विकासन्युज

काम नगरेरै वेवारिसे बने २४ करोडका चार भ्यान

काठमाडौं । खाद्य गुणस्तर परीक्षण गर्नको लागि खरिद गरिएको ४ वटा मोबाइल भ्यान कुहिने अवस्थामा पुगेका छन् । विभागका तत्कालीन महानिर्देशक सञ्जिवकुमार कर्णको पालामा खरिद गरिएका प्रयोगशाला मोबाइल भ्यान काम नलाग्ने अवस्थामा पुगेका हुन् । विभागले आर्थिक वर्ष ०७३/०७४ मा विभाग र प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमको लागि प्रुडेन्ट मेडिटिच इन्टरनेशनल, कमलादीमार्फत् २४ करोड भन्दा धेरै रकम पर्ने ४ वटा प्रयोगशाला मोबाइल भ्यान खरिद गरेको थियो । खरिद गरिएको केही समयपछि ती मोबाइल भ्यानको गुणस्तरमा प्रश्न उठाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७६ असार ५ गते विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो । सो आरोपत्र दायर गरिएसँगै विभागमा रहेका ४ वटा प्रयोगशाला मोबाइल भ्यान ३ वर्षदेखि मर्मत सम्भार र प्रयोगमा आउन सकेका छैनन् । ३ वर्षदेखि मोबाइल भ्यानहरु विभागको प्राङ्गणमा एकोहोरो रुपमा घामपानी खाएर खिइदै बसेका छन् । यसरी रहँदा मोबाइल भ्यानहरुको बाहिरी रंग फुंग उडेको छ । भ्यानमा लेउ लागेको छ । कुनै पनि सवारी साधनलाई लामो समयसम्म प्रयोग नगरी राख्दा खिया लाग्ने, इन्जिनहरुमा जाम हुने वा कतिपय बिग्रने अटोमेकानिक बताउँछन् । लामो रुटमा सञ्चालन नगरेपनि इन्जिनलाई स्वस्थ एवं स्वचालित राख्नको लागि कम्तिमा दैनिक वा एकदिन बिराएर भएपनि स्टार्ट गर्ने एक्टिभ गर्नुपर्ने अटोमेकानिकको भनाइ छ । तर, विभागका मोबाइल भ्यान अख्तियारले मुद्दा दायर गरेदेखि अहिलेसम्म कुनैपनि हिसाबले सञ्चालनमा नआएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले विकासन्युजलाई बताए । ‘हामीले सञ्चालन तथा मर्मत सम्भारको लागि पहल पनि गरेका थियौं, मन्त्रालयसँग पनि कुराकानी भएको थियो तर, मुद्दामा भ्यानको स्पेशिफिकेसन, पाटर्स लगायतका सामग्रीमाथि नै विषय उठाइएकोले यसलाई सञ्चालन गर्न सकिएन’, महर्जनले भने । विशेष अदालतले मोबाइल प्रयोगशाला भ्यान खरिदको मुद्दामा गत बैशाख २५ गते फैसला गरेको छ । विशेष अदालतका न्यायाधीशहरू रमेशकुमार पोखरेल, बलभद्र बास्तोला र खुसीप्रसाद थारूको इजलासले फैसला सुनाएको हो । फैसलाले आरोपित सबैलाई सफाई दिएको छ ।

कोरोना बीमा पोलिसी ल्याउनेलाई जेल हाल्नुपर्छ, अभिकर्ताको कमिसन बढाऔं : अध्यक्ष ढुंगाना

काठमाडौं । कोरोना बीमा पोलिसी ल्याउने व्यक्तिलाई जेल हाल्नुपर्ने पेसागत अभिकर्ता संघका अध्यक्ष शम्भुप्रसाद ढुंगानाले बताएका छन् । बुधबार राष्ट्रिय बीमा कम्पनीको नवौं वार्षिकोत्सवको अवसरमा बोल्दै कोरोना पोलिसीबाट दुःख पाएको भन्दै पोलिसी ल्याउनेलाई जेल हाल्नुपर्ने बताएका हुन् । ‘कोरोना बीमा पोलिसी ल्याउनेलाई जेल हाल्नुपर्छ, यो पोलिसीले गर्दा बीमा कम्पनीले दोष र अबजस खेप्नुपरेको छ,’ उनले भने । कोरोना महामारीको समयमा आम जनतालाई सहज होस् भन्ने हेतुले सरकारले कोरोना पोलिसी ल्याएको थियो । तर, बीमा कम्पनीले अर्बौं रकम बराबरको दाबी भुक्तानी नगर्दा बीमा कम्पनीप्रतिको विश्वास घटेको भन्दै छिट्टै भुक्तानी हुनुपर्ने मागहरु उठेका छन् । बीमितको घरमा नै गएर बीमा पोलिसी बिक्री गर्ने श्रमिक तथा अभिकर्ताको उचित मूल्याङ्कन हुनुपर्ने धारणा उनले राखे । अभिकर्तालाई दिँदै आएको ५ प्रतिशत कमिसन कम भएको भन्दै उनले बढाउन माग गरे । जीवन बीमा कम्पनीका अभिकर्ता जस्तै निर्जीवन बीमा कम्पनीका अभिकर्ताले पनि कमसिन पाउनुपर्ने उनको भनाइ छ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएन

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य तत्काल नघटाउने भएको छ । आज एक विज्ञप्ति जारी गर्दै निगमले अहिले पनि निगम घाटामा भइराखेकोले तत्काल मूल्य नघटाउने बताएको हो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपनि निगमले बिक्री गरेको मूल्यमा पेट्रोलमा २ रुपैयाँ ७८ पैसा नाफा, डिजेलमा ९ रुपैयाँ ३७ पैसा घाटा र ग्याँसमा प्रतिसिलिण्डर ४ सय ९९ रुपैयाँ ५७ पैसा घाटा भएको जनाएको छ । अहिलेको खरिद र बिक्रीको अवस्थामा निगमलाई मासिक रुपमा १ अर्ब २७ करोड घाटा हुने अवस्था रहेको निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसनलाई अझैपनि २३ अर्ब रुपैयाँ तिर्नुपर्ने बाँकी रहेको निगमले जनाएको छ ।

६ हजार २ जनामा परिक्षण गर्दा ९१५ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ९ सय १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ६ हजार २ जनामा कोरोना परिक्षण गर्दा ९ सय १५ जनामा कोरोना पुष्टि भएको हो । स्थास्थ्य मन्त्रालयका अनुसार ३ हजार ९१ जनाको पीसीआर र २ हजार ९११ जनाको एन्टीजेन गरी कूल ६ हजार २ जनाको कोरोना परिक्षण गरेका हुन् । त्यस्तै, पछिल्लो २४ घण्टामा ३०१ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ४३३ जना रहेको मन्त्रालयले बताएको छ । एक दिनको अवधिमा ५५ हजार ५५९ जनाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय बीमा कम्पनीलाई सिलवालकाे चेतावनी : तोकेको समयमा पुँजी वृद्धि नगरे कारोबार रोक्ने

काठमाडौं । बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले तोकेको समयमा पूँजी वृद्धि नभए कारोबार रोक्ने चेतावनी दिएका छन् । बुधबार राष्ट्रिय बीमा कम्पनीको ९ औं वार्षिकोत्सवमा बोल्दै उनले कम्पनीलाई यस्ताे चेतावनी दिएका हुन् । ‘तोकेको समयमा पुँजी बढाउनै पर्छ, होइन भने समितिले एक्सन लिन्छ, कारोबार रोक्छ,’ उनले भने । साथै, उनले अर्थ मन्त्रालयबाट स्वीकृति लिनुपर्ने भए प्रक्रिया अघि बढाई काम गर्न निर्देशन दिए । यस्तै, समितिको नियमनमा बसेपछि समितिकै नियममा बस्नुपर्छ भन्दै अध्यक्ष सिलवालले २/४ महिनामा सबै अडिट सक्न राष्ट्रिय बीमा कम्पनीलाई निर्देशन दिएका छन् ।      

एनआईसी एशिया बैंकले १६ वटा पदको लागि माग्यो कर्मचारी

काठमाडौं । एनआईसी एशिया बैंकले विभिन्न पदको लागि कर्मचारी मागेको छ । बैंकले बुधबार एक सुचना जारी गर्दै १६ विभिन्न पदको लागि कर्मचारी मागेको हो । बैंकले १६ विभिन्न विभिन्न पदमा अफिसर, असिसटेन्ट म्यानेजरदेखि म्यानेजरको तहसम्मका व्यक्तिको माग गरेको छ । बैकको अनुसार अफिसर तहको लागि कम्तीमा पनि स्नातक उतिर्ण भई ५ वर्षको अनुभवसहित ४० वर्ष ननाघेको हुनुपर्ने छ भने असिसटेन्ट म्यानेजरभन्दा माथिल्लो तहको लागि स्नातककोत्तर तह पुरा गरेको, सम्बन्धित क्षेत्रमा दश वर्षको अनुभव र ५० वर्ष ननाघेको हुनुपर्ने छ । बैंकले यि विभिन्न पदको लागि अनलाइनमार्फत आवेदन दिन सकिने बैंकले जनाएको छ ।  

वर्ल्डलिंकलाई मधेस प्रदेश सरकारको आईसीटी अवार्ड

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले मधेश प्रदेशको इमर्जिङ सेक्टरका लागि इनोभेसन अवार्ड प्राप्त गरेको छ । प्रदेशको अर्थतन्त्र रूपान्तरण गर्नका लागि सूचना तथा सञ्चार प्रविधि (आईसीटी) महत्त्वपूर्ण योगदान रहेको भन्दै मधेस प्रदेशले कम्पनीलाई यो अवार्डबाट सम्मानित गरेको हो । मधेस प्रदेशमा समेत सञ्चालनमा रहेको, सफल व्यवसायिक मोडेल तयार पारेको, रोजगारी सिर्जना गरेको र जनताका लागि उपयोगी उत्पादन तथा सेवा ल्याएको आधारमा यस्तो अवार्ड दिइएको हो । वर्ल्डलिंकले नेपालका विभिन्न शहरी तथा ग्रामिण क्षेत्रमा वृहत फाइवर नेटवर्क निमार्ण गरि नेपालको ७५ जिल्लाहरुमा अन्तरार्ष्ट्रिय स्तरको गुणस्तरिय इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको छ । यस कम्पनीले वर्तमान समयमा ६ लाख ४५ हजारभन्दा बढी घरधुरी इन्टरनेट प्रयोगकर्ता तथा ९ हजार भन्दा बढि संघ सस्था, बैंक एवं वित्तिय संस्था तथा सरकारी कार्यालयहरुलाई इन्टरनेट एवं डाटा कनेक्टिभिटि लगायत १३ हजारभन्दा बढी स्थानहरूमा फ्रि वाइफाई सेवा उपलब्ध गराइरहेको छ।

नेप्से ६.७१ अंकले गिरावट हुँदा स्ट्यान्डर्ड चाटर्ड बैंकको सेयरमूल्य सबैभन्दा धेरै घट्यो

काठमाडाैं । सेयर बजार परिसूचक नेप्से बुधवार ६.७१ अंकल गिरावट आएको छ । लगातार रुपमा बढ्दो क्रममा रहेको नेप्से परिसूचक मंगलवारदेखि सामान्य करेक्शन आएको हो । बुधबार नेप्से सूचक ६.७१ अंकले घटेर २१८६.७७ बिन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ०.६४ अंकले घटेको छ भने फ्लोटइण्डेक्स ०.९ अंक तर सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.६ अंकले घटेको छ । बुधवार कारोबारमा आएका २१८ कम्पनीको ९५ लाख ४२ हजार ६२६ कित्ता शेयर ४ अर्ब २ करोड ९९ लाख ३१ हजार ४३९ रुपैयाँ बराबरको कारोबार भएको छ । बुधवार कारोबार रकममा भने केही सुधार देखिएको छ मंगलवार ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार ७०५ रुपैयाँ बराबरको कारोबार भएको थियो । नेप्सेका १३ उपसमूह मध्ये ४ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने ९ वटा उपसमूहको परिसूचक नकारात्मक देखिएको छ । जसमा व्यापार उपसमूहको सूचक ३.८१ प्रतिशत र हाइड्रोपावर उपसमूहको सूचक १.६४ प्रतिशतले बढेको छ । नेप्से परिसूचक गिरावट भए पनि बुधबार सामलिङ्ग पावरको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ भने बलेफि हाइड्रोपावरको ९.९७ प्रतिशत, युनाइटेड इदी मर्दी हाइड्रोपावरको ८.९६ प्रतिशत र समृद्धि फाइनान्सको ८.७६ प्रतिशत बढेको छ । तर यता स्ट्यान्डर्ड चाटर्ड बैंकको सेयरमूल्य सबैभन्दा धेरै ३.९२ प्रतिशतले घटेको छ । त्यस्तै, गुडविल फाइनान्सको ३.४३ प्रतिशत र बोटलर्स नेपालको ३.३८ प्रतिशतले घटेको छ । बुधबार शिवम सिमेन्टको सबैभन्दा धेरै २५ करोड ३४ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने अपि पावरको १५ करोड १७ लाख रुपैयाँ बराबारको सेयर कारोबार भएको छ ।