विकासन्युज

तोलाको ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । बिहिबार सुनको मूल्य तोलाको ८ सय रुपैयाँले बढेको छ । हिजो तोलाको ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर तोलाको ९६ हजार १०० रुपैयाँ कायम भएको छ । यस्तैऽ तेजाबी सुनको मूल्य पनि बढेर ९५ हजार ६०० रुपैयाँमा कायम भएको छ । हिजो तेजाबी सुन तोलाको ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँँदीको मूल्य भने बढेर तोलाको १ हजार २१० रुपैयाँ कायम भएको छ ।

इन्जिनियरिङ पढ्ने विद्यार्थी पाइन छाडे, आकर्षण विदेशतर्फ

काठमाडौं । धेरै विद्यार्थीहरुको अध्ययनमा प्राथमिक रोजाईको विषयमा बन्दै आएको इन्जिनियरिङ शिक्षामा पछिल्लो समय विद्यार्थीको अभाव हुन थालेको छ । पछिल्लो वर्षमा इन्जिनियरिङ अध्यापन गराउने कलेजहरुमा ५० प्रतिशत सम्म विद्यार्थी कमि भएको कलेज सञ्चालकहरुले बताएका छन् । विद्यार्थीहरुको आकर्षण विदेशतर्फ बढी भएकाले इन्जिनियरिङ पढ्ने विद्यार्थीको संख्यामा कमी भएको कलेज सञ्चालकहरुको भनाइ छ । पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धन लिएर विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको काठमाडौं सितापाइलामा रहेको एक्मी इन्जिनियरिङ कलेजको बिई सिभिल तर्फको क्षमता १४४ जनाको हो । तर, पछिल्लो वर्षमा जम्मा ६२ जना विद्यार्थी मात्रै भर्ना भएर अध्ययन गरिरहेको कलेजका प्रिन्सिपल प्रदिपकुमार पौड्यालले विकासन्युजलाई बताए । प्रिन्सिपल पौड्यालका अनुसार पछिल्लो समयमा त्रिभुवन विश्वविद्यालयका १/२ कलेजमा बाहेक अन्य कलेजमा इन्जिनियरिङ पढ्ने विद्यार्थीको संख्या झण्डै ५० प्रतिशतले घटेको छ । काठमाडौं पुतलीसडकमा रहेको हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजमा पछिल्लो वर्ष बिइ सिभिल अध्ययन गर्नको लागि भर्ना भएका ९६ जना विद्यार्थी मध्ये १६ जना विद्यार्थीले पढाईलाई बीचमा नै छाड्ने काम गरे । कलेजका प्रिन्सिपल तोयानारायण पौडेलका अनुसार पढाइ छाडेका ती विद्यार्थीहरु सबै अस्ट्रेलिया गए । त्यस्तै, काठमाडौं नयाँ बानेश्वरमा रहेको हिस्ट इन्जिनियरिङ कलेजका प्रिन्सिपल बिनोद श्रेष्ठले पछिल्लो समयमा कलेजमा इन्जिनियरिङ पढ्ने विद्यार्थीको संख्या ५० प्रतिशतले घटेको बताए । प्रिन्सिपल श्रेष्ठका अनुसार इन्जिनियरिङ पढाई हुने धेरै कलेजमा विद्यार्थीको अभाव हुँदै गएको छ । विद्यार्थी अभावको कारण कतिपय कलेज बन्द हुने अवस्थामा पुग्न सक्ने उनको भनाइ छ । सगरमाथा इन्जिनियरिङ कलेजका सहायक प्रिन्सिपल अरुण पराजुलीले आफ्नो कलेजमा विद्यार्थीको संख्यात्मक प्रभाव नदेखिएको बताए । तर, इलेक्ट्रोनिक इन्जिनियर विषयमा भने पछिल्लो समयमा विद्यार्थीको आकर्षण घटेको उनको भनाइ छ । साथै उनले पछिल्लो समयमा विद्यार्थीले कम मेहनत गरेर पढ्न खोज्ने समस्या देखिएको बताए । किन कमी भयो विद्यार्थीको संख्या ? एक्मी इन्जिनियरिङ कलेजका प्रिन्सिपल पौड्यालले पछिल्लो वर्षमा ठुलो संख्यामा विद्यार्थी अस्ट्रेलिया गएका कारणले नेपालका कलेजहरुमा इन्जिनियरिङ पढ्ने विद्यार्थीको संख्यामा कमि देखिएको हुनसक्ने अनुमान रहेको बताए । साथै उनले मुलुकमा इन्जिनियरिङ पढेका विद्यार्थीले समेत रोजगार पाउने अवस्था नभएकाले पछिल्लो समयमा इन्जिनियरिङ पढाईमा पनि विद्यार्थीको आकर्षण नरहेको बताए ।  यो वर्ष ठूलो संख्यामा विद्यार्थीहरु अस्ट्रेलिया गएकाले पनि इन्जिनियरिङ पढ्ने विद्यार्थीको संख्यामा प्रभाव परेको उनले बताए । हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजका प्रिन्सिपल तोयानारायण पौडेलका अनुसार भने नेपालको राजनीतिक अस्थिरता र विश्वविद्यालयको शैक्षिक क्यालेण्डरका कारणले विद्यार्थीहरुले नेपालमा आफ्नो नदेख्ने अवस्था सिर्जना भएको छ । जसकारणले विद्यार्थीहरुको पहिलो रोजाइ विदेश बन्न पुगेको उनको भनाइ छ । हिस्ट इन्जिनियरिङ कलेजका प्रिन्सिपल बिनोद श्रेष्ठले विश्वविद्यालयहरुले इन्जिनियरिङ लगायतका प्राविधिक विषय पढ्नको लागि निर्धारित गरेको जिपिए स्कोरको मान्यताको कारणले धेरै विद्यार्थीहरुले नेपाली विश्वविद्यालयमा पढ्न नपाएको बताए । त्यस्तै विश्वविद्यालयहरुले जथाभावी रुपमा कलेजहरुलाई सम्बन्धन दिएकाले पनि प्राविधिक विषय पढाउँदै आएका कलेजमा विद्यार्थीको अभाव देखिन लागेको उनको भनाइ छ । जिपिए ग्रेडिङको कारणले नेपालमा इन्जिनियरिङ पढ्न नपाएका विद्यार्थीहरु ठूलो संख्यामा भारतका विभिन्न विश्वविद्यालयमा गएर पढ्ने गरेको प्रिन्सिपल श्रेष्ठले बताए । समस्याको समाधान के ? पछिल्लो समयमा विश्वविद्यालयहरुले कलेजमा प्राविधिक विषय पढाउनको लागि आवश्यक पूर्वाधार जनशक्ति बिना नै सम्बन्धन बाँड्ने कुरालाई रोक्नुपर्ने हिस्ट इन्जिनियरिङ कलेजका प्रिन्सिपल बिनोद श्रेष्ठको भनाइ छ । जथाभावी सम्बन्धन बाँड्ने कुराले अध्ययनको गुणस्तरमा कमी आउने भन्दै उनले कतिपय सरकारी कलेजमा सम्बन्धन लिएर पढ्ने विद्यार्थीको संख्यामा कमी भएपछि पढ्नको लागि मात्रै आफ्नो कलेजमा आएको बताए । हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजका प्रिन्सिपल तोयानारायण पौडेल शैक्षिक क्षेत्रमा देखिएको गलत राजनीति नै शिक्षा क्षेत्रको मुख्य समस्या भएको बताउँछन् । शैक्षिक क्षेत्रमा देखिएको गलत प्रवृत्तिको राजनीति बन्द गर्नुपर्ने उनको भनाइ छ । साथै विश्वलाई चाहिने प्रकारको समसामयिक शैक्षिक पाठ्यक्रमको नियमित रुपमा विकास गर्ने कुरामा नेपालका विश्वविद्यालयहरु चुकेको भन्दै त्यसमा सुधार हुनुपर्ने पौडेलले बताए । सगरमाथा इन्जिनियरिङ कलेजका सहायक प्रिन्सिपल अरुण पराजुलीले पनि लामो समयदेखि विश्वविद्यालयहरुले पाठ्यक्रमको अपग्रेड नगर्ने समस्या रहेकोले त्यसलाई सच्याउनुपर्ने बताए । विश्वविद्यालयहरुले समयमा नै परिक्षा लिने र नतिजा प्रकाशनको व्यवस्था गरिदिएमा पनि बाँकी व्यवस्थापन आँफुहरुले गर्न सक्ने एक्मी इन्जिनियरिङ कलेजका प्रिन्सिपल प्रदिपकुमार पौडेलको भनाइ छ ।

सप्तकोसीमा पानीको बहावमा उतारचढाव

इनरुवा । सप्तकोसी नदीमा पानीको बहावमा उतारचढाव हुने क्रम जारी छ । गए राति कोसी ब्यारेज भएर प्रति सेकेन्ड दुई लाख ४२ हजार नौ सय ६५ क्युसेकका दरले पानीको बहाव रहेको थियो । आज बिहान ६ बजे दुई लाख २९ हजार तीन सय पाँच क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । यसैगरी आज बिहान ८ बजेको मापनअनुसार दुई लाख २८ हजार २५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेको छ । कोसी ब्यारेजका ५६ मध्ये अहिले ४१ ढोका खोलिएका छन् । कोसी नदी ओभरफ्लो भई उदयपुरको बेलाका नगरपालिका डुम्रीबोटेको बस्तीतर्फ गएको भए पनि कोसी ब्यारेजबाट पानीको बहाबमा भने उतारचढाव हुने क्रम जारी रहेको प्रजिअ यादवले बताए । सप्तकोसीमा पानीको बहावमा भइरहेको उतारचढावका कारणले श्रीलङका टापु, सप्तरीको गोवरगढा, उदयपुरको बेलका नगरपालिकाको डुम्रीबोट र लाखखोचको उत्तरतर्फ जमिन कटान थालेको प्रजिअ यादवले जानकारी दिए । कटान गरेको क्षेत्रका स्थानीयवासीलाई सुरक्षित स्थानमा लैजान उद्धार टोली तयारी अवस्थामा छ । स्थानीयवासीलाई तयारी अवस्थामा बस्नका लागि समेत सूचना जारी गरिएको प्रजिअ यादवले बताए । कोसीबाट कुनै किसिमको मानवीय क्षति तथा अन्य क्षति हुन नदिनका लागि स्थानीय प्रशासनले अपनाउनुपर्ने सबै सावधानीका उपाय अवलम्बन गरिएको उनले बताए । रासस

२०.१५ रुपैयाँ ईपीएस रहेको एनएमबि बैंकको नाफा ४ अर्ब नजिक

काठमाडौं । एनएमबि बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा ३ अर्ब ७० करोड १३ लाख १७ हजार रुपैयाँ आर्जन गरेको छ । बैंकको अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.५३ प्रतिशत नाफा बढेको हो । अघिल्लो वर्ष बैंकले २ अर्ब ७१ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत असार मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ५५ पैसा बढेको छ । अघिल्लो वर्ष १६.६१ रुपैयाँ रहेकोमा गत वर्ष २०.१५ रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा बैंकको मूल्य आम्दानी अनुपात १२.९५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ १४ पैसा रहेको छ । अघिल्लो वर्ष ५ अर्ब ६६ करोड ६ लाख ५९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंले गत वर्ष १५.७५ प्रतिशत बढेको छ । गत वर्ष बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ५५ करोड २२ लाख ५१ हजार रुपैयाँ गरेको थियो । गत वर्ष बैंकको सञ्चालन मुनाफा ३६.४३ प्रतिशत बढेर ५ अर्ब २१ करोड २९ लाख ४२ हजार रुपैयाँ, खुद फि तथा कमिसन आम्दानी ३८.०३ प्रतिशत बढेर १ अर्ब ४३ करोड ४९ लाख ६३ हजार रुपैयाँ र कुल सञ्चालन आम्दानी १७.३८ प्रतिशत बढेर ८ अर्ब ७० करोड ५० लाख १ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष बैंकको २ अर्ब ३३ करोड ४७ लाख ९३ हजार रुपैया वितरणयोग्य नाफा रहेकोमा गत वर्ष ३.५५ प्रतिशत बढाएको छ । गत वर्ष बैंकको यस्तो नाफा २ अर्ब ३९ करोड २४ लाख १० हजार रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १२.५० प्रतिशत बढेर १८ अर्ब ३६ करोड ६७ लाख ६ हजार रुपैयाँ, जगेडा कोष १६.०६ प्रतिशत बढेर ८ अर्ब ८४ करोड ९ लाख ७५ हजार रुपैयाँ, निक्षेप १२.३७ प्रतिशत बढेर १ खर्ब ८४ अर्ब ८२ करोड ९० लाख ४८ हजार रुपैयाँ र कर्जा १६.४१ प्रतिशत बढेर १ खर्ब ७५ अर्ब ७८ करोड ८० लाख ५७ हजार रुपैयाँ पुगेको छ ।

थाइल्याण्डमा ‘नेपाल सेल्स मिशन २०२२’ नेपालको गन्तव्यको प्रवद्र्धन

काठमाडौं । प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले थाइल्याण्डमा ‘नेपाल सेल्स मिशन २०२२’ मार्फत नेपालको गन्तव्यको प्रवद्र्धन गरेको छ । थाइल्याण्डको राजधानी बैंककमा आयोजित कार्यक्रममा नेपालका ११ बिक्रेता पर्यटन व्यावसायिक कम्पनी र थाइल्याडका ४५ भन्दा बढी टुर अपरेटरलगायत करिब ८० जना सरोकारवालाको सहभागिता रहेको थियो । ‘बीटुबी शत्र’ औपचारिक समारोह र नेटवर्किङ डिनर रिसेप्सन भव्यताका साथ सम्पन्न भएको पाटा नेपालले विज्ञप्तिमार्फत जनाएको छ । पाटा नेपालले थाइल्यान्डस्थित नेपाली राजदूतावास, नेपाल एयरलाइन्स, पाटा अन्तर्राष्ट्रिय र पाटा थाइल्याण्ड च्याप्टर, थाई ट्राभल एजेन्ट्स एशोसिएशन, एसएस ग्रुप थाइल्याण्ड, नेपाली उद्योग परिसङ्घ (सिएनआइ) र जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजसँगको सहकार्यमा नेपाल सेल्स मिसन आयोजना गरेको हो । कोभिड–१९ महामारीपछिको पर्यटन पुनःरुत्थान अभियानअन्तर्गत विदेशी स्रोत बजारमा गएर पहिलो पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना गरिएको पाटा नेपालले जनाएको छ । पाटा नेपालका पदाधिकारीसहित २० पर्यटन व्यवसायीको प्रतिनिधिमण्डलले अगष्ट २ देखि ४ गतेसम्म थाइल्याण्डको सोङखलामा आयोजना हुने छैटौँ पाटा डेस्टिनेसन मार्केटिङ फोरममा समेत सहभागिता जनाएको छ । कार्यक्रममा थाइल्याण्डका लागि नेपालका राजदूत गणेशप्रसाद ढकालले थाई ट्राभल एजेन्टस तथा आगन्तुकलाई सहज भिसा सेवा, नेपाल भ्रमणको सम्बन्धमा जानकारी तथा अन्य आवश्यक सहयोग प्रदान गर्न नेपाली दूतावासले सक्रिय भूमिका निर्वाह गर्ने बताउनुभयो । नेपालको पर्यटन क्षेत्रका आकर्षणका बारेमा प्रकाश पार्दै उहाँले नेपालको पर्यटन प्रवद्र्धनमा सहकार्य गर्न सहभागीलाई आग्रह पनि गरे । पाटा अन्तर्राष्ट्रियकी प्रमुख कार्यकारी निर्देशक लिज ओर्टिगेराले महामारीपछिको पर्यटन प्रवद्र्धनका लागि आफू पहिलोपटक सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै पाटा च्याप्टरहरुबीचको सहकार्य तथा समन्वयमार्फत नेपालको पर्यटन प्रवद्र्धनमा पाटा नेपाल च्याप्टरको उच्च सक्रियताको प्रशंसा गरे । उहाँले नेपाललगायत विश्वभरका पाटा सदस्य संस्थाहरू तथा गन्तव्यको पर्यटन पुनःरुत्थान एवं प्रवद्र्धनमा पाटाले आफ्नो स्रोत र विशेषज्ञता उपलब्ध गराउने विश्वास व्यक्त गरे । सीएनआइका महानिर्देशक दीपकराज जोशीले नवीनतम अद्यावधिक र जीवन्त अनुभव प्रदान गर्ने गन्तव्यको रूपमा नेपालको आकर्षणका बारेमा विस्तृत जानकारी प्रस्तुत गरे । उनले थाई ट्राभल एजेन्टले नेपालसँग जोडिएर कसरी फाइदा लिन सक्छन् भन्ने विषयमा समेत अवधारणा प्रस्तुत गरेका थिए । पाटा नेपालका अध्यक्ष विभूति चन्द ठाकुरले विश्वव्यापी महामारीले दुई मित्रराष्ट्र नेपाल र थाइल्याण्डबीचको पर्यटन आदानप्रदानलाई प्रवद्र्धन गर्न सार्वजनिक तथा निजी क्षेत्रका सबै सरोकारवालालाई पर्यटन क्षेत्रको पुनःरुत्थान तथा दिगो विकासका लागि हातेमालो गरेर अगाडि बढ्न आग्रह गरे । उनले बैंककमा आयाजित नेपाल सेल्स मिशन नवनिर्मित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र यसको दिगो पर्यटन विकासका लागि नयाँ बाटो र अवसरको प्रवद्र्धन गर्दै महामारीपछिको पर्यटन पुनःरुत्थान अभियानमा सहयोग पु¥याउन समयसापेक्ष र फलदायी पहल भएको विश्वास व्यक्त गरे । त्यसैगरी, पाटा थाइल्याण्ड च्याप्टरकी अध्यक्ष सुश्री बेन मोन्टगोमेरीले नेपालको पर्यटन पुनःरुत्थान पहलका लागि शुभकामना व्यक्त गरिन् । थाई ट्राभल एजेन्ट्स एशोसिएशनका उपाध्यक्ष शिवेक सचदेवले नेपालको दिगो र वातावरणमैत्री पहलको प्रशंसा गर्दै आफ्नो थाई पर्यटन समुदायलाई नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग गर्न आग्रह गरिन् । थाइल्याण्डमा नेपाल वायुसेवा निगमका कन्ट्री म्यानेजर होमप्रसाद पराजुलीले सहज जडान, राष्ट्रिय ध्वजावाहकको प्रवद्र्धन भाडा र थाई एजेन्टलाई विशेष सुविधाको बारेमा जानकारी दिए । लुम्बिनी विकास कोषका सद्भावनादूत विक्रम पाण्डेले भगवान बुद्धको जन्मस्थल लुम्बिनी वरपर विकास भइरहेका पर्यटन पूर्वाधार र पर्यटकीय गतिविधिको सम्भावनालाई प्रकाश पार्दै थाइल्याण्ड–नेपाललाई बौद्ध पर्यटनको माध्यमबाट जोड्नेबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

कृषि विकास बैंकको नाफा २६.१६ प्रतिशत घट्यो, वितरणयोग्य नाफा १२५ प्रतिशतले छलाङ

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा २६.१६ प्रतिशत घटेर २ अर्ब ३६ करोड ४० लाख ९५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब २० करोड १५ लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी १३.३० प्रतिशत बढेर ७ अर्ब ७७ करोड ९१ लाख ४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ६ अर्ब ८६ करोड ५७ लाख १७ हजार रुपैयाँ खुद ब्याज आर्जन गरेको थियो । गत असार मसान्तसम्ममा बैंकको खुद फि तथा कमिसन आम्दानी ११.०६ प्रतिशत घटेर १ अर्ब ३९ करोड २७ लाख ८८ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ७.३६ प्रतिशत घटेर ९ अर्ब १५ करोड १८ लाख ६२ हजार रुपैयाँ, सञ्चालन मुनाफा १८.२५ प्रतिशत घटेर ४ अर्ब ११ करोड ८१ लाख ६६ हजार रुपैयाँ र वितरणयोग्य नाफा १२५.१९ प्रतिशत बढेर ३ अर्ब ९० करोड ६९ लाख ९० हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी २० प्रतिशत बढेर १३ अर्ब १८ करोड ७९ लाख १५ हजार रुपैयाँ, जगेडा कोष ०.३१ प्रतिशत बढेर १५ अर्ब १२ करोड ८९ लाख ९३ हजार रुपैयाँ, निक्षेप २.२६ प्रतिशत बढेर १ खर्ब ६६ अर्ब ४९ करोड ६९ लाख ६५ हजार रुपैयाँ र कर्जा १८.५४ प्रतिशत बढेर १ खर्ब ७८ अर्ब ५१ करोड ४७ लाख ८८ हजार रुपैयाँ पुगेको छ । गत असार मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ २१ पैसा घटेर १७ रुपैयाँ ९३ पैसामा झरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी २९.१३ रुपैयाँ रहेको थियो । समिक्षा अवधिमा बैंकको मूल्य आम्दानी अनुपात १८.४६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २१२ रुपैयाँ २५ पैसा रहेको छ ।

प्रतिबन्धित गहुँ र चिनी आयात गर्न सरकारको साथ, मन्त्रालयले माग्यो निजी क्षेत्रसँग प्रस्ताव

काठमाडौं । भारतले गहुँ, चिनी लगायत विभिन्न वस्तु निर्यातमा प्रतिबन्ध लगाएका अवस्थामा नेपाल सरकारले भने आयातको लागि खुला रुपमा पहल थालेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतबाट गहुँ र चिनी आयात गर्न इच्छुक नेपाली व्यवसायीसँग प्रस्ताव माग गरेको छ । भारतले गहुँ, चिनी निर्यातमा प्रतिबन्ध लगाएकाे बेलामा भारतबाट नै आयात गर्न सरकारले निजी क्षेत्रसँग प्रस्ताव माग गर्नुलाई धेरैले चासाेपूर्वक हेरेका छन् । उद्योग व्यवसाय दर्ता गरेका, कर चुक्ता प्रमाण पत्र लिएका, आयात तथा निर्यात गर्न इजाजतपत्र लिएका, प्रचलित कानून बमोजिम क्वारेन्टिन लगायतका इजाजतपत्र लिएका व्यवसायीसँग सरकारले गहुँ र चिनी आयात गर्न इच्छापत्र मागेको हो । भारतले गहुँ निर्यातको लागि प्रतिबन्ध नै लगाएको छ भने चिनी निर्यातको लागि भारत सरकारको विशेष स्वीकृति लिनुपर्ने हुन्छ । भारत सरकारको विशेष स्वीकृतिमा गहुँ र चिनी आयात गर्ने प्रक्रियाको शुरुवात भएको उक्त मन्त्रालयका एक अधिकारीले बताए । खाद्यन्य संकट हुन नदिन, गहुँ प्रशोधन गरि विभिन्न प्रकारका खाद्य वस्तु उत्पादन गर्ने उद्योगहरु नियमित सञ्चालन गर्न, चाडवाडको बेलामा चिनीको अभाव हुन नदिन तथा उच्चदरको मूल्यवृद्धि रोक्नको लागि गहुँ र चिनी आयात गर्नै पर्ने अवस्था रहेकाले मन्त्रालयले पहलकदमी थालेको ती अधिकारीले बताए । सरकारले एकातिर नेपाललाई खाद्यन्यमा आत्मनिर्भर बनाउने भन्दै नीति तथा कार्यक्रम बनाएको छ भने अर्कोतिर भारतले प्रतिबन्ध लगाएको खाद्यन्य आयतको लागि मन्त्रालय नै सक्रिय भएर लागेको छ । सरकारको नीति र गतिविधि ठिक विपरित भएको प्रष्ट रुपमा देखिएको छ ।पछिल्लो समय सरकारले रासायनिक मल समेत आयात गर्न नसक्दा कृषि जन्य उत्पादनमा व्यापक गिरावट आउने र खाद्य संकट उत्पन्न हुन सक्ने अडकल समेत हुन थालेको छ ।

माइ होटल एण्ड होम डटकम : एक क्लिकमा ढुक्कले बास पाइने

काठमाडौं । आन्तरिक तथा बाह्य पर्यटकलाई सहज गर्न देशभरका प्रमुख सहरमा यात्रामा जानुअगावै सजिलै होटल बुकिङ गर्नका लागि दुई युवाले ‘माइ होटल एण्ड होम डटकम’ बेवसाइटको विकास गरेका छन् । मोबाइल फोन वा कम्प्युटरबाट उक्त बेवसाइट लग इन गरेर आफूले चाहेको मूल्य र स्तरको होटल सहजै बुकिङ गर्न सकिनेछ । होमस्टे, होस्टेल, अपार्टमेण्ट वा घरको कोठा पनि बुकिङ गर्न सकिने सुविधा रहेको यसमा सुरुमा उच्च, मध्यम र साना खालका होटलका कोठा बुकिङ गर्न सकिने गरी सेवा सुरु गरिएको होटल एण्ड होम प्रालिका प्रबन्ध निर्देशक उत्सव पाठकले बताए । ‘पर्यटकलाई यात्रामा निस्कनु अघि ढुक्क भएर बस्ने ठाउँको सुनिश्चित गर्न यसले सहयोग गर्छ, सजिलै, बिना झण्झट र होटल नपाएर रुमल्लिनुपर्ने अवस्थाको यसले अन्त्य गर्छ’, प्रबन्ध निर्देशक पाठकले भने । यसमा होटलको बारेमा परिचय, कोठाअनुसारको मूल्य, कोठाको सजावट, ओछ्यान, फर्निचर, टेलिभिजन, वाइफाइ, कतिजना सुत्न सक्ने, सेवाका शर्त, शौचालयलगायतबारे तथा बास बस्ने स्थान वरिपरिको घुम्ने ठाउँको समेत सङ्क्षिप्त विवरण दिइएको छ । रेल, हवाई, बैंक, अस्पताललगायतका क्षेत्रमा ई बुकिङको संस्कृति मौलाइरहेको बेला डेढ वर्ष लगाएर यो वेभको विकास गरिएको होटल एण्ड होम प्रालिका अध्यक्ष सफ्टवेयर इन्जिनियर शैलेश कार्कीले बताए । सुरुमा परीक्षणका रुपमा रहेकाले अनलाइन बुकिङमा अहिले दश प्रतिशत छुट दिइएको छ । ‘धेरै प्रकारका होटल हेरेर पर्यटकले चाहेको मूल्यका होटल रोज्न सक्छन्, होटलको सेवा, शर्तबारे क्षणभरमा थाहा पाउन सकिन्छ’, अध्यक्ष कार्कीले भने । हालसम्म काठमाडौं, भक्तपुर, नगरकोट, धुलिखेल, चितवन, बन्दीपुर, घान्द्रुक, लुम्बिनी, बुटवल, पोखरा, चरीकोटलगायतका प्रमुख पर्यटकीय सहरका तीनसय होटल यसमा आबद्ध भएको र यो क्रम जारी रहेको उनले जानकारी दिए । यसको एप्स भने दशैँपछि सार्वजनिक गर्ने योजना पाठक र कार्कीको रहेको छ । खासगरी नयाँ वर्ष, क्रिसमस, मेला महोत्सव वा ठूला सम्मेलन र सभामा कोठा पाउन असजिलो र झण्झटिलो हुने गरेको छ । स्वदेशी तथा विदेशी पर्यटकलाई नेपालभरिका प्रमुख पर्यटकीय गन्तव्यमा होटलमा कसरी बास पाउने भन्ने चिन्ताले पिरोल्ने गर्छ । ‘एक क्लिकमा ढुक्कले बास पाउने अवस्था होस् भनेर यो सेवा सुरु गरेका हौँ, यसबाट पर्यटकलाई सहज हुन्छ, नेपालको पर्यटन क्षेत्रको विकासका लागि नयाँ कामको थालनी गर्दैछौँ’, अध्यक्ष कार्कीले भने ।