विकासन्युज

करका दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश नगरेको निष्कर्श, शर्मा पुनः अर्थमन्त्री बन्न सक्ने

काठमाडौं । संसदीय विशेष समितिले करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश गरेको नदेखिएको निष्कर्ष निकालेको छ । समितिले आज सभामुख अग्नि प्रसाद सापकाेटा समक्ष प्रतिवेदन बुझाउँदै अनधिकृत व्यक्ति प्रवेश नगरेको उल्लेख गरेको हो । समितिको प्रतिवेदनमा लेखिएको छ, ‘करका दर हेरफेरमा अनधिकृत ब्यक्तिको प्रभावको प्रसंग सान्दर्भिक रहेन ।’ चालु आवको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोपपछि तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा विरुद्ध संसदीय छानबिन समिति गठन गरिएको थियो । समितिले १७ दिन लगाएर प्रतिवेदन तयार पारी शुक्रबार प्रतिवेदन बुझाएको हो । करका दर हेरफेरमा शर्माकाे कुनै संलग्नता नदेखिएपछि जनार्दन शर्मा पुन: अर्थमन्त्री बन्ने सम्भावना बढेको हो । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले शर्मा नै अर्थमन्त्री बन्ने संकेत गरेका थिए । [pdf id=342583]

सयपत्री हाइड्रोको आईपीओमा पहिलो दिन नै २४ करोड रूपैयाँ संकलन

काठमाडौं । सयपत्री हाइड्रोपावरको आईपीओमा पहिलो दिन नै ३.५५ गुणा बढी आवेदन परेको छ । कम्पनीको आईपीओमा शुक्रबार १ः३० बजेसम्ममा २ लाख ४ हजार ९८९ जना आवेदकले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार लगानीकर्ताले २३ लाख ८४ हजार ३९० कित्ता सेयर खरिदका लागि २३ करोड ८४ लाख ३९ हजार रुपैयाँको आवेदन दिएका छन् । कम्पनीले साउन १३ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ७ लाख २१ हजार ६० कित्ता साधारण सेयर निष्काशन गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि, २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता सेयर कर्मचारीहरुका लागि र बाँकी ६ लाख ७० हजार ५८६ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याईएको छ । कम्पनीको आईपीओमा छिटोमा साउन १७ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरो शेयरको वेब तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयरएनपी डबल बी आइएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

बैतडीको डिलाशैनी गाउँपालिकाले छात्रवृत्तिमा एमबिबिएस पढाउने

बैतडी । डिलाशैनी गाउँपालिकाले पालिकाभित्र एमबिबिएस पढ्न चाहनेलाई छात्रवृत्ति दिने भएको छ । गाउँपालिकाभित्रका एमबिबिएस पढ्न चाहनेका लागि छात्रवृत्तिको आवेदन खुल्ला गरिएको छ । ‘एक गाउँ, एक डाक्टर’ नीतिअन्तर्गत आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम स्वीकृत कार्ययोजनाअनुसार आवेदन खुल्ला गरिएको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिए । छात्रवृत्तिमा एमबिबिएस अध्यननका लागि आवेदन पेस गर्ने सम्बन्धी सूचना प्रकाशन गरिएको छ । आवश्यक कागजातसहित सात दिनभित्र योग्यता पुगेका इच्छुक गाउँपालिकामा स्थायी बसोबास गर्ने नागरिकले सम्पर्क गरिदिन अनुरोध गरिएको छ । आवेदनका साथ नेपालभित्रको मान्यता प्राप्त विश्वविद्यालय वा शिक्षण संस्थाले लिएको प्रवेश परीक्षामा उत्तीर्ण भएको प्राप्ताङ्कसहितको प्रमाणित प्रतिलिपि, सामुदायिक विद्यालयबाट माध्यमिक तहको शिक्षा उत्तीर्ण गरेको, शैक्षिक योग्यताका प्रमाणित प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्र, सम्बन्धित विश्वविद्यालय वा शैक्षिक संस्थाले सो विषय अध्ययनका लागि तोकेको प्रमाणित शुल्क विवरण र प्रवेश परीक्षामा सहभागी भएको प्रवेश पत्रको प्रतिलिपि पेश गर्न भनिएको छ । छात्रवृत्तिमा एमबिबिएस पढाउने क्ुरा गाउँपालिकाको नीति तथा कार्यक्रममा समेटिएको र छात्रवृत्तिसम्बन्धी कार्यविधि २०७९ को अधिनमा रहेर आवेदन मागिएको गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए ।

करारका कर्मचारी नहटाउन एमालेकाे माग

काठमाडाैं । नेकपा (एमाले) ले नयाँ आर्थिक वर्षको थालनीसँगै सङ्घ, प्रदेश र स्थानीय सरकारले अस्थायी, ज्यालादारी र करारमा कार्यरत कर्मचारीलाई बर्खास्त गर्न थालेको भन्दै कर्मचारी नहटाउन माग गरेको छ । एमालेको सङ्घीय मामिला तथा सामान्य प्रशासन विभागका प्रमुख किरण गुरुङले आज विज्ञप्ति जारी गरी सो माग गरेका हुन् । सो विज्ञप्तिमा निश्चित विधि र प्रक्रियाबाट नियुक्ति तथा अवकाश पाउने कर्मचारीलाई नियमितरुपमा काममा लगाउन र उनीहरुको पेशागत सुरक्षा सुनिश्चित गर्न माग गरिएको छ ।

मर्जरमा गएको रिलायन्स लाइफको सेयर कारोबार भएपछि नेप्सेले माग्यो माफी

काठमाडौं । मर्जर तथा गाभिने प्रक्रियामा रहेको रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार भएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले माफी मागेको छ ।  साथै नेप्सेले के कति कारणले सेयर कारोबार भएको हो भन्नेबारे अनुसन्धान समेत अघि बढाएको छ । रिलायन्स लाइफ इन्स्योरेन्सको त्रुटिवश नेप्सेमा कारोबार हुन गएको भन्दै अनुसन्धान गरेको हो ।  रिलायन्स लाइफ सानिमा लाइफ इन्स्योरेन्ससँग मर्जर गर्नेभएपछि कारोबार बन्द रहेको छ । दुवै कम्पनीबीच गत असार २९ गते मर्जरको सम्झौता भएको थियो । नेप्सेमा दुवै कम्पनीको सेयर कारोबार रोक्का छ । तर शुक्रबार कारोबारको समयमा टप गेनरमा रिलायन्सको नाम देखिएपछि कारोबार भएको अनुमान गरिएको छ ।  कम्पनीको १६ वटा कारोबारमा २ लाख २४ हजार १ सय २६ रुपैयाँ बराबरको ६ सय १० कित्ता सेयर कारोबार भएको थियो । तर, १२ बजे भन्दा अघि नै कम्पनीको कारोबार पुनः रोक्का गरेको हो ।  ‘गाभ्ने तथा गाभिने प्रक्रियामा रहेको रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको कारोबार हुन गएको देखिएकोले यस सम्बन्धमा के कसो भएको हो ? भन्ने विषयमा नेप्सेले उक्त कम्पनीको कारोबार तत्काल बन्द गरी अनुसन्धान बढाएको  छ,’ नेप्सेले भनेको छ । यसबाट लगानीकर्तामा पर्न गएको असुविधाप्रति नेप्से क्षमाप्रार्थी रहेको जनाएको छ ।

एफएनसीसीआईको भिजन पेपरमा सम्झौता गर्दै सरकार, अन्तर्राष्ट्रिय व्यापार सहजिकरणमा विशेष जोड

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल उद्योग वाणिज्य महासंघको भिजन पेपर २०३० सँग सरकारले सम्झौता गर्ने बताएका छन् । शुक्रबार २८औं कार्गो दिवसका अवसरमा नेपाल फ्रेट फरवार्ड एशोसिएशन (नेफा) ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री बडूले यस्तो बताए । उनले उद्योग वाणिज्य महासंघले निकालेको भिजन पेपर, २०३० ले औंल्याएका केही विषयहरुमा सरकारले आगामी हप्ता सम्झौता गर्ने तयारीमा रहेको बताए । मन्त्री बडूले नेपालको लजिस्टिक्स नीति अन्तिम चरणमा पुगेको बताए । उनले सरकारले अन्तराष्ट्रिय व्यापार सहजिकरणको लागि नीतिगत क्षेत्रमा समेत निरन्तर काम गरिरहेको बताए । मन्त्री बडूले मल्टिमोडल ट्रान्सफर याक्टको समयसापेक्ष संशोधन तथा नियमावली तत्काल जारी गर्ने प्रतिवद्धता जनाए । ‘नेपाल फ्रेट फरवार्ड एशोसिएशन (नेफा) ले उठाउँदै आएको भारतको बन्दरगाहदेखि वीरगञ्ज सुख्खा बन्दरगाहसम्मको रेल्वे सेवामा निजी क्षेत्रका रेल्वे सेवाप्रदायकहरुलाई अनुमति दिनुपर्ने माग सम्बोधन भएको छ । यसबाट कार्गो व्यवसायी आयात निर्यात व्यवसायीहरुले तुलानात्मक लाभ लिएको विश्वास लिएको छु, अन्तर्राष्ट्रिय व्यापार सहजिकरणको लागि नीतिगत क्षेत्रमा समेत निरन्तर काम भइरहेको छ, नेपालको लजिष्ट्रिक नीतिको मस्यौदा मन्त्रीपरिषद्मा पुगिसकेकाले अन्तिम चरणमा पुगेको छ । नेपाल उद्योग वाणिज्य महासंघको भिजन पेपर, २०३० ले औंल्याएका केही विषय मन्त्रालयले आगामी हप्ता सम्झौता गर्ने तयारीमा रहेको छ । मल्टिमोडल ट्रान्सफर याक्टको समय सापेक्ष संशोधन तथा नियमावली यथाशीघ्र जारी गरिने छ । यो मस्यौदा निर्माण गर्ने कार्यमा नेफो सक्रियताप्रति धन्यावाद दिन चाहन्छ,’ उनले भने । त्यस्तै, कार्यक्रममा उद्योग सचिव अर्जुनप्रसाद पोखरेलले सरकारले छिटै लजिस्टिक्स नीति कार्यान्वयनमा ल्याउने चरणमा पुगेको बताए । उनले मन्त्रालयले व्यापार सहजिकरणको लागि अन्य पूर्वाधार निर्माणको काम पनि गरिरहेको बताए । सचिव पोखरेलले चालु आर्थिक वर्षमा उत्पादन बढाएर निर्यात गर्नको लागि सरकारले प्रधानमन्त्री नेपाली उत्पादन अभिवृद्धि र फार्म टु फ्याक्ट्री कार्यक्रम ल्याएकाले कार्गो व्यवसायीहरुलाई प्रत्यक्ष फाइदा पुग्ने बताए । सरकारले व्यापार सहजिकरण गर्न निर्माण गरेका पूर्वाधारहरुका विषयमा सरकार समीक्षा गर्न तयार रहेको भन्दै तयार भएका पूर्वाधारहरुको पूर्ण प्रयोग गर्न सचिव पोखरेलले व्यवसायीहरुसँग आग्रह गरे ।

अष्ट्रेलिया पठाउने भन्दै बीमा गराएपछि हत्या, नक्कली विवाह गरेर लिए साढे २ करोड बीमा भुक्तानी

काठमाडाैं । बाँके कोहलपुरका २१ वर्षीय सर्जन बिकको हत्या गरेको सम्बन्धमा पक्राउ परेका ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । ठूलो रकमको बीमा गरेर युवकको हत्या गरी भुक्तानी समेत लिइसकेका ६ जना दोषीहरुलाई प्रहरीले सार्वजनिक गरेको हो । काठमाडौंमा पत्रकार सम्मेलन गरेर प्रहरी प्रधान कार्यालय केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ परेका २ महिला र ४ पुरुषलाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मृतकसँग नक्कली विवाह गरी बीमाबाट प्राप्त २ करोड ५० लाख लिएकी २१ वर्षीया सपना मल्ल, मुख्य योजनाकार ३१ वर्षीय सञ्जीव अर्याल, सञ्जीव अर्यालसँग पूर्व चिनजान एवं बीमा एजेन्ट ३२ वर्षका सरदार अहमद खाँ, सपना मल्ललाई विदेश लैजाने भनि चिनाइएका व्यक्ति ३३ वर्षका टोपबहादुर राना क्षेत्री, काठमाडौंमा बीमाको भुक्तानि लिन सपना मल्ललाई ल्याउने ३८ वर्षका दीपक केसी र विवाह गरेर विदेश जाँदा फाइदा हुन्छ भनेर प्रतिवादी सपना मल्ललाई सञ्जीवसँग चिनजान गराउने वर्ष २१ की ललिता सापकोटा रहेका छन् । यो गिरोहले गरिब परिवारका विकको परिवारलाई डिपेण्डेण्ट भिसामा अस्ट्रेलिया लैजाने भन्दै नक्कली विवाह गराई २ करोड ५० लाख रुपैयाँको बीमासमेत गराएको पाइएको छ । नक्कली विवाह गरी इच्छाइएको व्यक्तिको नाममा नक्कली श्रीमतीको नाम राखेर बैंक खाता खोलिएको र बीमा गराइएको पाइएको प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीले बताए । उनले वार्षिक आम्दानी २ लाख मात्रै भएका युवकको २ करोड ५० लाख रुपैयाँ बराबरको बीमा गराइएको र ती युवकलाई योजनामै हत्या गरिएको पाइएको बताए । हत्यापछि इन्सुरेन्सबाट आएको पैसा गिरोहका सदस्यहरूले बाँडेर लिएको पाइएको पनि बताए । उनले सपना मल्लको खातामा आएको २ करोड ५० लाख रुपैयाँमा ८० लाख ३६ हजार रुपैयाँ सञ्जीव अर्यालको खातामा, ६० लाख दीपक केसीको खातामा, सपनाकी आमा छविकुमारी मल्लको खातामा १७ लाख ४६ हजार, सपना मल्लाको खातामा ४६ लाख ८९ हजार रहेको बताए । उक्त रकमबाट ३ लाख ३ हजार पाँच सय एटीएम कार्डबाट निकालिएको, स्वाइप गरेर निकालिएको रकम २ लाख ६९ हजार ९ सय र ५ हजार ३ सय १६ रुपैयाँ रिचार्ज गरिएको पाइएको बताए । मृतकसँग एकपटक विवाह दर्ताका बेलामा मात्रै भेट भएकोले विवाह नक्कली भएको प्रमाणित हुने बताए । २ करोड ५० लाख रुपैयाँ बराबरको इन्स्याेरेन्स गराइएका सर्जन बिकको २०७८ वैशाख २ गते बाँकेको कोहलपुरमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको बताइएको थियो । मोटरसाइकल चलाउने लाइसेन्ससमेत नभएका बिकलाई टोपबहादुर राना क्षेत्री भन्ने व्यक्तिले चलाएको मिनिबसले ठक्कर दिएपछि बिकको मृत्यु भएको थियो । सवारी दुर्घटनामा युवकको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट सवारी ज्यान मुद्दा चलाइएकामा २०७८ माघ २५ मा फैसला हुँदा रानालाई एक महिना कैद र २ हजार रुपैयाँ जरिवाना गरी छाडिएको थियो । मुद्दा सकिए लगत्तै प्रहरी प्रतिवेदनका आधारमा मृत्यु दर्ता, दुर्घटनाको प्रमाण आदि पेस गरी गिरोहले रिलायन्स लाइफ इन्स्याेरेन्स बाट २ करोड ५० लाख रुपैयाँ भुक्तानी लिएका थिए ।

सिटिजन्स बैंकका ग्राहकलाई बुटवलस्थित तिनाउ हस्पिटलमा २० प्रतिशत छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र बुटवलस्थित तिनाउ इन्टरनेशनल हस्पिटल‍बीच सम्झौता भएको छ । बैंक र हस्पिटलबीच बैंकका ग्राहकलाई विभिन्न रोग सम्बन्धी सेवा लिँदा विशेष छुट दिने सम्झौता भएको हो । सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डवाहकले तिनाउ हस्पिटलका विभिन्न सेवाहरुमा २० प्रतिशतसम्म छुट पाउने छन । यसका साथै हस्पिटलबाट फिजियकोथेरापीका सेवामा थप आकर्षक प्याकेजको व्यवस्था पनि गरिएको छ । यस सुविधाबाट स्थानीय सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।