विकासन्युज

एक वर्षमा एक खर्ब ७७ अर्बको इन्धन आयात

पर्सा । वीरगञ्ज भन्सार नाकाबाट इन्धनका आयातमा उल्लेख्य वृद्धि भएको छ । आर्थिक वर्ष २०७७/७८को तुलनामा गत आवमा सो नाकाबाट एक सय ७ प्रतिशत बढी डिजल, पेट्रोल, मट्टितेल, हवाई इन्धन र १० प्रतिशत बढी खाना पकाउने एलपी ग्यास आयात भएको हो । आव २०७७/७८ मा सो नाका प्रयोग गरी नेपालका लागि ८६ अर्ब तीन करोड ३६ लाख मूल्यको १५ लाख ९१ हजार १३३ किलोलिटर डिजल पेट्रोल, मट्टितेल र हवाई इन्धन आयात भएको थियो । गत आवमा एक खर्ब ७७ अर्ब ८८ करोड ७७ लाख मूल्यको ३२ लाख ९३ हजार ५३८ किलोलिटर इन्धन आयात भएकोे छ । सो समीक्षा अवधिको तुलनामा ९१ अर्ब ८५ करोड ४१ लाख बढी मूल्याको १७ लाख दुई हजार ४०५ किलो बढी इन्धन आयात भएको हो । गत आवमा डिजलको आयात ११ प्रतिशत, पेट्रोलको आयात २५ प्रतिशत, हवाई इन्धनको आयात दुई हजार ४८० प्रतिशतले बढेको छ, भने मट्टितेलको आयात ३६ प्रतिशतले कम भएको छ । इन्धनसँगै वीरगञ्जबाट खाना पकाउने ग्यासको आयातसमेत बढेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए । उनले आर्थिक वर्ष २०७७/७८मा वीरगञ्ज नाकाबाट १९ अर्ब ८१ करोड २८ लाख मूल्यको दुई लाख २९ हजार २१६ मेट्रिक टन ग्यास आयात भएको र गत आवमा १५ अर्ब ३८ करोड ४६ लाख बढी अर्थात ३५ अर्ब १९ करोड ७४ लाख मूल्यको दुई लाख ८४ हजार ८२४ मेट्रिक टन ग्यास आयात भएको बताए । सो अवधिको तुलनामा ७८ प्रतिशत बढी मूल्यको १० प्रतिशत बढी ग्यास आयात भएको हो । इन्धन तथा खाना पकाउने ग्यासको आयातसँगै वीरगञ्ज भन्सार कार्यालयको राजस्वमा समेत उल्लेख्य वृद्धि भएको छ । वीरगन्ज नाकाबाट आयात हुने इन्धनबाट समीक्षा अवधिमा ४६ अर्ब १४ करोड ४० लाख राजस्व सङ्कलन गरेको तुलनामा गत आवमा ४४ अर्ब दुई करोड २८ लाख बढी अर्थात ९० अर्ब १६ करोड ६९ लाख राजस्व सङ्कलन भएको सूचना अधिकारी गुप्ताले जानकारी दिए । उनले गत आवमा इन्धन आयातबाट सङ्कलित राजस्वमा ९५.४० प्रतिशतले वृिद्ध भएको बताए । वीरगञ्ज नाकाबाट ७० प्रतिशतभन्दा बढी इन्धन र ८५ प्रतिशत भन्दा बढी खाना पकाउने एलपी ग्यास आयात हुने गरेको छ । रासस

छलाङ मार्दै एसबिआई बैंकको नाफा १.६३ अर्ब रुपैयाँ पुग्यो, वितरणयोग्य मुनाफा ३२७ प्रतिशतले उछाल

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ७०.०४ प्रतिशत बढेर १ अर्ब ६३ करोड ८२ लाख ८४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ९६ करोड ३४ लाख ७९ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ५३.७२ प्रतिशत बढेर ४ अर्ब ४० करोड ७७ लाख २३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ८६ करोड ७३ लाख ३५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत वर्षको असार मसान्तसम्मा बैंकको सञ्चालन मुनाफा ७५.०१ प्रतिशत बढेर २ अर्ब ३६ करोड ५१ लाख ८ हजार रुपैयाँ, खुद फि तथा कमिसन आम्दानी २१.०५ प्रतिशत बढेर १ अर्ब २० करोड ३२ लाख ७ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ३९.८३ प्रतिशत बढेर ५ अर्ब ९० करोड ८३ लाख ३६ हजार रुपैयाँ र वितरण योग्य मुनाफा ३२७.१२ प्रतिशत बढेर १ अर्ब ४४ करोड ८८ लाख ५ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ३.५० प्रतिशत बढेर ९ अर्ब ८२ करोड ५८ लाख ५३ हजार रुपैयाँ, जगेडा कोष २३.३५ प्रतिशत बढेर ७ अर्ब २८ करोड ५७ लाख २४ हजार रुपैयाँ, निक्षेप १२.६८ प्रतिशत बढेर १ खर्ब १९ अर्ब ७१ करोड २ लाख ५ हजार रुपैयाँ र कर्जा ८.५८ प्रतिशत बढेर १ खर्ब ५ अर्ब २७ करोड २५ लाख २६ हजार रुपैयाँ पुगेको छ । गत असार मसान्तसम्मा बैंकको प्रतिसेयर आम्दानी पनि ६ रुपैयाँ ५२ पैसा बढेर १६ रुपैयाँ ६७ पैसा पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी १०.१५ रुपैयाँ रहेको थियो । बैंकको मूल्य आम्दानी अनुपात १६.९३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ ३५ पैसा रहेको छ ।

धेरैलाई मन पर्ने कर्कलोको सुप कसरी बनाउने ?

काठमाडौं । यतिबेला बारीमा कर्कलो (पिँडालु)को साग कलकल हुने मौसम हो । नेपालको धेरैजसो क्षेत्रमा कर्कलोको साग पाइन्छ । कर्कलोको पात, डाँठ र जरा बाट धेरै प्रकारका परिकार बनाउन सकिन्छ । जस्तैः कर्कलोबाट विभिन्न तरकारी र अचारका विभिन्न परिकार बनाएर खाने खाने गरेको पाइन्छ । कर्कलोमा प्रशस्त मात्रामा भिटामिन र खनिज तत्वहरु पाइन्छ । विशेषगरी कर्कलोमा भिटामिन ए र आइरन लगायत बी समूहका भिटामिनहरु पाइन्छ । त्यस्तै खनिज तत्वहरुमा फोलेट, क्याल्सियम, फोस्फरस र पोटासियम पनि प्रशस्त मात्रामा पाइन्छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कर्कलोको सुपलाई एउटा परिकारको रुपमा विकास गरेको छ । कर्कलोको पातबाट सजिलो, पोषिलो र कम मूल्यमा आइरन र भिटामिन ए युक्त हरियो सुप जस्तो खाद्य परिकार बनाई खान सकिने विभागले जनाएको छ । कसरी बनाउने कर्कलाेकाे सुप ? कर्कलोको पातलाई केलाएर सफा पानीले राम्ररी पखाल्ने र पखालेको पातलाई मसिनो गरी टुक्रा पार्ने । टुक्रा पारीसकेपछि थोरै पानीमा राखर उसिन्ने र चिसो बनाउने । चिसो भएको कर्कलोलाई मिक्सरमा राखेर पेस्ट बनाउने । कर्न फ्लोर वा मकैको मसिनो पिठोलाई मनतातो पानीमा हालेर फिट्ने । त्यसपछि कर्कलाको पेष्टमा मिसाएर घोल्ने । कर्कलाको पेष्ट र मकैको पिठो मिसायको घोलमा आवश्यकताअनुसार अदुवा, लसुनको पेष्ट, टिमुरको धुलो, नुन र तेल राखेर पकाउने । विस्तारै चलायर राम्ररी पकाउने । पाकीसकेपछि कचौरामा राखेर खाना अगाडि कागतिको रस राखेर चलाएर खाने । यसरी तयार भएको कर्कलोको सुप सबै उमेरका मानिसहरुको लागि उपभोग्य हुने विभागले जनाएको छ । आवश्यक कच्चा पदार्थ कर्कलोको पातको लेदो – ९५ ग्राम कर्न फ्लोर वा मकैको पिठो – ५ ग्राम अदुवाको पेष्ट – २ ग्राम लसुनको पेष्ट – ३ ग्राम टिमुरको धुलो – ०.३० ग्राम जिराको धुलो – १ ग्राम नुन – २ ग्राम भुटेको तोरीको तेल – १० ग्राम पानी – २०० मि.लि. कागतिको रस – १ चिया चम्चा

प्राइम बैंककाे साढे ३ अर्ब बढी नाफा, १९.७३ रुपैयाँ ईपीएस हुँदा वितरणयोग्य नाफा कति ?

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १२.६३ प्रतिशत बढेर ३ अर्ब ६८ करोड १२ लाख ३२ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब २६ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ८.९२ प्रतिशत बढेर ६ अर्ब ४७ करोड ९४ लाख ३७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो अािर्थक वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ९४ करोड ८८ लाख ९० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत असार मसान्तसम्ममा बैंकको सञ्चालन नाफा ११.७७ प्रतिशत बढेर ५ अर्ब २३ करोड ६९ लाख ५६ हजार रुपैयाँ, खुद फि तथा कमिसन आम्दानी २२.२४ प्रतिशत घटेर १ अर्ब १ करोड ३० लाख ९३ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १.४८ प्रतिशत बढेर ७ अर्ब ९५ करोड ८४ लाख ७६ हजार रुपैयाँ र वितरण योग्य मुनाफा ११.८९ प्रतिशत घटेर २ अर्ब ३४ करोड ६४ लाख ४ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १६ प्रतिशत बढेर १८ अर्ब ६५ करोड ६३ लाख २२ हजार रुपैयाँ, जगेडा कोष १३.२२ प्रतिशत बढेर ८ अर्ब ८९ करोड ७७ लाख २ हजार रुपैयाँ, निक्षेप ३.९३ प्रतिशत बढेर १ खर्ब ६० अर्ब २० करोड ३३ लाख ५० हजार रुपैयाँ र कर्जा ९.४४ प्रतिशत बढेर १ खर्ब ४८ अर्ब १६ करोड ६९ लाख ५४ हजार रुपैयाँ पुगेको छ । गत असारमसान्तसम्मा बैंकको प्रतिसेयर आम्दानी ५९ पैसा घटेर १९ रुपैयाँ ७३ पैसामा सिमित भएको छ । अघिल्लो अािर्थक वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी २०.३२ रुपैयाँ रहेको थियो । बैंकको मूल्य आम्दानी अनुपात १३.४३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ६९ पैसा रहेको छ ।

विदेशमा रहेका नेपालीले जनुसकुै देशबाट पनि प्रभु बैंकमा डलर खाता खोल्न सक्ने

काठमाडाैं । प्रभु बैंक र गैर आवासीय नेपाली सङ्घबीच विदेशी मुद्रामा खोलिने खाता तथा अन्य बैकिङ सेवा सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र गैर आवासीय नेपाली सङ्घका तर्फबाट अध्यक्ष विनोद कुवँरले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार गैर आवासीय नेपाली तथा गैर आवासीय नेपाली सङ्घका सदस्यहरुले विदेशका जुनसुकै देशहरुबाट पनि प्रभु बैंकमा विदेशी मुद्रामा बचत खाता खोल्न तथा संचालन गर्न सक्नेछन् । बैंककाे अनुसार यस प्रकारका खाताहरु अमेरिकी डलर, युरो, पाउण्ड स्टर्लिङ, अष्ट्रेलियन डलर र जापानिज येनमा न्युनतम मौज्दात अमेरिकी डलर एक हजार वा सो बराबरको उपर्युक्त परिवत्र्य विदेशी मुद्रा कायम गरी खोल्न सकिनेछ । साथै, यसरी खोलिएको खातामा नेपाल राष्ट्र बैंकको निति, नियम तथा निर्देशनको अधिनमा रहि विदेशबाटै बैंकिङ्ग प्रणलीबाट मात्र रकम जम्मा गर्नु पर्नेछ । यस्ता खातामा नगद रकम जम्मा गर्न पाईने छैन र जम्मा गरेको रकम तथा आर्जन गरेको ब्याज विदेशमानै फिर्ता लानु परेमा जम्मा गरेकै मुद्रामा जुन देशबाट रकम पठाएको हो सोही देशमा निक्षेप कर्ताको नाममा रहेको बैंक खातामा मात्र पठाईनेछ । तर, यस्ता खातामा रहेको रकम नेपालमै खर्च गर्न तथा रकमान्तर गर्न सकिने बैंकले जनाएकाे छ ।  

बीमा कलेज स्थापना गर्दै समिति, कम्पनीको शाखासँगै अण्डरराइटिङ्गलाई व्यवस्थित बनाउने

काठमाडौं । बीमा समितिले बीमा कलेज स्थापना गर्ने भएको छ । समितिले बीमा शिक्षाको विकास गर्न चालु आर्थिक वर्षमा बीमा कलेज स्थापना गर्ने योजना बनाएको हो । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले समितिको आर्थिक वर्ष २०७९/८० को कार्ययोजना अन्तर्गत सो कामलाई अघि बढाउने बताए । उनका अनुसार समितिले चालु आवमा बीमाको विकासलाई विशेष जोड दिँदै संस्थागत संरचनाको व्यवस्था गर्ने योजना बनाएको छ । जसमा बीमा कलेज स्थापनासँगै बीमा सूचना केन्द्र र बीमित हित संरक्षण कोष स्थापना गर्ने कार्यक्रमहरु छन् । उक्त बीमित हित संरक्षण कोष मार्फत बीमा कम्पनीले बीमा दायित्व भुक्तानी सम्बन्धमा सो कोषबाट रकम भुक्तानी गर्ने र बीमितको हित रक्षा हुने समितिले बताएको छ । नियमावली, नीति तथा रणनीतिक योजना तयार गर्ने समितिले यो कार्यक्रम अन्तर्गत बीमा नियमावलीको मसौदा तयार गर्ने भएको छ । त्यस्तै, बीमा क्षेत्रको थप विकास गर्न राष्ट्रिय बीमा नीति तयार गर्ने छ । रणनीतिक योजना तयार गरी कार्यान्वयनमा ल्याउने र बीमा समिति कर्मचारी सेवा, शर्त विनियमावली संशोधन गर्ने समितिको कार्ययोजना छ । बीमा सम्बन्धी कार्यविधि तथा ढाँचा तयार गर्ने यो कार्यक्रम अनुसार समितिले तेस्रो पक्ष सहजकर्तासम्बन्धी कार्यविधि तयार गर्ने छ । जसमार्फत तेश्रो पक्ष सहजकर्ताहरुले बीमा सेवा प्रवाह गर्ने छन् । जोखिममा आधारित निरीक्षण(आरबीएस)को ढाँचा अर्थात फ्रेमवर्क तयार गरी बीमकको जोखिम मापन गर्ने समितिको योजना छ । बीमा समितिको ग्याप एनालाइसिस् अन (एनएफआरएस) वेस फाइनान्सियल स्टेटमेन्टस् र वेभ एग्रिगेटर सम्बन्धी कार्यविधि तयार गर्दै छ । उक्त वेभ एग्रिगेटर मार्फत वेभमा आधारित सेवा प्रदायकहरुद्वारा सेवा प्रवाह हुने समितिको विश्वास छ । मार्गदर्शन, निर्देशिका तयार तथा संशोधन गर्ने कार्ययोजना बनाएको छ । यसमार्फत बीमा सूचना केन्द्र स्थापना, बीमित हित संरक्षण कोष स्थापना, जोखिम न्यूनीकरण गर्न बीमा पुल सम्बन्धी निर्देशिका तयार गर्ने समितिको योजना छ । त्यसैगरी, समितिले डिजिटल प्रणालीबाट बीमालेख जारी गर्ने सम्बन्धी मार्गदर्शन तयार गर्ने भएको छ । बीमा कम्पनी दर्ता तथा बीमा व्यवसाय स‌ंचालन सम्बन्धी निर्देशका, २०७३ संशोधन गर्ने समितिले जनाएको छ । बीमा समितिमा डिजिटलाईजेसनको शुरुवात गर्न सूचना प्रविधि सम्बन्धी कार्यविधि बन्ने भएको छ । बीमा कम्पनीको एयरमार्कको यथार्थ स्थिति यकिन गर्न एयरमार्क सम्बन्धी मार्गदर्शन तयार गर्ने । स्वास्थ्यसँग सम्बन्धित बीमा सेवा दिन क्लिनिकल ट्रायल बीमालेख तयार गर्ने समितिले जनाएको छ । त्यसैगरी, कम्पनीहरुको शाखा र संख्या व्यवस्थित बनाउन शाखा कार्यालय सम्बन्धी मार्गदर्शन बनाउने तयारीमा समिति छ । विदेशी मुद्रा सटही सम्बन्धी व्यवस्था पारदर्शी तथा थप व्यवस्थित बनाउन समितिले थप गृहकार्य गर्ने छ । जसको लागि विदेशी मुद्रा सटही सिफारिस सम्बन्धी मार्गदर्शन तयार गर्ने समितिको योजना छ । मोटर बीमादर सम्बन्धी निर्देशिका २०७३ संशोधन गर्ने र समग्र बीमा क्षेत्रको एमएल सीएफटी रिस्क एसेसमेन्ट अध्यावधिक गर्ने समितिले जनाएको छ । त्यस्तै, सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी व्यवस्थालाई थप व्यवस्थित बनाउँदै लाने छ । बीमाको दायरा विस्तार तथा नयाँ जीवन बीमालेखको विकास गर्न जीवन बीमालेख निर्देशिका, २०७८ संशोधन गर्ने छ । बीमा दावी उजुरीमा विवादित पक्षहरुबीच मिलापत्र गर्न बीमा दावी उजुरी सम्बन्धमा मेलमिलाप मार्गदर्शन तयार गर्ने समितिले जनाएको छ । रिस्क बेसड क्यापिटल लागू गरी कम्पनीको ग्याप एनालाइसिस् गर्न ओआरएसएसम्बन्धी निर्देशिका तयार गर्ने भएको छ । बीमालेख तयार तथा संशोधन यो विषय अन्तर्गत समितिले कृषकहरुलाई कृषि बीमाको दायरमा आउन सहज गराउन कृषि बीमालेख तयार गर्ने भएको छ । त्यस्तै, पिछडिएका तथा न्यून आय भएका वर्ग बीमाको दायरामा समावेश गर्न लघु बीमालेखहरु तयार गर्ने समितिको योजना छ । लघु बीमालेखहरु संशोधन गर्ने, गम्भिर तथा जटिल प्रकृतिका रोग हुन सक्ने व्यक्तिलाई बीमाको दायरमा समावेश गराउन घातक रोग बीमालेख तयार गर्ने छ । नेपाल सरकारको बजेट वक्तव्यमा उल्लेख भए बमोजिम समितिले जडीबुटी खेतीको र खेलाडीहरुको बीमालेख तयार गर्ने छ । यसले बीमाको दायरा बढ्ने समितिको विश्लेषण छ । अन्तरक्रिया तथा छलफल कार्यक्रमलाई विशेष प्राथमिकता समितिले जनचेना अभिवृद्धि विषय अन्तर्गत समितिले अन्तरक्रिया तथा छलफल कार्यक्रमलाई विशेष प्राथमिकता दिने भएको छ । त्यसको लागि प्रदेश सरकार, महानगरपालिका तथा उपमहानगर पालिका, नगरपालिका तथा गाउँपालिका, नगरपालिका तथा गाउँपालिकाहरुको महासंघहरुसँग छलफल तथा अन्तरक्रिया गर्नेछ । जसमार्फत सरकारलाई दायित्व बोध गराउन, सर्वसाधारणलाई जनधनको बीमा गर्न प्रोत्साहन मिल्ने र एकघर एक बीमालेख सम्बन्धी छलफल तथा अन्तरक्रियाले नागरिकहरुमा बीमाको जनचेतना अभिवृद्धि हुने समितिले जनाएको छ । गुणस्तरीय बीमा सेवाको लागि कम्पनीहरुको संख्या कम गर्ने भएको छ । जसको लागि कम्पनीहरुलाई एक आपसमा गाभ्ने तथा गाभिने र प्राप्ति (मर्जर) सम्बन्धी छलफल तथा अन्तरक्रिया गर्ने समितिको योजना छ । बीमा क्षेत्रमा देखिएका कमी कमजोरीबारे जानकार भई बीमा क्षेत्रमा सुधार गर्ने, नेपाल प्रहरीसँग छलफल तथा अन्तरक्रिया गरी बीमा क्षेत्रमा आइपर्ने घटना, दावी उजुरीका सम्बन्धमा देखिएका कमी-कमजोरी तथा अनुसन्धान बारे जानकार भई समितिले थप गृहकार्य गर्ने छ । वित्तीय क्षेत्रका नियमनकारी निकायहरू बीचको समन्वय, भूमिका, दायित्वलाई थप प्रगाड बनाउने र बीमा क्षेत्रमा देखिएका कमी-कमजोरीहरुलाई सुधार गर्दै नीति निर्माणमा सहयोगको लागि समितिका सबैसँग सहकार्य गर्ने समितिले जनाएको छ । न्याय सम्पादन छिटो छरितो तथा न्यायपूर्ण गराउन न्यायाधिश तथा कानून व्यवसायीहरुसँग छलफल तथा अन्तरक्रिया गर्ने छ । गो एएमएलसम्बन्धी छलफल तथा अन्तरक्रिया बढाई बीमकको सफ्टवेयर रिपोर्टिङ्गबाट देखिएका कमी-कमजोरीमा सुधार ल्याउने भएको छ । कृषि, पशुपंक्षी तथा जडिबुटी बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया गर्ने । कृषि मन्त्रालय, कृषक लगायत सरोकारवालाहरुसँग कृषि बीमा क्षेत्रमा सुधार हुने । पूनर्बीमा ब्रोकर तथा ब्रोकरसँग सम्बन्धित व्यवसाय व्यवस्थित गराउन थप गृहकार्य गर्ने छ । त्यस्तै, बीमा क्षेत्रमा सर्भेयर तथा अभिकर्ताले निर्वाह गर्ने भूमिका तथा बीमा क्षेत्रमा रहेको विकृतिलाई समाधान गर्दै गुणस्तरीय सेवा बृद्धि गराउने, बीमितहरुले भोग्नु परेको समस्या समाधान गर्ने, रिक्स बेसड क्यापिटल लागू गर्ने, बीमकको जोखिमलाई समयमा नै पहिचान भई सुधारको उपाय अवलम्बन गराउने, बीमाको क्षेत्रलाई थप प्रविधिमैत्री बनाउने, कम्पनी तथा समितिको वित्तीय पारदरर्शिता तथा लेखा प्रणाली र लेखापरीक्षण व्यवस्थित गर्ने छ । उद्योग वाणिज्य संघ तथा चेम्बरसँग छलफल तथा अन्तरक्रिया गरी बीमा क्षेत्रको विकासमा सहयोग पुग्ने समितिको विश्वास छ । बीमकका अण्डरराइटिङ्ग प्रक्रिया प्रभावकारी तथा व्यवस्थित गराउने, इन्जिनियरिङ्ग बीमामा आएका समस्या तथा चुनौतिका सम्बन्धमा सरोकारवालाहरुसँग छलफल गर्ने, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको बीमा सचेतना पदयात्रा गर्ने र बीमाको प्रचार-प्रसारका लागि विभिन्न स्थानमा डिजिटल होर्डिङ बोर्ड राख्ने समितिले जनाएको छ । बीमा विषयलाई पाठ्यक्रममा समावेश बीमा शिक्षालाई माध्यमिक तह तथा सीटीईभीटीको पाठ्यक्रममा थप गर्दै लान पहल गर्ने बीमा समितिको कार्ययोजना छ । यसअन्तर्गत पाठ्यक्रम विकास केन्द्र, माध्यमिक शिक्षा परिषद्, सीटीईभीटी विश्वविद्यालय तथा शिक्षा मन्त्रालय लगायतका सरोकारवालाहरुसँग छलफल गरी पाठ्यक्रम तयार गर्ने छ । बीमा विषयहरूमा विशेष अध्ययन वा अनुसन्धान बीमाको मोर्टालिटी टेबल सम्बन्धी अध्ययन गरी बीमादर समयसापेक्ष निर्धारण गर्न सहज हुने समितिको योजना छ । बीमा क्षेत्रमा आरबीएस लागू गर्न एक-एकवटा जीवन तथा निर्जीवन बीमकको पाइलट प्रोजेक्ट अर्थात अनुसन्धान गर्ने समितिले जनाएको छ । त्यस्तै, समितिले बीमासँगै बीमा दावी सम्बन्धी अनुसन्धान गर्ने र बीमा दावी उजुरी सम्बन्धी समस्याको पहिचान गर्ने योजना बनाएको छ ।

उदयपुरको बस्ती स्थानान्तरण, राहत र उद्धारमा जुट्न सरकारको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले उदयपुरको बेलका नागरिकलाई स्थानान्तरण, राहत र उद्धारको तत्काल व्यवस्थापन गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन् । उदयपुरको बेलका नगरपालिका–१, २, ८ र ९ मा सप्तकोसी नदीले कटान गरेपछि खाणले उद्धारको लागि निर्देशन दिएका हुन् । सप्तकोसीको पानीको बहावले अहिले करिब ५० मिटरजति जमिन कटान गरिसकेको बताइएको छ । अहिले नजिकका बस्तीका नागरिकलाई अन्यत्र सार्ने काम सुरु भएको गृहमन्त्रालयले जानकारी दिएको छ । गृहमन्त्री खाणले कटानबाट प्रभावित बस्तीका नागरिकलाई कहाँ स्थानान्तरण गर्ने, उनीहरूलाई तत्कालका लागि बासस्थान, राहतको व्यवस्था कसरी गर्नेबारे परराष्ट्रमन्त्री डा नारायण खड्कासँग समेत छलफल गर्नुभएको छ । मन्त्री डा खड्काको गृहजिल्ला उदयपुर भएकाले उहाँसँग छलफल गरिएको हो । गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल, उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, प्रदेश १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरी, प्रदेश नं १ का सशस्त्र प्रहरी बलका प्रमुख नायब महानिरीक्षक कमलप्रसाद गिरी, उदयपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक बोहोरा, उदयपुर सशस्त्र प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण अधिकारी र सिँचाइ विभागका उदयपुर प्रमुखलगायतलाई टेलिफोन गरी तत्काल उद्धार, राहत र अस्थायी बासस्थानको व्यवस्था गर्न निर्देशन दिएका हुन् । मन्त्री खाणले त्यसका लागि के–के आवश्यक पर्ने हो मन्त्रालयमा जानकारी गराउनसमेत निर्देशन दिएका छन् । गृहसचिव पाण्डे र प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेललाई उदयपुरमा तत्कालका लागि आवश्यक पर्ने उद्धार र राहतका सामग्री तयार गरी पठाउन निर्देशन दिए । कटानबाट सबैभन्दा बढी डुम्रिकोट तथा लाहुरेखोँचका बासिन्दा प्रभावित छन् । विपद्मा परेकालाई अस्थायी बासस्थान निर्माण, उद्धार, राहत र घाइते भएको भए उपचारमा कुनै कमी हुन नदिन गृहमन्त्री खाणले मन्त्रालय मातहतका निकाय र सम्बन्धित सरोकारवाला निकायलाई निर्देशन दिएका छन् । कटानका कारण दुई हजार चार सय घरधुरी प्रभावित हुने बताइएको छ । कटानलाई रोकेर पनि त्यही स्थानमा राख्न सक्ने सम्भावना नदेखिएकाले बस्ती स्थानान्तरण आवश्यक छ । केही दिनअघि पनि सप्तकोसीमा बाढी आएपछि कटान रोक्न बनाइएका संरचना नदीले बगाइसकेको स्थानीय सुरक्षा अधिकारीले बताएका छन् ।

खुल्यो अभियान लघुवित्तको आइपीओ, ३ हजार कित्तासम्म आवेदन दिन सकिने

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणका लागि साधारण सेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिशेयर एक सय अङ्कित नौ करोड ७५ लाख मूल्य बराबरका नौ लाख ७५ हजार कित्ता प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ) सर्वसाधारणमा निष्कासन गर्न लागेको हो । कम्पनीको सार्वजनिक आह्वानपत्रअनुसार निष्कासन गर्न लागेको कुल नौ लाख ७५ हजार कित्ता शेयरमध्ये जारी पूँजीको शून्य दशमलव पाँच प्रतिशत अर्थात् १२ हजार पाँच सय कित्ता कर्मचारीका लागि तथा पाँच प्रतिशत अर्थात् ४८ हजार सात सय ५० कित्ता सामूहिक लगानीकोषलाई सुरक्षित गरी बाँकी नौ लाख १३ हजार सात सय ५० कित्ता सेयर खरिदका लागि सर्वसाधारणले यही साउन २२ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा मागबमोजिम आवेदन नपरे आगामी भदौ १ गतेसम्म समय थप हुने पत्रमा उल्लेख छ । निष्कासन गरिएको शेयरमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि तीन हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आवेदकले अनुमतिप्राप्त सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरको वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाइ इक्रा नेपालले (इक्राएनपी आइआरबीबी माइनस) रेटिङ प्रदान गरेको छ ।