विकासन्युज

नेपालमा उत्पादन हुने ९८ प्रतिशत वस्तुमा भन्सार महसुल नलगाउने चीनको घोषणा

काठमाडौं । चीनले नेपालसहित १६ वटा अल्पविकसित देशहरुमा उत्पादन हुने वस्तुमा भन्सार महसुल नलगाउने घोषणा गरेको छ । चीनको राज्य परिषदको भन्सार शुल्क आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै १६ वटा अल्पविकसित देशहरुमा उत्पादन हुने ९८ प्रतिशत वस्तुहरुमा भन्सार महसुल नगलाउने घोषणा गरेको हो । चीनका अनुसार यो व्यवस्था भने सेप्टेम्बर १ तारिखदेखि लागू हुनेछ । चीनसँग अल्विकसित देशको सम्बन्ध समधुर बनाउने, बजार आदानप्रदान गर्ने र ती देशहरुको आर्थिक विकासका लागि यो निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । हाल चीनले नेपाल, कम्बोडियो, लाओस, टोगो, जिबुटी र रुवान्डा लगायत १६ वटा अल्पविकसित देशमा यस्तो व्यवस्था गरेको हो ।

जानकी टेक्नोलोजीले पायो ‘आइसिटी अवार्ड अफ एक्सिलेन्स’

काठमाडौं । मदेश प्रदेश सरकारको अर्थ मन्त्रालयको तर्फबाट जानकी टेक्नोलोजिले ‘एक्सिलेन्स फर इनोभेसन इन इमर्जिङ्ग सेक्टर्स अफ द प्रोभिन्स आइसिटी अवार्ड’ पाएको छ । सोमबार  एसइइपि, सिएनआइ, युके ऐड र स्वदेशीले आयोजना गरेको कार्यक्रममा टेक्नोलोजिले उक्त अवार्ड पाएको हो । आईसीटी क्षेत्रमा उत्कृष्ट नवप्रवर्तन अभ्यासको कदर गर्दै मुख्यमन्त्री लालबाबु राउतको उपस्थितिमा मधेस प्रदेशको मुख्यमन्त्री कार्यालयले जानकी टेक्नोलोजीले उक्त अवार्ड पाएको हो । जानकी टेक्नोलोजी २००७ मा एक कलेज छात्रावासबाट सुरु भएको सह-संस्थापक संचालित कम्पनी हो । कम्पनीले एक दशकदेखि नेपालको टेक्नोलेजीको क्षेत्रमा धेरै प्रविधिहरू स्थापना गरिसकेको छ । जानकी टेक्नोलोजीका सहसंस्थापक अरविन्द शाहले प्रतिष्ठित आइसिटी अवार्ड अफ एक्सिलेन्स प्राप्त गर्नु ठूलो सम्मान भएको बताए । ‘सूचना र प्रविधि हाम्रो समाज, हाम्रो देश तथा हाम्रो अर्थतन्त्रका अत्यावश्यक अंगहरू हुन्, प्रतिष्ठित आइसिटी अवार्ड अफ एक्सिलेन्स प्राप्त गर्नु हाम्रा लागि ठूलो सम्मान हो, यी मान्यताहरूले हामीले समुदाय र राष्ट्रलाई कसरी प्रोत्साहन पुर्याएका छौं भनेर देखाउँछ,’ उनले भने ।

गुणस्तरहीन वस्तु बेच्ने ११५ वटा उद्योग फर्म र व्यापारीविरुद्ध मुद्दा दर्ता

काठमाडौं । सरकारले गुणस्तरहीन खाद्य वस्तु बेचेर उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने १ सय १५ वटा उद्योग फर्म तथा व्यापारीविरुद्ध मुद्दा दायर गरेको छ । मंगलबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पत्रकार सम्मेलन गर्दै बजार अनुगमन गरी संकलन गरिएका नमूना परीक्षणबाट दोषी देखिएका १ सय १५ उद्योग, फर्म तथा व्यापारीहरुबिरुद्ध मुद्दा दायर गरेको जानकारी दिएको हो । विभागले गत आर्थिक वर्षमा बजार अनुगमन गरी ४ हजार ६ सय ६० वटा नमुना संकलन गरेको थियो । संकलित नमूनामध्ये ५.४२ प्रतिशत मापदण्ड विपरित पाइएको विभागले जनाएको छ । विभागले अनुमगन गर्दा फल तथा सागपातजन्य पदार्थ सबैभन्दा प्रतिकुल पाइएको बताएको छ । पत्रकार सम्मलेन बोल्दै विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले परीक्षणबाट फल तथा सागपातजन्य पदार्थका ६१ वटा नमूना दुषित देखिएको बताए । उनले खाद्यान्न/दलहनजन्यका ५३ वटा, प्रशोधित पिउने पानीका २९ वटा, दाना पदार्थका १७ वटा, दुध तथा दुग्ध पदार्थका १५ वटा, तेल तथा घ्युजन्यका १४ वटा, चिया कफिका १३ वटा, मसलाका ६ वटा, गुलियो पदार्थका ४ वटा, मासु तथा मासुजन्यको १ र अन्यको ११ वटा गरी जम्मा २ सय २४ वटा नमूनाहरुको परीक्षण प्रतिवेदन प्रतिकुल पाइएको जानकारी दिए । उनले दुषित खाद्य पदार्थ बेचेको अभियोगमा १ सय १५ वटा मुद्दा दायर गरिएकामध्ये खाद्यान्न एवं दलहन तथा सोबाट बनेका पदार्थका सबैभन्दा धेरै ३० वटा, दुध तथा दुग्ध पदार्थका १९ वटा, दानाको १८ वटा, प्रशोधित पिउने पानीका १४ वटा, चिया तथा कफीका ८ वटा मुद्धा दायर गरिएको जानकारी दिए । त्यस्तै, फल तथा सागपातका ७ वटा, मसला पदार्थका ५ वटा, गुलियो पदार्थका ३ वटा, तेल तथा घ्युजन्यको २ वटा, सोयाससको १ र अन्य ८ वटाविरुद्ध पनि विभागले जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा मुद्दा दायर गरेको विभागले बताएको छ । गत आर्थिक वर्षमा खाद्य दाना उद्योग, होटल रेष्टुरेण्ट, राजमार्गका होटलमा पनि अनुगनम गरेको थियो । विभागले तत्काल सम्बोधन टोलीअर्थात ¥यापिट रेस्पोन्स टिममाफत कारबाही लगायत ८ हजार ८ सय ६६ पटक निरीक्षण गरेको थियो । विभागले गत बर्षको अवधिमा ७ सय ३ वटा नयाँ उद्योग स्थापना गर्न सिफारिस गरेको छ भने १ हजार ४ सय ८१ वटा उद्योगको अनुज्ञापत्र नवीकरण गरेको छ । यस्तै, विभागले गत आर्थिक वर्षमा ६ सय ३६ वटा होटल रेष्टुरेण्ट समेत अनुगमन गरेको थियो ।

८१४ जनामा देखियो कोरोना संक्रमण

काठमाडौं । एकैदिन ८१४ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ५ हजार ४१५ जनामा परिक्षण गर्दा ८१४ जनामा संक्रमण देखिएको छ । यस्तै, आज २९९ जना संक्रमणमुक्त भएका छन् । योसँगै, नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार १४४ पुगेको छ ।

दुई सातामै ९१ अर्बले घट्यो बैंकहरुको निक्षेप, बढ्यो सीडी रेसियो

काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप दुई सातामै ९१ अर्ब रुपैयाँले घटेको छ । नेपाल बैंकर्स संघका अनुसार असारको अन्तिम साताको तुलनामा साउनको दोश्रो सातामै ९१ अर्ब रुपैयाँले निक्षेप घटेको हो । गत असार मसान्तमा ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप साउनको दोश्रो सातामा घटेर ४४ खर्ब ५० अर्ब रुपैयाँमा सीमित भएको छ । जुन अघिल्लो साताको तुलनामा २८ अर्ब रुपैयाँले कम हो । साउनको पहिलो सातामा बैंकहरुमा यस्तो रकम ४४ खर्ब ७८ अर्ब रुपैयाँ थियो । निक्षेपसँगै बैंकहरुको कर्जा लगानी पनि घटेको छ । दुई सातामै बैंकको कर्जा लगानी ११ अर्ब रुपैयाँले घटेको छ । असार मसान्तमा ४१ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले साउन दोश्रो सातामा ४१ खर्ब ६४ अर्ब रुपैयाँमा सीमित भएको छ । जुन साउनको पहिलो सातामा ४१ खर्ब ६५ अर्ब रुपैयाँ थियो । त्यस्तै, समीक्षा अवधिमा सीडी रेसियो बढेर ८७.९८ प्रतिशत पुगेको छ । जुन साउनको पहिलो सातामा ८७.७५ प्रतिशत थियो भने असार मसान्तमा ८६.४१ प्रतिशत थियो ।

नेप्सेमा एक लघुवित्तको २१.५० प्रतिशत सहित २ को बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । एनमएबि लघुवित्त र सगरमाथा इन्स्योरेन्स कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । एनएमबि लघुवित्त वित्तीय संस्थाको २१.५० प्रतिशत बोनस सेयर बापतको ११ लाख ६० हजार ५८०.३७३८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले आर्थिक वर्ष २०७७÷०७८ को नाफाबाट २१.५० प्रतिशत बोनस र १.१३ प्रतिशत नगद गरी कूल २२.६३ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यस्तै, सगरमाथा इन्स्योरेन्स कम्पनीको २० प्रतिशत बोनस सेयर बापतको २२ लाख २२ हजार ७१५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७÷०७८ मा २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद गरी कूल २१.०५२६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

सनराइज बैंकले सुरु गर्यो नेपालपे क्युआरको सेवा

काठमाडौं । सनराइज बैंकले नेसनल पेमेन्ट स्विच अन्तर्गत नेपालपे क्युआरलाई आफ्नो मोबाइल बैंकिङ्ग एप सन्राइज स्मार्टमा एकीकृत गरेको छ । सोमबार एक कार्यक्रम बिच बैंकका नायव महाप्रबन्धक रविन नेपाल तथा नेपाल क्लियरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत निलेस मानसिंह प्रधानले संयुक्त रुपमा यो सेवाको शुभारम्भ गरे । योसँगैं, सनराइज बैंकका ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग एप प्रयोग गरी नेपालपे क्युआर र्मचेन्टहरुमा सजिलै भुक्तानी गर्न सक्नेछन् । साथै, सनराइज बैंकमार्फत क्युअर भुक्तानी सेवा लिएका वा लिन चाहने ब्यावसायी हरु नेपाल पे कयुआर स्टयाण्डी प्राप्त गर्न पनि सक्नेछन्। सनराइज बैंकले १५९ एटिएम , १३९ शाखा, १३ वटा एक्सटेन्सन काउण्टर, ९४ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आएको छ ।

‘प्रिय पात्र’ का रूपमा इन्ट्री गरेका मरासिनी ‘धोकेवाज’ बनेर बाहिरिँदै

काठमाडौं । २०७८ साउन १७ गते अर्थसचिवमा मधुकुमार मरासिनी नियुक्त हुँदा धेरैको ‘टार्गेट’ मा परे अर्थमन्त्री  जनार्दन शर्मा । आफु निकट व्यक्तिलाई अर्थसचिव बनाएको भन्दै उनको ठूलो आलोचना भयो । तत्कालीन अर्थसचिव शिशिरकुमार ढुङ्गानाले अर्थ मन्त्रालयमा राम्रै पफर्मेन्स दिइरहेको बेला उनलाई अर्थबाट बिदाइ गरेर सरकारले उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरियो । अवकाश पाउन केही दिन मात्रै बाँकी रहेका ढुङ्गानालाई सरुवा गर्नुको कारण धेरैले खोजे । तर, विषय त्यतिकैमा सेलायो । त्यसपछि शर्माको ‘प्रिय पात्रको रूपमा चिनिए मधुकुमार मरासिनी । तर, भनिन्छ नि ‘सधैं समय र परिस्थिती आफ्नो बसमा कहाँ चल्छ र ।’ हो यही भनाइ अर्थमन्त्री शर्मा र अर्थसचिव मरासिनीको जीवनामा चरितार्थ भएको छ । अहिले यी दुवै जनाको हारगुहार प्रधानमन्त्री देउवा समक्ष छ । शर्माले आफु अनुकुल व्यक्तिलाई अर्थसचिव बनाउनु पर्ने माग देउवा समक्ष राखिरहेका छन् भने मरासिनी अर्थ मन्त्रालयबाट अन्तै सरुवा मागिरहेका छन् । पछिल्ला यि र यस्तै विभिन्न घटनाक्रमहरूले पनि अर्थमन्त्री शर्मा र अर्थसचिव मरासिनीबीचको विवाद छर्लङ्ग भएको छ । शर्मा अर्थमन्त्रीमा नियुक्त भएको तीन दिन हुँदा समेत अर्थसचिव मरासिनी मन्त्रालय उपस्थित नहुँदा उनीहरुबीचको विवाद छर्लङ्ग भएको हो । अर्थमन्त्रालय स्रोतका अनुसार आजसम्म पनि मरासिनी अर्थमन्त्रालयमा उपस्थित भएका छैनन् । साउन १५ गतेदेखि उनी मन्त्रालयमा उपस्थित नभएका हुन् । जनार्दन शर्मा पनि साउन १५ गते नै अर्थमन्त्रीमा पुनः नियुक्त भएका थिए । सो दिन उनी अनुपस्थित थिए । उनी अर्थमन्त्रीको स्वागत कार्यक्रममा अनुपस्थित भएपछि धेरैले मन्त्री र सचिवबीचको सम्बन्धमा ठूलो दरार आएको टीप्पणी गरेका थिए । मन्त्री नियुक्त भएको तीन दिनसम्म पनि उनी मन्त्रालयमा नआएपछि अब उनी अर्थमन्त्रालयबाट बाहिरि लागेको आशंका पनि धेरैले प्रकट गरेका छन् । उसो त अर्थमन्त्रालय स्रोततले पनि अर्थसचिव मधुकुमार मरासिनीले प्रधानमन्त्रीसँग सरुवाका लागि छलफल गरिसकेका छन् । प्रधानमन्त्री उनको सरूवाप्रति सकारात्मक भएमा अब केही दिनमै उनको सरूवा हुन सक्ने स्रोतको भनाइ छ । तर, मरासिनीले सरुवा कुन मन्त्रालयमा मागेका छन् भन्ने विषय भने खुलेको छैन । यसअघि पनि उनी शर्मासँगकै टसलले विदामा बसेका थिए । बजेट निर्माणमा मन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेशको विषयमा ठूलो विरोध भएपछि शर्मा र मरासिनीको विवाद बढेको थियो । मरासिनीले शर्मा मन्त्रालयमा हुँदासम्म आफु काममा नफर्किने भन्दै विदामा बसेका थिए । जेठपछि मात्रै उनी तीन पटक विदामा बसिसकेका छन् । बजेट सार्वजनिक लगत्तै उनी लामो समय विदामा बसेर अमेरिका घुम्न गएका थिए । दोस्रो पटकको विदामा उनी विदा बस्ने दिननै शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएपछि लगत्तै प्रधानमन्त्री देउवाले नियमित काममा फर्कन आग्रह गरेपछि उनी पछिल्लो दिनदेखि नै काममा फर्किएका थिए । अहिले शर्मा पुनः मन्त्री भएपछि उनी विदामा बसेका हुन् । उनले अब अर्थमन्त्रालयबाट नै बाहिरिन चाहेको स्रोतको दाबी छ । तर, सरकारले अर्थसचिव कसलाई बनाउने भन्ने यकिन नगर्दा उनले मागेको सरुवा स्वीकृत भइसकेको छैन । स्रोतका अनुसार अहिले अर्थसचिवका लागि राजस्व सचिव कृष्णहरि पुष्कर, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्याल, योजना आयोगका सचिव केवल भण्डारीको नाम चर्चामा छ । अर्थमन्त्री शर्माले राजश्व सचिव पुस्करलाई नै अर्थसचिव बनाउन खोजेको पनि बुझिएको छ । शर्मा अर्थमन्त्रीमा नियुक्त हुँदा पनि पुस्करले नै स्वागत गरेका थिए । ‘कन्भिन्स गर्न नसकेमा दुर्घटनामा परिन्छ’ पूर्व अर्थ सचिव शिशिर कुमार ढुङ्गाना मन्त्रीलाई कन्भिन्स गराउन सक्ने क्षमता सचिवमा हुनु पर्ने बताउँछन् । उनले मन्त्रीलाई सफल बनाउने वा असफल बनाउने भन्ने महत्वपूर्ण भूमिका सचिवको हुने भएकोले सचिवले तथ्य र तथ्यांकको आधारमा रहेर मन्त्रीलाई सल्लाह दिनु पर्ने धारणा राखे । ‘मन्त्रीलाई सफल पार्नुका लागि सचिवको भूमिका महत्वपूर्ण हुन्छ, प्रशासन र मन्त्री भनेको एक रथका दुई पाँग्रा हुन, प्रशासनले आफ्नो योग्यता, क्षमता, दक्षता र अनुभवका आधारमा काम गर्छ, राजनीतिज्ञ भनेको शक्तिको स्रोत हो, राज्य सञ्चालन गर्ने अधिकार पाउने शक्तिलाई सफल बनाउनका लागि व्यवसायिक सल्लाहकार चाहिन्छ, त्यो भनेको प्रशासनको नेतृत्व गर्ने सचिव हो, उसले तठस्त व्यवहार गर्नु पर्छ, कुनै आग्रह पूर्वाग्रह विना कुनै व्यक्ति वा संस्थाको लागिभन्दा पनि राज्यको हितका लागि काम गर्नु पर्छ,’ उनले भने । उनी अनुसार मन्त्रीलाई काम गर्न प्रेसर हुने भएपनि सचिवले भने सबै प्रक्रिया पुर्याएर अगाडि बढ्नु पर्ने सुझाव दिन्छन् । ‘राजनीतिज्ञहरुको जनताप्रति बढी अट्याचमेन्ट हुन्छ, उनीहरु प्रोसेसभन्दा प्रेसरमा काम गर्न चाहन्छन्, काम छिटो होस् भन्ने उनीहरुको इच्छा हुन्छ, उनीहरुलाई प्रक्रियाको मतलब हुँदैन, कानुन, विधि र त्यसको प्रभाव र असर विषयमा सचिवले मन्त्रीलाई महत्वपूर्ण सल्लाह दिन सक्नु पर्छ,’ उनले भने । उनका अनुसार सचिवले मन्त्रीले गरेको निर्णयले समग्र मुलुकलाई के असर पुग्छ भन्ने विषयमा बुझेर अगाडि बढ्नु पर्ने धारणा राखे । उनले जब प्रशासनले त्यो काम गर्न छोड्छ अनि जहाज दुर्घटनामा पर्ने धारणा राखे । ‘प्रशासनको भूमिका राजनीतिज्ञले पनि सुन्छन्, तथ्य र तथ्यांकले उनीहरुलाई कन्भिन्स गराउने हो, राजनीतिज्ञ आदर्शमा चल्छन्, त्यसमा तथ्य राखेर हामीले कन्भिन्स गर्न सक्नु पर्छ,’ उनले विकासन्युजसँग भने ।