हिमालयन रिजर्भको ब्राण्ड एम्बेस्डरमा शुक्रबहादुर राई
काठमाडौं । द हिमालयन रिजर्भले ब्राण्ड एम्बेस्डरमा नेपाली गल्फ खेलाडी शुक्रबहादुर राईलाई नियुक्त गरेको छ । स्कुले जीवनमा केही पैसा कमाउने आशामा केडी बोइ बनेर गल्फ खेलमा आफ्नो करियर सुरू गरेका शुक्रबहादुर राई नेपालको सबैभन्दा बढी सम्भावना बोकेका खेलाडीको रूपमा चिनिन्छन् । गल्फ खेलमा नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने उनको सपना हाल पूरा भएको र आफ्नो र नेपालको नाम विश्वभरी नै चम्काउने सपना अझै पूरा हुन बाँकी रहेको नी बताउँछन् द हिमालयन रिजर्भ १२ वर्ष पुरानो इम्पोर्टेड स्कच माल्ट र स्कटिश ग्रेन स्पिरिटहरूको मिश्रण गरी तयार गरिएको प्रिमियम ह्विस्की हो ।
ब्याजदर प्रकाशित भएपनि बैंकहरुले ०.५ प्रतिशत बढाउन पाइने
काठमाडाैं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको प्रकाशित ब्याजदरमा ०.५ प्रतिशत बिन्दु भन्दा बढी नहुने गरी निक्षेप संकलन गर्न पाइने ब्यवस्था गरेको छ । राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थाहरुका लागि एकिकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । ‘बोलकवोलको आधारमा संकलन हुने मुद्दती निक्षेप (स्वदेशी तथा विदेशी मुद्रा) को हकमा प्रकाशित ब्याजदरमा ०.५ प्रतिशत बिन्दु भन्दा बढी नहुने गरी निक्षेप संकलन गर्नु पर्नेछ,’ एकिकृत निर्देशनमा भनिएको छ । यसअघि बैंकहरुले ०.१ प्रतिशत मात्रै घटबढ गर्न पाउँथे ।
निसान बेच्न थालेपछि पायोनियरको आम्दानी ३ अर्ब ७४ करोड, यसपालीको दशैंतिहारमा धक्का लाग्ने
काठमाडौं । निसान गाडी बेच्न थालेपछि पायोनियर मोटो कप प्रालि (पीएमसी)को आम्दानी बढेको छ । कम्पनीले सन् २०२१ मा ३ अर्ब ७४ करोड रुपैयाँ आम्दानी गरेको छ । सन् २०२० मा कम्पनीले २ अर्ब ५९ करोड रुपैयाँ आम्दानी गरेको थियो । पायोनियर मोटो कर्प प्रा.लि (पीएमसी) शारदा ग्रुप अन्तरगतको कम्पनी हो । यस कम्पनीमा सन्दीप कुमार शारदाको मात्र सेयर लगानी रहेको छ । पायोनियर मोटो कर्प निसान र ड्याटसनको गाडीको लागि नेपालको आधिकारिक विक्रेता हो । सन् २०१४ मा स्थापना भएको यस कम्पनीले पहिला ड्याटसन मात्र बिक्री गर्दथ्यो भने सन् २०१७ पछि निसानको पनि आधिकारिक विक्रेता बनेको छ । अहिले पीएमसीका कुल कारोबारमा निसानको मात्र ८० प्रतिशतभन्दा बढी हिस्सा रहेको छ । निसानको किक्स र म्याग्निट सेगमेन्ट नेपालमा बढी बिक्री भईरहेको छ । सन् २०२१ मा राम्रो गरेपनि कम्पनीको लागि सन् २०२२ निकै चुनौतिपूर्ण हुने भएको छ । विदेशी मुद्रा संचितिमा परेको असर र सरकारले कार जीप आयातमा लगाएको प्रतिबन्धले यस कम्पनीको तरलता र नाफामा असर पर्ने रेटिङ कम्पनी एक्रा नेपालले जनाएको छ । सवारी व्यापारको मुख्य समय दशैंतिहार जस्ता महत्वपूर्ण चाडवाडको पूर्वाद्धमा नयाँ गाडी आयात प्रतिबन्द भएकोले आगामी आर्थिक वर्ष कम्पनीको लागि चुनौतिपूर्ण हुनेछ । मौद्रिक नीतिमा कम्तिमा ७ महिनाको लागि वस्तु तथा सेवा आयात धान्ने विदेशी मुद्रा संचिति बनाउने लक्ष्य रहेको तर हाल ६.७ महिनालाई मात्र धान्न सक्ने विदेशी मुद्रा संचिति भएकोले तत्काल सरकारले आयात खुला गर्ने सम्भावना नभएको एक्राले औल्याएको छ । बैंकमा तरलताको अभाव, कर्जाको उच्च व्याजदर र सवारी खरिदकर्तामा पर्ने उच्च लागतको कारण निकट भविष्यमा गाडी आयात खुला भए पनि यसको माग पक्ष कमजोर हुने इक्राले जनाएको छ । राष्ट्र बैंकको नीतिले पनि प्यासेन्जर भेइकल आयातमा क्यास मार्जिन राख्नुपर्ने देखि जोखिमभार वृद्धि गरिदिएकोले पनि कम्पनीको व्यवसायमा प्रतिकूल असर पर्ने भएको छ । प्यासेन्जर भेइकल कर्जामा जोखिम भार पहिला ७५ प्रतिशत राखिएकोमा त्यसलाई बढाएर १५० प्रतिशत जोखिमभार राख्नु पर्ने नीति राष्ट्र बैंकले लिएको छ । त्यस्तै क्यास मार्जिन १० प्रतिशत राख्दा हुने पुरानो व्यवस्था संशोधन गरी ५० प्रतिशत राख्नुपर्ने व्यवस्था गरिएको छ । प्रतिकूलताको बीचमा एक्रा नेपालको रेटिङमा सर्ट टर्मको लागि कम्पनीले ‘ए फोर प्लस’ पाएको छ । सर्ट टर्म लोन र नन फण्डिङ सपोर्टको लागि कम्पनी उत्कृष्ट रहेको संकेत गर्दछ । कम्पनीको प्रवद्र्धक राम्रो भएको, अघिल्ला वर्षहरुको तुलनामा सन २०२१ को व्यापार राम्रो भएको, निसानको गाडीप्रति उपभोक्ताको रुची भएकोले पनि रेटिङ राम्रो पाएको देखिएको छ ।
पुसभित्र मर्जरमा जाने लघुवित्तलाई राष्ट्र बैंकको दुई छुट
काठमाडौं । नेपाल राष्ट्र बैंकले २०७९ पुस मसान्तभित्र मर्जरमा जाने लघुवित्तहरु विशेष छुट दिने भएको छ । सो अवधिभित्रमा मर्जरमा गई एकीकृत कारोबार सञ्चालन गर्ने लघुवित्तहरुलाई राष्ट्र बैंकले जोखिम भारित सम्पत्ति र लाभांशमा विशेष छुट दिने भएको हो । यसअघिको निर्देशिका संशोधन गर्दै राष्ट्र बैंकले उक्त दुई व्यवस्था गरेको हो । यससँगै मर्जरमा जाने लघुवित्तहरुले एकीकृत कारोबार गरेको मितिले १ वर्षसम्म सञ्चालन जोखिमबापत कुल सम्पत्तिको १ प्रतिशत रकम मात्रै जोखिम भारित सम्पत्ति थप गरे पुग्ने छ । यसअघि उक्त छुट २०७९ असार मसान्तसम्मलाई मात्रै थियो । त्यसैगरी, मर्जरमा जाने लघुवित्त संस्थाहरूले वार्षिक २० प्रतिशत भन्दा बढी लाभांस (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा प्रस्तावित लाभांशको २५ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नु नपर्ने भएको छ । लघुवित्तले उक्त कोषमा छुट्टाउनु पर्ने व्यवस्थालाई केन्द्रीय बैंकले २०८० असार मसान्तसम्मको लागि छुट प्रदान गरेको हो । यसअघिको निर्देशिका संशोधन गर्दै राष्ट्र बैंकले सो व्यवस्था गरेको हो । यसअघि २०७९ असार मसान्तसम्मको लागि मात्र छुट दिएको राष्ट्र बैंकले अब थप एक वर्ष दिने भएको छ ।
अब बैंकहरुले कर्मचारीलाई प्रत्येक वर्ष तालिम दिनुपर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा कार्यरत कर्मचारीलाई प्रत्येक वर्ष तालिम दिन निर्देशन दिएको छ । बुधबार राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई प्रत्येक वर्ष तालिम दिनुपर्ने भएको हो । ‘बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई कार्यक्षेत्रसँग सम्बन्धित तालिम प्रत्येक २ वर्षमा कम्तिमा एक पटक र ट्रेड फाइनान्स तथा कर्जा सम्बन्धी कार्य गर्ने कर्मचारीलाई विशिष्टिकृत तालिम प्रत्येक वर्ष प्रदान गर्नु पर्नेछ,’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ । बैंक तथा वित्तीय संस्थामा दक्ष जनशक्तिको विकास गर्नका लागि यस्तो व्यवस्था राष्ट्र बैंकले गरेको हो । साथै बैंक प्रवेश गरेका नयाँ कर्मचारीलाई एक महिनामा २ हप्ता अभिमुखीकरण तालिम दिन राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकको नयाँ व्यवस्थामा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाले बैंकिङ्ग क्षेत्रमा दक्ष जनशक्तिको विकास गर्नका लागि नयाँ भर्ना भएका कर्मचारीहरुलाई बैंक प्रवेश गरेको १ महिनाभित्र कम्तिमा दुई हप्ताको अभिमुखीकरण तालिम प्रदान गर्नुपर्नेछ ।’ बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई प्रदान गरेको तालिमको शिर्षक, मिति, अवधि, तालिम प्राप्त गर्ने कर्मचारीको नामावली लगायतका विवरण संस्थाको वेबसाइटमा अर्धवार्षिक रुपमा अद्यावधिक गर्न राष्ट्र बैंकको निर्देशन छ ।
साढे १ अर्बमा बनेको बन्दीपुर केबुलकारले खुलेकै दिन आइपीओ पनि जारी गर्ने
तनहुँ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन अवस्थामा रहेको केबुलकार र आइपीओ एकैसाथ सञ्चालनमा ल्याउने भएको छ । आइपीओका लागि एसबिआई मर्चेन्टसँग सम्झौता भइसकेको र केबुलकार आगामी वैशाखदेखि सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । समयअनुरुप पर्यटकहरुलाई नयाँपन दिनका लागि केबुलकारभित्र रेष्टुरेन्ट सञ्चालन गर्ने योजना रहेको बन्दीपुर केबुलकार एन्ड टुरिजमका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । प्रत्येक दिन साँझ ५ बजेपछि केबुलकारले मानिस बोक्ने व्यवस्था बन्द गरी उक्त सेवा सञ्चालन गरिने उनले बताए । उक्त समयपश्चात् इच्छुक पर्यटकहरुले केबुलकार रिजर्भ गरी केबुलकार भित्रको रेष्टुरेन्टमा मनोरञ्जन लिन पाउनेछन् । केबुलकारभित्र ग्लासको क्याबिन जडान गरिनेछ । उनले भने, ‘रेष्टुरेन्टका लागि २५ हजार शुल्क तिरेपछि खाना, बस्न, सुत्न लगायतका सबै सुविधाको व्यवस्था हुनेछ ।’ केबुलकारभित्रै शौचालय सहितको सुविधासम्पन्न बनाउनका लागि कति लोड धान्न सक्छ भनेर अनुसन्धान कार्य पनि भइरहेको उनले बताए । अघिल्लो दशैंदेखि केबुलकार सञ्चालन गर्ने तयारी गरिए पनि कृत्रिम अभावका कारण सामान समयमा पाउन नसक्दा निर्माणमा ढिलाइ हुन गएपछि अन्य थप सुविधा थप्दै व्यवस्थित गर्न लागेको उनले बताए । आगामी नयाँ वर्षदेखि केबुकार सञ्चालनमा ल्याउने गरी काम थालिएको उनले जानकारी दिए । केबुलकारका लागि आवश्यक पर्ने सामान र जनशक्ति बाहिरबाट ल्याउनुपर्ने भएकाले ल्याइसकिएको उनले बताए । केबुलकारबाट बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा तल्लो स्टेशन र सोही वडाको बरालथोकसम्म एक किलोमिटर छसय मिटर दूरीको यात्रा गर्न पाउनेछन् । एसियाकै ठूलो दाबी गरिएको बिमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त बन्दीपुर घुम्न आउने पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु बन्ने विश्वास गरिएको छ । बन्दीपुर केबुलकार एन्ड टुरिजमको लागत एक अर्ब ६६ करोड ८९ लाख रहेको बताइएको छ । केबुलकार र चारतारे होटल निर्माणसहित कूल तीन अर्ब लगानी हुने देखिएको अध्यक्ष शर्माले बताए । पहिला गरिएको सामानको इष्टिमेटको तुलनामा कम्तीमा २५ प्रतिशत सामानको मूल्य वृद्वि भएकाले लागत बढ्ने सङ्केत देखिएको उनले जानकारी दिए । केबुलकारसँगै आइपिओ सुरु यसैगरी बन्दीपुर केबुलकार एन्ड टुरिजमले केबुलकारसँगै आइपिओ सुरु गर्ने जनाएको छ । आइपिओका लागि एसबिआई मर्चेन्टसँग सम्झौता भइसकेको जनाइएको छ । केबुलकार र आइपिओसँगै सञ्चालनमा ल्याइने गरी काम अघि बढाइएको अध्यक्ष शर्माले बताए । शेयर निष्कासन गरी २० प्रतिशत सर्वसाधारणलाई र १० प्रतिशत कम्पनी भित्रका कर्मचारीहरुलाई प्रदान गरिनेछ । यसअघि बन्दीपुर केबुलकारमा एक हजार चार सय जनालाई सेयर वितरण गरेको छ । उक्त परियोजनामा आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्शन र टुरिजम इन्भेष्टमेन्ट फन्ड लिमिटेडको ६१, पञ्चासे केबुलकार एन्ड टुर्स लिमिटेडको २५ र बन्दीपुर गाउँपालिकालगायत स्थानीय लगानीकर्ताको १४ प्रतिशत सेयर रहेको छ । रासस
राष्ट्र बैंकद्वारा काउण्टर साइक्लिकल बफर कार्यान्वयन गर्न निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले काउण्टर साइक्लिकल बफरलाई क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ बमोजिम नै लागु हुने बताएको छ । बुधबार राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ मा भएको व्यवस्था बमोजिम लागु हुने बताएको हो । ‘वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०८०/८१ देखि क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ मा भएको व्यवस्था बमोजिमको काउण्टर साइक्लिकल बफर कायमम गर्नुपर्नेछ,’ राष्ट्र बैंकको एकीकृत निर्देशनमा उल्लेख छ । कोरोना महामारीका कारण आर्थिक वर्ष २०७६/७७ बाट स्थगन गरिएको थियो । तर, चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले काउण्टर साइक्लिकल क्यापिटल बफरको व्यवस्थालाई २०८० साउनदेखि कार्यान्वयनमा ल्याउने बताएका थिए ।
संस्थागत निक्षेपकर्ताको ब्याजदरमा कडाइ
काठमाडौं। नेपाल राष्ट्र बैंकले संस्थागत निक्षेपकर्ताको ब्याजदरमा कडाइ गरेको छ । बुधबार राष्ट्र बैंकले बुधबार मौद्रिक नीतिमा एकको व्यवस्थालाई कार्यान्वयन गर्नका लागि एकिकृत निर्देशन जारी गर्दै संस्थागत निक्षेपकर्तालाई दिइने ब्याजदरमा कडाइ गरेको हो । ‘संस्थागत मुद्दती निक्षेप (बोलकबोलसमेत) मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा दुई प्रतिशत बिन्दुले कम हुनुपर्नेछ,’ एकिकृत निर्देशनमा भनिएको छ ।