विकासन्युज

अर्थ मन्त्रालयको अति गोप्य ‘डकुमेन्ट’ सार्वजिनक

काठमाडौं । अर्थ मन्त्रालयले अति गोप्यका रूपमा चित्रण गरेका कागजातहरु सार्वजनिक भएका छन् । संसदीय छानविन समितिले अति गोप्य कागजातहरु सार्वजनिक गरेको हो । बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको विषयलाई लिएर छानविन गर्न बनेको समितिले अति गोप्य कागजात सार्वजनिक गरेको हो । अर्थमन्त्रालयले भन्सार विभागलाई कागजातसहित विवरण उपलब्ध गराउनका लागि पठाएको पत्र समितिले सार्वजनकि गरेकाे हाे । पत्रमा आफैमा ठूलो गोपनियता नभएपनि अति गोप्यको ट्याग लगाइएको छ । सो पत्रमा स्पञ्ज आइरन बिलेट, स्यानिटरी प्याड, पाम आयल, साबुन, जुत्ताचप्पल लगायतको आयात विवरण गोप्य रुपमा पठाउन माग गरिएको छ । कुनै एउटा निकायले अर्काे निकायलाई पत्र पठाउँदा त्यसमा गाेप्यऽ अति गाेप्य, अत्यन्त जरूरी लगायतका ट्याग लगाउने अभ्यास छ ।

नेरुडे लघुवित्तद्वारा सुनसरीको चिमडीलाई सहयोग

विराटनगर। नेरुडे लघुवित्त वित्तीय संस्थाले सुनसरीको चिमडीमा स्थानीय सरोकारवालाहरुसँग अन्तरक्रिया तथा डस्टबिन वितरण कार्यक्रम सम्पन्न गरेको छ । लघुवित्तले बर्जु गाउपालिका वडा नं. ६ को वडा कार्यालयलाई, ईलाका प्रहरी कार्यालय चिमडी, स्वास्थ्य चौकी चिमडी, श्री माध्यमिक विद्यालय चिमडीलाई गरी १७ थान डष्टबिन उपलब्ध गराएको हो । राष्ट्रिय स्तरको नेरुडे लघुवित्त वित्तीय संस्थाले हाल ३१ जिल्लामा १०९ वटा शाखा कार्यालय मार्फत १ लाख ६० हजार ग्रहाक परिवारलाई लघुवित्त सेवा प्रदान गर्दै आईरहेको छ । गत आ.व.२०७८/७९ मा मात्रै आफ्ना ग्राहक सदस्य तथा उनीहरुको परिवारलाई १ करोड ५ लाख २५ हजार आर्थिक सहयोग प्रदान गरेको छ । जसमा ग्राहक सदस्यको मृत्यु भएकोमा ३४ लाख ६९ हजार, सदस्यको अभिभावको मुत्यृभएकोमा काजक्रिया खर्च ५६ लाख ५७ हजार ५ सय वितरण गरीसकेको छ ।  

रिलायबल लाइफले ६२ प्रतिशतले बढायो व्यवसाय, अधिकांश सूचकमा देखियो सुधार

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको व्यवसाय ६२.१९ प्रतिशतले बढेको छ । इन्स्योरेन्सले प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले एक वर्षको अवधिमा आफ्नो व्यवसायमा सो मात्राले बढाई १० अर्ब ३८ करोड रुपैयाँ पुर्याएको हो । जुन अघिल्लो आर्थिक वर्षमा ६ अर्ब ४० करोड रुपैयाँमा सीमित थियो । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ छ । त्यस्तै, जगेडा कोषको रकम बढेर १ अर्ब नाघेको छ भने जीवन बीमा कोषमा ४ अर्ब ६० करोड रुपैयाँ सञ्चित छ । आर्थिक वर्ष २०७७/७८ मा इन्स्योरेन्सको जीवन बीमा कोषमा २ अर्ब ५८ करोड रुपैयाँ थियो । र, महाविपत्ति जगेडाको पनि रकम बढेर १० करोड रुपैयाँ नाघेको छ । त्यस्तै, समीक्षा अवधिमा इन्स्योरेन्सले २७ करोड ४८ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २१.६४ प्रतिशतले बढी हो । इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षमा २२ करोड ५९ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको थियो । त्यस्तै, इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १६.१४ रुपैयाँबाट बढेर १९.६३ रुपैयाँ पुगेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ पनि करिब २० रुपैयाँले बढेर १८५.५९ रुपैयाँ पुगेको छ । हासम्म इन्स्योरेन्सले १० हजार ३८ वटा बीमा दावीको १ अर्ब १७ करोड रुपैयाँ बराबरको भुक्तानी गरिसकेको छ ।

५७७ जनामा देखियो कोरोना संक्रमण, सक्रिय संक्रमित ४३ सय नाघ्यो

काठमाडौं । एकैदिन ५७७ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ४ हजार २ सय ८२ जनामा परिक्षण गर्दा ५७७ जनामा संक्रमण देखिएको छ । यस्तै, आज २६९ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार ३५६ पुगेको छ । मन्त्रालयको अनुसार पाछल्लो २४ घण्टामा कोरोनाभाइरसको संक्रमणको कारण २ जनाको मृत्यु भएको छ ।

शर्मालाई ८ प्रश्न : अनधिकृत व्यक्तिको प्रवेश, सचिवसँगको मनमुटावदेखि करका विषयमा बहस

संसदीय विशेष समितिले करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश गरेको नदेखिएको निष्कर्ष निकालेको छ । समितिले आज सभामुख अग्नि प्रसाद सापकोटा समक्ष प्रतिवेदन बुझाउँदै अनधिकृत व्यक्ति प्रवेश नगरेको उल्लेख गरेको हो । समितिले १७ दिन लगाएर प्रतिवेदन तयार पारी शुक्रबार प्रतिवेदनमा तत्कालीन अर्थमन्त्री जनार्दनशर्मासँग भएको कुराकानीलाई पनि राखिएको छ । शर्माले करका दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेशको विषयलाई अस्वीकार गरेका छन् । यस्तो छ संसदीय समिति र शर्माबीच भएको प्रश्नत्तोर । १‍.सभामुखज्यूको रोहबरमा सरकार पक्ष र प्रतिपक्षबाट एक एक जना बसेर फुटेज हरौं भनेर प्रतिपक्षले पहिल्यै प्रस्ताव गरेको थियो । यसलाई किन गम्भीर रुपमा लिइएन ? सभामुखसहित त्यसरी आउनु भएको भए हेर्न नदिने भन्ने कुरै हुँदैनथ्यो । आउनु भएन । २. दरको हेरफेरको औचित्य पुष्टि गर्ने कागजातहरू छन् ? के गर्दा राजस्वमा कस्तो असर पर्छ भन्ने विश्लेषण सचिव र महानिर्देशकहरूले प्रेजेन्टेसन बनाएर स्क्रीनमा देखाउनु हुन्थ्यो । छलफल हुन्थ्यो । केही परिमार्जन गर्नु परे त्यही गर्नुहुन्थ्यो । ३. नीतिगत निर्देशन गरेर बाहिरिएँ भन्नुभएको छ । तपाईंको अनुपस्थितिमा दर कसले अन्तिम गर्यो, तपाईको अनुपस्थितिमा अनाधिकृत व्यक्तिको प्रवेश भएन भनेर कसरी विश्वस्त हुने ? मैले अन्तिम निर्णय गर्नुपर्ने कुराहरू सकिएपछि इन्ट्री गर्ने मात्र काम बाँकी हुँदा निस्किएको हुँ । भोलिपल्ट संसदमा बजेट वक्तव्य पनि पढ्नुपर्ने भएकोले रातभरि बस्दा गाहो हुन्छ, केही आराम चाहिन्छ भनेर सबैको सल्लाह अनुसार नै निस्केको हुँ । बाहिरी मान्छे प्रवेश गर्न सक्ने सम्भावना ने हुँदैन । कोही आएको भन्ने कुरा झुट हो । ४. निर्णय प्रक्रियाका हस्ताक्षर सहितका लिखतहरू के के छन् ? मन्त्रीपरिषद् लाने प्रस्तावमा मात्र मेरो हस्ताक्षर छ ५. अर्थ मन्त्रालयको लामो अनुभव भएका शोभाकान्त पौडेल जस्ता कर्मचारीहरूलाई बाहिर पठाई कम अनुभव भएका किन ल्याउनुभयो ? अहिलेका धेरै सहसचिव अर्थमा कम र अरू मन्त्रालयमा बढी अनुभव भएका हुनुहुन्छ । सचिवमा बढुवा हुने बेला हुन लागेका सहसचिवलाई प्रदेशमा सचिवका रूपमा खटाइने हुँदो रहेछ । त्यही कारण पुरानाहरू प्रदेशमा सरुवा हुनुभयो । नियमित प्रक्रिया अनुसार नै सरुवा भएको हो । उपसचिव सम्म अर्थ मन्त्रालयकै विशिष्टकृत कर्मचारी हुने भएकोले त्यसमा समस्या हुँदैन । ६. सरकारको उच्च नेतृत्वमा भएका पदाधिकारीका परिवारका सदस्य संलग्न भई सेनिटरी प्याड आयात गर्ने कम्पनी खुल्नु र आयातमा भन्सार ९० प्रतिशत छुट हुनुबीच केही सम्बन्ध छ । एक किसिमका फलाम उद्योग बन्द नै हुने अवस्थामा पुग्ने गरी कर बढाएर अर्को किसिममा छुट दिइएको छ । १५० किलोवाट सम्मका विद्युतीय गाडीलाई न्यूनतम दर लिने गरेकोमा १०० किलोवाट बनाइएको छ । निश्चित व्यक्ति र समूहको फाइदाको लागि दर हेरफेर गरिएको जस्तो देखिन्छ । नीतिले के गरे भन्ने विषय महत्वपूर्ण हो । उत्पादनलाई जोड दिएको छ । कसैलाई लक्षित गरिएको छैन । रोजगारी र उत्पादन वृद्धि भएको छ । राष्ट्रको स्वार्थमा छ । भोलि परिणामले यो देखाउने नै छ । सेनेटरी प्याडमा स्वदेशी उत्पादकका मागहरु पनि सम्बोधन भएका छन् । एउटा कच्चा पदार्थ प्याकिङ मेट्रिअल मा माग्नु भएको छुट दिइएको छैन । ३० प्रतिशत भन्सार दर छ । त्यसको कारण के हो भने प्याकिङ मेट्रिअल नेपालमै पर्याप्त उत्पादन हुने हुँदा नेपालकै किन्नुहोस् भनेर हो । विद्युतीय गाडीमा अहिले अलि धेरै तहमा वर्गीकरण गरिएको हो । त्यति गर्दा पनि यसबाट समान मूल्यका पेट्रोलियम गाडीको तुलनामा एक तिहाई मात्र राजस्व असुल हुन्छ । अन्तिम निर्णयको जिम्मेवार म हुँ । बजेटका विषयहरू संसदमा प्रस्तुत हुनु अघि कतै लिक भएको छैन । मन्त्रालयले संस्थागत मान्यताभित्रै बसेर काम गरेको छ । ७. अनाधिकृत व्यक्ति भनेर रघुनाथ घिमिरेको नाम आएको छ पत्रपत्रिकामा। रघुनाथ घिमिरेलाई चिन्नुहुन्छ ? पुराना कर्मचारीहरूलाई पनि कहिलेकाहीं विभागहरूले केही काममा लगाउँदा रहेछन् । मन्त्रालय आउनेजाने कममा सामान्य चिनजान छ । नजिकबाट चिन्दिन, व्यक्तिगत सम्पर्क छैन । ८. तपाईंले काम गर्दा टीम स्प्रिट कस्तो थियो ? अर्थ सचिव त तपाईसँग काम गर्न नसक्ने भनेर विदा बस्नुभयो अनि राजीनामा पछि फर्कनुभयो ? टीम स्प्रिटमा मैले त केही समस्या अनुभूति गरेको थिइँन । अरूले गर्नुभएको भए थाहा भएन । मैले राजीनामा दिँदैछु भन्ने सचिवलाई थाहा पनि थिएन ।

चक्रवर्ती ल कलेजका विद्यार्थीले शुल्क फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने

काठमाडौं । चक्रवर्ती ल कलेजका विद्यार्थी संगठनले बढाइएको शुल्क फिर्ता नलिएसम्म आन्दोलनका कार्यक्रमहरु यथावत रहने घोषणा गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संगठनले विद्यार्थीहरुले उठाएका माग अनुरुप अनुचित रुपमा बढाइएको शुल्क फिर्ता नलिएसम्म आन्दोलनका कार्यक्रमहरु यथावत रहने घोषणा गरेको हो । विद्यार्थी संगठनले निजि कलेज संचालक र प्रहरी प्रशासनको सेटिङमा माफिया पोस्न उद्दत रहेका र विद्यार्थीलाई आक्रमण गर्ने प्रहरी अधिकारीलाई कारवाही गर्न समेत गृहप्रशासन समक्ष माग गरेका छन् । पत्रकार सम्मेलनमा बोल्दै नेविसंघ चक्रवर्ती कलेजका नेता पवन आचार्यले विद्यार्थीका जायज माग राखेर शान्तिपुर्ण आन्दोलनको क्रममा कलेजका सेक्युरीटिले धकेलेको बताए । सामान्य विवाद हुँदै गर्दा प्रशासनले प्रहरी भित्राएर लाठी चार्ज गर्दा केही साथीहरु घाइते भएको बताए । उनीहरुको अहिले बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको जानकारी दिए । त्यस्तै, विद्यार्थी नेता सुवास रेग्मीले विद्यार्थीको हकहितको लागि भएको आन्दोलनलाई लिएर कलेजको पठनपाठन बन्द गर्नु खेदजनक भएको बताए । विद्यार्थीहरुको जायज माग राख्ने क्रममा प्रहरीको आक्रमणबाट नेपाल विद्यार्थी संघ चक्रवर्ती ल कलेजका अध्यक्ष अभिनव सिंह राठौर,विद्यार्थी नेता सफल कटुवाल घाइते भएका थिए भने अखिल क्रान्तिकारीका इकाई सचिब दिर्घ रोकायमाथि अङ्गभङ्ग हुने गरि आक्रमण गरिएको उनीहरुले आरोप लगाएका छन् । नेविसंघ चक्रवर्ती कलेजका सचिव द्वोय राजेन्द्र रोकाया र सुरज रेग्मीलाई प्रहरीले हिरासतमा लिएको थियो । मापदण्ड पालना नगरी कलेजले नयाँ शैक्षिक सत्रमा बिएएलएलबी मा शुल्क ७ लाख ९६ हजार ४०० रुपैयाँबाट १० लाख ७० हजार रुपैयाँ र एलएलमको ३ लाख २३ हजार रुपैयाँबाट ५ लाख ४८ हजार रुपैयाँ निर्धारण गरेको भन्दै विद्यार्थीहरुले विरोध गर्दै आएका थिए । कलेज प्रशासनले अनुचित रुपमा शुल्क बढाएपछि संयुक्त विद्यार्थी सङ्गगठनका तर्फबाट चरणबद्ध रुपमा समय–समयमा ज्ञापन पत्र बुझाएर ध्यानाकर्षण गराउनेदेखि लिएर, पहिलोपटक गत साउन ८ गते र सम्बोधन नभएपछि दोस्रो पटक साउन ९ गते ताला लगाएको थियो । तर, कलेज प्रशासनले गत साउन १० गते एकतर्फी रुपमा ताला खोलेपछि विद्यार्थीहरु थप आन्दोलित भएका थिए । विद्यार्थी संगठनले आन्दोलनलाई देखाएर दैनिक पठनपाठन नरोकि सहज रुपमा सुचारु गर्न समेत कलेज प्रशासनलाई आग्रह गरेका छन् ।

ग्लोबल आइएमई बैंकको ५२औं एक्सटेन्सन काउन्टर लमजुङको सोतीपसलमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका वडा नं ३, सोतीपसलमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै भोर्लेटार शाखाको मातहतमा रहने गरी उक्त एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको जनाएकाे छ । २९ लाखभन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको ग्लोबल आइएमई बैंकले  ७७ जिल्लामा २८९ शाखा, २६५ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५२ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टरबाट सेवा दिँदै आएकाे छ । साथै, यस बैंककाे ३ वटा वैदेशिक प्रतिनिधी कार्यालयसमेत रहेकाे छ ।  

लोजिस्टिक कष्ट कम गरौं, औद्योगिक उत्पादन बढाऔं : अध्यक्ष गोल्छा

काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले देशमा औद्योगिक उत्पादन बढाउन नेपालको लोजिस्टिक कष्टलाई घटाउनुपर्ने बताएका छन् । शुक्रबार २८औं काग्रो दिवसको अवसरमा नेपाल फ्रेट फरवार्ड एशोसिएशन (नेफा) ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् । उनले काग्रो व्यवसायमा लाग्ने लोजिस्टिक कष्ट कम गर्न नसकेसम्म औद्योगिक उत्पादन नबढ्ने बताएका हुन् । ‘उद्योग वाणिज्य महासंघले भिजन पेपर ल्याएको छ, यसको लक्ष्य भनेको २०३० सम्म आफ्नो अर्थतन्त्रलाई सय मिलियन डलर पुर्याउने हो, यसको लागि अध्ययन अनुसन्धान गरेर १० वटा क्षेत्रमा १०० वटा इनिसियटिभ लिएका छौं, यसलाई सरकारले सकारात्मक रुपमा हेरेको तर ओनसिप भने लिएको छैन, त्यसैले सरकारले यसलाई प्राथमिकता देओस् र ओनसिप लिएर छिट्टै एमओयू गरोस् भन्ने हाम्रो चाहना हो, उनले बताए । त्यसैले, अर्थतन्त्रमा रहेका समस्याहरु अर्थात विशेष गरी लोजिस्टिकमा गर्नुपर्ने विषयमा केन्द्रित भई रोडम्याप तयार पारेर अघि बढ्नु पर्ने अध्यक्ष गोल्छाको भनाई छ । त्यस्तै, कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले पनि काग्रो व्यवसायलाई थप व्यवस्थित पार्न निर्यातमा टीडीएस काट्ने अहिलेको नयाँ व्यवस्थालाई संसोधन गर्नुपर्ने बताएका छन् । यसले काग्रोमा आवद्ध भएका १२५ व्यवसायलाई मारमा परेको उनको भनाई छ । ‘कोभिडमा पनि चलायमान भएको काग्रो व्यवसायलाई व्यवस्थित गर्न डुवानी गर्दाको समस्यालाई समाधान गर्नुपर्छ, एयर काग्रोभन्दा पनि रोड काग्रो महंगो भएको छ, यसलाई घटाउनतर्फ लाग्नुपर्छ,’ उनले भने । अध्यक्ष मल्लले अहिले व्यवसायीहरुले बजारमा तरलता अभाव र बैंकको उच्च ब्याजदर भोगिरहेको अवस्थामा राष्ट्र बैंकले सार्वजनिक मौद्रिक नीति कसिलो र पेचिलो बन्दै गएको बताए । उनले मौद्रिक नीतिले विगतमा व्यवसायीहरुलाई दिएको सुविधा समेत कटौती भएको तथा बैंकको ब्याजदरको बेस रेटको प्रिमियम समेत ४ पतिशत लिने नीतिले अत्याधिक महँगी बढाउनसक्ने बताएका छन् । त्यसैगरी, संसदमा पुगेको आर्थिक ऐनलाई छिटोभन्दा छिटो पारित गर्नुपर्ने उनको भनाई छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योग वाणिज्य महासंघले निकालेको भिजन पेपर, २०३० ले औंल्याएका केही विषयहरुमा सरकारले आगामी हप्ता सम्झौता गर्ने तयारीमा रहेको बताए । साथै, उनले नेपालको लजिस्टिक्स नीति अन्तिम चरणमा पुगेको समेत जानकारी गराए ।