गुणस्तरहिन खाद्य पदार्थ उत्पादन गर्ने उद्योगमाथि मुद्दा
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन गर्ने आठ उद्योगमाथि गत आर्थिक वर्ष २०७८/७९ मा मुद्दा दायर गरेको छ । विभिन्न उद्योगबाट उत्पादित नमूनाको संकलन गरी जाँच गर्दा मापदण्डअनुसारको उत्पादन नभएकाले ती उद्योगमाथि सम्बन्धित जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको सो कार्यालयले जनाएको छ । कार्यालयले वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै गत आव र अघिल्लो आवको सात मुद्दाको फैसला भएकोमा चार मुद्दाको फैसला हुन् बाँकी रहेको बताइएको छ । कूल ११ वटा मुद्दा दुई आवमा दायर भएको थियो । गत आवमा उपभोक्ताबाट कार्यालयमा छ उजुरी प्राप्त भएकोमा पाँच उजुरीको अनुसन्धान सकिएको छ । जसमा दुई उजुरीमाथि मुद्दा दायर दायर गरिसकिएको छ भने दुईमा अनुगमन गरी सुधारात्मक निर्देशन दिइएको छ । एउटा उजुरीउपर नमूना संकलन गरी प्रयोगशाला विश्लेषण गर्दा कैफियत नपाइएको तथा एउटा उजुरी अनुसन्धानको क्रममा रहेको जनाइएको छ । प्रतिवेदनमा उपभोक्ताको स्वास्थ्य र सुविधा कायम राख्न विद्यमान खाद्य ऐन र नियमको प्रभावकारी कार्यान्वयन गर्दै सरोकारवालाको सहयोग र समन्वयमा कार्यक्रम सञ्चालन हुँदै आएको उल्लेख गरिएको छ । गत आवमा कार्यालयले ६० बजार, दुई सय १० उद्योग तथा ४१ होटल तथा रेष्टुराँ र चमेना गृहको अनुगमन गरिएको प्रतिवेदनमा जनाइएको छ । गत आवमा कार्यालयवाट २९ खाद्य तथा दानाको अनुज्ञापत्र जारी गरिएको, एक सय चार खाद्य पदार्थको अनुज्ञापत्र नवीकरण गरिएको तथा उद्योग स्थापानार्थ ७८ उद्योगको सिफारिस गरिएको सो कार्यालयले जनाएको छ । त्यस्तै अनुगमनको क्रममा सात होटल र रेष्टुराँलाई स्तरीकरण लोगो वितरण गरिएको बताइएको छ । कार्यालयका सूचना अधिकारी प्रगति अधिकारीका अनुसार सेवाग्राहीलाई विश्वसनीय प्रयोगशालाको अनुभूति गराउनका लागि कार्यालयले गत आर्थिक वर्षमा २ हजार एक सय २० खाद्य पदार्थ नमूना विश्लेषण गरेकोमा ९६ वटा नमूना प्रतिकूल रहेको उल्लेख गरिएको छ । कार्यालयले उपरोक्त विभिन्न शीर्षकवाट गत आर्थिक वर्षमा रु १९ लाख ६२ हजार नौ सय राजश्व संकलन गरेको थियो । साथै, कार्यालयले जिल्ला प्रशासन कार्यालय मकवानपुरको आदेशमा गत आर्थिक वर्षमा युनिलिभर नेपाल लिमिटेडको म्याद सकिएको २ हजार २ सय २८ वोरा चियापत्ती नष्ट गरेको वताइएको छ । रासस ।
भक्तपुर क्यान्सर अस्पताललाई दिवाकर गोल्छा फाउन्डेसनको आर्थिक सहयोग
काठमाडौं । दिवाकर गोल्छा फाउन्डेसनले भक्तपुर क्यान्सर अस्पताल र आरोहण गुरूकुललाई आर्थिक सहयोग समेत गरेको छ । फाउन्डेसनले भक्तपुर क्यान्सर अस्पताललाई सहयोग बापत ५ लाख ३ हजार ८ सय ४७ रूपैयाँ र आरोहण गुरूकुललाई ९६ हजार ७ सय ५ रूपैयाँ बराबरको रकम प्रदान गरेको हो । हुलास स्टिलले शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । कम्पनीले स्थापना दिवसको अवसरमा स्वर्गीय दिवाकर गोल्छाको स्मरणमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । कम्पनीले काठमाडौं उपत्यका र उपत्यका बाहिर गरी २ ठाउँमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । उपत्यकाभित्र कम्पनीकै कार्यालय, गणबहाल, काठमाडौंमा गरिएको रक्तदानमा २५ जना रक्तदाताहरुले रक्तदान गरेका छन् । त्यस्तै, कम्पनीको सिमरा फ्याक्ट्रीमा गरिएको रक्तदानमा १७० जना भन्दा बढी रक्तदाताहरुले रक्तदान गरेका छन् । नेपालमा पहिलो पटक गुणस्तरिय जस्तापाताको प्रयोगद्धारा खरको छानाहरुमा हुने आगलागीको जोखिम र जीवन क्षतिबाट सुरक्षा गर्ने उद्देश्यले हुलास स्टिलको स्थापना भएको थियो ।
सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले गरे ‘मेरो बीमा’को उद्घाटन
काठमाडौं । नेपालको इन्स्सोरेन्स एग्रिगेटर ‘मेरो बीमा’ को उद्घाटन भएको छ । शुक्रबार काठमाडौंमा आयोजित मेरो बीमा प्रिजेन्टस् फ्च्यिुरिस्टिक बैंकिङ एण्ड इन्स्योरेन्स समीट २०२२ कार्यक्रमबीच सूचना तथा संचारमंत्री ज्ञानेन्द्र बहादुर कार्कीले उक्त बीमाको उद्घाटन गरेका हुन् । उक्त मेरो बीमाको वेवसाइटबाट हेर्न सकिन्छ । कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल र नेपाल राष्ट्र बैंकको तर्फबाट बरिष्ट डिपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले मन्तब्य राखेका थिए । त्यस्तै, कार्यक्रमको अध्यक्षता डा. बिष्णुप्रसाद गौतमले गरेका थिए । डा. गौतम नेपाल राष्ट्र बैंकको पूर्व निर्देशक, स्वरोजगार कोषको पूर्व कार्यकारी अधिकृत तथा विद्यावारिधि संघका अध्यक्ष हुन् । कार्यक्रममा पूर्व बीमाकर्मी तथा मेरो बीमाका संस्थापक कोष राज सुबेदीले मेरो बीमाको डिजिटल अवधारणाको बारेमा जानकारी तथा भविष्यमा दिने सुबिधाको बारेमा जानकारी गराए । उक्त कार्यक्रममा ५ ओटा विषय बस्तु ‘बीमा र बैंक’ को डिजिटलाइजेशन बारेमा प्यानलमा छलफल गरिएको थियो । डा. अमिताभ राजन अध्यक्ष आरबीआइ इंडिया सेवा समिति, मेगा बैंकका निर्देशक तथा लगानी बोर्ड नेपालका सदस्य बालकृष्ण सीवाकोटी, मेगा बैंकका निर्देशक तथा पर्यटन बोर्ड सदस्य मदन कुमार आचार्यको उपस्थिति रहेको थियो । त्यस्तै, विभिन्न बैंक तथा बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत र सूचना प्रबिधिका प्रमुखको उपस्थिति रहेको थियो । इंडियाबाट विभिन्न प्यानललिस्टको रुपमा बिज्ञहरुसहित उक्त कार्यक्रममा २०० जनाभन्दा बढीको उपस्थिति थियो । त्यस्तै, कार्यक्रमको आईटी पार्टनर कुबेर वर्ल्ड र इभेन्ट म्यानेजमेन्ट इभेन्टलिष्टले गरेको थियो ।
दिगो आर्थिक विकासलाई प्रवर्द्धन गर्न अमेरिकी दूतावास र चेम्बर अफ कमर्सबीच सहकार्य
काठमाडौं । अमेरिकी दूतावास र चेम्बर अफ कमर्स (अमच्याम नेपाल) बीच दिगो आर्थिक विकासलाई प्रवद्र्वन गर्न सहकार्य भएको छ । उक्त सहकार्यमा नेपालमा दिगो आर्थिक विकासलाई प्रवर्द्धन गर्न व्यवसायी र सरकारी नेताहरुसँग एकदिने कार्यशाला आयोजना भएको हो । जसमा नेपालको व्यापारिक वातावरण र लगानी नीति प्रस्तावका विषयमा छलफल भएको छ । नेपालमा दिगो आर्थिक विकासलाई प्रवद्र्वन गर्ने सबै प्रमुख सरोकारवालाहरू-उद्यमीहरू, कार्यकारीहरू, व्यापार संघका प्रतिनिधिहरू, विकास एजेन्सीहरू, थिंक ट्याङ्कहरू र सरकारी अधिकारीहरू उपस्थित थिए । यो कार्यक्रम अमेरिकी दूतावासको लागि नेपालमा अमेरिकी व्यापार लगानी र संलग्नता बढाउनको लागि प्रोत्साहन गर्ने अवसर पनि थियो । कार्यक्रमको उद्घाटन मन्त्रिपरिषद्को कार्यभार म्यानपी माइकलर जुनियर, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेलले गरेका थिए । चार्ज डी अफेयर्स म्यानी पी. माइकलर जुनियरले भने, ‘नेपालमा, अन्य धेरै देशहरूमा जस्तै, निजी क्षेत्र आर्थिक विकास परिवर्तनको प्रमुख प्रतिनिधि हो साथै यसले रोजगारी सिर्जना र राष्ट्रिय आयमा सबैभन्दा बढी योगदान गर्दछ, त्यसभन्दा बाहिर, निजी क्षेत्रले उदाहरणको रूपमा नेतृत्व गर्नुका साथै जिम्मेवारी र समावेशी जस्ता मूल्यहरू प्रदर्शन गर्दछ, र सकारात्मक प्रभाव पार्छ जसले नेपालका सबै समुदायहरूलाई माथि पुर्याउँछ ।’ कार्यक्रमले नेपाल-अमेरिकी व्यापार र लगानी सम्बन्धलाई समर्थन गर्न काम गरिरहेको नयाँ र द्रुत गतिमा बढ्दै गइरहेको अमेरिकी च्याम्बर अफ कमर्स इन नेपाल (अमच्याम नेपाल) को उत्कृष्टता देखाइएको थियो । अमच्याम नेपालका अध्यक्ष अजित बी शाहले निजी क्षेत्रको प्यानलमा एफएनसीसीआई, सीएनआई/एनयूएसएसीसीआईका नेताहरूसँग मिलेर (अमच्याम नेपाल) को आवश्यकता र नेपालमा हाल सञ्चालनमा रहेका अमेरिकी व्यवसायहरूका लागि नीतिगत चुनौतीहरू न्यूनीकरण गर्न कसरी काम गरिरहेको छ भन्ने बारेमा जानकारी गराएका थिए । उनले नेपालबाट विश्वका अन्य भागमा आईटी सेवा पुर्याउने ठूलो अवसर रहेको र यस उद्योगलाई तिव्रता दिन न्यासकम जस्तो संस्थाको आवश्यकता रहेको बताए ।
बजारमा चार नयाँ उत्पादन ल्याउँदै हिताची, बिक्री पछिको सेवा सुनिश्चित
काठमाडौं । होम अप्लाइन्सेसको आधिकारिक वितरक हिताचीले बजारमा विभिन्न नयाँ उत्पादनहरु ल्याउने भएको छ । शुक्रबार एक कार्यक्रम आयोजना गर्दै कम्पनीले अब छिट्टै नै फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ ओभन र भ्याक्युम क्लिनर गरी विभिन्न ४ वटा नयाँ उत्पादन बजारमा ल्याउने घोषणा गरेको हो । उत्पादनहरूमा हिताची माइक्रोवेभ ओभनका ४ मोडल, हिताची फ्रन्ट लोड अटोमेटिक १२ केजी वासिङ मेसिन, हिताची फ्रेन्च बटम रेफ्रिजरेटर र हिताची कर्डलेस स्टिक भ्याक्युम क्लिनर समावेश छन् । कार्यक्रममा सहभागीहरूलाई उत्पादनको लक्ष्य, प्रयोगकर्ताको अनुभव र सुविधाहरूको दायरा बुझ्न मद्दत हुन्छ भनेर हिताचीका विभिन्न उत्पादनहरू जस्तै रेफ्रिजरेटर, वासिङ मेसिन र भ्याक्युम क्लिनरहरू पनि प्रदर्शनमा राखिएको थियो । हिताचीले नेपाली प्रयोगकर्ताहरूलाई विश्वव्यापी पाइने उत्कृष्ट उत्पादनहरू उपलब्ध गराउन नेपालमा आफ्नो सञ्चालनलाई थप मजबुत बनाउने योजना रहेको बताएको छ । ग्राहकको सन्तुष्टि आफ्नो उच्च प्राथमिकतामा रहेको जनाउँदै हिताचीले आफ्ना ग्राहकहरूलाई अझ राम्रो बिक्री सेवा र बिक्रीपछिको हेरचाह दिने प्रतिज्ञा गरेको छ । हरेक नेपाली घरपरिवार माझ नयाँ अविस्कारी प्रविधिहरू नजिक ल्याउने उद्देश्यका साथ हिताचीले विविधता र गुणस्तरयता सुनिश्चित गर्दै आगामी दिनहरूमा लागि पर्ने समेत जानकारी गराएको छ । उक्त कार्यक्रममा ए.एच.एस.जीका प्रबन्धक निर्देशक चेन टेक बेङ, व्यापार विकास विभाग (निर्यात व्यापार) का महाप्रबन्धक तरुण जैन र व्यापार विकास विभाग (निर्यात व्यवसाय) का वरिष्ठ प्रबन्धक एलविन थाम उपस्थित थिए । रमेश कर्पका कार्यकारी निर्देशक सञ्जय अग्रवाल भन्छन्, ‘हामी नेपालका हाम्रा सबै ग्राहकका लागि गुणस्तरीय उत्पादन लाइन अप र बिक्रीपछिको सेवा सुनिश्चित गर्न कडाइका साथ काम गर्नेछौं ।’ ‘रमेश कर्पसँगको हाम्रो व्यापार साझेदारीले हिताची होम अप्लाइन्सलाई नेपालका कुना कुनामा विस्तार गर्दै, उत्कृष्ट सुविधा र प्रविधिका साथमा प्रत्येक घरलाई समृद्ध बनाउनेछ भनेर हामी दृढ विश्वास गर्छौं,’ हिताचीका प्रबन्धक निर्देशक चेन टेक बेङले भने । यस्ता छन् चार नयाँ उत्पादन हिताची फ्रन्ट लोड वाशिङ मेसिन बीडी-डी१२०एक्सजीभी यो नयाँ वाशिङ मेसिनले फ्रन्ट लोडिङ वासर ड्रायर इन्भर्टर विन्ड आइरन, एआई वास र अटो डोजिङ सिस्टम इन्भर्टरसहित १२ किलोग्राम धुने क्षमता र ८ केजी सुकाउने क्षमता प्रदान गर्दछ । हिताची कर्डलेस स्टिक भ्याक्युम क्लिनर यसले भुईँदेखि छतसम्मको कुनै पनि तहमा साना सफाइका लागि यो उत्कृष्ट छनोट हुनेछ । हिताची माइक्रोवेभ ओभन यो माइक्रोवेभ ओभनले धेरै फरक उपकरणहरूलाई एउटै मेसिनमा समावेश गरेको छ । यस उत्पादन लाइन अन्तर्गत ४ विभिन्न मोडेलहरू राखिएको कम्पनीले जनाएको छ । हिताची फ्रेन्च बटम रेफ्रिजेरेटर कम्पनीका अनुसार यो रेफ्रिजेरेटर नविनतम टेक्नोलोजी, ठण्डा कूल र विलासी, यो उत्पादन वातावरणीय रूपमा दिगो छ ।
बैंक मर्जरको विषय सेलायो, छुट पाउन मंसिरभित्रै एकिकृत कारोबार गर्ने तयारीमा यी ६ बैंक
काठमाडौं । २०७७ साल असारमा नेपाल राष्ट्र बैंकका तत्कालिन गभर्नर चिरञ्जिवी नेपालले सबै बैंक तथा वित्तीय संस्थाका अध्यक्ष र कार्यकारी प्रमुखहरुलाई भेला गरेर एउटा निर्देशन दिए, ‘सात दिनभित्र मर्जरको लागि पार्टनर खोज्नु ।’ उनले त्यसपछि मौद्रिक नीतिमार्फत् पनि पुँजी वृद्धिको नीति ल्याए । उनको चाहना थियो अहिलेका बैंकहरु सकेसम्म थोरै होउन् । डा. नेपालको इच्छा बैंकहरुको संख्या घटाएर १०/१२ वटामा झार्नु थियो । बैंकहरुको संख्या धेरै हुँदा विभिन्न किसिमका समस्याहरु देखिएको र वित्तीय क्षेत्रमा स्थायित्व कायम हुन नसकेको भन्दै बैंकहरुबीच मर्जर आवश्यक रहेको धारणा उनी विभिन्न सार्वजनिक कार्यक्रममा राख्थे । सो समयमा २८ वटा वाणिज्य बैंक थिए । सो संख्यालाई घटाएर १०/१२ वटामा मात्रै झार्नु निकै महत्वांक्षी योजना नै थियो । सोही समयमा ग्लोबल आईएमई बैंक र जनता बैंकबीच मर्जर भयो । सो मर्जरलाई बैंकिङ क्षेत्रको एक ‘बिग मर्जर’का रुपमा लिइयो । वाणिज्य बैंकहरुमा सबैभन्दा ठूलो बैंक ग्लोबल बन्ने भनेपछि अब बैंकहरुमा मर्जरको लहर आउने अनुमान धेरैको थियो । तर, त्यो अनुमान त्यतिखेर अनुमानमै सीमित बन्यो । डा. नेपालको मर्जरको नीतिलाई बैंकहरुले खासै चासोका रुपमा लिएनन् । केही वर्ष मर्जरको विषय सेलायो । डा.नेपालपछि राष्ट्र बैंकको नेतृत्व सम्हाल्न आइपुगे महाप्रसाद अधिकारी । अधिकारी आएपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था मर्जर सम्बन्धि एउटा अध्यनन पनि गर्यो । सो अध्ययनले नेपालमा वाणिज्य बैंकको संख्या न्यूनतम १२ देखि अधिकतम् १५ वटा मात्रै हुनु राम्रो भएको निष्कर्श निकाल्यो । सो अध्ययनपछि गभर्नर अधिकारी पनि बैंकहरुका सञ्चालक र सीईओहरुलाई राष्ट्र बैंक बोलाएर मर्जरको दबाब दिन थाले । फोर्स मर्जर नभनेपनि उनले क्रस होल्डिङ भएका बैंकहरुलाई बोलाएर मर्जरको लागि निरन्तर बहस गर्न थाले । उनले बैंक तथा वित्तीय संस्था मर्जरमा जाउन् भन्नैका लागि विभिन्न सुविधा तथा छुट पनि ल्याए । सुविधापछि पनि बैंकहरुले खासै चासो देखाएको देखिएन । राष्ट्र बैंकले मर्जरमा दिएको सुविधाको पनि निश्चित समय तोकेपछि भने बैंकहरु मर्जरमा जान हतारिए । नेपाल राष्ट्र बैंकले जेठ अन्तिम सातातिर बैंकका सञ्चालक तथा सीईओहरुलाई बोलाएर असारपछि मर्जरमा पाइने छुट तथा सुविधा कटौति गर्ने बताएपछि बैंकहरुलाई मर्जरमा जान हतारो भयो । र, धमाधम मन मिल्ने बैंकहरुसँग मर्जरको छलफल चलाउन व्यस्त भए । नभन्दै वर्षौं वर्षदेखि हुन नसकेको मर्जर आधा दर्जन बैंकहरुबीच एक/दुई महिनाको समयमै सम्भव बन्यो । विगतमा लामो समयसम्म छलफल तथा बहस भए पनि बैंकहरुबीच नटुङ्गिने मर्जर तथा एक्विजिसन छुट सुविधाको सीमा तोकेपछि हतार–हतारमा धेरै बैंकहरुबीच मर्जर सम्झौता भयो भने अधिकांशले मर्जरको छलफल चलाए । छोटो अवधिमा नबिल र नेपाल बंगलादेश बैंक (जसको एकिकृत कारोबार सुरु भइसकेको छ), नेपाल इन्भेष्टमेन्ट–मेगा बैंक, ग्लोबल आईएमई–बैंक अफ काठमाण्डू र हिमालयन–सिभिल बैंकबीच मर्जरको सम्झौता भयो । यससँगै अन्य आधा दर्जन बढी बैंकहरुबीच पनि मर्जरको सघन छलफल भयो । तर, ती बैंकहरुले भने मर्जरका लागि अन्तिम रुप दिन सकेनन् । यस बीचमा प्रभु, कुमारी, सनराइज, माछापुच्छ«े, सेञ्चुरी कमर्सियल, सिटिजन्स इन्टरनेशनल, एनसीसी, सिद्धार्थ लगायत बैंकहरु मर्जरबीच मर्जरका लागि छलफल भयो । तर, नयाँ आर्थिक वर्ष २०७९/८० सुरु भएसँगै ती बैंकहरुबीच मर्जरको विषय सेलाएको छ । यसले पनि बैंकहरुलाई मर्जरको आवश्यकताभन्दा पनि नाफाकै लागि र राष्ट्र बैंकको सुविधा पाउनकै लागि मात्रै मर्जरमा सामले हुने गरेको बुझाइ धेरैको छ । उसो त नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिमार्फत् वाणिज्य बैंक र लघुवित्तहरुको मर्जको लागि पुस मसान्तसम्म समय दिएको छ । २०७९ पुस मसान्तपछि मर्ज हुनेहरुलाई राष्ट्र बैंकले दिँदै आएको सुविधा रोक्ने घोषणा गरिसकेको छ । ‘वाणिज्य बैंक र लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा आफ्नै वर्गभित्र गाभिई वा प्राप्तिमा गई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा मात्र यस बैंकबाट प्रदान हुँदै आएको मर्जर तथा प्राप्तिसम्बन्धी छुट तथा सुविधा उपलब्ध हुने व्यवस्था मिलाइनेछ,’ मौद्रिक नीतिमा भनिएको छ । राष्ट्र बैंकले पुस मसान्तसम्म एकिकृत कारोबार गर्ने बैंकलाई मात्रै छुट सुविधा दिने घोषणापछि मर्जरको सम्झौता गरेका बैंकहरुपनि छिट्टै नै एकिकृत कारेबार गर्ने तयारीका साथ अगाडि बढेका छन् । मर्जर सम्झौता गरेको नेपाल इन्भेष्टमेन्छ–मेगा, ग्लोबल आईएमई–बैंक अफ काठमाण्डू र हिमालयन–सिभिल बैंक सकेसम्म मंसिरमा र ढिलै भए पुसभित्रै एकिकृत कारोबार गर्ने तयारीमा छन् । नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकले भदौ/असोजभित्र मर्जरको सबै काम सकेर एकिकृत कारोबार गर्ने योजना बनाएका छन् । ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूले पनि दशैं आसपासमा एकिकृत कारोबार गर्ने तयारी गरिरहेको बुझिएको छ । अन्तिममा मर्जर सम्झौता गरेको हिमालयन र सिभिल बैंकबीच पनि सकेसम्म मंसिर र नभए पुसभित्रै एकिकृत कारोबार हुने किसिमले काम भइरहेको बैंक स्रोतको भनाइ छ ।
सेयरबारे इन्टर कलेज पिचिङ प्रतियोगिता सम्पन्न
काठमाडौं । प्रभु क्यापिटलको प्रायोजनामा इन्टर कलेज पिचिङ प्रतियोगिता सम्पन्न भएको छ ।कुसुम फाइनान्स क्लबले आयोजना र प्रभु क्यापिटलको सहयोगमा सेयर बजार सम्बन्धी साक्षरता अभिवृद्धि गर्न उदेश्यले उक्त प्रतियोगिता भएको हो । उक्त प्रतियोगितामा विभिन्न कलेजका ११ टिमले भाग लिएका थिए । जसमा प्रतियोगीले नेप्सेमा सुचिकृत भएका कम्पनीहरु मध्ये ‘बाइ’ अथवा ‘सेल’ को लागि विभिन्न आधारभूत र प्राविधिक विश्लेषणमा आफ्नो प्रस्तुति दिएका थिए । उक्त कार्यक्रममा जज प्यानलको रुपमा प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गा नन्द झाका साथै कुसोम कलेजका सहायक प्रोफेसर पवन कुमार झा तथा रमेश घिमिरे रहेका थिए । प्रतियोगितामा टिम ‘स्टक जेम्स’ पहिलो र टिम ‘स्वीप्रबी’ विजयी भएकाे थियाे । प्रतियोगितामा प्रथम विजेता टिमलाई प्रभु क्यापिटलको १० हजार बराबरको प्रभु सेलेक्ट फन्ड प्रदान गरिएको छ भने दोस्रो विजेता टिम ५ हजार बराबरको प्रभु सेलेक्ट फन्ड प्रदान गरिएको छ । प्रभु क्यापिटलले विभिन्न संस्थाहरुसँगको सहकार्यमा सेयर सचेतना अभिवृद्धिका लागि समयसमयमा विभिन्न वर्कसप तथा तालिम कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
जब पत्रकारलाई केबलकारमा रोकियो !
काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा रहेको केबलकार चढ्न आज उपत्यकाका एक हुल पत्रकार पुगेका थिए । चन्द्रागिरि केबलकारका प्रायःसबै गोण्डोला (डिब्बा) भरिभराउ भए, यत्तिकैमा पत्रकारको यात्रा चल्यो । चल्दै गरेका गोण्डोला (केबलकारको डिब्बा) केही मिनेटपछि रोकिए । त्यसबेला पत्रकार आत्तिएनन् । बरु गोण्डोलामा उभिएरै तस्बिर तथा भिडियो लिन व्यस्त भए । उनीहरु काठमाडौं उपत्यका तथा चन्द्रागिरि डाँडो र त्यहाँको जङ्गलको वरपरका दृश्य क्यामेरमा कैद गर्नेतिर लागे । यो एक अभ्यास थियो र केबलकारका प्राविधिकहरुले पूर्वजानकारी गराएरै केबलकार रोकेका थिए । त्यसैले पनि गोण्डोलमा रहेका पत्रकार डराएनन् र यसलाई स्वाभाविकरुपमा लिए । पत्रकार चढेका हरेक गोण्डोलामा केबलकारका प्राविधिक र कर्मचरी सहभागी थिए । उनीहरुले पत्रकारलाई आउनसक्ने समस्या र समाधानका उपायबारे बुझाइरहेका थिए । आजको अभ्यास यो केबलकार सुरक्षित छ र कहिलेकाहीँ कुनै प्राविधिक कारणले केही मिनेट रोकिन सक्छ भन्ने जानकारी दिन आयोजना गरिएको थियो । त्यसैले हरेक गोण्डोलामा यहाँका प्राविधिक र पत्रकार राखिएको थियो र उनीहरुले यसका विविध प्राविधि विषयको जानकारी गराइरहेका थिए । एक गोण्डोलामा सहभागी थिए चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकाल । उनी भन्दै थिए, ‘यो केबलकारको प्रविधि अर्थात् उत्पादक अष्ट्रियन ‘डोब्बलमेयर’ कम्पनी हो । यो विश्वकै सबैभन्दा सुरक्षित कम्पनी हो र हाम्रोजस्ता विश्वका २० हजार केबलकारमा यही कम्पनीको प्रविधि सञ्चालनमा छ । यो प्राविधिक विषय हो र पूरैरुपमा बिजुलीमा निर्भर हुने भएकाले बिजुली गएपछि केही समय रोकिन्छ त्यसलगत्तै जेनेरेटर चल्छ । जेनेरेटरले पनि समय लाग्ने अवस्था भएमा हामीसँग ‘इमर्जेन्सी ड्राइभ’ का कैयौँ विकल्प छन् । त्यस्तै सङ्कट नै पर्ने या उद्धार नै गर्नुपर्ने भन्ने केही हुँदैन ।’ गोण्डोलामा लेखिएको सूचना ‘हावाहुरी चलेका बेला, चट्याङ परेका बेला यो केबलकार पनि रोकिन सक्छ, नआत्तिइ यसैमा बस्नुहोला,’ देखाउँदै ढकालले भने, ‘यो प्रविधि हो, पूरै सुरक्षित छ, तर कुनैबेला रोकिन सक्छ रोकिँदैमा डराउनुपर्दैन ।’ हालै आफू स्वीट्जरल्याण्ड पुगेका बेला पनि यसैगरी केबलकारमा रहेकै बेला प्राविधिक कारणले केहीबेर केबलकार हावामै रोकियो तर त्यहाँ समाचार भएन भन्दै उनले यो एक नियमित प्रक्रिया नै हो तर हामीकहाँ समाचार नै बन्नु विडम्बना हो भने । चन्द्रागिरि केबलकारका सेल्स मार्केटिङ प्रमुख प्रभाकर खड्का भन्छन्, ‘मेसिनबाट चल्ने भएकाले कहिलेकाहीँ केबलकार रोकिन सक्ने, प्राविधिक समस्या आउन पनि सक्ने भए पनि पूर्ण सुरक्षित रहन्छ, यसमा यात्रु आत्तिनु पर्दैन, तत्काल नभए केही समयमा समस्या समाधान गरेर केबलकार सञ्चालन गरिन्छ ।’ केही दिनअघि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना चढेका बेला केबलकार रोकिएको समाचार आएको थियो । त्यस बखत केहीबेर केबलकार रोकिएपछि गोण्डोलामा मानिस आत्तिएका, अक्सिजन नपुगेर सास फेर्न गाह्रो भएको समाचार आएको थियो । सो समाचारतर्फ सङ्केत गर्दै अध्यक्ष ढकालले डिब्बामा सात मिनेट रोकिएर रहेका पत्रकारलाई सोधे, ‘के यहाँहरुलाई सास फेर्न गाह्रो भएको हो ? उनले डिब्बामा रहेका झ्यालतर्फ देखाउँदै’, भने । हरेक डिब्बामा झ्याल रहेकाले नियमित अक्सिजन आपूर्ति भइरहेको थियो । फेरि केबलकारका माथिल्लो बटम स्टेसन नै दुई हजार तीन सयमात्र उचाइमा रहेकाले यहाँ अक्सिजनको कमी हुने अवस्था पनि नरहेको प्राविधिको भनाइ थियो । विश्वकै उत्कृष्ट प्रविधि प्रयोग गरे पनि प्राविधिक समस्याका कारण केही समय केबलकार रोकिनसक्ने तर त्यसका लागि वैकल्पिक व्यवस्थाका लागि सधैँ तयारी अवस्थामा रहने हुनाले पनि कुनै जोखिम नहुने सञ्चालकको भनाइ थियो । यसै विषयमा जानकारी गराउन चन्द्रागिरि हिल्सले आज यसको सम्पूर्ण प्राविधिक पक्षको स्थलगलत अध्ययन गराई, केबलकारमार्फत बटम स्टेनसमा लगेर पत्रकार सम्मेलन गरेको थियो । अध्यक्ष ढकालले तीन चरणबाट केबलकार सञ्चालन हुने जानकारी गराए । ‘हिलो विद्युत्बाट सञ्चालन हुन्छ, विद्युत् गएको खण्डमा एक मेगावाट बराबरको जेनेरेटरबाट सञ्चालन गरिन्छ, यदि त्यसले पनि काम गरेन भने, ‘इमरजेन्सी ड्राइभ’ भन्ने छ, त्यो सय प्रतिशत चल्छ, त्यसमार्फत जति पनि यात्रु गोण्डोलामा हुनुहुन्छ, उहाँहरुलाई सकुसल अवतरण गराउने समयसम्ममा नै काम गर्छ ।’ उनले यदि कोही यात्रु रोकिएर माथि रहेमा उनीहरुलाई निःशुल्करुपमा रिसोर्टमा बस्ने, खाने व्यवस्था गरिने र आकस्मिकरुपमा तल झर्नुपर्ने यात्रुलाई सवारी साधनकोसमेत व्यवस्था रहेको जानकारी दिए । केबलकारका इलेक्ट्रिोनिक इञ्जिनीयर सरोज चापागाईं केबलकार रोकिएर कुनै पनि हालतमा दुर्घटना नहुने जिकिर गरे । उनी भन्छन्, ‘यदि प्राविधिक समस्या नै आइहाल्यो भने पनि अधिकतम ४० मिनेटमा आकस्मिकरुपमा मानिसलाई ओराल्ने काम हुन्छ, नत्र ५, १० मिनेटमा नै सुरक्षितरुपमा सञ्चालनमा आउँछ ।’ ‘हरेक दिन केबलकार सञ्चालनमा ल्याउनुअघि प्राविधिक परीक्षण हुन्छ, त्यसपछि पनि समस्या आइहालेमा तत्काल विज्ञबाट अध्ययन हुन्छ, र ५, १० मिनेटमा निराकरण गरेर सेवा सञ्चालन हुन्छ । यदि समय लाग्ने खालको समस्या देखियो भने आकस्मिक ड्राइभमार्फत मानिसलाई अवतरण गराउँछौँ, धेरै समय लाग्यो भने तलका यात्रुलाई तलैबाट फिर्ता गराउँछौँ र माथिका यात्रुलाई माथि रिसोर्टमा पनि लैजान्छौँ,’ उनले थपे । केबलकारका संस्थापक सञ्चालक अम्बिकाप्रसाद पौडेलले प्रश्न गरे, ‘हिजोको घटनामा चर्चा भएको अवस्था र आज आफैँ पत्रकार चढेरे रोकिएको अवस्थामा कस्तो महसुस गर्नुभयो ? भनी प्रश्न गरे । रासस