाइक पाइने
काठमाडौं । नेपालका लागि टभिएस मोटर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो नयाँ ‘बबाल फाइनान्स अफरु ल्याएको छ । जस अन्तर्गत कम्पनीले आकर्षक सुविधाहरु प्रदान गर्नेछ । यस योजना अन्तर्गत ग्राहकहरुले टभिएस मोटरसाइकल र स्कुटर २० प्रतिशत डाउनपेमेन्ट सुविधामा अथवा न्यूनतम इएमआइ क्रमश : जुपिटरमा ३ हजार ९०८ रुपैयाँ, एनटोर्क स्क्वायड एडिसनमा ५ हजार २५४ रुपैयाँ र अपाचे आरटिआर २०० फोर भिमा ६ हजार ८२२ रुपैयाँमा खरिद गर्न सक्नेछन् । त्यसैगरी, अपाचे आरटिआर २००फोर भि को नगद खरिदमा ग्राहकहरूले टिभिएस रेसिङ ज्याकेट निस्शुल्क प्राप्त गर्न सक्नेछन् । साथै, कुनै पनि पुरानो मोटरसाइकल वा स्कूटर एक्सचेन्ज गरी नयाँ टिभिएस खरिद गर्दा बजारकै उत्कृष्ट मूल्याङ्कनका गराउने टिभिएसले जनाएको छ। यस योजना अन्तर्गत ग्राहकहरुले झन्झट मुक्त कागजात प्रक्रिया बाट टिभिएस मोटरसाइकल र स्कूटर खरिद गर्न सक्नेछन। जगदम्बा मोटर्स नेपालमा टिभिएस दुई पाङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो ।
प्रिमियममा आईपीओ जारी गर्न घोराही सिमेन्टले माग्यो सेबोनको अनुमति, स्थानीयलाई सस्तो पर्ने
काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रीले प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको छ । कम्पनीले ३ अर्ब ४४ करोड १६ लाख ५१ हजार ७८५ रुपैयाँको ७९ लाख ४३ हजार ८०१ कित्ता सेयर निष्कासन गर्न अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो । जसमध्ये आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ३ लाख ९७ हजार १९० कित्ता सेयर र सर्वसाधारण लगानीकर्ताका लागि ७५ लाख ४६ हजार ६११ कित्ता सेयर छुट्याएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३ सय रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ४ सय रुपैयाँ अंकित मूल्यमा सेयर बिक्री गर्न अनुमति मागेको हो । त्यस्तै, कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थपेर ४३५ रुपैयाँमा निष्कासन गर्न अनुमति मागेको हो । कम्पनीले सर्वसाधारण लगानीकर्तालाई बिक्री गर्ने सेयर मूल्यभन्दा ३५ रुपैयाँ सस्तोमा स्थानीय बासिन्दालाई सेयर बिक्री गर्ने भएको हो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । कम्पनीले साउन ९ गते सोमबार सेबोनमा आवेदन दिएको हो । घोराही सिमेन्टको ३ अर्ब ४५ करोडको सेयर आउँदै, मूल्य प्रतिकित्ता ४३५ रुपैयाँ प्रिमियममा आईपीओ जारी गर्दै एक दर्जन कम्पनी, कुनको मूल्य कति ?
नेपालको हवाई क्षेत्रमा वार्षिक १० लाखको दरले ट्राफिक वृद्धि, विमानस्थलको स्तर बढाउँदै प्राधिकरण
काठमाडौं । नेपालको हवाई क्षेत्रमा वार्षिक १० लाखको दरले ट्राफिक वृद्धि भएको जनाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदिप अधिकारीले आइतबार आयोजित प्राधिकरणको चालु आवको बजेट तथा कार्यक्रम सम्बन्धी पत्रकार सम्मेलनमा बोल्दै सो कुरा बताएका हुन् । ‘नेपालको हवाई क्षेत्रमा वार्षिक रुपमा १० लाखका दरले ट्राफिकको वृद्धि भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अहिले फुल फेजमा सञ्चालन भएको छ,’ उनले भने । नेपालको हवाई क्षेत्रमा आगामी दिनमा वृद्धि हुने ट्राफिक व्यवस्थापनको लागि निजगढमा विमानस्थल निर्माण गर्ने कुरा निर्विवाद र निर्विकल्प भएको महानिर्देशक अधिकारीको भनाई थियो । फास्ट ट्रयाक र रेलमार्गसँग जोडिएको क्षेत्रको हिसाबले पनि निजगढ विमानस्थल ट्रान्सपाेर्ट नेटवर्कको हबको रुपमा विकास हुने उनको भनाई छ । चालु आवमा ५ वटा आन्तरिक विमानस्थलका टर्मिनल भवनहरुको नयाँ निर्माण गर्ने योजना रहेको प्राधिकरणले जनाएको छ । सो योजना कार्यान्वयनका लागि चालु आवको कार्यक्रममा शमावेश गरिएको महानिर्देशक अधिकारीले बताए । उनका अनुसार बिराटनगर, नेपालगञ्ज, जुम्ला, भरतपुर र रामेछाप विमानस्थलको टर्मिनल भवन यही आर्थिक वर्षमा निर्माण गर्ने योजना प्राधिकरणले अगाडि बढाएको छ । त्यस्तै प्राधिकरणले चितवनको भरतपुर विमानस्थलको विस्तारको लागि आवश्यक पहल महानिर्देशक अधिकारीले बताए । चालु आवमा गर्ने विभिन्न कार्यक्रमहरुको लागि प्राधिकरणले ४१ अर्ब ८५ करोड ४२ लाख बराबरको बजेट प्रस्तुत गरेको छ । चालु आवमा विमानस्थलहरुको स्तरोन्नतीका कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले चालु आवमा आफ्नो केन्द्रीय कार्यालयको निर्माण कार्य सम्पन्न गर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक आगमन हलको निर्माण गर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक पार्किङ तथा टर्मिनल भवनको मास्टर प्लान गर्ने र अन्तर्राष्ट्रिय टर्मिनल भवनको निर्माण गर्ने कार्यक्रमलाई समावेश गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको आधुनिक बनाउनका लागि पनि धेरै कामहरु अगाडि बढाउने प्राधिकरणका महानिर्देशक अधिकारीले बताएका छन् । त्यसका लागि प्राधिकरणले वहुवर्षे कार्यक्रम अन्तर्गत नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माण टी २ प्याकेज १ अगाडि बढाउने भएको छ । साथै, विमानस्थल परिसरमा सञ्चालन हुने सार्वजनिक ट्याक्सीमा जिपिएस जडान गर्ने र ट्याक्सी चालकले लगाउने पोशाकलाई व्यवस्थित गर्ने लगायतका कार्यक्रम अगाडि बढाउने छ । त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिलन टी को मास्टर प्लान निर्माण गर्ने काम चालु आवबाट नै शुरु गर्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणले विमानस्थलहरुमा एटिएम, २४ सै मनी एक्सचेन्जको सुविधालाई व्यवस्थित गर्ने जनाएको छ । २२ वर्षपछि पहिलोपटक प्राधिकरणको सेवा शुल्क नियमावली पारित भएको र सोसँगै आम्दानी पनि बढेको जनाइएको छ । बढेको आम्दानीलाई कर्मचारीको बोनसका निम्ति प्रयोग गर्ने भन्दापनि विमानस्थलहरुमा भौतिक पूर्वाधार निर्माण र विस्तारमा खर्च गरिने महानिर्देशक अधिकारीले बताए । गत आर्थिक वर्षमा प्राधिकरणले गरेको सबैभन्दा ठुलो काम भैरहमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न र सञ्चालन गर्ने कुरा रहेको महानिर्देशक अधिकारीको भनाई छ । सो विमानस्थलमा निर्माण र सञ्चालन गर्ने काम समयमा नै गर्न सक्नु प्राधिकरणको लागि गौरवको विषय भएको उनले बताए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्डफिल्ड साइट सार्ने र रिठ्ठेपानीको डाँडा काट्ने बाहेकको काम सकिएको प्राधिकरणले जनाएको छ । सानो संगठनात्मक संरचना रहेको संस्थाले एउटै समयमा दुई वटा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न गर्ने कुरा ठुलो भएको महानिर्देशक अधिकारीको भनाइ छ । गत अप्रिल महिनामा आइकाओले गरेको अडिटले नेपालको उड्डयन क्षेत्रलाई सकारात्मक देखाएको छ । त्यस्तै इयुले पनि नेपालको उडड्यन क्षेत्रको अडिटको लागि आफु तयार रहेको र अडिटको लागि आउने जानकारीको पत्र पठाएको प्राधिकरणले जनाएको छ ।
यो वर्ष विद्युत बेचेर १६ अर्ब कमाउँछौं : कुलमान घिसिङ
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस वर्ष विद्युत बेचेर प्राधिकरणले १६ अर्ब कमाउने बताएका छन् । आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले विद्युतको मूल्य भारतमा राम्रो पाएकाले यस वर्ष प्राधिकरणले करिब १६ अर्ब रुपैयाँ विद्युत निर्यातबाट कमाउने बताए । गत वर्ष प्राधिकरणले ५ अर्बको विद्युत निर्यात गरेको थियो । ‘विद्युत व्यापारमा भारतबाट राम्रै मूल्य आएको छ, प्राधिकरणले केही कमाई रहेका छौं । विगतमा एक वर्षमा ५ अर्बको निर्यात गरेका छौं । यो वर्ष प्राधिकरणले करिव १६ अर्ब भन्दा बढीको विद्युत निर्यात गर्छौं,’ उनले भने । कार्यकारी निर्देशक घिसिङले सिमेन्ट उद्योगमा ६५ प्रतिशत विद्युत क्षमता दिन नसकेको विषय गलत भएको बताए । उनले अहिले सबै उद्योगमा शतप्रतिशत क्षमता विद्युत दिएको र सामान्य समस्या हुँदा पनि ठूलो मुद्दा बनाउने काम भइरहेको भन्दै त्यस्तो नगर्न आग्रह गरे ।
नेपाल फाइनान्सको ७० प्रतिशत हकप्रद नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक फाइनान्स कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । आइतबार नेपाल फाइनान्स कम्पनी लिमिटेडको ७० प्रतिशत हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको ७० प्रतिशत हकप्रद बापतको २३ लाख १९ हजार ७५८.०८८ कित्ता सूचीकृत भएको नेप्सले जनाएको छ ।