विकासन्युज

पोखरामा फेशन डिजाइनिङ र सौन्दर्यशास्त्र अध्ययन हुँदै

पाेखरा । पोखरा युनाइटेड एकेडेमीले पहिलोपल्ट ‘फेशन डिजाइनिङ्ग एवं सौन्दर्यशास्त्र’को कक्षा सञ्चालन गर्ने भएको छ । एकेडेमीले आजको आवश्यता शिक्षासँग सीप र आत्मनिर्भरताका लागि एक विद्यार्थी एक प्राविधिक शिक्षा भन्ने नारालाई आत्मसात गर्दै व्यवसायीक शिक्षातर्फ उक्त विषयको अध्ययन गराउन लागेको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । एकेडेमीका निर्देशक कृष्णप्रसाद सापकोटाले नेपाल सरकारको पाठ्यक्रम २०७६ ले व्यवसायिक विषयलाई प्राथमिकता दिएअनुसार आफूहरुले पनि प्राथमिकतामा राखेर अध्ययन गराउनका लागि ‘सौन्दर्यशास्त्र र फेशन डिजाइनिङ’लाई ऐच्छिक विषयका रुपमा समावेश गरेको जानकारी दिए । उनले एकेडेमीले यसअघि विज्ञान, व्यवस्थापन, होटल म्यानेजमेन्टको अध्ययन गराउँदै आएको र पछिल्लो समय फेशन डिजाइनिङ र सौन्दर्यशास्त्र अध्ययन गर्न चाहानेलाई लक्षित गरेर कक्षा सञ्चालन गर्न लागेको बताए । उनका अनुसार ४० देखि ५० हजार शुल्कमा विद्यार्थीले फेशन र सौन्दर्यशास्त्रको कोर्ष पुरा गर्न सक्नेछन् । दक्ष जनशक्ति उत्पादनका लागि अनुभवी शिक्षकबाट अध्यापन गराइने उनको भनाइ छ । कार्यक्रममा सौन्दर्यविद् एव सौन्दर्यशास्त्र पाठ्यक्रमका लेखक कमला श्रेष्ठले व्यवसायिक शिक्षाअन्तर्गत रोजगारको प्रशस्त सम्भावना बोकेको सौन्दर्यशास्त्र र फेशन डिजाइनिङ अहिलेको समयको माग भएको बताए । उनले २०७१ सालदेखि ऐच्छिक विषयका रुपमा समावेश गर्न पहल थालेको स्मरण गर्दै अहिले सफल भएको बताए । कार्यक्रममा ३५ वर्षदेखि सौन्दर्य क्षेत्रको कार्यरत गण्डकी प्रदेशका प्रदेशसभा सदस्यसमेत रहनुभएका मिना गुरुङले ढिलै भए पनि सौन्दर्यशास्त्र अध्ययन गर्न चाहानेका लागि अवसरका ढोका खुलेको बताइन् । उनले सौन्दर्यकलाको विषयलाई अध्ययनको विषय बनाउनु पर्छ भनेर निकै पहिलेदेखि आवाज उठाउँदै आएको जनाउँदै अहिले यो पाठ्यक्रममा समावेश भएर आउँदाको क्षण निकै आनन्द लागेको बताइन् । फेशन डिजाइनर विशाल गुरुङले आजको आवश्यता व्यवासायिक शिक्षा भएको र दक्ष जनशक्तिबाट मात्र देश विकास सम्भव हुने धारणा राखे । ऐकेडेमिका प्राचार्य वैनबहादुर गोदारले आधुनिक समयको माग र आवश्यकतालाई महसुस गरी विद्यार्थी स्वयं स्वरोजगार बन्न सक्ने विषयलाई प्राथमिकता दिँदै यस शैक्षिक सत्रबाट नयाँ सिपमुलक विषयलाई थप गरेको जानकारी दिए । एकेडेमीका व्यवस्थापन संयोजक राजकुमार कार्कीले प्राज्ञिक र दक्ष जनशक्ति उत्पादन गरी वैधानिक प्रमाणपत्र प्रदान गर्नु यस कार्यक्रमको मुख्य लक्ष्य रहेको बताए । उनले यस विषय अध्ययनले हालको बढ्दो बेरोजगारी समस्यालाई कम गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । एकेडेमीको शैक्षिक विभाग प्रमुख डिल्लीराम तिवारीले कार्यक्रमको सहजीकरण गर्दै नेपाल सरकारबाट एसईई उत्तिर्ण भएका जुनसुकै विद्यार्थीले पनि उक्त कोर्ष अध्ययन गर्नसक्ने बताए ।

सेयर बजार सामान्य बढ्यो, ४ अर्ब ६७ करोड रुपैयाँको कारोबार

काठमाडौं । सेयर बजार निरन्तर उकालो लाग्ने क्रममा सोमबार पनि बढेको छ । आइतबार बढेको सेयर बजार सोमबार पनि सामान्य अंकले बढेको हो । यसअघि आइतबार भारि अंकले बढेको बजार सोमबार दिनभरि उतारचढाबका बीच सामान्य अंकले बढेको हो । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.१५ अंकले बढेर २१९६.२५ अंकमा बन्द भएको छ । यसअघि हिजो आइतबार ५४.५८ अंकले बढेको थियो । सोमबार दिनभरिमा २१७ कम्पनीको १ करोड ५ लाख १८ हजार ७१२ कित्ता ६७ लाख २०५ पटक किनबेच हुँदा ४ अर्ब ६७ करोड ७ लाख ९८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि हिजो ४ अर्ब ६० करोड ९७ लाख ९१ हजार २७२ रुपैयाँ बराबरको भएको थियो । आइतबार अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त भएपछि लगानीकर्ताहरुलाई सेयर किन्ने वा बिक्री गर्ने भन्नेमा अन्यौल जस्तो देखिएको छ । आइतबार बैंकिङ्ग समूह ०.४ प्रतिशत, ट्रेडिङ्ग समूह ३.५४ प्रतिशत, हाइड्रोपावर समूह ०.७२ प्रतिशत, म्यानुफ्याक्चरिङ्ग एण्ड प्रोसेसिङ्ग समूह १.९९ प्रतिशत, इन्भेष्टमेन्ट समूह ०.७१ प्रतिशत बढेको छ । त्यस्तै, होटल एण्ड टुरिजम समूह २ प्रतिशत, विकास बैंक समूह १.४५ प्रतिशत, फाइनान्स समूह ०.१ प्रतिशत, निर्जीवन बीमा समूह ०.२३ प्रतिशत, अन्य समूह ०.६५ प्रतिशत, माइक्रोफाइनान्स समूह १.१८ प्रतिशत, जीवन बीमा समूह ०.१९ प्रतिशत, म्युचुअल फण्ड समूह ०.३९ प्रतिशतले घटेको छ । सोमबार बुटवल पावर कम्पनीको ६.९५ प्रतिशतले सेयर मूल्य बढेको छ । राष्ट्रिय बीमा कम्पनीको प्रमोटर सेयर मूल्य ५.२९ प्रतिशत घटेको छ ।

कोरोनाको उपचारका लागि स्वास्थ्य मन्त्रालयले तोक्यो १७ अस्पताल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सातवटै प्रदेशका अस्पतालमा उपचारको व्यवस्था गरेको छ । मन्त्रालयले सातवटै प्रदेशमा १७ वटा अस्पतालमा उपचारको व्यवस्था मिलाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरसको मध्यम र गम्भीर अवस्थाका बिरामीलाई उपचारका लागि सातवटै प्रदेशमा रहेका १७ सङ्घ र प्रादेशिक अस्पतालको व्यवस्था गरिएको जानकारी दिए । उनका अनुसार प्रदेश नं १ को कोसी अस्पताल विराटनगर र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, मधेस प्रदेशको जनकपुर प्रादेशिक अस्पताल जनकपुर र नारायणी अस्पताल वीरगञ्ज रहेका छन् । यस्तै बागमती प्रदेशको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, भरतपुर अस्पताल चितवन, वीर अस्पताल काठमाडौं, त्रिभुवन विश्वविद्यालय (त्रिवि) अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र धौलागिरि अस्पताल बागलुङ रहेका छन् । यस्तै लुम्बिनी प्रदेशको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भेरी अस्पताल नेपालगञ्ज, कर्णाली प्रदेशमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सुर्खेत प्रादेशिक अस्पताल वीरेन्द्रनगर तथा सुदूरपश्चिम प्रदेशमा सेती प्रादेशिक अस्पताल धनगढी र डडेल्धुरा अस्पताल रहेका छन् ।

बेष्ट फाइनान्सले माग्यो कर्मचारी, साउन ३० गतेभित्र आवेदन दिनुपर्ने

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीले दुई पदमा कर्मचारी मागेको छ । फाइनान्सले सोमबार एक सुचना प्रकाशन सुचना प्रविधि विभाग प्रमुखको लागि १ जना र मार्केटिङको प्रमुखको लागि १ जना कर्मचारी माग गरेको हो । फाइनान्सको अनुसार सूचना प्रविधि विभाग प्रमुख पदका लागि मान्य प्राप्त विश्वविद्यालयबाट सूचना प्रविधि विषयमा ब्याचलर्स डिग्री गरी सम्बन्धित क्षेत्रमा दुई वर्ष काम गरेको अनुभव हुनुपर्नेछ । यस्तै, मार्केटिङको प्रमुखको लागि नेजमेन्ट वा ईकोनोमिक्समा ब्याचलर डिग्री गरेको र बैंक तथा वित्तिय संस्थामा मार्केटिङ एण्ड बिजनेश डेभलपमेन्ट चार वर्ष काम गरेको अनुभव हुनुपर्ने सूचनामा उल्लेख छ । सूचनाको अनुसार इच्छुक आवेदकले आफ्नो बायोडाटा र प्रमाणपत्रसहित साउन ३० गतेभित्र फाइनान्सको वेवसाइट आवेदन दिइसक्नुपर्ने छ ।

चितवनमा विकास बजेटको झन्डै आधा रकम खर्च भएन

भरतपुर । चितवनमा विकास निर्माणका लागि विनियोजन भएको बजेटको ५३ प्रतिशतमात्रै खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय चितवनको वार्षिक प्रतिवेदनअनुसार सङ्घ र प्रदेशको पूँजीगत बजेटमा झण्डै आधा रकम खर्च हुन नसकेको हो । आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा भौतिक पूर्वाधार तथा विकास निर्माणका लागि १३ अर्ब ३९ करोड ६२ लाख १५ हजार बजेट विनियोजन भएकामा सात अर्ब १३ करोड २८ लाख ६८ हजार मात्र खर्च भएको कार्यालयले जनाएको छ । जिल्लाको विकास बजेटमध्ये छ अर्ब २७ करोड ३३ लाख ४७ हजार खर्च नभएर रकम फ्रिज भएको कार्यालयका प्रमुख कोष नियन्त्रक मणिभद्र न्यौपानेले जानकारी दिए । उनका अनुसार चालु खर्च भने ९४ प्रतिशत भएको छ । चालु बजेटअन्तर्गत विनियोजन भएको रकम कार्यालय खर्च र तलब भत्ताका लागि खर्च हुन्छ । जिल्लामा विकास निर्माणमा भन्दा तलब भत्तामा नै बढी खर्च हुने गरेको छ । गत आर्थिक वर्षमा चालु बजेट १४ अर्ब १५ करोड ४० लाख ३६ हजार विनियोजन भएको थियो । त्यसमध्ये १३ अर्ब २९ करोड ६० लाख ७८ हजार खर्च भएको छ । जिल्लामा सङ्घअन्तर्गतका ६२, प्रदेशका २१ र स्थानीय तहका सातवटा कार्यालय छन् । यी कार्यालयको पूँजीगत र चालु गरी २७ अर्ब ५५ करोड दुई लाख ५१ हजार बजेट रहेको थियो । त्यसमध्ये २० अर्ब ४२ करोड ८९ लाख ५४ हजार मात्र खर्च भएको कार्यालयका प्रमुख कोष नियन्त्रक न्यौपानेले जानकारी दिए । प्रतिशतका आधारमा ७४ दशमलव १५ प्रतिशत खर्च भएको देखिन्छ । सङ्घतर्फको पूँजीगत बजेट ४९ दशमलव ७५ प्रतिशत खर्च भएको छ । यो खर्च अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा ३० प्रतिशतले प्रगति कम हो । आर्थिक वर्ष २०७७/७८ मा पूँजीगत शीर्षकमा ७९ दशमलव १७ प्रतिशत प्रगति भएको थियो । सङ्घबाट जिल्लामा १० अर्ब नौ करोड ४० लाख ७३ हजार बराबरका विकास निर्माणका योजना आएका थिए । तर पाँच अर्ब २३ करोड ३६ लाख मात्र खर्च भएको छ । चितवनमा सङ्घीय सरकारबाट आउने बजेट बढी भए पनि विकास निर्माणका कामहरु द्रुत गतिमा भएका छैनन् । चितवनमा सङ्घीय सरकारबाट चालु र पूँजीगत गरी २२ अर्ब ७० करोड ७४ लाख ६४ हजार बजेट आएको थियो । त्यसमध्ये १७ अर्ब ११ करोड २१ लाख ८३ हजार खर्च भएको छ । खर्चमध्ये पनि तलब भत्ताका लागि (चालुगत बजेट) १२ अर्ब आठ करोड ८८ लाख १५ हजार खर्च भएको छ । समयमा अख्तियारी आएर पनि काम सम्पन्न हुन नसक्नुमा नीतिगत कारणहरु पनि भएको हुनसक्ने प्रमुख लेखा नियन्त्रक न्यौपानेले बताए । ‘ठेक्कापट्टा, कन्स्ट्रक्शन होलिडे, कोरोना भाइरस, संरचनागत कार्यालयले समयमा स्वीकृति नदिनु, निर्माण व्यवासयीकै कारणले पूँजीगत बजेटको खर्च सन्तोषजनक देखिएन’, उनले भने, ‘विगतका वर्षमा भन्दा विकास बजेट घट्दै गएको छ ।’

४० बिघा जग्गामा एग्रो टुरिजम व्यवसाय गर्दै वाग्ले, कराेडौंको लगानी

काठमाडौं । जग्गा तथा आवास विकास संघका अध्यक्ष इच्छा बहादुर वाग्लेले कृषि-पर्यटन व्यवसाय गर्ने तयारी गरेका छन् । अध्यक्ष वाग्लेले बारामा कृषि-पर्यटन व्यवसाय गर्ने तयारीका साथ काम गरिरहेका छन् । उनका अनुसार अहिले त्यसका लागि जग्गा अधिग्रहणको काम भइरहेको छ । उनले ४० बिघा क्षेत्रफलमा सो व्यवसाय गर्ने तयारी थालेको बताए । नेपालका उत्पादनहरु अर्गानिक रुपमा राखेर त्यही आफुले नै खपत गर्ने योजनाका साथ सो व्यवसाय सञ्चालन गर्ने तयारी भइरहेको उनको भनाइ छ । ‘बारामा मेरो आफ्नै होटल पनि छ, कृषि-पर्यटन व्यवसायबाट उत्पादन वस्तुलाई होटलले नै खपत गर्छ, अब पर्यटनसँगै कृषिमा पनि जाने तयारी गरेको हुँ, पर्यटकका लागि पनि सो क्षेत्र आकर्षणको केन्द्र बन्न सक्छ,’ उनले विकासन्युजसँग भने । ‘अहिले त्यसको लागि जग्गा खरिदको तयारीमा लागको छौं, यसको लागि करिब ४० बिघा जमिनको आवश्यक पर्छ, करिब १५ बिघा जमिन खरिद गरिसकेका छौं, सो ठाउँमा जग्गाको मूल्य कठ्ठाको ३ लाख रुपैयाँ जस्तो पर्न जान्छ, झन्डै ६० लाख रुपैयाँ बिघाको पर्छ, जमिन खरिदको लागि ३०/४० करोड रुपैयाँ लाग्न सक्छ, यसलाई एकै पटकभन्दा पनि क्रमबद्ध रुपमा विकास गर्दै लैजाने हो,’ उनले भने । उनका अनुसार सो क्षेत्रमा सयौंले रोजगारी पाउनेछन् भने कराडौं लगानी लाग्नेछ । परियोजनाको विस्तृत अध्ययन गर्न भने बाँकी नै छ । उनका अनुसार सो क्षेत्रमा समय अनुसारको बिउ बिजन पनि उपलब्ध गराउने कृषि जडिबुटी, फलफूल उपादन गर्नेदेखि अन्न पनि उत्पादन हुनेछ । उनले यसको सञ्चालन फागुनबाट हुने बताए । उनले बारालाई स्वदेशी तथा विदेशी पर्यटकको हब बनाउने योजना रहेको सुनाए । पछिल्लो समय कृषि पर्यटनको चर्चा निकै बढेको देखिन्छ । कोरोना महामारीका कारण पर्यटन व्यवसाय संकटमा परेपछि त यसको महत्व झनै बढेको छ । नेपाल भुपरिवेष्ठित मुलुक भएका कारण कच्चा पदार्थ ल्याउन सहज नहुने भएकाले यहाँ ठूला ठूलो कलकारखाना र उद्योग सञ्चालन गर्न सहज छैन । तर यसको विकल्पमा नेपालको आर्थिक विकासमा पर्यटन र कृषि उपयुक्त माध्यम बन्न सक्ने धेरैको बुझाइ छ । एग्रो टुरिजमलाई लक्षित गरेर स्थापना गरिएका फार्म हाउसहरुमा आफ्नै उत्पादनमा जोड दिने गरिन्छ । वाग्लेले सो क्षेत्रमा बास पनि बस्न मिल्नेछ ।

म्यानमारमा सङ्कटकाल छ महिना थप

याङ्गुन । म्यानमारका अधिकारीहरुले यहाँको राष्ट्रिय सङ्कटकालीन अवस्थालाई थप छ महिना लम्ब्याएका छन् । म्यानमारको नेसनल डिफेन्स एण्ड सेक्युरिटी काउन्सिलले आइतबार सो निर्णय गरेको हो । सो काउन्सिलले म्यानमारमा हाल जारी रहेको सङ्कटकालीन अवस्था अरु छ महिना थपिएको जानकारी दिएको हो ।सो काउन्सिलले यहाँ आम निर्वाचन गर्ने प्रयोजनका लागि समय आवश्यक रहेको भन्दै त्यसका लागि संकटकालीन अवस्था अरु छ महिना थप्नुपरेको जनाएको छ । म्यानमारको संविधानअनुसार यहाँ संकटकालीन अवस्था बढीमा दुई वर्षसम्म घोषणा गर्न मिल्दछ । यहाँका कार्यबाहक राष्ट्रपति यु मिन्त स्वेले गत वर्षको फेब्रुअरी १ मा एक वर्षका लागि सङ्कटकाल घोषणा गरेका थिए । त्यसपछि यही वर्षको जनवरी ३१ मा यहाँको नेसनल डिफेन्स एण्ड सेक्युरिटी काउन्सिलले सङ्कटकाल लम्ब्याएको थियो । म्यानमारमा प्रजातान्त्रिक सरकारलाई अपदस्थ गरेर सैनिकले सत्ता हत्याएको छ । यहाँको सैनिक सरकारले बहुदलीय प्रतिस्पर्धात्मक आम निर्वाचन गर्ने तयारी थालेको जनाएको छ । रासस/सिन्ह्वा

महालक्ष्मी विकास बैंकले १ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

काठमाडौं । महालक्ष्मी विकास बैंकले १ अर्ब रुपैयाँको १० लाख कित्ता दश वर्षे ऋणपत्र बिक्री गर्न भएको छ । प्रति कित्ता १ हजार अंकित यस ऋणपत्रको बिक्री प्रबन्धकमा बैंकले एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ । सोमबार उक्त सम्झौतामा महालक्ष्मी विकास बैंक र एनआईसी एशिया क्यापिटलबीच सम्झौता भएको छ । उक्त ऋणपत्र मध्ये ६० करोड रकम बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट र ४० करोड बराबरको ऋणपत्र रकम सर्वसाधारण नेपालीहरुमा सार्वजनिक निष्कासनबाट बिक्री गरिने बैंकले जानकारी दिएको छ ।