साढे १४ करोड रुपैयाँको कोदो आयात 

<p>काठमाडौं । नेपाल कृषि प्रधान देश भएपनि दुई आर्थिक वर्षमा झण्डै साढे १४ करोड रुपैयाँ बराबरको कोदो आयात भएको सरकारी तथ्याङ्कले देखाएको बताएको छ । आर्थिक वर्ष २०७७/०७८ मा ७ करोड २२ लाख रुपैयाँ र गत वर्ष ७ करोड १५ लाख २७ हजार रुपैयाँ गरी कूल १४ करोड ३७ लाख रुपैयाँ बराबरको कोदो आयात भएको [&hellip;]</p>

काठमाडौं । नेपाल कृषि प्रधान देश भएपनि दुई आर्थिक वर्षमा झण्डै साढे १४ करोड रुपैयाँ बराबरको कोदो आयात भएको सरकारी तथ्याङ्कले देखाएको बताएको छ । आर्थिक वर्ष २०७७/०७८ मा ७ करोड २२ लाख रुपैयाँ र गत वर्ष ७ करोड १५ लाख २७ हजार रुपैयाँ गरी कूल १४ करोड ३७ लाख रुपैयाँ बराबरको कोदो आयात भएको राष्ट्रिय कृषक समूह महासंघले बताएको छ । 

राष्ट्रिय कृषक समूह महासंघ, नेपाल, एशोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज) र छवेली कृषक समूहले मनाएको कोदो दिवस कार्यक्रममा कोदो खाद्यान्न बालीको मुख्यबाली साथै औषधी गुणसम्पन्न तथा पोसिलोयुक्त खाद्यान्न भएकाले जगेर्ना र उत्पादन तथा उपभोगमा जोड दिन माग गरेका छन् । 

समावेशी आयोगका सदस्य (किसानतर्फ) विष्णु माया ओझाले कोदोको संरक्षणमा जोड दिनुपर्ने बताउँदै उपभोग बढाउनुपर्नेमा जोड दिईन । अब कोदा लुकाएर सेवन भन्दा पनि सबैलाई देखाउने गरि सेवन गर्न उनले आग्रह गरिन् । कोदो सबैभन्दा बढी पोषिलो रहेकाले किसानले आर्थिक तथा स्वास्थ्यको फाइदा लिन सक्ने उनको भनाइ छ । लोप हुन लागेको कोदोबाट थुप्रै परिकार बनाउन सकिने बताउँदै बजारको समस्या नहुने उनको बुझाइ छ । 

किसान आयोगका प्रवक्ता जीवन्ती पौडेलले कोदो नेपालको महत्वपूर्ण खाद्यान्न भएपनि लोप हुने अवस्थामा पुगेको प्रति चिन्ता व्यक्त गरिन् । कोदोलाई सांस्कृतिक खानाका रुपमा विकास गर्दै राष्ट्रिय बालीको मान्यता दिलाउन पहल गर्नुपर्नेमा उनको जोड छ । 

कृषि अभियानका संयोजक उद्धव अधिकारीले कोदो हेपहा बालीको रुपमा चिनिएको भएपनि अन्य बाली भन्दा १० गुणा पोषिलो रहेको बताए । कोदो विज्ञ छवि पौडेलले कोदोमा औषधी हुने भएकाले नियमित सेवन गर्न सुझाव दिए । 

जलवायुमैत्री खेतीका साथै कोदोको स्वास्थ्य लाभ र यसको खेतीका लागि उपयोगिताबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ७० भन्दा बढी देशहरूको समर्थनमा संयुक्त राष्ट्रसंघको महासभाले २०२३ लाई कोदो अन्तराष्ट्रिय वर्षको रुपमा मनाउने घोषणा गरेको छ । नेपालमा २०७७ साउन १५ देखि कोदो दिवसका रुपमा मनाउन सुरु गरिएको हो । 

रैथानीबालीको रुपमा रहेको कोदो बालीको संरक्षण, सम्वर्द्धन तथा उत्पादनमा वृद्धिका लागि आइतबार ‘कोदोको योगदानः खाद्य तथा पोषण सुरक्षामा बरदान’ कोदो दिवस मनाएको हो । राष्ट्रिय कृषक समूह महासंघ, नेपाल, एशोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज) र छवेली कृषक समूहले मकवानपुरको भिमफेदी गाउँपालिकाको छवेलीमा गएर कोदो दिवस मनाएको महासंघका अध्यक्ष नवराज वस्नेतले जानकारी गराए । 

कोदोको महत्व 

कोदो पोष्टिकताको हिसाबले विश्वको महत्वपूर्ण बाली हो । यो थोरै खाएर पनि पेट भरिने र धेरै पोषण प्राप्त गर्न सकिने हुन्छ । यसमा असाध्यै धेरै पौष्टिक तत्व रहेको हुन्छ । खाद्य तथा पौष्टिक सुरक्षामा ठूलो योगदान गर्दछ । रेसा र शरिरलाई चाहिने क्याल्सियम, फसफोरस, फलाम, लवन, अमिनोएसिड लगायतका खाद्य पदार्थ पाईने हुनाले  मधुमेह, एनिमिया, हड्डि बलियो बनाउने, मुटु तथा रगतको मात्रा बढाउनलाई औषधीय बस्तुको रुपमा प्रयोग भएको पाईन्छ । 

यसले रगतमा बोसो र कोलेस्टरोलको मात्रा घटाउछ । जाडो याममा कोदो खानाले चिसोबाट बचाउन र सर्दि हटाउन यो उपयोगी हुन्छ । कोदोलाई हिमालयन सुपर फुड (हिमालयन सर्बेाउत्तम खाना)को रुपमा चिनिन्छ ।  नेपालका आदिवासी जनजाती समुदायहरुमा चाडपर्व तथा पुजा आजामा कोदोको रक्सी चढाउने तथा अतिथि सत्कारमा प्रयोग हुने भएकाले यसको सांस्कृतिक महत्व रहेको छ । पशु बस्तुको लागि समेत यो महत्वपूर्ण आहार हो ।

भाते संस्कृतिलाई न्यूनिकरण गरी खाद्य विविधता र पोषण सुरक्षामा नयाँ आयाम शुरुवात गर्न सकिन्छ । पौष्टिकता र औषधीयपन तथा मानव  स्वास्थमा पुर्याउने टेवाबारे ज्ञानको प्रसार गरि यसको प्रवद्र्धन गराउन सकिन्छ । शिशु खाद्य, बृद्ध खाद्य, तथा विभिन्न परिकारको रुपमा विस्तार गर्न सकिन्छ । 

अनुसन्धानबाट उन्नत प्रविधिको विकास गरि उत्पादन गराउन सकिन्छ । सम्मानित बालीको रुपमा विकास गरी यसको महत्वलाई बृद्धि गर्न सकिन्छ । राष्ट्रिय नीतिमा सम्बोधन गराई कोदोलाई मदिरा उद्योगको आधारको रुपमा विकास गर्न सकिन्छ । राष्ट्रिय कानुनमा नै सुधार गरी नेपाली ब्राण्डेड कोदोको मदिरा उत्पादन र विदेश निकासी गर्न सकिन्छ । जलवायु परिवर्तनको न्यून प्रभाव पर्ने भएकाले दिर्घकालीन कृषि बालीको रुपमा विकास गर्न सकिन्छ । 

सिमावर्ती क्षेत्रमा हुने सस्तो र कम गुणस्तरको उत्पादन र आयातले आन्तरिक उत्पादन विस्थापन गरायो । फलस्वरुप गत वर्ष सात करोड १५ लाख २७ हजार रुपियाँ बराबरको कोदो आयात भएको पाईन्छ भने आर्थिक वर्ष २०७७/७८ मा सात करोड २२ लाख रुपियाँ बराबरको कोदो आयात भएको सरकारी तथ्याङ्क छ । पाखो खोस्रेर दाना फाल्दा पनि उम्रेर फल्ने भएकाले उत्पादनलाई व्यवस्थित गर्दै करोडौंको आयात रोक्न स्वेदशमै कोदो उत्पादनलाई प्रवद्र्धन गर्न आवश्यक देखिन्छ । 

Share News