काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस वर्ष विद्युत बेचेर प्राधिकरणले १६ अर्ब कमाउने बताएका छन् । आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले विद्युतको मूल्य भारतमा राम्रो पाएकाले यस वर्ष प्राधिकरणले करिब १६ अर्ब रुपैयाँ विद्युत निर्यातबाट कमाउने बताए । गत वर्ष प्राधिकरणले ५ अर्बको विद्युत निर्यात गरेको थियो ।
‘विद्युत व्यापारमा भारतबाट राम्रै मूल्य आएको छ, प्राधिकरणले केही कमाई रहेका छौं । विगतमा एक वर्षमा ५ अर्बको निर्यात गरेका छौं । यो वर्ष प्राधिकरणले करिव १६ अर्ब भन्दा बढीको विद्युत निर्यात गर्छौं,’ उनले भने ।
कार्यकारी निर्देशक घिसिङले सिमेन्ट उद्योगमा ६५ प्रतिशत विद्युत क्षमता दिन नसकेको विषय गलत भएको बताए । उनले अहिले सबै उद्योगमा शतप्रतिशत क्षमता विद्युत दिएको र सामान्य समस्या हुँदा पनि ठूलो मुद्दा बनाउने काम भइरहेको भन्दै त्यस्तो नगर्न आग्रह गरे ।