आर्थिक संकटमा परेको श्रीलंकालाई माथि उठाउने प्रयासमा बिक्रमासिंघे, विदेश ऋण तिर्न जुटे
काठमाडाैं । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले देशलाई आर्थिक सङ्कटबाट पार लगाउन अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँगको सम्भावित सम्झौता मुलुकमा व्याप्त राजनीतिक अस्थिरताका कारण अघि बढाउन विलम्ब भएको बताउँदै राजनीतिक दलका नेताहरूलाई ऋण तिर्ने उपाय पहिल्याउन आग्रह गरेका छन् । देशले झेल्नु परेको वर्तमान चुनौतीलाई स्थायी रूपमा समाधानका निम्ति सबै राजनीतिक दलले सहकार्य गर्नुपर्नेमा जोड दिँदै उनले देशको अहिलेको आर्थिक सङ्कटका लागि पूर्वराष्ट्रपति गोटबाया राजापाक्षलाई दोष दिनुको कुनै अर्थ नभएको बताए । शनिबार क्याण्डीमा भएको एक कार्यक्रममा उनले देशलाई आर्थिक सङ्कटबाट मुक्त गरी वैदेशिक ऋण चुक्ता गर्न सबै राजनीतिक दललाई एकजुट हुन आग्रह गरे । साथै उनले त्यस निम्ति उपाय पहिल्याउन पनि आग्रह गरे । आईएमएफसँगको सम्झौताले श्रीलङ्काको समस्या पूर्ण रूपमा समाधान नहुने बताए । आफूले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि अगाडि बढेको आईएमएफसँगको सम्भावित सम्झौता देशमा व्याप्त अस्थिरताका कारण रोकिएको जनाउँदै उनले आगामी अगस्टको अन्त्यपछि सम्झौता हुनसक्ने बताए । आईएमएफसँग सम्झौता नभएसम्म अन्य देशले श्रीलङ्कालाई आर्थिक सहयोग गर्न इच्छुक नहुने दोहो¥याए । यसैबीच, सरकारी तथ्याङ्कअनुसार यसै वर्षको जुनमा २७ हजार नौसय जना रोजगारीको खोजीमा बाहिर गएका, अनुमतिप्राप्त वैदेशिक रोजगार प्रदायक निकायमार्फत नौ हजार आठसय ५४ जना रोजगारीका लागि विदेश गएका छन् । यस वर्षको जनवरीदेखि एक लाख ५० हजारभन्दा बढीले देश छाडेका छन् । चरम आर्थिक सङ्कटले पिरोलिएका श्रीलङ्काका जनता औषधि, इन्धन र खाद्यान्नलगायत अत्यावश्यक वस्तुहरूको अभावमा सङ्घर्ष गरिरहेको छन् । राजापाक्षको कुशासनका कारण आफूहरूले अकल्पनीय अभावको सामना गर्नुपरेको भन्दै हज्जारौँ सर्वसाधारण विरोध प्रदर्शनमा उत्रेका थिए भने केहीले राष्ट्रपति निवासमा प्रवेश गरेर उनलाई देश छाड्न बाध्य पारेका थिए । एजेन्सी
शिवम् सिमेन्टद्वारा निर्माणकर्मीको परिवारलाई १० लाखको बीमा रकम भुक्तानी
काठमाडौं । शिवम् सिमेन्टले दुर्घटना बीमा अन्तर्गत दुई जनालाई १० लाख बराबरको मृत्यु बीमा रकम हस्तान्तरण गरेको छ । कम्पनी आफैले निर्माणकर्मीहरुको बीमा गरिदिएकाे थियाे । यसअघि पनि देशका विभिन्न स्थानमा रहेका निर्माणकर्मीहरुबाट माग दाबी भए अनुसार शिवम् सिमेन्टले ५ लाख बराबरको मृत्यु बीमासहित दुर्घटना जोखिम बीमा बापतको रकम हस्तान्तरण गरेको थियो । दैनिक निर्माणकार्यमा खटिने निर्माण कर्मीहरुको जोखिमलाई मध्यनजर गर्दै शिवम् सिमेन्टले देशका विभिन्न ५२ स्थानहरुमा रहेका ३ हजारभन्दा बढि निर्माणकर्मीहरुको ५ लाख बराबरको जोखिम बीमा गरेको थियो ।
एसईई ग्रेडवृद्धि परीक्षा भदौ ११ र १२ गते हुने
काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि परीक्षा भदौ ११ र १२ गते हुने भएको छ । बोर्डले सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । दुई विषयसम्म अनुपस्थित रहेका विद्यार्थी र ‘सी’ वा ‘सी’ ग्रेडभन्दा कम प्राप्त गरेका विषयमध्ये परीक्षार्थीले चाहेको दुई विषयमा ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् । बोर्डका अनुसार ग्रेडवृद्धिका लागि परीक्षा दिन चाहने विद्यार्थीले भदौ पाँच गतेसम्म सम्बन्धित विद्यालयमा ५०० राजश्व तिरी आवेदन दिनुपर्ने छ । परीक्षा समय बिहान ८ देखि ११ बजेसम्म हुनेछ ।
नियम विपरित कार्य गरेपछि हिमाल दोलखा हाइड्रोको सेयर कारोबार रोक्का
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमाल दोलखा हाइड्रोपावरको सेयर कारोबार रोक्का भएको छ । कम्पनीले नियम विपरित कारोबार गरेपछि नेप्सेले आइतबार सेयर कारोबार रोक्का गरेको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए । कम्पनीले सेयर बजार चलिरहेको समयमा सञ्चालक समितिको बैठक सञ्चालन गरेको भन्दै कारवाही स्वरुप सेयर कारोबार रोक्का गरेको हो । साथै, कम्पनीले समयमा सूचना नदिएकाले समेत सेयर कारोबार रोक्का गरेको हो । बुक क्लोज गर्नुभन्दा ७ दिन अघि नै सूचना दिनुपर्ने व्यवस्था छ । तर, कम्पनीले बुकक्लोज गर्ने दिनभन्दा ७ दिन अघि नै सूचना नदिएकोले कम्पनीलाई स्पष्टिकरण समेत सोधेको छ । कम्पनीले १३ गते शुक्रबार बिहान ११ बजे बोर्ड बैठक राखेर विभिन्न निर्णयसहित ७५ प्रतिशत (१ः०.७५ को अनुपात) हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । कम्पनीले भदौ ३ गते साधारण सभा गर्ने निर्णय गरेको छ । साधारण सभा प्रययोजनार्थ साउन १९ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । तर, १४ गते मात्रै सूचना दिएपछि तोकिएको समय भित्र सूचना उपलब्ध नगराएपछि स्पष्टिकरणसहित कारोबार रोक्का गरेको हो ।
दूधमा आत्मनिर्भर बन्दै गण्डकी, प्रतिदिन ६५ हजार लिटर दूध उत्पादन
गण्डकी । सहरीकरणको विस्तारसँगै मुलुकका अधिकांश स्थानमा कृषिप्रति आकर्षण घटिरहेको बेला गण्डकी प्रदेश भने दूधमा आत्मनिर्भर बन्ने अवस्थामा पुगेको छ । पछिल्ला वर्षमा व्यावसायिक गाई तथा भैँसीपालन क्रमशः बढ्दै गएसँगै प्रदेशमा प्रतिदिन ६५ हजार लिटर दूध उत्पादन हुने गरेको छ । माग अनुसार दूध आत्मनिर्भरताको अवस्थामा पुगेको नेपाल डेरी एशोसिएशन गण्डकी प्रदेशका अध्यक्ष शिवहरि आचार्यले जानकारी दिए । ‘यहाँको मागको ९० प्रतिशत दूध गण्डकीमा उत्पादन हुने गरेको छ’, उनले भने, ‘पछिल्ला वर्षमा गाईपालनतर्फ सर्वसाधारण आकर्षित बन्दै गएका कारण हामी आत्मनिर्भर बन्दै गएका हौँ ।’ आचार्यका अनुसार गण्डकी प्रदेशमा स्थानीय उत्पादनका अतिरिक्त चितवन, नवलपरासी, कपिलवस्तु र रुपन्देहीबाट दूध आउने गरेको छ । गण्डकीको नवलपुरबाट अन्य प्रदेशमा दूध निर्यात हुने गरेको छ । प्रदेशको राजधानी पोखरासहित विभिन्न जिल्ला सदरमुकाममा दूधको खपत बढी हुन्छ । आचार्यले गण्डकीभित्र ठूला चार, मझौला आठ, साना २० र घरेलु १०० डेरी रहेको जानकारी दिए । दूधको सेवन गर्ने क्रम पछिल्ला वर्षमा बढ्दै गएकाले दिनानुदिन माग बढ्दो क्रममा रहेको व्यवसायी बताउँछन् । कोरोना कहरयता बढ्दो महँगी भने गम्भीर समस्याका रुपमा देखापरेको पोखरा महानगरपालिका–३३ भरतपोखरी बाघमाराका अगुवा किसान ठाकुर आचार्य बताउँछन् । विसं २०६६ पछि व्यावसायिक गाईपालनमा लाग्नुभएका आचार्यले अहिले दैनिक ५० लिटर दूध उत्पादन गर्दै आएका छन् । उत्पादित दूधको बजारमा समस्या नभए पनि बढ्दो महँगीका कारण उत्पादनको लागत बढ्न गएको उनको भनाइ छ । आचार्यका अनुसार कोरोना कहर अघिसम्म आठ/नौ सयमा पाइने चोक्कर अहिले दुई हजार २०० पर्ने गरेको छ । त्यस्तै ४० हजारमा एक ट्रिप पराल आउने गरेकामा अहिले भने ९० हजारदेखि ९५ हजारसम्म पर्ने गरेको उनले दुःखेसो सुनाए । ‘बढ्दो महँगीसँगै गाईको दूधको लागत प्रति लिटर रु एक सय १० सम्म पर्ने गर्छ तर सरकारी निर्धारित मूल्य अनुसार किसानले ५७/५८ रुपैयाँ मात्रै पाउने गरेका छन्’, उनले भने, ‘किसानका यी समस्यामा सरकारको ध्यान पुगेको छैन ।’ व्यावसायिकताको विकाससँगै कास्कीको पोखरा महानगरपालिका–३३ भरतपोखरीको बाघमारा लगायतका स्थानले पछिल्ला समयमा राम्रो पहिचान बनाएका छन् । पछिल्ला वर्षमा व्यावसायिक रुपमा फस्टाउँदै गएको दुग्ध उत्पादनका साथै तरकारी खेतीसँगै बाघमारा दूधको सहरका रुपमा घोषित बनेको छ । दुई दशक अघि २०५० सालमा बाघमाराबाट दुग्ध विकास संस्थानलाई दूध सङ्कलन गरी बिक्री गर्न थालेसँगै यस क्षेत्रमा कृषिको व्यवसायिकतामा विकास भएको हो । विसं २०५७ पछि यस क्षेत्रमा गाईपालनप्रति आकर्षण बढ्दै गएको चिरगादी दुग्ध उत्पादक सहकारी संस्थाका पूर्व अध्यक्ष विश्वेश्वर हरामी बताउँछन् । सुरुमा दुग्ध विकास संस्थानले दूध लैजाने गरेको यस ठाउँमा २०६१ साल भदौदेखि नीजिस्तरबाट सञ्चालित पन्थी डेरीले बाघमारामा दूध सङ्कलन गर्न थालेको थियो । अन्य निजी डेरी पनि बाघमारामा सम्पर्कमा आउन थालेसँगै गाईपालनको वातावरण थप बढेको उनले बताए । सुरुमा २०५०/५१ सालतिर तालचोकसम्म दूध पु¥याउनुपर्नेमा यातायातको सुविधासँगै २०६१ सालपछि पुलचोक दूध सङ्कलन केन्द्रका रुपमा विकास भएको थियो । पछिल्ला वर्षमा चिरगादीमा पक्की पुल बन्नुका साथै पोखराको दोभिल्ला हुँदै सवारीसाधन आवतजावत गर्न थालेका कारण उत्पादित दूध बजारमा पु¥याउन सहज भएको छ । बाघमाराबाट बजारमा दूधको बढ्दो मागका साथै पछिल्लो समयमा स्थानीय युवा पनि यसतर्फ आकर्षित बन्न थालेको उनले बताए । रासस
कैलाली भन्सारद्वारा साढे ९ अर्ब राजस्व सङ्कलन
सुदूरपश्चिम । कैलाली भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा नौ अर्ब ५८ करोड २६ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले उपलब्ध गराएको तथ्याङ्कका अनुसार सो अवधिमा ११ अर्ब ८२ करोड ३९ लाख राजस्व सङ्कलनको लक्ष्य राखेको थियो । सङ्कलित राजस्व लक्ष्यको झण्डै ८१ प्रतिशत हो । कार्यालयका अनुसार भन्सार महशुलतर्फ तीन अर्ब ५६ करोड ५५ लाख, मुल्य अभिवृद्धि करतर्फ तीन अर्ब ८६ करोड ४० लाख, अन्तः शुःल्कतर्फ २३ करोड ९९ लाख र अन्य शीर्षकतर्फ एक अर्ब ९१ लाख ३१ लाख राजस्व असुली भएको छ । सो अवधिमा कार्यालयले मूल्य अभिवृद्धि करतर्फ तीन अर्ब १० करोड १५ लाख, भन्सार महशुलतर्फ पाँच अर्ब २२ करोड ४० लाख, अन्तः शुःल्कतर्फ २८ करोड ७६ लाख र अन्य शीर्षकतर्फ तीन अर्ब २१ करोड ६ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । गत माघमा सबैभन्दा कम ६९ दशमलब ५२ प्रतिशत र सबैभन्दा बढी गत वर्ष साउनमा ८९ दशमलब आठ प्रतिशत राजस्व असुली भएको जनाइएको छ । कैलाली भन्सार नाकाबाट मुख्य निर्यात हुने वस्तुमा रोजिन टर्पेनटाइन, खयर कच्छ, पिना, भटमासको तेललगायत छन् । आयात हुने मुख्य वस्तुमा पेट्रोलियम पदार्थ, मोटर पाट्र्सका साथै चामल, मकै, तोरी, तरकारीलगायत खाद्य सामग्री छन् । यो नाकाबाट निर्यात व्यापारभन्दा आयात बढी मात्रामा रहेको छ । रासस
१४८ म्यानपावर कम्पनीलाई जरिवाना, १ करोड राजश्व संकलन
काठमाडौं । वैदेशिक रोजगार विभागले एकैपटक धेरै म्यानपावर कम्पनीलाई कारवाही स्वरुप आर्थिक जरिवाना गरेको छ । विभागले विज्ञापन प्रकाशनको अनुमति लिएर विज्ञापन प्रकाशन नगरेको भन्दै १४८ वटा म्यानपावर कम्पनीलाई कारवाही स्वरुप ५० हजार रुपैयाँका दरले जरिवाना गरेको हो । उक्त कम्पनीहरुले २०७९ साउन ३ र ४ गते विज्ञापन प्रकाशन गर्नका लागि विभागबाट पूर्वस्वीकृति लिएका थिए । तर तोकिएको मितिमा विज्ञापन प्रकाशन नगरेपछि विभागले कारवाही स्वरुप प्रत्यक कम्पनीलाई ५० हजार रुपैयाँका दरले जरिवाना गरेको हो । विभागले बैदेशिक रोजगार ऐन, २०६४ को दफा ४९ बमोजिक उक्त रकम जरिवाना गरिएको जनाएको छ । १४८ वटा कम्पनीलाई जरिवाना गर्दा ७४ लाख रुपैयाँ राजश्व संकलन भएको जनाईएको छ ।
मङ्गलबारसम्म वर्षाको सम्भावना
काठमाडौं । आगामी मङ्गलबारसम्म देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ । मनसुनी प्रणाली सक्रिय रहेकाले आगामी मङ्गलबारसम्म देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् हीरा भट्टराईले बताए । उहाँका अनुसार प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ । यी तीन दिन पूर्वमा मनसुन बढी सक्रिय हुने सम्भावना रहेको बताइएको छ । विभागले देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा प्रदेश नं १, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहनुका साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नसक्ने र दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ का थोरै स्थानमा र बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । रातको समयमा देशका पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका प्रदेश नं १ र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।