पोतमारा जलविद्युुत् आयोजना मर्मतका लागि मन्त्रालयसँग बजेट माग
कालिकोट । कालीकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–७ मा रहेको पाँचसय किलोवाटको साना जलविद्युत् आयोजना मर्मतका लागि गाउँपालिकाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग माग गरेको छ । उक्त गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीले मन्त्रालयमा पुगेर विद्युत् सञ्चालनका लागि बजेट माग गरेका हुन्। जिल्लामा रहेको एकमात्र पाँच सय किलोवाटको पोतमारा लघु जलविद्युत् आयोजना अलपत्र अवस्थामा रहेकाले पुनःसञ्चालनमा ल्याउन उनले शुक्रबार मन्त्रालयसँग बजेट माग गरेका हुन् । विसं २०७७ मा आएको अविरल वर्षले उक्त आयोजना पूर्णरुपमा क्षतिग्रस्त भई बन्द भएको र पुन सञ्चालन गर्न धेरै बजेट लाग्ने भएकाले बजेट माग गरिएको गाउँपालिका अध्यक्ष केसीले जानकारी दिए। ‘राष्ट्रिय प्रसारण लाइन जोडिए पनि वैकल्पिक व्यवस्थाका लागि उक्त आयोजना आवश्यक पर्ने भएकाले पालिकाले पुनःसञ्चालनका लागि पहल गरेको छु’, उनले भने, ‘शुक्रबार ऊर्जा जलस्रोत तथा सिँचाइ विभागका उपनिर्देशक सन्तोष सिलवालसँग पनि छलफल गरियो । अबको एक हप्तामा केन्द्रबाट इञ्जिनिरको टोली पठाउने निर्णय भएको छ ।’ उक्त आयोजनाको लागत अनुमान निकालेर बजेट विनियोजन गरिने मन्त्रालयले योजना बनाएको अध्यक्ष केसीले जानकारी दिए । रासस ।
शुक्लाफाँटामा राष्ट्रिय निकुञ्जमा पाटे बाघको संख्या दोब्बर
फाइल फाेटाे काठमाडौं । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटे बाघको सङ्ख्या दोब्बरले बढेको छ । पाटे बाघको सङ्ख्या बढेर ३६ पुगेको छ । निकुञ्ज कार्यालयका निमित्त प्रमुख संरक्षण अधिकृत मनोज ऐरका अनुसार १६ पोथी, १२ भाले र लिङ्ग नखुलेका बाघको सङ्ख्या आठ रहेको छ । बाघको बासस्थानमा सुधारसँगै आहारा प्रजातिको पर्याप्तता, पानीको व्यवस्था, चोरी शिकारी पूर्णरुपमा नियन्त्रण हुनुका साथै मध्यवर्ती क्षेत्रका बासिन्दाको सहयोग र समन्वयका कारण बाघको सङ्ख्या बढेको बताइएको छ । “सन् २०२२ भित्रै बाघको सङ्ख्या दोब्बर पार्ने प्रतिबद्धता पुरा भएको छ’, उनले भने, ‘यसलाई निकै ठूलो उपलब्धिका रुपमा लिएका छौं।’ गत वर्षको माघ २९ देखि २१ दिनसम्म स्वचालित क्यामेराको सहायताले बाघ गणनाको कार्य गरिएको थियो । शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्समा दुई किलोमिटर लम्बाइ र दुई किलोमिटर चौडाइ भएको दुई सय ६० ग्रीडमा विभाजन गरी बाघ गणनाको कार्य गरिएको निकुञ्ज कार्यालयले जनाएको छ । थोरै क्षेत्रफलमा धेरै बाघको घनत्व पाइने क्षेत्रका रुपमा निकुञ्ज परिचित रहेको छ । निकुञ्जमा सन् २००८ देखि बाघ गणनाको कार्य हुँदै आएको छ । सन् २००९ मा निकुञ्जमा बाघको सङ्ख्या आठ वटा मात्रै रहेको थियो । त्यो सङ्ख्या बढेर अहिले ३६ पुगेको छ । अघिल्लो वर्ष निकुञ्जमा १९ वटा पाटेबाघ फेला परेका थिए । सन् २०१३ मा १७, सन् २०१८मा १६ वटा पाटेबाघ देखा परेका थिए । निकुञ्जमा दुई वर्षको अवधिमा दुई वटा बाघ मृतावस्थामा फेला परेका थिए । निकुञ्ज ३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । रासस ।
फोहोर भित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन दिएन– मन्त्री श्रेष्ठ
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले फोहोर भित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन नदिएको बताएका छन् । शनिवार काठमाडौंको वंघ इन्द्रचोक र ऐतिहासिक बंघ दबूको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । उनले फोहोरमैला सामान्य कुरा भएपनि फोहोरमैला भित्रकै गिरोहले यसलाई ठूलो कुरा बनाइरहेको बताए । ‘फोहोरमैलाको कुराहरु अहिले लामै कथा भइसकेको छ । सामान्य कुरा हो तर हामीले त्यसलाई अहिलेसम्म पनि समाधान गर्न सकेका छैनौँ । फोहोरमैला भित्रको गिरोहले फोहोरमैला समाधान गर्न दिँदैन । फोहोरमैला समाधान गर्नको लागि ठूलो कुरा होइन, ठूलो कुरा बनाइएको छ । त्यहाँ भित्रको गिरोहले,’ मन्त्री श्रेष्ठले भने । उनले स्थानीय तहले नै अब फोहोरमैलालाई श्रोतबाट नै व्यवस्थापन गर्नेतर्फ लाग्नुपर्ने बताए । मन्त्री श्रेष्ठले स्थानीय सरकारलाई फोहोरमैला व्यवस्थापन गर्ने कुरामा संघीय सरकार सहयोगका लागि तयार रहेको उनको भनाइ थियो । उनले पर्यटन मन्त्रालयले यी समस्या समाधानका लागि मठमन्दिरहरुमा सरसफाई गर्न राष्ट्रिय अभियान शुरु गर्न लागेको बताए । उनले सरसफाईको योजना पूरा गर्न संघ, प्रदेश र स्थानीय सरकारको बीचमा समन्वय आवश्यक रहेको पनि बताए । मन्त्री श्रेष्ठले नाइट टुरिजम व्यवस्थित बनाउन पर्यटकीय स्थल, मठमन्दिर र सम्पदालाई सुन्दर र संरक्षित बनाउँदै सुरक्षित बनाउन आवश्यक रहेको उल्लेख गरे । मन्त्री श्रेष्ठले भने, ‘ यो समस्या स्थानीय तहले फोहोरमैलालाई श्रोतबाट नै व्यवस्थापन गर्नेतर्फ जानुपर्छ । हामी सबै त्यसको लागि सहयोग गर्न तयार छौँ । हामी मठमन्दिरहरुमा सरसफाई गर्न राष्ट्रिय अभियान शुरु गर्दैछौं । त्यहाँबाट नै चेतनाको अभियान शुरु हुनेछ । यी योजना पूरा गर्न संघ, प्रदेश र स्थानीय सरकारको बीचमा समन्वय गरेर कामहरु लैजान्छौँ । नाइट टुरिजमको कुरा गरिरहँदा पर्यटकहरुलाई घुमाउने कुरा गर्दा त्यो किसिमको स्थानीय वातावरण तयार गर्नुपर्छ । सरसफाई र हाम्रा सम्पदालाई सुन्दर र संरक्षित बनाउँदै सुरक्षित बनाउन आवश्यक छ ।’ मन्त्री श्रेष्ठले कतिपय नागरिकलाई प्रदेश र स्थानीय सरकार बलियो छ भन्ने कुरा अहिलेसम्म पनि बुझाउन नसकेको बताए। उनले सिंहदरबारबाट स्थानीय र प्रदेशमा अधिकार सरिसकेको कुरा नागरिकमा बुझाउन आवश्यक रहेको बताए । उनले स्थानीय जनसमुदायको पनि सक्रियतामा कमी भएकोले यसलाई जगाउन आवश्यक रहेको उल्लेख गरे । उनले भने, ‘अहिले पनि प्रदेश सरकार छ, स्थानीय तह बलियो छ भन्ने कुरा धेरैलाई अनुभुति नै भएको छैन । सबैजना सिंहदरबारमा मात्रै जान खोज्नुहुन्छ । सिंहदरबारमा नै बजेट माग्न जानुपर्छ भन्ने सोच छ । बजेट फ्रिज भएर बसेको छ, त्यसमा मागन जानुपर्छ । प्रदेश सरकार दिन तत्पर छ, विकासको लागि बजेट । स्थानीय जनसमुदायको पनि सक्रियतामा कमी भएको छ । जसले धेरै कराउन र माग्न आउँछ त्यसैलाई सरकारले बजेट दिन्छ ।’ कार्यक्रममा बोल्दै वागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारसँग पैसा खर्च गर्न नसकेर फ्रिज भएको अवस्था रहेको भन्दै विकासका लागि बजेट माग्न आग्रह गरे । उनले मन्त्रालयले विकासका लागि आवश्यक बजेट दिन तयार रहेको बताए । मन्त्री जम्कट्टेलले योजना लिएर आउने युवाहरुलाई विकासका काम गर्न पैसाका चिन्ता नगर्न आग्रह गरे । मन्त्री जम्कट्टेलले विकासको काममा आउने युवालाई पार्टीको नजरले हेर्न नहुने बताए । काठमाडौंको विकासका लागि नयाँ ढंगले बहस गर्न आवश्यक रहेको उनको भनाइ छ ।
समितिको निर्देशनलाई नै मान्दैनन् संघ र प्रदेशका सरकार
काठमाडौं । संघ र प्रदेश सरकारहरुले संसदीय समितिहरुले दिएका अधिकांश निर्देशनको उपेक्षा गरेको समिति सचिवहरुले आरोप लगाएका छन् । संघ र प्रदेश सरकारले संसदीय समितिहरुले दिने गरेका निर्देशनहरुको कार्यान्वयन गर्न बारम्बार निर्देशन गरेपनि उपेक्षा गरेको उनीहरुले आरोप लगाएका हुन् । समितिबाट निर्देशित केही निर्देशन भने बजेट अभावका कारण कार्यान्वयन हुन नसकेको उनीहरुको भनाइ छ । संघीय सरकार होस् वा प्रदेश सरकार संसदीय समितिका सचिवहरुको बुझाइमा फरक छैनन् । समितिका कतिपय निर्देशन संघीय सरकारले कार्यन्वयन गर्न अटेर गरेको छ भने प्रदेश सरकारले पनि समितिले दिएको निर्देशनको कार्यान्वयनमा कुनै चासो नदिएको समितिका सचिवहरु बताउँछन् । समितिले पनि अपेक्षा अनुसारको गतिशिलता हासिल गर्न नसकेको संसदीय समितिका सचिवहरुको भनाइ छ । प्रदेश सभा १ अन्तर्गतको अर्थ समितिका सचिव मोहन खड्काले समितिले बोलाएको बैठकमा मुख्यमन्त्रीहरुले नै आउन आनाकानी गरेको बताए । उनले समिति ठूलो कि मुख्यमन्त्री भन्दै मुख्यमन्त्रीहरु समितिको बैठकमा नआउने गरेको गुनासो गरे । उनले समितिका सचिवलाई कतिपय मुख्यमन्त्रीहरुले थर्काउने गरेको समेत बताए । उनले समितिले दिएका सुझावमा ४० प्रतिशत सुझाव मात्रै कार्यान्वयन गरेको बताए । सचिव खड्काले समिति र सरकारबीचको अन्तरसम्बन्धलाई व्यवस्थित गर्न सरकार चनाखो नभएको आरोप लगाए । उनले अहिलेको आर्थिक वर्षको बजेटमा समेत सांसद र समितिहरु चुनावमुखी हुँदा प्रि बजेटको छलफल हुन नसकेको बताए । उनले भने ‘गठबन्धनको सरकार बनेपछि सामाजिक विकास समितिले खासै सुझाव दिएका छैनौँ । यो पटक हामीले प्रि बजेटको सन्दर्भमा समितिले जुन रोल खेल्नुपर्दथ्यो । त्यो खेल्ने सवालमा हामी चुनावमुखी भयौँ । सबै सांसदहरु चुनावमा केन्द्रित भएको हुनाले हामीले प्रि बजेटको छलफल गर्ने, त्यो बारेमा जाने भन्ने किसिम रहेन । हाम्रो समितिले जुन प्रकृतिको कार्यक्रम गर्दथ्यो, जिल्ला जिल्लामा हामीभन्दा पहिलो सरकार नै भयो । सरकारले नै सरोकारवालाहरुसँग छलफल चलाइदियो । त्यसपछि हाम्रो त्यो योजना नै क्लोज भयो,’ उनले भने । उनका अनुसार समितिले दिएका सुझाव मध्ये ४० प्रतिशत सुझाव मात्रै कार्यान्वयन भएका छन् । ‘हामीले सरकारलाई दिएका सुझावमा ४० प्रतिशत सुझाव कार्यान्वयनको प्रक्रियामा आए । ६० प्रतिशत थन्किएर बसेका छन् । मुख्यमन्त्रीहरु समितिमा उपस्थिति हुने माग गर्दा मुख्यमन्त्री भन्दा समिति ठूलो हो ? भन्ने कुरा आयो । त्यतिमात्रै होइन, सचिवलाई थर्काउने कुरा पनि भयो । समिति र सरकारबीचको अन्तरसम्बन्धलाई व्यवस्थित गर्न सरकार आफैँ चनाखो हुनुपर्ने हो तर भएन,’ उनले भने । त्यस्तै प्रदेश सभा १ अन्तर्गत सामाजिक विकास समितिका सचिव रामप्रसाद चापागाईंले प्रदेश सभा नयाँ अभ्यासमा रहेका कारण दिएका निर्देशको कार्यान्वयन भए/नभएको परीक्षण गर्ने अवस्थामा पुगि नसकेको बताए । उनले दिएका निर्देशनहरु केही पालना भएको र नभएको अवस्था रहेको बताए । समिति सचिव चापागाईंले सामाजिक विकास समितिमा अहिलेसम्म ७ वटा ऐनहरुमा छलफल भइ ऐनहरु पास गरेको र उक्त ऐनहरु कार्यान्वयनको अवस्थामा रहेको उल्लेख गरे । उनले भने, ‘प्रदेश सभापनि नयाँ अभ्यासमा रहेको कारणले निर्देशन दिने र सुझाव दिने साथै ती निर्देशन, सुझाव कति कार्यान्वयन भए÷नभएको परीक्षण गर्ने अवस्थामा हामी पुगिसकेका छैनौँ । दिएका निर्देशनहरु केही पालना भएको र नभएको अवस्था छ । सामाजिक विकास समितिमा अहिलेसम्म ७ वटा ऐनहरुमा छलफल भएर सुझाव दिएर ती ऐनहरु पास भइसकेर कार्यान्वयनको अवस्थामा छन् ।’ त्यस्तै कर्णाली प्रदेश सभा अन्तर्गतको सामाजिक विकास समितिका सचिव राजेन्द्र पौडेलले समितिले निर्देशन दिएका करिव ७० प्रतिशत काम सरकारले कार्यान्वयन गरेको बताए । उनले समितिले सरकारलाई दिएको हिंसा पीडित महिलाहरुको लागि सेफ हाउसको व्यवस्थाका बारेमा अनुगमन गर्दा जाजरकोट लगायतका जिल्लामा प्रभावकारी कार्यान्वयन नभएको पाइएको बताए । उनले कतिपय ठाउँमा समितिले दिएका निर्देशनहरु पालना गर्नका लागि पनि बजेट अभावको समस्या रहेको बताए । कतिपय ठाँउमा हिंसा पीडित महिलालाई काउन्सील गर्ने व्यवस्था नभएको अनुगमनबाट पत्ता लगाएको बताए । समिति सचिव पौडेलका अनुसार समितिले वर्षमा ९ वटा समेत सामाजिक क्षेत्रका काम गरेको छ । उनले कार्यान्वयन नभएका ऐनहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन, समिति सभापति, सदस्य र सम्बन्धित मन्त्रीहरुसँग निरन्तर छलफलमा रहेको बताए । उनले भने, ‘हिंसा पीडित महिलाहरुको लागि सेफ हाउसको व्यवस्था गरिएको छ । त्यो प्रभावकारी रुपमा कार्यान्वयन भएको छ की छैन भनेर जाजरकोट लगायतका जिल्लामा अनुगमन गरेका थियौं । सरकारले गरेको तर त्यहाँ त्यति प्रभावकारी नभएको पाइएको थियो कतिपय ठाँउहरुमा,कतिपय ठाँउमा बजेट अभाव रहेको पाइएको थियो । त्यस्तै कतिपय ठाँउमा हिंसा पीडित महिलालाई काउन्सील गर्ने व्यवस्था नभएको पनि पाएका थियौं ।’ साथै आर्थिक अभावका कारण कतिपय अनुगमन गर्न नसकिएको उनले बताए । ‘जुम्लामा अनुगमनमा जान नसक्नुको कारण व्यवस्थापकीय पक्ष सचिवालयले पनि मिलाउन नसक्ने, आर्थिक अवस्था कमजोर भएकाले जान नकिएको हो । हामी एक ठाउँमा अनुगमनमा जाने भनेर गएका थियौं । मान्यज्युहरुले कालिकोट पनि जाऔं भन्नु भयो । तर सचिवालयले जुन एजेण्डामा हिँडेको भन्दा थप काम गर्न सकेन । त्यस्तो पनि भएको छ,’ उनले भने । ‘हामीले साविकका कर्णालीका जिल्लाहरुमा अनुगमनमा जान नसकिने भनेर त्यहाँका पालिकाका उपप्रमुखहरुसँग कोभिडको समयमा र कोभिड पछि पनि अनलाइन छलफल चलाएका थियौं । त्यहाँका महिलाको अवस्था के छ भनेर छलफल चलाएका थियौं,’ उनले भने । मन्त्रालयले ७० समितिले दिएका ७० प्रतिशत निर्देशन मात्रै कार्यान्वयन गरेको उनको भनाइ छ । उनले भने, ‘छलफलमा राम्रो सुझावहरु आएको थियो । जुम्लाका महिलाहरुको अवस्था दयनीय नै रहेको छ । त्यसलाई कसरी सुधार गर्न सकिन्छ भनेर सरोकारवालाहरुसँग छलफल गर्ने मन्त्रालयलाई निर्देशन दिने र त्यो सम्बन्धी कानूनहरु ल्याई बजेटको व्यवस्था गर्न पटक–पटक निर्देशन दिने कामहरु भएका छन् । हामीले औपचारिक रुपमा मन्त्रालयले समितिले दिएका निर्देशन कति प्रतिशत पालना ग¥यो भनेर सोधेका छैनौं । गत आर्थिक वर्षमा हेर्दा करिव ७० प्रतिशत समितिले दिएका निर्देशनहरु विषयगत मन्त्रालयहरुले पालना भएको पाएका छौं । समितिले वर्षमा ९ वटा समेत सामाजिक क्षेत्रका कामहरु गर्ने गरेको छ ।’ त्यस्तै संघीय संसद अन्तर्गतको महिला तथा सामाजिक समितिका सचिव एकराम गिरीले लैङ्गिक विभेद, पछाडि पारिएका अल्पसंख्यकहरु लगायत कानून निर्माणका विषयमा राज्यले आवश्यक ध्यान नदिएको गुनासो गरे । उनले सरकारले सामाजिक एव सांस्कृतिक विकासको पक्षलाई कम प्राथमिकतामा राखेको बताए । समिति सचिव गिरीका अनुसार बजेटमा सुनिश्चितता हुने हो भने समितिको गतिशिलतामा पनि वृद्धि हुनसक्छ । उनले भने, ‘लैङ्गिक विभेदका कुराहरु छन्, पछाडि पारिएका अल्पसंख्यकहरु लगायतका कुराहरु छन् । नीतिगत पक्षमा, कानून निर्माणका पक्षमा भएका कानूहरुलाई आवश्यक परिमार्जन गर्ने र संशोधन गरेर समसामयिक बनाउने कुरामा समितिले नेपाल सरकारलाई बारम्बार ध्यानाकर्षण गराइरहेको छ । यी विषयहरुलाई राज्यले जति ध्यान दिनुपर्ने हो त्यति ध्यान पुग्न नसकेको भन्ने लाग्छ ।’ ‘हामी मुलतः विकासको कुरा गर्छौं, विकासमा पनि खास गरेर भौतिक पूर्वाधारको विकासमा बढी जोड दिन्छौँ । सामाजिक एव सांस्कृतिक विकासको पक्षमा कम प्राथमिकता पाएको हो कि भन्ने आभाष बेलाबेलामा हुने गरेको छ । यी विषयहरु फेरि बहुआमयिक विषयहरु हुन् । एउटा विषय चलाएँदा त्यसले अर्को विषयलाई असर गर्नेपनि हुनसक्छ । त्यसैले संवेदनशील रुपमा नै समितिले यी पक्ष र विषयलाई उठाएको छ । समितिको गतिशिलताको विषयवस्तुलाई प्रभाव पार्ने विषयवस्तु बजेट एवं बजेटसँग सम्बन्धित पक्ष छ । यदी बजेटमा सुनिश्चितता हुने हो भने समितिको गतिशलितामा पनि वृद्धि हुनसक्छ,’ उनले भने । आफुहरुको अपेक्षाअनुसारको गतिशिलता हासिल गर्न नसकेको समिति सचिव गिरीको भनाई छ । ‘कतिपय अवस्थामा बजेट मात्र नभइ समितिको आफ्नो सक्रियता अन्य तत्वहरुले पनि निर्धारण गर्छन् । यद्यपी यो बजेट प्रमुख आधार हो । यसबाट हामीले चाहेको कार्य सम्पादन गर्नसक्ने अवस्था हुन्छ । हामीले हाम्रो अपेक्षा अनुसारको गतिशिलता हासिल गर्न सकेका छैनौँ,’ उनले भने ।
पर्यटकमाथि गर्ने व्यवहार परिवर्तन नगरी पर्यटन वर्ष सफल हुँदैन
संस्कृति, नागरिक तथा पर्यटन उड्डयनमन्त्री जीवनराम श्रेष्ठले २०२३–२०३३ सम्म भ्रमण वर्ष मनाउने घोषणा गरेका छन् । यसका लागि उनले ७३ बुँदे कार्यविधि समेत सार्वजनिक गरिसकेको छ । तर, उनले बनाएको कार्यविधिले पर्यटन तान्न सक्ला त ? किन कि विदेशीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनेबित्तिकै उनीहरु ठगिन थाल्छन् । एयरपोर्टमा सञ्चालित हरियो प्लेटको ट्याक्सीले विदेशी भन्ने बित्तिकै ठमेल पुर्याएको पाँच हजार असुल्छन् । तर, मिटरमा जाने हो भने पाँच सय रुपैंया तिरे पुग्ने बाटो छ । होटल व्यवसायीले समेत विदेशीलाई हेरिहेरि रकम धुत्ने गरेका छन् । होटल हेरेर खाएको र बसेको पाँचदेखि बीस हजारसम्म लिने गरिएको छ । यता, विदेशी घुमाउने नेपाली गाइडले पनि लुट्नु लुट्छन् । विदेशीहरु सार्वजनिक बस चढ्दैनन्, मिटरजडित ट्याक्सी चढ्छन् । कालो प्लेटको ट्याक्सीले हजारको बाटोमा पाँच हजार ठोकिहाल्छ । सामान्य माला बेच्नेबाट पनि उनीहरु ठगिएका छन् । विदेशी ठग्ने व्यवसायीलाई कारबाही गर्नुको साटो पर्यटनमन्त्री श्रेष्ठ भ्रमण वर्ष मनाउन लागिपरेका छन् । बेथिति हट्यो भने विदेशी आफै ओइरिहाल्छन् । पर्यटनमन्त्री आँफै पनि व्यापारीको झोला बोकेर हिँडेको पाइन्छ । सर्वप्रथम विदेशी लुट्ने हरेक व्यवसायीलाई कारबाही हुनुपर्छ । जरिवाना गरिनुपर्छ । राम्रो र गुणस्तरीय वातावरणको प्रबन्ध मिलाउनुपर्छ । यसो गर्यो भने विदेशी तान्नका लागि छुट्टै कार्यविधि बनाउनैपर्दैन् । अहिले सरकारले एक विदेशी एक नेपाली भन्ने अवधारणा अघि सारेको छ । नेपालमा भएको मँहगी र ठगीले गर्दा विदेशीहरु भीसा छोट्याएर धमाधम आफ्नो मुलुक फर्किरहेका छन् । भीसा बाँकी भएपनि उनीहरु आफ्नै मुलुक फर्किन चाहन्छन् । होटलमा बस्छन्, खान्छन् तर त्यो सरकारले तोकेको होइन् । होटल व्यवसायी आफैले मनलाग्दी रेट तोकेका छन् । खानेकुरा गुणस्तरीय छ कि छैन् ? यता, उनीहरु सुत्ने ओछ्यान कस्तो छ ? यसको पनि निरीक्षण हुनुपर्यो । सरकार अनुगमन नगर्ने अनि विदेशी बोलाई बोलाई ठग्न दिने ? सरकारले खानेकुराको रेट तोकिदिने मँहगा होटलमा गएर नेपालीले खान्छन् । ओछ्यानको रेट पनि सरकारले तोकिदिनुपर्यो । यस्तो भयो भने विदेशीको खोजीमा हिड्नैपर्दैन् । मँहगो हुन्छ भनेर नेपालीहरु पाँच तारे होटलमा जादैनन् । विदेशी नेपालमा आँउदैन् । अनि यिनीहरु धरासायी नबने को बन्छ ? पहिले नेपालीलाई प्राथमिकतामा राख्नुपर्यो । आफ्नै मुलुकका जनतालाई नगन्ने अनि विदेशीको खोजीमा हिड्ने । हिजोको दिनमा सबैभन्दा धेरै नाफा हुने क्षेत्र होटलमै थियो । बैंक फाइनेन्सबाट लोन लिएर अर्बौं लगानीमा खुलेका होटल छन्, यहाँ । तर, अहिले विदेशी आएनन्, हाम्रो व्यवसायी डुब्ने भनेर सरकार गुहारिरहेका छन् । सरकारले बैंकबाट कर्जा लिएर त्यत्रो होटल खोल्न कर लगाएको थियो ? सरकारलाई आरोप लगाएर आफू पन्छिन मिल्छ ? अर्को प्रमुख समस्या हो यातायातको असुविधा । उपत्यका बाहिर ढंगको सवारी साधन नहुँदा टाँगा, रिक्सामा यात्रा गर्नुपर्ने बाध्यता छ । राजधानीबाहेक अन्य जिल्लामा ट्याक्सी पनि पाइदैन् । अनि विदेशीलाई अर्को सास्ती । अर्कोतिर, घुम्न जाने क्रममा कति विदेशी नागरिकको अकालमा ज्यान समेत गुमेको छ । गाइडहरुले जोखिमपूर्ण ठाँउमा यात्रा गराउदा उनीहरु भीरबाट खसेर मरेका छन् । कतिपय अझै पनि बेपत्ता छन् । विदेशीहरु नेपालमा मर्न आएको कि घुम्न ? त्यत्रो खर्च गरेर नेपाल आएका विदेशीको ज्यानको सुरक्षा गर्न सरकार चुकेको छ । विदेशीहरु मठमन्दिरमा दर्शन गर्न पुग्छन्, त्यही माग्नेहरुले धुरुक्कै रुवाउछन् । बजार निस्किँदा पनि उनीहरुको हाल बेहाल छ । नेपाल त माग्नेको देश हो भन्ने छाप हरेक देशका नागरिकलाई परिसकेको छ । उपत्यका होस् या बाहिर सडकभरि फोहोर छ । सबैतिर घनाबस्ती ह्वात्तै बढेको छ । जसका कारण फोहोर व्यवस्थापनमा चुनौती खडा भएको छ । काठमाडौं मात्र नभई अन्य क्षेत्रमा पनि फोहोर व्यवस्थापन गर्न निकै सकस पुगिरहेको छ । अब यो फोहोर कहाँ लगेर व्यवस्थापन गर्ने भन्ने समस्या जाइलागेको छ । सडकमा फोहोर हेरेर नेपालीलाई त हिड्न गाह्रो परिरहेको बेला विदेशीहरु आउलान ? फोहोर प्रर्दशन गर्न विदेशीलाई नेपाल ल्याउने ? नेपाली आफै त सहन नसक्ने भइसकेका छन् । त्यस्तो सफा मुलुकका नागरिक यहाँ बस्न सक्छन् जस्तो लाग्छ सरकारलाई ? प्रदुषण हेर्यो भने त्यस्तै छ । श्वास फेर्नसमेत ग्राहो पर्न थालेको छ । अनि विदेशी ल्याएर नेपालमा कसरी राख्ने ? तराईभन्दा बढी गर्मी काठमाडौं भइसकेको छ । सवारी साधनको धुलो त्यस्तै छ । सडकभरि धुलो र हिलोबाहेक केही देखिदैन् । स्वदेशी त एक ठाँउबाट अर्को ठाँउमा गएर बस्न सक्ने स्थिति छैन् । नेपाल सरकार गरिब भएपनि यहाँका जनता धेरै धनी छन् । अथाह पैसा खर्च गर्न सक्ने मानिसहरुलाई कहाँ लगेर खर्च गरौं जस्तो भइरहेको छ । नेपालीलाई प्राथमिकता दिएर यतै घुमघाम गर्ने व्यवस्था मिलाउने हो भने विदेशी चाहिदैन् । सहज रुपमा होटलहरु सञ्चालन हुन्छ । नेपालीलाई पाखा लगाएर विदेशीलाई काखा लगाउने खोज्ने मुलुकको कसरी विकास होला ? आफ्नो देशका जनतालाई पहिले प्राथमिकता दिनुपर्यो । विदेशी बोक्नका लागि भनेर चीन सरकारले दिएको विद्युतीय ट्याक्सी थन्किएर बसेका छन् । लुम्बिनीमा भएका विद्युतीय ट्याक्सी र बसभित्र घाँस उम्रिसकेको छ । एयरपोर्टबाट होटलसमेत लैजानका लागि भनेर चीन सरकारले दिएको सवारी साधन त्यत्तिकै खेर गयो । त्रिभुवन विमानस्थलमा चल्ने हरियो प्लेटको ट्याक्सीको दर्ता २०५० सालदेखि बन्द छ । भएका जति पनि सबै थोत्रा पुराना छन् । ट्याक्सीको हो कि ट्याक्टर छुट्याउनै मुश्किल पर्छ । जम्मा दुई सय सात वटा ट्याक्सीले विदेशीलाई राम्रो सेवासुविधा दिन सकेको छैन् । ट्याक्सी अपुग छ । पर्यटनमन्त्री श्रेष्ठले एयरपोर्टमा ट्याक्सी खोल्न यातायात मन्त्रालयलाई दवाब दिन आवश्यक छ । उपत्यकामा मात्र नभई हरेक जिल्लामा पर्यटन बोक्न ट्याक्सीको खाँचो देखिएको छ । तर, पर्यटनमन्त्री श्रेष्ठले ७३ बुँदामा यो विषय किन समावेश गरेनन् ? कि त एयरपोर्टको अवस्था देखेका छैनन् । रिक्सा र टाँगामा पर्यटकले यात्रा गरिरहँदा सरकारलाई लज्जास्पद लाग्दैन् । पर्यटन मन्त्रालय र यातायात मन्त्रालय ट्याक्सी खोल्न चासो देखाउदैन् अनि विदेशी भित्राउन भनेर चिच्चाइरहेको हुन्छ । विदेशीलाई यहाँ ल्याएर पैदलयात्रा गराउने हो र ? २०६९ माघमा यातायात कार्यालय, एकान्तकुनाले पाँच हजार नयाँ ट्याक्सीको दर्ता तत्कालै खोल्न यातायात व्यवस्था विभागसँग माग गरेको थियो । त्यो पनि लक्जरियस्, राम्रो सेवासुविधा दिन सक्ने । अहिले सञ्चालन भएका ट्याक्सीले स्वदेशी र विदेशीलाई गुणस्तरीय सेवा दिन सकेको कार्यालयको ठम्याई थियो । यी ट्याक्सी उपत्यका बाहिर पुगे भने फर्किएर आउन नसक्ने भनेर कार्यालयले स्पष्ट रुपमा भनेको थियो । ट्याक्सीले राम्रो सेवासुविधा दिन नसक्दा विश्वभर नेपालको इज्जत गएको कार्यालयले जनायो । ट्याक्सीकै कारणले विदेशीहरु नेपाल आउन कम भएको कार्यालयको ठहर छ । २०५७ जेठ १७ गते ट्याक्सीको दर्ता बन्द हुँदा जम्मा सात हजार पाँच सय ट्याक्सी थिए । यो पनि घटेर पाँच हजार ६ सय पाँचमा झर्यो । किन कि एक हजार ७५० डिजेलबाट चल्ने ट्याक्सी विस्थापन गरियो । तर, त्यसपछि जनसंख्या त निरन्तर उकालो लागिरहयो । जसले गर्दा नयाँ ट्याक्सीको आवश्यकता परेको माग पत्रमा उल्लेख छ । अहिले ट्याक्सीको परमिट उपत्यकामा मात्र छ । त्यतिखेर ट्याक्सीको परमिट पनि काभ्रेको पाँचखालसम्म बढाउने । यता, धादिङ, चितवन र नुवाकोटमा पनि ट्याक्सीको परमिट दिने । यातायात कार्यालयले यो प्रस्ताव पनि राखेको थियो । धुलिखेलमा अत्याधिक विदेशीहरु घुम्न जाने भएकाले पनि ट्याक्सीको खाँचो भएको बताइएको छ । एसी भएको ट्याक्सी भित्र्याउन भनेको वर्षौ बितिसक्दा पनि केही काम अघि बढेको छैन् । ट्याक्सी व्यवसायीको दवाबमा यो त्यत्तिकै सेलायो । न दर्ता खुल्यो न परमिट बढ्यो । यस्तोमा विदेशी बढ्लान् त ? गम्भीर प्रश्न उठेको छ । विदेशी ल्याएर पैदलयात्रा गराउने कुरा भएन् । ट्याक्सी अपुग छ । अब जिम्मा पर्यटनमन्त्री श्रेष्ठको हातमा छ । विदेशी भ्रमण वर्ष बनाउने हो भने हरेक क्षेत्रमा भएका बेतिथि र समस्यालाई नजिकबाट नियाल्न जरुरी छ । नयाँ ट्याक्सीको दर्ता खोल्न जनताले पटकपटक माग गर्दा पनि सुनुवाई भएको छैन् । सिण्डिकेट र ठगीविरुद्ध जनताले तारन्तार कुरा उठाइरहेका छन् । तर, सुनिदिने कोही छैन् । सरकार जिम्मेवार बनिदिने हो भने स्वदेशी र विदेशी दुबैले सुःखको श्वास फेर्न पाउलान् । फोहोर व्यवस्थापनमा सरकारको ध्यान जाओस् । नेपाल आएका विदेशीको सुरक्षाको ग्यारेन्टी सरकारले लिनुपर्छ ।
काठमाडौंका फुटपाथमा धराप र जोखिमपूर्ण पैदलयात्रा (फोटोफिचर)
पाटनको अग्नीशाला नजिकै फुटपाथमा रहेको रुख । काठमाडौं । काठमाडौं उपत्यकामा ६० लाख माथि जनसंख्या छ । त्यसमध्ये २० लाख मानिसले आफ्नै सवारीसाधन प्रयोग गर्ने गर्छन् तर ४० लाख मानिसले अझैपनि प्रयोग गर्ने भनेको फुटपाथ नै हो । त्यही फुटपाथ पनि अतिक्रमणको लागि हानाथाप हुन्छ । दृष्टि भएकाहरुलाई त प्रयोग गर्न कठिन हुने सडकपेटी दृष्टिविहीनका लागि कस्तो होला ? यो मननयोग्य विषय हो । समग्रमा भन्दा काठमाडौं उपत्यकाका सडकपेटीहरु सुरक्षित भइ ढुक्कसँग हिँड्न योग्य छैनन् । ललितपुर थसिखेल फुटपाथमा फ्याकिएको फोहोर । देशको संघीय राजधानी शहर काठमाडौंमा चिल्ला सडक, सफा अनि ह्विलचियर र दृष्टिविहीनहरुका लागि आरामले हिँड्न मिल्ने सुविधासम्पन्न फुटपाथ हुनुपर्ने हो । तर संघीय राजधानीको अवस्था त्यस्तो छैन । यहाँका फुटपाथमा पाइला पाइलामा अनगिन्ती अवरोध छन् । खाल्डोखुल्टी,फोहोर र अपूर्ण निर्माण यत्रतत्र भेटिन्छन् । वालकुमारी सडकको फुटपाथमा रहेको खाल्टो । धेरै ठाँउमा फुटपाथ नहुँदा सडकबाटै हिँड्नुपर्ने बाध्यता छ । सडकमा भएका फुटपाथ पनि साँघुरा छन् । तिनै साँघुरा फुटपाथमा बिजुली, इन्टरनेटलगायतका तार झुन्डाइने र पोलदेखि हुलाकका पत्र मञ्जुसा समेत राखिएको देख्न सकिन्छ । यी साँघुरा सडकमा रुख रोपेपछि त झनै हिँड्नै मुस्किल भएको छ । फोहोरको उचित व्यवस्थापन नुहँदा सडक गन्धमय बनेको छ, नाक थुनेर पनि हिँड्न नसक्ने अवस्था छ भने ढलको व्यवस्थापन हुन नसक्दा ढल सडकमै ढल बहन्छ । हिँड्दा हिँड्दै ढल ढाकिएको ठाउँ कहाँ नाङ्गो हुन्छ पत्तै हुँदैन । त्यस्तै अव्यवस्थित पार्किङले पनि सडकपेटीहरु भरिभराउ हुन्छन्, महानगरले सडक पेटीमा राखिएका सवारी उठाएर त जान्छ तर कहिल्यै पार्किङ स्थलको बारेमा सोच्न सकेको देखिँदैन । कतिपय सडकपेटीमा नै बालुवा, तार गिटी अर्थात निर्माणका सामग्री छरपस्ट हुन्छन् ।
रसुवामा ५० प्रतिशत भन्दा धेरै सम्बन्धविच्छेदका मुद्दा
रसुवा । हिमाली जिल्ला रसुवामा सम्बन्धविच्छेदको मुद्दा बढ्न थालेको छ । रसुवा जिल्ला अदालतमा गत आवमा दायर भएका देवानी तथा फौज्दारीसमेत विभिन्न किसिमका ६४ थान मुद्दामध्ये ५० प्रतिशतभन्दा बढी सम्बन्धविच्छेदको रहेका छन् । विगत वर्षमा २९ जोडिले सम्बन्धविच्छेद गराएका थिए । गत आवमा यो सङ्ख्या बढेर ३५ पुगेको छ । विगतको तुलनामा गत वर्ष सम्बन्धविच्छेदको सङ्ख्या २० दशमलव ६८ प्रतिशतले वृद्वि भएको रसुवा जिल्ला अदालतले जनाएको छ । यस्तै जिल्ला अदालतमा जबर्जस्ती करणी, चोरी, ठगी, ज्यान मार्ने उद्योग, सवारी ज्यान, अपहरण, जग्गा खिचलोजस्ता विविध प्रकारका मुद्दा दायर भएका थिए । विगतको जिम्मेवारी सरेका र गत वर्ष दायर भएका समेत ९९ मुद्दा विचाराधीन रहेकोमा ५९ थान फछ्र्योट भइसकेको बताउँदै अदालतका श्रेस्तेदार (उपसचिव) मुना अधिकारी ढकालले ४० वटा फैसला प्रक्रियामा अगाडि बढिरहेको जानकारी दिइन्। जिल्ला न्यायाधीश राजेन्द्र नेपालको इजलासले छिटो छरितो मुद्दा फैसला गर्ने गरेका कारण न्याय सम्पादनअन्तर्गत गत असार मसान्तसम्ममा सुधार आएको अदालतका कर्मचारीले बताएका छन् । रासस ।
दाङको गुरुजजुर माविले शुरु गर्यो चार शैयाको स्वास्थ्य कक्ष
दाङ । दाङ तुलसीपुर–४ रक्षाचौरस्थित गुरुजजुर माविले चार शय्याको स्वास्थ्य कक्ष स्थापना गरेको छ । बिरामी परेका विद्यार्थीलाई उपचार गर्नका लागि उक्त शय्या स्थापना गरिएको हो । विद्यालयले नै रु चार लाख लगानी गरेर विद्यालयमा चार वटा शैया सञ्चालनमा ल्याएको हो । विद्यालयका सहायक प्रधानाध्यापक प्रमोद न्यौपानेका अनुसार विद्यालयमा दैनिक १५/२० विद्यार्थी बिरामी हुन थालेपछि विद्यालयले आफैँले उपचारका लागि शय्या, प्राथमिक उपचारका सामग्री तथा औषधि खरिद गरेको हो । ‘अस्पतालमा दैनिक १५/२० विद्यार्थी बिरामी पर्न थाले’, उनले भने ‘त्यसपछि हामीले आफ्नै लगानीमा चार शय्या स्थापना गरेर उपचार गर्न थालेका हौं ।’ शैया स्थापना गरेपछि विद्यार्थीलाई उपचारमा सहज भएको उनको भनाइ छ । तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको सल्लाहअनुसार बिरामी विद्यार्थीलाई उपचार गर्ने गरिएको उनले बताए। विद्यार्थी सामान्य बिरामी भएपछि स्कुलमै उपचार गर्ने गरिएको छ । ‘अहिले स्वास्थ्यसँग सम्बन्धित शिक्षकले नै विद्यार्थीलाई उपचार गर्ने गरिएको छ’, उनले भने, ‘हामीले स्वास्थ्यकर्मी माग गरिरहेका छौं, तर, पाउन सकिएको छैन ।’ सरकारले एक विद्यालय, एक स्वास्थ्यकर्मीको नीति ल्याए पनि त्यो कार्यान्वयन हुन सकेको छैन । पटक–पटक उपमहानगरपालिका र प्रदेश सरकारलाई जानकारी गराउँदा पनि यस विषयमा कुनै चासो नदिएको सहायक प्रधानाध्यापक न्यौपानेले बताए । ‘हामीले पटक–पटक उपमहानगरपालिका र प्रदेश सरकारलाई जानकारी गराएका छौं,’ उनले भने, ‘तर, अहिलेसम्म कसैले पनि चासो देखाएका छैनन् ।’ वडाभित्रका स्वास्थ्य संस्थामा रहेका एक जना स्वास्थ्यकर्मीलाई भए पनि विद्यालयमा काजमा खटाएमा विद्यार्थीलाई उपचार गर्न निकै सहज हुने उनको भनाइ छ । अहिले सामान्य उपचार हुने गरेको भए पनि अलि बढी समस्या हुने बिरामीलाई प्रादेशिक अस्पताल वा बिरामीका आफन्तको इच्छाअनुसार विद्यालयबाट उपचारका लागि पठाउने गरिएको छ । यदि स्वास्थ्यकर्मी भए विद्यालयमै उपचार गर्न सकिने भन्दै यसतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनले बताए। अहेब वा अनमी पठाए पनि आफूहरुलाई सहज हुने शिक्षक अभिभावक संघका अध्यक्ष ईश्वरीप्रसाद गैरेले बताए। ‘स्वास्थ्य संस्थामा अहिले बिरामी पनि त्यति आउने गरेका छैनन्,’ उनले भने, ‘जहाँ भए पनि बिरामीलाई सेवा दिने कुरा हो, दैनिक १५/२० विद्यार्थी बिरामी हुने विद्यालयमा एकजना स्वास्थ्यकर्मी पठाउँदा राम्रो हुने थियो ।’ अहिले बिरामीलाई विद्यालयबाट थप उपचारका लागि महँगो शूल्क तिनुपर्ने अवस्था रहेको छ । आर्थिक अवस्था कमजोर भएका केही विद्यार्थीलाई विद्यालयले नै उपचार खर्चसमेत दिने गरेको छ । विद्यालयमा शिशुदेखि कक्षा १२ र वनबाली विज्ञान संकायमा गरी दुई हजार तीन सय विद्यार्थी छन् । त्यसमा ३० न्यून दृष्टि भएका विद्यार्थी छन् । रासस ।