स्टेफनी लुइसले बनाएकी थिइन् बुुलेटप्रुफ ज्याकेट
एजेन्सी । तपाईंले प्रायः देख्नु भएको होला कि हिंसात्मक अभियानमा सामेल हुनु अघि सशस्त्र बलका जवानहरूले गोली नलागोस भनेर बुलेटप्रुफ ज्याकेट लगाउँछन् । यो विशेष ज्याकेट बनाउनको लागि कुन सामग्री प्रयोग गरिएको थियो र कसले यसलाई बनायो भनेर कहिल्यै सोच्नुभएको छ ? कपडा र धागोमा विशेष रुची राख्ने रसायनशास्त्री स्टेफनी लुइस कोवलकले सो ज्याकेट बनाएकी हुन् । स्टेफनीले सिंथेटिक फाइबरको क्षेत्रमा पनि अनुसन्धान गरिरहेकी थिइन् । उनले स्टिल भन्दा बलियो र फाइबरग्लास भन्दा हल्का समाधानको आविष्कार गरेकी थिइन् । हामीले अहिले उनको आविष्कारलाई केवलर भनेर चिन्छौं । आजको संसारमा, यो टायर, पन्जा, बुलेटप्रुफ ज्याकेट, स्पेस सूट, र स्पेसक्राफ्टमा पनि प्रयोग गरिन्छ । तर जब स्टेफनीले यो क्रिस्टल आकारको समाधान बनाइन्, उनका सहकर्मीहरूले यसलाई बनाउने प्रक्रियामा साथ दिन अस्वीकार गरेका थिए । स्टेफनीको जन्म सन् १९२३ को ३१ जुलाईमा अमेरिकाको पेन्सिभिनियामा भएको थियो । उनको मृत्यु १८ जुन २०१४ मा भएको हो ।
सार्वजनिक खरिद नियमावलीको बाह्रौं संशोधन सकारात्मक-निर्माण व्यवसायी
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ एसोसिएट समन्वय समितिको एघारौं भेलामा निर्माण व्यवसायीहरूले सार्वजनिक खरिद नियमावलीको बाह्रौं संशोधन सकारात्मक भएको बताएका छन् । एसोसिएट समन्वय समितिका संयोजक रामजी पन्त ‘मुकेश’ को सभापतित्वमा राजधानीमा भएको भेलामा उनीहरूले व्यवसायी मैत्री ऐन नियमका लागि निरन्तर खबरदारी आवश्यक भएको धारणा राखे । प्रमुख अतिथिको रुपमा भेलालाई सम्बोधन गर्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद नियमावलीको बाह्रौं संशोधन आएसँग सङ्कटमा रहेको निर्माण उद्योगलाई राहत मिलेको बताए । ‘निर्माण उद्योगप्रति रहेको नकारात्मक प्रभाव चिर्दै यस पेशालाई सम्मानित बनाउने दायित्व अब व्यवसायीको काँधमा आएको छ’ अध्यक्ष सिंहले भने । समृद्धिका सारथी निर्माण व्यवसायीहरू विना भौतिक पूर्वाधारको विकास विस्तारले गति लिन नसक्ने उनले बताए । महासंघका मानार्थ सदस्य समेत रहनु भएका संघीय सांसद् जीप छिरिङ लामा शेर्पाले निर्माण उद्योगको सुधारका लागि नियमावलीमा होइन ऐनमा नै संशोधन आवश्यक रहेको टिप्पणी गरे । निर्माण उद्योगलाई समृद्ध बनाउन निर्माण व्यवसायी मात्र होइन कर्मचारीहरू पनि उत्तिकै जिम्मेवार हुनुपर्ने उनले बताए । महासंघका निर्वतमान अध्यक्ष विष्णुभाइ श्रेष्ठले निर्माण उद्योगको विकासबाट मात्र देशको समृद्धि सम्भव भएको धारणा राखे । महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी) ले व्यवसायीहरूलाई आफ्नो क्षमता अनुसारको मात्र काम गर्न सुझाव दिए । महासंघका महासचिव रोशन दाहालले विदेशीले जिम्मा लिएका नेपालका निर्माण परियोजनाको हालत अत्यन्त खराब रहेको बताए । त्यस्ता विदेशी निर्माण व्यवसायीको तुलनामा नेपाली व्यवसायीहरूले नै राम्रो काम गरेको उनको दाबी थियो । महासंघका उपाध्यक्ष समेत रहेका एसोसिएट समन्वय समितिका संयोजक रामजी पन्त ‘मुकेश’ ले २५ लाख भन्दा बढीलाई रोजगारी दिएको निर्माण उद्योग चलायमान भए मात्र देशको अर्थतन्त्र मजबुत हुन सक्ने तर्क गरे । निर्माण व्यवसाय प्रबद्र्धन तथा व्यवस्थापन कार्यान्वयन समितिका अध्यक्ष शिवप्रसाद नेपालले निर्माण व्यवसायीहरूले गरेको राम्रा कामको प्रचार प्रसार हुन नसकेको बताए । मुलुकमै निर्माण सामाग्रीको उद्योग स्थापना गर्न व्यवसायीहरूलाई उनले सुझाव दिए । कार्यक्रममा निर्माण व्यवसायीहरू पूर्णबहादुर तामाङ ‘कान्छाराम’, सुवित श्रेष्ठ, छत्र लामा, शिवहरि घिमिरे लगायतले निर्माण व्यवसायीहरूका समस्या बारे चर्चा गरेका थिए । यसैबीच महासंघको विधान बमोजिम एसोसिएट उपाध्यक्ष स्वत एसोसिएट समन्वय समितिको संयोजक रहने प्रावधान अनुसार भेलाले समितिको सहसंयोजक सहितको कार्य समिति निर्विरोध चयन गरेको छ । जस अनुसार सहसंयोजकमा एनसी शेर्पा, भाइराजा श्रेष्ठ र रमेश अधिकारीलाई निर्विरोध चयन गरेको छ । सचिवद्धयमा नवराज श्रेष्ठ र मोहन कार्की निर्विरोध भएका छन् भने उपसचिव माधवप्रसाद आचार्य चयन भए । कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः लक्ष्मी कार्की र कृष्णहरि चौलागाई चयन भए । सदस्यमा निर्विरोध चयन हुनेमा कुमारध्वज कार्की, उमेशध्वज थापा, गोकर्ण राउत, अनिल सिलवाल, खड्गबहादुर बुढाथोकी, कुमारप्रसाद गौतम र सूर्य अधिकारी रहेका छन् । सल्लाहकारमा सोम प्रसाई, विनोद भट्टराई र केशव त्वानावसु चयन भएका छन् । भेलामा महासंघको कार्य समितिमा एशोसिएटको प्रतिनिधित्व गर्दै विजयी निर्माण व्यवसायीहरूलाई सम्मान गरिएको थियो ।
वीरगञ्जमा एक हजार क्षमताको होल्डिङ सेन्टर
पर्सा । पर्साको वीरगञ्जमा करिब एक हजार जना अटाउने होल्डिङ सेन्टर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पूर्वाधारको सबै काम सम्पन्न भइसकेको छ भने एक सय श्ययामा अक्सिजन जडानको काम मात्र बाँकी छ । निर्माणको जिम्मा पाएको हनुमान कन्सट्रक्सनका इञ्चार्ज विशाल दाहालका अनुसार गत वर्ष कोरोना सङ्क्रमण दर बढ्दै गएपछि सीमानाकाबाट नेपाल भित्रिनेलाई क्वारेन्टिनमा राख्न सरकारले वीरगञ्ज नाकामा होल्डिङ सेन्टर निर्माण कार्य अघि बढाएको हो । ‘निर्माण कार्य अन्तिम चरणमा पुगेको छ,’ दाहालले भने । निमार्णाधीन संरचनाको व्यवस्थापनको जिम्मा नेपाली सेनाले लिएको छ । भारतबाट वीरगञ्ज नाका हुँदै नेपाल भित्रिने नागरिकलाई क्वारेन्टिनमा राख्न उक्त क्षेत्रमा करिब २८ करोडको लागतमा भवन निर्माण गरिएको हो । निर्माण गरिएका पूर्वाधारमा १३ भान्साघर, २२ शौचालय र एक हजार व्यक्ति अटाउने २२ क्वारेन्टिन भवन रहेका छन् । नौ सय श्ययामा सामान्य लक्षण तथा एक सय श्ययामा जटिल अवस्थाका बिरामीलाई राखिने दाहालले बताए । सरकारले २०७८ असार २५ गतेदेखि वीरगञ्ज भन्सार कार्यालयको पश्चिमपट्टिको गोदाम नजिक करिब दुई बिघा जग्गामा होल्डिङ सेन्टर निर्माण सुरु गरेको थियो । विसं २०७८ वैशाख ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना रोकथाम तथा नियन्त्रणकोे उद्देश्यसहित मुलुकका विभिन्न आठ नाकामा होल्डिङ सेन्टर निर्माण कार्य अघि बढाएको थियो । पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमणको सूचकांक फेरि उकालो लाग्दै गएपछि होल्डिङ सेन्टर निर्माण अघि बढाइएको हो ।
असफल आविष्कार जसले संसारलाई परिवर्तन गर्यो
एजेन्सी । के तपाईलाई थाहा छ कि विश्वभरि लाखौंको ज्यान बचाउने पेसमेकर असफल आविष्कारको परिणाम हो । भनिन्छ कि लाइट बल्ब वा छापाखाना जस्ता सफल विचारले संसार बदल्न सक्छ । तर कहिलेकाहीँ यस्तो हुन्छ कि असफल विचारहरूले पनि संसार बदल्छ । यो एक पटक मात्र भएको होइन । कहिलेकाहीँ यस्ता विचारहरूले संसारलाई परिवर्तन गरेको छ जुन उनीहरूको समयमा सफल हुन सकेन । तर, केही वैज्ञानिकहरूको असफलताले संसारलाई परिवर्तन गर्यो । माउस निर्माता न्यूयोर्कको स्ट्यानफोर्ड रिसर्च इन्स्टिच्युटमा इलेक्ट्रिकल इन्जिनियरिङ अध्ययन गरेका डगलस एंगलबर्टले मानिसहरूले नयाँ कम्प्युटरहरू प्रयोग गर्ने तरिका प्रभावकारी तरिका होइन भन्ने महसुस गरे । त्यसबेला, माउस अहिलेको भिडियो गेमको जोइस्टिक यन्त्र जस्तो हुन्थ्यो । यो यन्त्र प्रयोग गर्न सजिलो र सहज थिएन । यसलाई समाधान गर्न, एंगलबर्टले ‘बग’ नामक उपकरण सिर्जना गरे । जसमा दुई गोलाकार पाङ्ग्राहरु थिए । जसले कम्प्युटरमा देखाइएको कर्सरलाई नियन्त्रण गर्दछ । यो एक अद्भुत विचार थियो । सन् १९६० मा नासाले एन्जेलबर्टको आविष्कार प्रयोग गर्यो र यसलाई धेरै प्रभावशाली भएको स्वीकार गर्यो । दुई वर्षपछि एंगलबर्टले सेन फ्रान्सिस्कोमा आफ्ना साथी बिग इंग्लिसको साथमा मिलेर हजारौं मानिसहरूको अगाडि एउटा यन्त्र प्रदर्शन गरे । यसलाई माउस भनिन्थ्यो । प्रविधिको दुनियाँमा यो कार्यक्रमको निकै चर्चा भएको थियो । एंगलबर्ट र बिल इंग्लिसले आफूहरुले ठुलो वस्तु प्राप्त गरेको महशुस गरे । तर केही बेरमा त्यो खुसी हरायो । पाँच वर्ष भित्र एन्जेलबर्टले लगानी प्राप्त गर्न बन्द भयो । उनको टोलीका अधिकांश सदस्यहरूले स्ट्यानफोर्ड छोडे । तिनीहरूमध्ये बिल इंग्लिस पनि थिए, जसले जेरोक्समा काम गर्न थाले । सन् १९७९ मा एक व्यक्तिले जेरोक्सको अनुसन्धान केन्द्र हेर्नको लागि आफूसँग भएको जेरोक्सको शेयर दिए । यो मान्छे अरु कोहि नभई स्टिभ जब्स थिए । उनको कम्पनीको नाम एप्पल थियो । यो होइन की जेरोक्सको अनुसन्धान केन्द्रबाट नै माउस बाहिर आएको थियो । भनिन्छ कि स्टिभ जब्सलाई यो आइडिया यति मन पर्यो कि उनले आफ्नो इन्जिनियरिङ टोलीलाई आफूले गरिरहेको काम तुरुन्तै रोक्न र माउसलाई एप्पल कम्पनीको तर्फबाट उत्पादन गर्न भने । माउसको मूल पेटेन्ट स्ट्यानफोर्ड रिसर्च इन्स्टिच्युटसँग थियो, जसको अर्थ एंगलबर्टले माउसको आविष्कारबाट केही पाएनन् । यद्यपि एंगलबर्टको सोच समय भन्दा अगाडि थियो, वास्तविक संसारमा माउस घर–घर पुर्याउनको लागि लागि सम्भवतः स्टिभ जब्स जस्तो मान्छे चाहिन्छ, जसले सपना देख्न सक्छ र उसलाई जीवन व्यवहारमा उतार्न पनि सक्छ ।
जिल्ला ट्राफिक कार्यालय स्याङ्जाद्वारा ७१ लाख राजस्व संकलन
स्याङ्जा । जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले सवारी कारबाहीबाट ७१ लाख ४२ हजार पाँच सय राजस्व संकलन गरेको छ । कार्यालयले आव २०७८/७९ मा नौ हजार नौ सय १६ सवारी साधनलाई कारबाही गरी उक्त राजस्व संकलन गरेको हो । सिट क्षमताभन्दा बढी यात्रु चढाउने, चालक अनुमतिपत्र विना सवारी चलाउने, तीव्र गतिमा चलाउने, अनावश्यक हर्नको प्रयोग गर्ने, सवारीको स्वरुप परिवर्तन गर्ने, अनावश्यक स्टिकर टाँस्ने, अस्पष्ट नम्बर प्लेट भएका सवारी साधनलाई कारबाही गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख मीनबहादुर कुँवरले जानकारी दिए । गत आवको असारमा मात्रै कार्यालयले सबैभन्दा धेरै एक हजार छ सय १३ विभिन्न सवारी साधनलाई कारबाही गर्दा ११ लाख ३७ हजार पाँच सय राजस्व संकलन गरेको थियो । कार्यालय प्रमुख कुँवरका अनुसार गत आव २०७८/७९ को साउनमा चार सय ७६, भदौमा पाँच सय ४४, असोजमा छ सय ८०, कात्तिकमा आठ सय १४, मङ्सिरमा छ सय ३९, पुसमा सात सय, माघमा सात सय ५०, फागुनमा आठ सय, चैतमा आठ सय ५०, वैशाखमा नौ सय ५०, जेठमा एकहजार एक सय र असारमा एक हजार छ सय १३ सवारी साधन कारबाहीमा परेका थिए । गत आवको साउनमा कारबाहीमा परेका सवारी साधनबाट कार्यालयले तीन लाख ३७ हजार पाँच सय, भदौमा तीन लाख ९५ हजार पाँच सय, असोजमा चार लाख ८४ हजार पाँच सय, कात्तिकमा छ लाख ६५ हजार, मङ्सिरमा चार लाख ८५ हजार पाँच सय, पुसमा चार लाख ८५ हजार, माघमा पाँच लाख ३१ हजार, फागुनमा पाँच लाख ७१ हजार, चैतमा छ लाख १४ हजार, वैशाखमा छ लाख ६४ हजार पाँच सय, जेठमा सात लाख ७१ हजार पाँच सय र असारमा ११ लाख ३७ हजार पाँच सय गरी कूल ७१ लाख ४२ हजार पाँच सय राजस्व संकलन भएको हो ।
ऋणको अभावले पुष्प व्यवसाय विस्तार हुन सकेन
काठमाडौं । बैंकबाट सहजरुपमा ऋण प्रवाह हुन नसक्दा पुष्प व्यवसाय विस्तार गर्न समस्या भएको छ । लामो समय कोरोना महामारीको सामना गरी विस्तारै लय लिन लागेको उक्त व्यवसाय विस्तारका लागि वातावरण नबन्दा व्यवसायी मारमा परेका छन् । लामो समयदेखि कलंकीमा नर्सरी सञ्चालन गर्दै आएका श्याम उप्रेतीले व्यवसाय जेनतेन धाने पनि आर्थिक समस्याका कारण विस्तार गर्न नसकेको बताए । कोरोना महामारी अघि सहजरुपमा ऋण उपलब्ध हुने गरेको भए पनि अहिले विभिन्न बहानामा नपाउँदा लगानी बढाउन नसकेको उनले दुःखेसो पोखे। सामान्यतया नर्सरी सञ्चालनका लागि ५० लाखदेखि एक करोडसम्म लगानी गर्नुपर्ने व्यवसायी बताउँछन् । लगानी बढाउन नपाएकै कारण पछिल्लो समय फूलको उत्पादनमा कमी आएको छ । कोरोना महामारीको पहिलो, दोस्रो र तेस्रो चरणसम्म आइपुग्दा पुष्प व्यवसायीले कठिन अवस्थाको सामना गर्नुपरेको थियो । खुसी र विभिन्न उत्सवमा बढी प्रयोग हुने फूल कोरोना महामारीका कारण त्यस्ता गतिविधि ठप्प भएपछि यसको कारोबार पनि नगण्य भएको थियो । पुष्प व्यवसायीका अनुसार फूलको व्यापार भने आशाअनुरुप हुन सकेको छैन । कोरोना महामारीको समयमा भन्दा अहिले केही गतिविधि बढे पनि विगतको झैँ लय लिन अझै नसकेको फ्लोरीकल्चर एशोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले बताए। व्यवसाय विस्तार गर्न नसक्दा कारोबार कम भएको छ । गत आर्थिक वर्षमा तीन अर्बको कारोबार गर्ने लक्ष्य लिएको यस व्यवसायमा दुई अर्ब बराबर मात्र कारोबार भएको अनुमान गरिएको छ । हाल खपत हुने फूलमध्ये ९१ प्रतिशत नेपालमै उत्पादन हुन्छन् भने अझै पनि नौ प्रतिशत फूल विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेको अध्यक्ष तामाङले जानकारी दिए। पछिल्ला वर्षमा सयपत्री फूलमा पनि देश आत्मनिर्भर हुँदै गएको छ । मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरीमध्ये केही सयपत्री फूलको मालामात्रै भारतबाट ल्याउने गरिएको छ । अन्य समयमा प्रयोग हुने फूलमा भने देश आत्मनिर्भर भइसकेको छ । कात्तिकदेखि फागुनसम्म विभिन्न चाडबाड र विवाहको समय भएकाले फूल बढी प्रयोग हुने गर्दछ । फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४३ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ । नेपालमा हाल करिब पाँच सय प्रजातिको फूल रहेको भए पनि व्यावसायिकरूपमा चार सय ५० प्रजातिका फूलको मात्र उत्पादन र बिक्रीवितरण हुँदै आएको छ । नेपालमा झण्डै १५७ हेक्टरमा एक हजार व्यवसायीले यसको खेती गर्दै आएका छन् ।
तनहुँमा थपिए पाँच सय ७९ उद्योग
तनहुँ । तनहुँमा एक वर्षमा पाँच सय ७९ उद्योग थपिएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा आर्थिक वर्ष २०७८/७९ मा ती उद्योग दर्ता भएका हुन् । यस अवधिमा उत्पादनमूलक ४७, कृषि तथा वन पैदावरमा आधारित तीन सय २०, खनिजतर्फ एक, पर्यटनतर्फ एक, सेवातर्फ एक सय तीन र पूर्वाधारतर्फ तीन उद्योग थपिएको कार्यालय प्रमुख नारायण ढकालले जानकारी दिए। थपिएका उद्योगमध्ये घरेलुतर्फ ३३ र साना उद्योगतर्फ पाँच सय ४६ छन् । कृषि र पशुपालनमा युवाको आकर्षण बढेसँगै कृषिसम्बन्धी उद्योग दर्ता वृद्धि भएको ढकालले बताए । ‘वैदेशिक रोजगारीबाट फर्किएका युवा पशुपालनतर्फ आकर्षित भएका छन्,’ उनले भने । कृषि तथा वनजन्यतर्फ दुग्ध डेरी, गाईपालन, बाख्रापालन, कुखुरापालन, मौरीपालन, माछापालन र तरकारी खेतीतर्फ आकर्षण बढ्दो छ । तनहुँमा थपिएका उद्योगको कूल पुँजी ६३ करोड ५२ लाख रहेको कार्यालयले जनाएको छ । ती उद्योगको वार्षिक उत्पादन क्षमता एक अर्ब ७१ करोड ८७ लाख ५० हजारको छ । थपिएका उद्योगमा पाँच सय ३४ महिला र पाँच सय एक पुरुष गरी एक हजार ३५ जनाले रोजगारी पाएका छन् । उद्योगमा आठ सय नौ उद्यमी छन् । उद्योग दर्ता बापत २४ लाख तीन हजार राजस्व संकलन भएको छ । सोही अवधिमा तीन सय ९६ उद्योगको नवीकरण गरिएको छ । यस्तै ५४ उद्योगले नामसारी, चार उद्योगले ठाउँसारी, ७७ उद्योगले उद्देश्य थप तथा ६७ उद्योगले पुँजी वृद्धि गरेको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा दुई हजार एक उद्योग दर्ता भएका थिए । सो अवधिमा ती उद्योगमा दुई अर्ब ७० करोड ९० लाख लगानी भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७६/७७ मा जिल्लामा तीन हजार पाँच सय १५ उद्योग थपिएका थिए । ती उद्योगमा एक अर्ब ८९ करोड ५२ लाख लगानी भएको थियो । रु एक लाखसम्म पुँजी भएका उद्योगले एक हजार १००, तीन लाखसम्म पुँजी भएका उद्योगले तीन हजार १००, पाँच लाखसम्म पुँजी भएका उद्योगले ६ हजार १००, ५० लाखसम्म पुँजी भएका उद्योगले १२ हजार १००, एक करोडसम्म पुँजी भएका उद्योगले २० हजार १००, पाँच करोडसम्म पुँजी भएका उद्योगले ३० हजार १०० तथा पाँच करोडभन्दा बढी पुँजी भएका उद्योगले ५० हजार एकसय १० दर्ताबापत शुल्क बुझाउनुपर्छ ।
वर्षा सकिन लाग्यो, कञ्चनपुरका किसानले पर्याप्त युरिया पाएनन्
कञ्चनपुर । धानखेती गरेका कञ्चनपुरका किसानलाई युरिया मल अभाव भएको छ । युरिया मल अभाव भएपछि किसानलाई गुणस्तरहीन भारतीय युरिया मल बजार मूल्यभन्दा दोब्बर तिरेर खेतमा हाल्नुपर्ने बाध्यता भएको छ । कृष्णपुर नगरपालिका–५ का किसान जग्गु चौधरीले युरिया मल नपाइदा रु एक हजार ६०० बढी तिरेर भारतबाट अबैधरुपले ल्याइएको मल खेतबारीमा हाल्नुपरेको बताए। ‘अनुदानको मल पाइएन’, उनले भने, ‘मल राख्नुपर्ने बेला भइसकेपछि बाध्य भएर जस्तो भएपनि चर्को मूल्य तिरेर अबैधरुपले ल्याइएको मल प्रयोग गरेका छौँ ।” भारतबाट तस्करी गरी बजारमा खुलेआम बिक्री भइरहेका रासायनिक मल नियमन गर्ने र गुणस्तर जाँच गर्ने निकायसमेत नहँुदा किसानले जस्तो मल पायो सोही प्रयोग गर्ने गरेका छन् । त्यस्तो मलसमेत पाउन निकै गाह्रो हुने गरेको किसानको गुनासो थियो । अनुदानको मल सहकारी संस्थाले एक हजार प्रतिबोराका दरले उपलब्ध गराउने भए पनि भारतीय मल युरिया भने बजारमा एक हजार ६०० देखि रु रु एक हजार ८००सम्ममा बिक्री भइरहेको छ । साल्टट्रेडिङ कर्पोरेशन लिमिटेड महेन्द्रनगर उपशाखाले छ हजार बोरा रासायनिक मल सहकारी संस्थामार्फत किसानलाई बिक्री गरेको जनाएको छ । चालु आवको साउन महिनाको पहिलो सातामै उपशाखाले सहकारी संस्थामार्फत किसानलाई रासायनिक मल बिक्री गरेको हो । प्रतिबोरा युरिया ८८१ मा सहकारीमार्फत किसानलाई बिक्री गरेको उपशाखा प्रमुख दीपक भट्टले बताए। उनका अनुसार उपशाखामा अझै एक हजार ८८४ बोरा युरिया र दुई हजार १०० बोरा डिएपी मल मौज्दात रहेको छ । ‘पाँच दिनअघिदेखि किसानलाई युरिया मल बिक्री गरिरहेका छौं,’ उपशाखा प्रमुख भटृले भने, ‘युरिया मलको माग अधिक छ । थोरै मौज्दातले पुग्दैन ।’ मौज्दात रहेको मल एक दुई दिनमै सहकारी संस्थालाई बिक्री गरिसक्ने उनले बताए। कर्पोरेशनमा १०२ वटा सहकारी संस्था सूचीकृत छन् । कर्पोरेसनले ५० किलोग्रामको बोरा आठ सय ८१ मा सहकारीलाई बिक्री गरेको युरिया मल किसानलाई सहकारीले रु एक हजार १०० मा बिक्री गररिहेको छ । लोड, अनलोड, ढुवानी खर्चसमेत जोडेर कर्पोरेसनबाट खरिद गरिएको मल किसानलाई बिक्री गरिँदै आएको सहकारी सञ्चालकको भनाइ छ । अर्को सरकारी रासायनिक मल आपूर्ति गर्ने संस्था कृषि सामग्री कम्पनी लिमिटेड महेन्द्रनगर शाखासँग भने रासायनिक मलको मौज्दात नै छैन । शाखाप्रमुख बलबहादुर शाहले रासायनिक भैरहवासम्म पनि आइनपुगेको बताए । ‘भारतको कलकता बन्दरगाहमा आइपुगेको जानकारी भएको छ,’ उनले भने, ‘भैरहवा आइपुग्न एक हप्ता बढी लाग्छ । यहाँ आइपुग्न दुई हप्ता बढी लाग्छ ।’ ‘कैलाली र कञ्चनपुरका लागि अझै ढुवानीको टेण्डर नै भएको छैन । किसानले युरियाका लागि दुई तीन हप्ता अझै कुर्नुपर्ने देखिन्छ,’ शाखाप्रमुख शाहले भने । कञ्चनपुरका लागि रासायनिक मलको ३० प्रतिशत साल्टट्रेडिङ कर्पोरेसन लिमिटेडले र ७० प्रतिशत रासायनिक मलको आपूर्ति कृषि सामग्री कम्पनीले गर्दै आएको छ । दुवै कम्पनीले आपूर्ति गर्ने मलभन्दा किसानको माग अधिक रहेको छ । यसका लागि सरकारले मागअनुसार कोटा वृद्धि गरिनुपर्ने किसानले माग गर्दै आएका छन् । रासस ।