विकासन्युज

सप्तकोशीको बाँध फुट्यो, १ हजार परिवार प्रभावित हुने

काठमाडौं । सप्तकोशी नदीको बाँध फुटेर उदयपुरको बेलका नगरपालिकामा पस्न थालेको छ ।बुधबार बिहान करिब ४ बजेतिर सप्तकोसी नदीको बाँध फुटेर नगरपालिकामा पस्न थालेको हो । तीन सातादेखि नदीको भँगालो रोक्ने प्रयास गर्दा पनि नसकिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले  बताएको छ । बस्तीमा नदी पसेपछि करीब एक हजार घरपरिवार र ठूलो संख्यामा चौपाया प्रभावित हुन सक्ने अनुमान गरिएको छ।

पर्यटन मन्त्रालयका उपसचिव नेपाल ६ लाख घुससहित पक्राउ

काठमाडौं । पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल ६ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई मंगलबार घुससहित पक्राउ गरेको हो । अख्तियारको अनुसार पर्यटन व्यवसायको दर्तासँग सम्बन्धित कामका लागि घुस लिइरहेको अवस्थामा नागपोखरीको एक होटेलबाट उनलाई रंगेहात पक्राउ गरिएको हो ।

सगरमाथा इन्स्योरेन्सको बीमा जनचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले शंकरदेव कलेजका विद्यार्थीलाई निर्जिवन बीमा सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले मोटर बीमा, अग्नी बीमा, सामुद्रिक बीमा, सम्पत्ती बीमा, ‍औषधी बीमा र पशुधन बीमाको विषयमा जनचेतना कार्यक्रम सम्पन्न गरेको गरेको हो । सो कार्यक्रममा बिबिएस प्रोग्रामका निर्देशक रीता मास्के र सगरमाथा इन्स्योरेन्स कम्पनीका तर्फबाट शशीधर शर्मा उपस्थित थिए ।

दृष्टि देखाउने तिलगंगा आँखा शिविरको भित्तेचित्र कथा

काठमाडौं । तिलगंगा आँखा अस्पतालको नाम सबैले सुन्नु नै भएको होला । आँखा सम्बन्धी कुनै समस्या आयो भने तिलगंगा जानु भन्ने साथीभाइ वा नातेदारहरूले सल्लाह दिन्छन् । गाउँमा आँखा शिविर संचालन भइरहेको छ भने सुरुमा तिलगंगा आँखा अस्पताल नै दिमागमा आउँछ । तिलगङ्गाले नेपाली जनता मात्रै होइन, विश्वका कयौं मानिसलाई आँखा देख्ने बनाएर नयाँ जीवन दिएको छ । धेरैले तिलगंगा आँखा प्रतिष्ठानलाई आँखा दिने भगवान मान्छन्, जब लामो समयदेखि दृष्टिविहीन भएकाले संसार देख्छन् ।  मिथिला चित्रकारद्वय राजकुमारी सिंह र अन्जिना यादवको समस्या आँखाको थियो । दुवैजनालाई आँखा नदेख्ने समस्याका कारण जिन्दगी अधुरो लागेको थियो । जब तिलगंगा आँखा प्रतिष्ठानले गाउँमा आँखा शिविर संचालन गर्याे, तब उनीहरूले स्पष्ट रुपमा बन्द संसारमा रहेका आँखालाई खुला संसार देखे ।  तिलगंगा आँखा अस्पताल परिसरको एउटा भित्तामा मिथिला भित्तेचित्र कोरिएको छ । मिथिला चित्रकारद्वय सिंह र यादवले आफ्नो आँखाको समस्याको कथालाई मिथिला भित्तेचित्रमा प्रस्तुत गरिन् । एउटा दुर्गम गाउँमा आँखाका समस्या भएका धेरै मान्छे हुन्छन् । तिलगंगा आँखा अस्पतालले त्यो दुर्गम गाउँमा आँखा शिविर संचालन गर्छ ।  आँखा शिविरमा मिथिला चित्रकारद्वय राजकुमारी सिंह र अन्जिना यादव पनि सहभागी हुन्छन् । उनीहरू आँखा नदेख्ने भएपछि ठूलो समस्यामा परेका थिए । सिंहलाई मोतिबिन्दु भएर चित्रकला नै कोर्न समस्या हुन्छ । चित्रकार यादवलाई पनि सिंहको जस्तै समस्या हुन्छ । शिविरमा सिंह र यादवलाई काठमाडौं बोलाइन्छ । भित्तेचित्रमा एउटा पाटोमा तिलगङ्गाको परिचय छ । तल प्रतिष्ठानको आँखा अस्पताल छ । अर्काे लेन्स फ्याक्ट्रि छ । चित्रको दाया भागको तल्तिरको कुनामा आँखा बैंक छ । त्यसको ठ्याक्कै अर्काे कुनामा शैक्षिक तथा तालिम केन्द्र छ । चित्रको बीचमा अन्धोपनको रोकथाम र नियन्त्रण गरौं, सर्जी सेन्टर अनुसन्धान विभाग लगायत देखाउन खोजिएको छ ।  भित्तेचित्रको तिलगंगा आँखा प्रतिष्ठानको भवन बाहिर बाह्य कार्यक्रम भनेर देखाइएको छ । त्यो भनेको तिलगङ्गाले ग्रामीण भेगमा आयोजना गर्दै आएको आँखा शिविर हो । झट्ट हेर्दा मिथिला चित्रलाई कसैले पनि बुझ्न सक्दैन । तर, त्यो भित्तेचित्रमा कुनै गाउँमा कसैलाई आँखा नदेख्दा उपचार हुन नसक्दा भएको समस्यालाई स्पष्ट पारिएको छ । तिलगंगा आँखा अस्पतालको शिविरमा सहभागी भएर काठमाडौं पुगेर आँखा देख्न पाउँदाको खुशीको सीमा नरहेको सरल रुपमा भित्तेचित्रमा देखाइएको छ ।  त्यो भित्तेचित्र तिलगंगा आँखा प्रतिष्ठानमा कार्यरत कर्मचारीहरूको सम्मानका लागि अष्ट्रेलियाली दुतावासको सहयोगमा कोरिएको हो । ‘दृष्टिको चमत्कारले परिवर्तित जीवनहरू’ शीर्षकको भित्तेचित्र रिलेटीभ नेपाल र सारगी सोसल ईण्टरप्राईजेजले कोरेका हुन् । प्रतिष्ठानको एउटा भित्तामा कोरिएको भित्तेचित्र मंगलबार नेपालका लागि अष्ट्रेलियाका राजदुत फेलिसिटी भोल्क र प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङ्गले संयुक्त रुपमा अनावरण गरेकी हुन् ।  प्रतिष्ठानले विगत ३० बर्षदेखि नेपाल र विश्वमा अन्धोपन निवारण र नियन्त्रणमा ठूलो योगदान पुर्याएको भन्दै भित्तेचित्र मार्फत सम्मान गरेको हो । उपचार गरेमा धेरै प्रकारका अन्धोपन निवारण गर्न सकिने भाव भित्तेचित्रले देखाएको छ । भित्तेचित्रमार्फत नेपालको आँखा स्वास्थ्य क्षेत्रमा भएका उपलब्धीको विश्वमा प्रचारप्रसारमा समेत वृद्धि हुनेछ ।  विश्वव्यापी पहुँचले नेपाली कला संस्कृतिका साथै मिथिला कलाकारलाई सशत्त बनाउने उद्देश्यले यस्ता भित्तेचित्र कोरिन थालिएको हो । भित्तेचित्र मिथिला कलाकृतिबाट बनेको हुँदा यस्ता संस्कृतिलाई जोगाउन अन्य ठाउँमा पनि कोरिने छन् ।  प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङ्गले जनकपुरका मिथिला भित्तेचित्रलाई तिलगंगा आँखा प्रतिष्ठानले नेपालभर दृष्टिमा समस्या भएकाहरुको जीवनमा पारेको प्रभावको प्रतिनिधित्व गरेको बताइन् । 

पैसा नभएको बैंकको चेक काट्ने पुरानो बानेश्वरकी माया पक्राउ, ९० लाख जरिवाना तिर्नुपर्ने

काठमाडौं । नेपाल प्रहरीले उच्च अदालत पाटनबाट रु ९० लाख जरिवाना ठहर भएका एकजनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरी टोलीले बैंकिङ कसुर मुद्दामा उच्च अदालतबाट ९० लाख जरिवाना ठहर भएका खोटाङको दिक्तेल घर भई काठमाडौँको पुरानो बानेश्वर बस्ने ३५ वर्षीय माया बस्नेत थापालाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ थापालाई ९० लाख भएको बैंकिङ कसुरसम्बन्धी मुद्दामा उच्च अदालत पाटनले पक्राउ पुर्जी जारी गरेको थियो । फरार रहेकी थापालाई ललितपुरको बगलामुखीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ थापालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बालाजु पठाइएको सो कार्यालयले जनाएको छ ।

बैंक अफ काठमाण्डू र हिमालयन बैंकले जिते मेलम्चीको मुद्दा, १८२ करोड फिर्ता पाउने

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको बैंक ग्यारेन्टी विवाद सम्बन्धि मुद्दाको अन्तिम फैसला नेपाली बैंकको पक्षमा आएको छ । यसबाट दुई वाणिज्य बैंकले कम्तिमा १ अर्ब ८२ करोड रुपैयाँ फिर्ता पाउने भएका छन् । चीनको सर्वोच्च अदालतले अन्तिम फैसला नेपाली बैंकको पक्षमा फैसला गरेको हो । यो मुद्दा विगत एक दशकदेखि विभिन्न अदालतमा चल्दै आएको थियो । मुद्दा जितेसँगै बैंक अफ काठमाडौंले करिब एक अर्ब २ करोड रुपैयाँ र हिमालयन बैंकले करिब ८० करोड रुपैयाँ  फिर्ता पाउने भएका छन् । मेलम्ची खानेपानी आयोजनाको ठेकेदार चाइना रेल्वेका लागि चाइना कन्स्ट्रक्सन बैंकको तर्फबाट काउन्टर ग्यारेन्टी प्राप्त गरी सो वापत मेलम्ची खानेपानी आयोजनाको नाममा अग्रिम भुक्तानी जमानत जारी गरेको बैंक अफ काठमाण्डू र हिमालयनले उक्त जमानत सम्बन्धी परेको भुक्तानी सम्बन्धी मुद्दा जितेका हुन् । मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको चाइना रेल्वेका तर्फबाट ग्यारेन्टी बसेको चीनको बैंक चाइना कन्स्ट्रक्सन बैंकले बैंक अफ काठमाण्डू र हिमालयन बैंकलाई काउन्टर ग्यारेन्टी दिएको थियो । तर नेपाली कम्पनीले चिनियाँ ठेकदारलाई भुक्तानी दिएपनि चाइना कन्स्ट्रक्सन बैंकले बैंक ग्यारेन्टी वापत नेपाली बैंकलाई भुक्तानी दिन मानेकाे थिएन । यो विवादकाे अन्तिम  फैसलासंगै दुइ बैंकले काउन्टर ग्यारेन्टी वापतकाे मेलम्ची खानेपानी आयोजनालाई भुक्तानी गरिदिएको अमेरिकन डलर ६,६२५,०१० र युरो १,४११,४५३ वापतको रकम बैंक अफ काठमाण्डू लिमिटेडले फिर्ता पाउने भएकाे उक्त बैंकका प्रमुख कार्यकारी अधिकृत श्रवण मास्केले जानकारी दिए । उक्त रकम अहिलेको विनिमयदरमा १ अर्ब २ करोड रुपैयाँ बराबर हुन्छ । त्यस्तै, यस मुद्दाबाट हिमालयन बैंकले ६३ लाख डलर अर्थात करिव ८० करोड रुपैयाँ फिर्ता पाउने बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले बताए । मुद्दा जितेपछि अदालतमा मुद्दा लड्दा भएकाे खर्च र १० वर्षसम्मकाे क्षतिपूर्ति पनि माग गर्ने भएकाेले थप रकम अाउने राणाले बताए ।

गरिमा विकास बैंकले ल्यायो गरिमा डिजी बटुवा, ग्राहकहरुका लागि सबै माध्यमबाट पहुँच हुने

काठमाडौं । गरिमा विकास बैंकले गरिमा स्मार्ट मोबाईल बैंकिङ्ग एपको अपग्रेडेड संस्करण गरिमा डिजी बटुवा सार्वजनिक गरेको छ । डिजी बटुवाले ग्राहकहरुलाई आफ्नो मोबाईल फोन तथा वेबसाइटबाट समान पासवर्ड प्रयोग गरेर बैंक खातामा पहुँचका लागि अनुमति दिन्छ । यसले विभिन्न उपकरणहरुबीच निर्वाध रुपमा कारोबार गर्नका लागि पूर्ण डिजिटल बैंकिङ्गको अनुभव प्रदान गर्ने बैंक बताउँछ । डिजिटल बैंकिङ्ग अनुप्रयोगको नविनतम संस्करण नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफट्ले विकास गरेको हो । गरिमा डिजी बटुवा डिजिटल बैंकिङ्गको सर्वव्यापी दृष्टिकोणमा आधारित छ, जसले ग्राहकहरुलाई उनीहरुको फोनबाट बैंकिङ्ग सेवाहरुको प्रयोगको लागि समान प्रणाली प्रयोग गर्न अनुमति दिन्छ । साथै, यसबाट अतिरिक्त सुविधाहरु जस्तै सजिलै पैसा ट्रान्सफर, विभिन्न बिल भुक्तानीहरु (जस्तैः विजुलीको विल, टेलिफोनको विल, ईन्टरनेटको विल, टाफिक चिट आदि), मोबाईल टप–अप, बैंक ईस्टेटमेन्ट, चेक ईस्टेटमेन्ट रिक्वेस्ट, क्यु.आर. पेमेन्ट ईत्यादिको सजिलै प्रयोग गर्न सक्नेछ। गरिमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले सम्भव भएसम्म उत्कृष्ट अनुभव प्रदान गर्ने कुरा सुनिश्चित गर्न गरिमा विकास बैंकको पछिल्लो प्रयास डिजी बटुवा भएकाे बताए ।  

नेपाल इको प्यानलले एकैपटक तीन वटा आइएसओ लिने

काठमाडौं । नेपाल इको प्यानलले आइएसओ. लिनका लागि प्रक्रिया अघि बढाएको छ । एकैपटक तीन वटा आइएसओ लिनका लागि कम्पनीले प्रक्रिया अघि बढाएको हो । यसका लागि कम्पनीले सफ्टटेक सिआई प्रालिसँंग सम्झौता गरेको छ । कम्पनीले गुणस्तरीय उत्पादन गर्नका लागि गुणस्तरीय व्यवस्थापन प्रणालीमा सुधार, वातावरणमैत्री तवरमा उत्पादन तथा व्यवसायिक सुरक्षा व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मानकमा सुव्यवस्था गर्नका लागि प्रक्रिया अघि बढाएको जानकारी दिएकाे छ । कम्पनीले आइएसओ ९००१ः२०१५ (क्युएमएस), आइएसओ १४००१ः २०१५ (इएचएस) र आइएसओ ४५००१:२०१८ (ओएचएस) को लागि प्रक्रिया अगाडि बढाउन सम्झौता गरेकाे हो । सम्झौतामा नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ईन्जिनियर कृष्णभक्त दुवाल र सफ्टेकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जनार्दन घिमिरेले हस्ताक्षर गरेका छन् । इन्टिग्रेटेड म्यानेजमेन्ट सिस्टम (एकीकृत व्यवस्थापन प्रणाली) लागू गर्न दुई पक्षबीच सम्झौता भएको हो । नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने निर्माण सामाग्री हो ।