विकासन्युज

अर्थमन्त्रीमा पुन: जनार्दन शर्मा, साढे ५ बजे सपथ लिने

काठमाडौं । माओवादी सांसद जनार्दन शर्मा पुन: अर्थमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई पुन: अर्थमन्त्रीमा नियुक्त गरेकी हुन् । शर्माले आजै साढे ५ बजे पद तथा गोपनियताको सपथ लिनेछन् । चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेपछि उनले असार २२ गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । उनले असार १४ गते राती अनधिकृत व्यक्तिलाई करको दर हेरफेरका लागि अर्थमन्त्रालय प्रवेश गराएको समाचार बाहिरिएपछि मन्त्रीपदबाट राजीनामा दिएका थिए । उनले राजीनामा दिएसँगै संसदीय छानबिन विशेष समिति गठन गरेर अनुसन्धान थालिएको थियो । उक्त समितिले १७ दिन लगाएर तयार पारेको प्रतिवेदनमा करको दर हेरफेर प्रकरणमा अनधिकृत व्यक्तिको संलग्नता पुष्टि नभएको निष्कर्ष निकालेपछि जनार्दन शर्मा पुनः अर्थमन्त्री नियुक्त भएका हुन् ।

११ वर्षमा सीआईटीका लगानीकर्ताको सम्पत्ति साढे चार गुणाले बढ्यो, १०० कित्ता हुनेले कति कमाए ?

काठमाडौं । पछिल्लो समय सेयर बजारमा धेरैको चासो छ । राम्रो कम्पनी छनोट गरेर दीर्घकालमा राम्रो नाफा गर्ने ध्येय सबैमा हुन्छ । सेयर बजारको निरन्तरको आरोह–अवरोहलाई वेवास्ता गर्दै धेरैले राम्रो कम्पनी नै छनोट गरेर लगानी गर्छन् । पछिल्लो समय दोस्रो बजारमा लगानीकर्ताले रूचाएको कम्पनीमध्येको एक हो नागरिक लगानी कोष (सीआईटी) । वि.स २०४७ साल चैतमा स्थापना भएको नागरिक लगानी कोष सर्वसाधारणको बचत गर्ने बानीलाई प्रोत्साहन गरी आर्थिक विकासमा टेवा पुर्याउने उद्धेश्यका साथ धितोपत्र बजारको एक महत्वपूर्ण कम्पनीका रूपमा परिचित छ । हाल पूँजी बजारमा महँगो मध्येको एक कम्पनीका रूपमा रहेको छ । कोषले पूँजी बजार सम्बन्धी मर्चेन्ट बैंकरको रूपमा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको कार्य, सेयर रजिष्ट्रारको कार्य र धितोपत्र प्रत्याभुतिको कार्य गर्दै आएको छ । पूँजीबजारलाई गतिशिल तथा प्रभावकारी बनाउनका लागि कोषले नागरिक स्टक डिलर कम्पनी लिमिटेडको स्थापना गरी कार्य संचालन गरिरहेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएपश्चात् कोषले आर्थिक वर्ष २०६७/०६८ देखि हालसम्म सेयरधनीहरुलाई निरन्तर लाभांश वितरण गर्दै आएको छ । सुरूका आर्थिक वर्षमा राम्रो लाभांश वितरण गरेको भएपनि आर्थिक वर्ष २०७१/०७२ देखि कोषको लाभांश झण्डै दोब्बरले घटेको देखिन्छ । तर, यो ११ वर्षको अवधिमा नागरिक लगानी कोषका सेयरधनीको सम्पत्ति साढे चार गुणाले बढेको तथ्यांकले देखाउँछ । कोषको आइतबारको सेयर मूल्यलाई आधार मानेर गणना गर्दा ११ वर्षको अवधिमा सेयरधनीले ४३ लाख ७६ हजार ५५९ रुपैयाँ कमाएका हुन् । यो रकम कोषले वार्षिक रुपमा सेयरधनीलाई दिएको बोनस सेयरको आधारमा गणना गरिएको हो । यसमा नगद लाभांश गणना गर्दा कोषका सेयरधनीको सम्पत्ति झनै बढेको देखिन्छ । कोषले आर्थिक वर्ष २०६७÷०६८ देखि हालसम्म गरी ११ वर्ष लाभांश वितरण गरेको छ । कोषले आर्थिक बर्ष २०६७/६८ मा कोषले ३५ प्रतिशत, आर्थिक बर्ष २०६८/६९ मा ३८.८९ प्रतिशत, आर्थिक बर्ष २०६९/७० मा ५० प्रतिशत, आर्थिक बर्ष २०७०/७१ मा ३५ प्रतिशत, आर्थिक बर्ष २०७१/७२ मा कोषले २१.८५ प्रतिशत बोनस सेयर वितरण गरेको छ । यस्तै, आर्थिक बर्ष २०७२/७३ मा कोषले २२ प्रतिशत, आर्थिक बर्ष २०७३/७४ मा २२.०६ प्रतिशत, आर्थिक बर्ष २०७४/७५ मा २२ प्रतिशत, आर्थिक बर्ष २०७५/७६ मा २२ प्रतिशत र आर्थिक बर्ष २०७६/७७ मा ९ प्रतिशत बोनस सेयर वितरण गरेको छ । यस्तै, आर्थिक बर्ष २०७७/७८ मा ३० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । कोष नेप्सेमा सूचीकृत हुँदा एक सय कित्ता सेयर पाउने सेयरधनीले ११ वर्षको अवधिमा राम्रो कमाएको देखिएको छ । २०६७/०६८ मा एक सय कित्ता सयर हुने सेयरधनीले ३५ कित्ता सेयर बोनसका रुपमा पाएको देखिन्छ । सो सेयरधनीसँग अब १३५ कित्ता सेयर हुन आउँछ । १३५ कित्ता सेयर हुनेले आर्थिक बर्ष २०६८/६९ मा ३८.८९ प्रतिशत बोनस सेयर पाउँदा कुल १८७ सेयर संख्या हुन्छ । यसरी वर्षेनी बोनस सेयर बढ्दै जाँदा सेयरधनीको पनि सेयर संख्या बढ्दै गएको देखिन्छ । ११ वर्ष अगाडि १०० कित्ता सेयर हुनको हालसम्म १हजार ४५३ कित्ता सेयर देखिन्छ । सो कित्तालाई आइतबारको सेयर मूल्यसँग गणना गर्दा कुल ४३ लाख बढी सम्पत्ति सो सेयरधनीसँग भएको तथ्यांकले देखाउँछ ।

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो पैसा डबल हुने योजना, ९० प्रतिशतसम्म कर्जा पनि पाइने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले फुल डबल मुद्दती खाता सञ्चालनमा ल्याएको छ । बैंकको अनुसार ग्राहकले यो मुद्दती खातामा लगानी गरेको रकम ६ वर्ष ७ महिना २३ दिनमा दुई गुणा हुनेछ । सो अवधीको अन्त्यमा बैंकले कुनै पनि शुल्क कट्टी नगरी ग्राहकलाई पूरा दोब्बर रकम भुक्तानी गर्नेछ । यो योजनामा ग्राहकले कुल जम्मा रकमको ९० प्रतिशतसम्म कर्जा लिन सक्नेछन् । यस मुद्दती खाता खोल्ने ग्राहकहरुले लकर सेवामा शत प्रतिशत, क्रेडिट कार्ड सुविधामा ५० प्रतिशत छुट पाउनेछन् । त्यसैगरी, यस अन्तर्गत डेबिट कार्ड, मोबाइल बैंकिङ्ग सेवामा शुरुको वर्ष निस्शुल्क र बाँकी अवधीको शुल्कमा ५० प्रतिशत छुट लगायत अन्य आकर्षक सुविधाहरु पनि प्रदान गरिने बैंकले जनाएको छ । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २५८ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखारहित बैंकिङ्ग रहेको छ ।

द ब्रिटिस कलेजले इन्टर कलेज फुटसल टुर्नामेन्ट गर्ने

काठमाडाैं । द ब्रिटिस कलेजले तेस्रो ‘द ब्रिटिस कप २०२२ इन्टर कलेज फुटसल टुर्नामेन्ट’ गर्ने भएकाे छ । कम्पनीले आउने साउन १९ र २० गते बालुवाटारस्थिति ढुकु फुटसलमा उक्त टुर्नामेन्ट गर्ने भएको हाे । कलेजकाे पहिलो र दोस्रो द ब्रिटिस कप कमशः सन् २०१८ र २०१९ मा भएको थियो । तर, त्यसपछि लगातार दुई वर्ष कोरोना महामारीका कारण उक्त प्रतियोगिता हुन सकेको थिएन । टुर्नामेन्टमा ब्रिटिस कलेजसहित लिटल एन्जल्स, सफ्टोरिका, प्राइम, एपेक्स, आइआइएमएस, सिल्भर माउन्टेन, पिसिपीएस कलेज, एस इन्टरनेशनल, थेम्स कलेज, क्याम्पियन कलेज, कुसोम, द ब्रिटिस प्रोफेसनल कलेजले गरी १३ वटा कलेजले भाग लिँदैछन् । विजयी टिमले एक लाख रुपैयाँ, पहिलो रनर अपले ५० हजार रुपैयाँ, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकले नगद १०-१० हजार रुपैयाँ पाउने कलेजले जानकारी दिएकाे छ । उक्त प्रतियोगिताको मुख्य प्रायोजक ब्रिटिस अमेरिकन एडकेयर रहेको छ। त्यस्तै अन्यमा एयरलाइन्स पार्टनरः टर्किस एयरलाइन्स, ट्राभल पार्टनर स्वा ट्राभल्स, होलिडे ट्राभल्स, सिनेमा पार्टनर, क्युएफएक्सः हस्पिटालिटी पार्टनर, मोजो बटिक होटल र मेडिकल पार्टनर भयोदा हस्पिटल प्रायोजक रहेका छन ।  

नेप्सेमा एक कम्पनीको १६ प्रतिशत बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ । आइतबार गरिमा विकास बैंक लिमिटेडको १६ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट चुक्ता पूँजीको १६ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । बैंकको सोही बापतको ६३ लाख १७ हजार ९२.९६८१ कित्ता सेयर नेप्सेमा थप भएको हो ।

निर्मलराज काफ्ले ब्राजिलका लागि नेपालको राजूदत नियुक्त

काठमाडौं । निर्मलराज काफ्ले ब्राजिलका लागि नेपालको आवासीय राजदूत नियुक्त भएका छन् । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले काफ्लेलाई ब्राजिलका लागि राजदूत नियुक्त गरेकी हुन् । काफ्ले कूटनीतिक क्षेत्रबाटै राजदूत बनेका हुन् । उनी यसअघि परराष्ट्र मन्त्रालयको युरोप अमेरिका महाशाखा प्रमुखको जिम्मेवारीमा थिए ।

सेयर बजार ५४.५८ अंक बढ्दा बीमामा लगानीकर्ताको  रूचि, ५ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो

काठमाडौं । निरन्तर बढिरहेको सेयर बजारले आइतबार पनि निरन्तर पाएको छ । यसअघि गत साता सुधार आएको बजारमा यस साताको पहिलो दिन पनि हरियाली छाएको छ । सेयर बजार आइतबार भारि अंकले बढेको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५४.५८ अंकले बढेर २१९५.१० बिन्दुमा आएर बन्द भएको हो । आज २२० कम्पनीको १ करोड १३ लाख ३९ हजार ४७६ कित्ता सेयर ६७ हजार ७४० पटक किनबेच भएको छ । आइतबारको बजारमा जम्मा ४ अर्ब ६० करोड ९७ लाख ९१ हजार २७२ रुपैयाँ बराबरको कारोबार भएको हो । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा सेयर बजार सम्बन्धी सकारात्मक व्यवस्था गरेकाले सेयर बजार निरन्तर उकालो लागेको सेयर विश्लेषकहरु बताउँदै आएका छन् । आइतबार बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ । अन्य समूहभन्दा जीबन बीमा र निर्जीबन बीमा समूहका कम्पनीको सेयर मूल्य बढेका छन् । त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले आजभेलि नै अर्थमन्त्री नियुक्त गर्ने चर्चा छ । बजेट निर्माणमा बाहिरी व्यक्ति संलग्न गराएको आरोप लागेपछि राजीनामा दिएका जनार्दन शर्मा पुनः अर्थमन्त्री बन्ने समाचार सार्वजनिक भएपछि सेयर बजार बढेको बिश्लेषक बताउँछन् । आइतबार बैंकिङ्ग समूह २.९२ प्रतिशत, ट्रेडिङ्ग समूह ३.६२ प्रतिशत, होटल एण्ड टुरिजम समूह २.७२ प्रतिशत, विकास बैंक समूह ०.७८ प्रतिशत, हाइड्रोपावर समूह ०.८ प्रतिशत, निर्जीवन बीमा समूह ४.५१ प्रतिशत, म्यानुफ्याक्चरिङ्ग एण्ड प्रोसेसिङ्ग समूह १.८३ प्रतिशत, अन्य समूह ३.२६ प्रतिशत, माइक्रोफाइनान्स समूह १.१ प्रतिशत, जीवन बीमा समूह ४.१६ प्रतिशत, म्युचुअल फण्ड समूह ०.७५ प्रतिशत र इन्भेष्टमेन्ट समूह ४.७६ प्रतिशत बढेको छ । यता आज फाइनान्स समूह १.६ प्रतिशतले घटेको छ । आइतबार आइएमई जनरल इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स कम्पनील, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी, नेको इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स कम्पनीको सेयरमूल्य १० प्रतिशत बढेको छ ।

५० करोड लगानीमा पोखरामा खुल्यो फिस्टेल ड्रिम पार्क, २५ थरीका गतिविधिमा रमाउन सकिने

पोखरा । पछिल्लो समय नेपालमा वाटर स्पोर्टस् पार्क ग्राहकहरुको नियमित मनोरञ्जनको केन्द्र बनेको छ । यही माहोल छोप्दै पोखरामा ५० करोड लगानीमा अन्तर्राष्ट्रिय स्तरको फिस्टेल ड्रिमपार्क सन्चालनमा आएको छ । फिस्टेल ड्रिमपार्क मानिसहरू रमाइलो गर्न आउने केन्द्रका रुपमा निर्माण गरिएको सञ्चालक भरत गौतम बताउँछन् । ‘यसअघि पोखरामा यो स्तरको पार्कहरू बनेका छैनन् । कुनै पनि व्यक्ति वा परिवार यहाँ आएर पुरै दिन बिताएर रमाइलो गर्न सक्ने प्रकारको इभेन्ट्सहरू हामीसँग उपलब्ध छन्,’ गौतम भन्छन् । इन्डोर गेम, ड्राई पार्क, वेट पार्क, सोफा स्लाइड, लेजी रिभर, फ्रि फल, ट्रोनाडो बावल, वेभ पुल, रेल लगायतका करिब २५ थरीका गतिविधिमा रमाउन सकिने गौतमले जानकारी दिए । पार्कको प्रवेश शुल्क २ सय रुपैयाँ रहेको छ । जसमा बच्चाहरूका लागि ५० प्रतिशत छुटको व्यवस्था रहेको छ । यस्तै, वाटर पार्कको प्याकेज १ हजार दुई सय र ड्राइपार्क प्याकेज ४५० रुपैयाँमा उपलब्ध छन् । प्रवेशपछि सिमित खेल खेल्न चाहनेका लागि प्रति खेलको १५० देखि ३०० रुपैयाँसम्म लाग्नेछ । पानीमा खेलीने वा भनौँ गर्मीमा खेलिने खेलहरू मात्र नभइ पानी नचाहिने खेलहरू पनि पार्कमा राखिएका छन् । जुनसुकै मौसममा पनि मानिसहरू आएर रमाइलो गर्न सकिने गरि व्यवस्था मिलाउने क्रममा एकै ठाउँमा वाटर र ड्राइ पार्कको परिकल्पना गरिएको ल्याइएको गौतम बताउँछन् । ‘कतिपय यस्ता पार्कहरू ६ महिना खुल्ने र ६ महिना बन्द हुने हुन्छ । त्यस्तो नहोस् भनेर हामीले बच्चाहरूका लागि छुट्टै इन्डोर गेमहरू राखेका हौँ,’ गौतम थप्छन् ‘यस पार्कमा जडान गरिएको प्रविधि एवं सामाग्री भारत र चीनबाट ल्याइएको हो । ग्राहकको सुरक्षाका लागि हामीले विशेष ध्यान दिएरै क्वालिटी प्रोडक्टहरू जडान गरेका छौँ ।’ ६५ रोपनी जग्गामा फैलिएको पार्कमा विभिन्न खेलहरू गरेर ५ हजार मानिसहरू एकै पटक रमाउन सक्छन् । पार्कमा करिब सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । पार्क पोखराको पुरानो एयरपोर्टबाट करिब ४ किलोमिटर र पृथ्वीचोकबाट करिब ५ किलोमिटरको दुरीमा रहेको छ । पार्कमा जान निजी मात्र नभइ एयरपोर्टबाट ढुंगेसाहु, सितापाइला जाने सार्वजनिक यातायातबाट पनि पुग्न सकिन्छ । पार्कमा हिरा केसी, नारायण खरेल, कमल बस्नेत, भरत गौतम, कदम केसी, सुशिल खरेल, नारायण पौडेल, जितेन्द्र केसी, अर्जुन खरेल, मदन कुमार श्रेष्ठ, भिम केसी लगायत १३ जनाको लगानी रहेको छ ।