काठमाडौं । पछिल्लो समय नियमित रुपमा भारतबाट पेट्रोलको मूल्य घटेर आएको भएपनि नेपाल आयल निगम भने मूल्य नघटाउने योजनामा छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । अगष्ट १ तारिखमा पठाएको नयाँ मूल्य सूचीअनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर १६ रुपैयाँ ८० पैसा र डिजेल/मट्टितेलमा समान प्रतिलिटर १२ रुपैयाँ ४५ पैसाले घटाएर पठाए पनि आयल निगम भने नघटाउने योजना बनाइरहेको छ ।
नेपाल आयल निगमका अनुसार निगम अहिले पनि मासिक ४ अर्ब ३२ करोड रुपैयाँ घाटामा छ । त्यसैले पनि मूल्य घटाउने योजना नभएको निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार मूल्य घटाउने वा बढाउने विषयमा अहिलेसम्म निर्णय नभएको भएपनि निगम नोक्सानमै रहेकोले घट्न सक्ने सम्भावना छैन ।
‘दुई पटक भारतबाट मूल्य घटेर आएको छ, घटेको मूल्यअनुसार अहिले मूल्य समायोजन गर्न सक्ने अवस्था छैन, आइओसीलाई १४ अर्ब रूपैयाँ तिर्न बाँकी छ, मासिक करिब ४ अर्ब नोक्सानमै छ,’ उनले भने ।
उनका अनुसार मूल्य घटेर आउँदा पनि १५ दिनमा ७५ करोड रूपैयाँ घाटा छ भने मासिक १ अर्ब ५० करोड घाटामा हुनेछ । एकातिर तिर्नुपर्ने ऋण, अर्कोतिर घाटा पनि निरन्तर रहेकाले तत्काल मूल्य कम गर्न नसकिने उनको भनाइ छ ।
अघिल्लो पटक जुलाई १५ तारिखमा पनि आइओसीले पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेलमा प्रतिलिटर १६ रुपैयाँ ५६ पैसाले मूल्य घटाएको थियो । तर मूल्य घटेर आउँदासमेत यता आन्तरिक बजारमा मूल्य समायोजन नगरेको निगमले पेट्रोलमा प्रतिलिटर १४ रुपैयाँ १९ पैसा डिजेल मट्टितेलमा समान २१ रुपैयाँ ९२ पैसा घाटामा नै रहेको जनाएको थियो ।
पछिल्लो पटक अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको निरन्तरको गिरावटपछि दोस्रो पटक इन्धनको मूल्य घटेर आएको हो । हाल अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुड आयलको मूल्य प्रति ब्यारेल १०३ डलर हाराहारी रहेको छ । सो मूल्य थप ओरालो लाग्ने देखिन्छ ।
भारतले पठाउने मूल्य उसले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ ।