साउन २३ गतेदेखि मनकामना केबलकार स्तरोन्नतिको लागि बन्द हुने
काठमाडौं । मनकामना केबलकार साउन २३ गतेदेखि स्तरोन्नतिकाे लागि बन्द हुने भएको छ । एनलगबाट डिजिटल सिस्टममा परिवर्तन गर्ने पहिलो चरणको लागि केबलकार अनिश्चिकालको लागि बन्द हुन लागेको हो । केबलकारले यसको लागि ५ देखि छ हप्ता समय लाग्न सक्ने अनुमान गरिएको बताएको छ । उक्त अवधिभर केबलकार बटम स्टेशनमा रहेको रेष्टुरेन्ट सेवा भने यथावत् रहने बताइएको छ ।
नबिल बैंकको ४ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत
काठमाडौं । नबिल बैंकको ४ करोड ३३ लाख ६७ हजार २१९ कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको छ । साविकको बंगलादेश बैंकलाई प्राप्ति गरेपछि बनेको नबिल बैंकको सो मात्राको सेयर सूचीकृत भएको हो । यससँगै उक्त सेयर सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच हुने छ । नबिल बैंकले एनबीबीलाई १ बराबर ०.४३ को अनुपातमा प्राप्ति गरेको हो ।
नेपाल क्लियरिङ हाउसले माग्यो विभिन्न पदमा १६ जना कर्मचारी
काठमाडौं । नेपाल क्लियरिङ हाउसले विभिन्न पदका लागि कर्मचारी मागेको छ । कम्पनीले मंगलबार एक सुचना जारी गर्दै विभिन्न पदमा १६ जना कर्मचारी मागेको हो । कम्पनीले हेड सफ्टवेयर डेभलपमेन्ट, जाभा डेभलपर, जुनियर जाभा डेभलपर, जुनियर आइओएस डेभलपर, क्युए ईन्जिनियर, सिनियर एनालिष्ट इनोभ्येसन, एनालिष्ट इनोभेसन, अफिसर इस्ट्राटिजि एन्ड रिर्सरच, सेक्युरिटि एनालिष्ट, एक्सक्युटिभ रिक्स एन्ड कमपिल्यन्स, टेक्निकल सर्पोट, सर्पोट एनालिस्ट, बिजनेस डेभलपमेन्ट एक्सक्युटिभ, एक्सक्युटिभ फाइन्नासका कर्मचारी मागेको छ । इच्छुक आवेदकले आफ्नो बायोडाटा र प्रमाणपत्रसहित साउन २५ गतेभित्र कम्पनीको वेवसाइटमा आवेदन दिइसक्नुपर्ने सूचनामा उल्लेख छ ।
अख्तियारमा पुग्यो सडक बिनाको दरौंदीखोला पुलको विषय
काठमाडौं । गोरखा जिल्लाको दरौंदी नदीमा दुबैतर्फ सडक नै नभएको ठाउँमा मोटर गुड्ने पक्की पुल बनाइएको विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि पुगेको छ । सञ्चार माध्यममा सडक नै नभएको ठाउँमा पक्की पुल बनाइएको भन्दै सो विषयमा अख्तियारमा पनि पुगेको हो । सडक नै नभएको ठाउँमा पुल बनेको समाचारप्रति आफ्नो कार्यालयको ध्यान आकर्षण भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराकी प्रमुख पार्वती शर्माले बताएकी छन् । विकासन्युजसँग कुरा गर्दै उनले समाचारमा आएका कुराहरु आफुहरुको क्षेत्रभित्र पर्ने र सो अनुसार गोरखामा बनेको पुलको विषयलाई पनि नोटिस गरेर केन्द्रीय कार्यालयमा पठाएको उनले बताइन् । केन्द्रीय कार्यालयले अनुसन्धान गर्न निर्देशन दिएमा आफ्नो कार्यालयले अनुसन्धानलाई अगाडि बढाउने उनको भनाइ छ । सामान्यतया मोटर गुड्ने पुल सडक भएको ठाउँमा बनाइन्छ । कतिपय ठाउँमा पर्यटन प्रवद्र्धन वा नमूना पदर्शनको लागि पनि सडक नभएको ठाउँमा पुल बनाउन सकिन्छ । तर, गोरखा नगरपालिका, ३ नागेश्वर र सिरानचोक गाउँपालिका, ५ जरेबर जोड्ने मोटर गुड्ने पुल सडक सञ्जाल जोड्न, पर्यटन पवद्र्धन गर्न र नमूना पदर्शन कुनै कुराको लागि बनेको देखिँदैन । वरिष्ठ अधिवक्ता सम्भु थापाले सडक नै नभएको ठाउँमा पुल बनाउनेलाई अख्तियारले भ्रष्टाचारको मुद्दा चलाउनुपर्ने बताएका छन् । दुवैतर्फ सडक नभएको ठाउँमा मोटर गुड्ने पुल बनाउने कुरा अस्वभाविक भएको बताउँदै उनले भने, ‘प्रयोगमा नआउने पुल बनाउने कुरा शतप्रतिशत दुरुपयोग हो ।’ अधिवक्ता थापाले पुल बनाउँदा बाटोको पनि प्रस्ताव राखेको भएमा उपयोगको तर्क हुनसक्ने तर त्यसो नभएको अवस्थामा पुल बनाउने भनेको खानकै लागि भएको बताए । त्यस्तो विषय भ्रष्टाचार अन्तर्गत पर्ने उनको भनाइ छ । यस्तो विषय आर्थिक रुपमा दुरुपयोगको विषय भएको भन्दै यसको लागि आवश्यक कानूनी कारवाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालयले मुद्दा अगाडि बढाउन सक्ने उनले बताए । त्यस्तै पुल्चोक इन्जिनियरिङ कलेज सिभिल इन्जिनियरिङ विभागका प्रमुख प्राध्यापक डा. गोकर्णले सैद्धान्तिक रुपमा पुल बनाउने काम ट्रयाक खोल्ने भन्दा अगाडि हुने कुरा सामान्य मानिसको आँखाबाट हेर्दापनि स्वभाविक नहुने बताए । ‘सैद्धान्तिक रुपमा भन्दा सडक बनाउने काममा पहिला सर्वेक्षण हुन्छ, अनि ट्रयाक खोल्ने काम हुन्छ, अनि मात्र पुल बनाउने काम हुन्छ ।’ गोरखाको दरौंदी नदी माथि बनेको मोटर गुड्ने पुल निर्माणको लागि गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले बजेट विनियोजन गरेको हो । उक्त पुल निर्माणको लागि ५ करोड ३९ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । सम्झौताअनुसार ०७७ जेठ १३ गते सम्झौता भएर ०७९ साल जेठ १२ गते सम्पन्न गर्नुपर्ने उक्त पुलको निर्माणको काम अहिलेसम्म ९२ प्रतिशत वित्तीय र ९३ प्रतिशत भौतिक प्रगति भएको छ । सो पुल पुर्व भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतको पहलमा निर्माण भएको हो । हाल उनी नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा गोरखा जिल्ला इन्चार्ज समेत रहेका छन् ।
त्रिभुवन राजपथबाट काठमाडौं जाने रात्रि सेवाको बस सञ्चालनमा रोक
मकवानपुर । लगातार परेको वर्षासँगै आएको पहिराका कारण चितवन–मुग्लिन सडकखण्ड अवरुद्ध भएपछि पूर्वबाट काठमाडौंतर्फ जाने रात्रि सेवाको बसलाई त्रिभुवन राजपथबाट काठमाडौंतर्फ जान अनुमति नदिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज जनाएको छ । राजपथको मोड साँघुरो भएका कारण यात्रुको सुरक्षालाई मध्यनजर गर्दै मुग्लिन सडक सञ्चालनमा नआएसम्म हेटौँडामा नै प्रतिक्षा लाममा राख्ने व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनले पूर्व र पश्चिमबाट दिवा सेवामा आएका बसलाई आवश्यकता हेरी करिब ३५ बस त्रिभुवन राजपथ हुँदै काठमाडौंतर्फ जान अनुमति दिएको बताए । प्रवक्ता कार्कीले धादिङको नौबिसेको प्रहरीले काठमाडौँबाट आज बिहान पूर्व र पश्चिमतर्फ जान छुटेका बसलाई त्रिभुवन राजपथबाट यातायात सञ्चालनमा आउन निषेध गरिएको र काठमाडौँबाट आएको मिनी ट्रक, ट्रक, पालुङबाट हेटौँडा आउने सवारी साधनलाई मात्रै सञ्चालन ल्याउन अनुमति दिएको बताए ।
मैदाभन्दा कोदोको मःम स्वास्थ्यको लागि फाइदाजनक : डा. बखिम
काठमाडौं । गत आर्थिक वर्षमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कोदोको मःमको विषयमा अनुसन्धान गरेको छ । मैदाको मःम भन्दा कोदोको मःम तुलनात्मक रुपमा फाइदाजनक भएको विभागको अनुसन्धानले देखाएको छ । विभागकी वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. हुमा कुमारी बोखिमले कोदो हाम्रो शरिरमा विस्तारै पच्नेहुँदा स्वास्थ्यलाई फाइदाजनक हुने बताइन् । कोदोको मःमको विषयमा आफुहरुले गरेको अनुसन्धानबारे उनले भन्छिन्, कोदोबाटमात्रै मःम बनाउन मिल्दैन, मैदामा ५० प्रतिशत कोदो मिसाएर बनाउन सकिन्छ ।’ हाम्रो शरिरले सबैभन्दा सजिलोसँग पचाउने भनेको चामलको परिकार हो,’ उनी भन्छिन्, ‘कोदोमा बढी प्रोटिन हुने भएपनि शरिरले पचाउने क्रममा चामलकै लेबल हुन्छ ।’ डा.बखीमकाअनुसार कोदोमा कार्बोहाइड्रेटको मात्रा कम हुने, फाइबर, मिनरल्स बढी पाइने र इनर्जी कम मात्रामा पाइने हुन्छ । ‘हामीले क्याल्सियमको लागि दुध खाने भन्छौं, दुधको सट्टा कोदोबाट पनि क्याल्सियम पाउन सकिन्छ,’ उनी भन्छिन्, ‘पशुजन्य स्रोतबाट आएको खानेकुरा जस्तै हाम्रो शरिरले बनस्पतिबाट आएको कुरा सोही अनुसार सजिलोसँग लिँदैन ।’ विभागले गरेको अनुसन्धानले सानो साइज भएको एक प्लेट चिकेन मःम र तिल हालेको ७५ ग्राम टमाटरको अचार खाँदा ४९७ किलो क्यालोरी पाइने देखाएको छ । त्यस्तै ठुलो साइजको चिकेन मःम र ११० ग्राम तिल हालेको टमाटरको अचार खाँदा ६४३ क्यालोरी पाइने अनुसन्धानले देखाएको छ । शुद्ध मैदाको मःमको तुलनामा ५० प्रतिशत कोदो मिसाएको मःम शरिरले विस्तारै पचाउने हुँदा र मैदाको तुलनमा कोदोको मःममा क्याल्सियम, मिनरल्स र फाइबर बढी पाइने भएकाले स्वास्थ्यको लागि राम्रो हुने कुरा विभागको अनुसन्धानले देखाएको छ ।
एनएमबि बैंकको एटिएम त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्षमा
काठमाडौं । एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्षमा एटिएम सञ्चालनमा ल्याएको छ । बैंकले पर्यटन प्रवद्र्घनलाई सहयोग पुर्याउने उद्धेश्यले एटिएम सञ्चालनमा ल्याएको जनाएको छ । बैंकले यसअघि नै उक्त विमानस्थलको आन्तरिक उडानस्थलको यात्रु प्रस्थान स्थलमा एटिएम सञ्चालनमा ल्याइसकेको छ । एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’बाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेकको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
आरक्षण सीट लागु नगर्ने १९ सार्वजनिक गाडीलाई कारवाही
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आरक्षण सीटमा अन्य यात्रु बोक्ने १९ वटा सार्वजनिक गाडीलाई कारवाही गरेको छ । उपत्यकाको विभिन्न स्थानहरुमा गरेको विशेष अभियान अन्तर्गत सादा पोशाकमा खटिएका ट्राफिक प्रहरीले सार्वजनिक सवारीमा आरक्षण सीट लागु भएरनभएको अनुगमन गर्दा आरक्षण सीटमा अन्य यात्रु बोक्ने सार्वजनिक गाडीलाई कारवाही गरेको हो । जस अन्तर्गत उपत्यका बाहिर चल्ने ४ वटा यात्रुवाहक बस, उपत्यकामा चल्ने १४ वटा यात्रुवाहक बस र १ वटा माईक्रो बसलाई रहेको छ । उक्त चेकजाँच अभियानलाई निरन्तर संञ्चालन गरिने प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।