कनकाई नगरपालिकामा नबिल बैंकको डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिवृद्धि कार्यक्रम सम्पन्न
झापा । नबिल बैंकले कनकाई नगरपालिकामा डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । कनकाई नगरपालिकाको कार्यालयमा भएको कार्यक्रममा १५० जना युवा तथा महिला उद्यमीहरुको सहभागिता थियो । कार्यक्रममा सम्बोधन गर्दै उपमेयर आशा शिवाकोटीले रोजगारीका अवसर सृजना गर्न साथै उद्यमशिलता प्रबर्धन गर्न वित्तिय क्षेत्रको विशेष भुमिका रहने जानकारी गराएका थिए । कार्यक्रममा नबिल बैंकका मेची क्लस्टर प्रमुख सरोज श्रेष्ठले डिजिटल बैंकिङको आवश्यकता र क्युआर कोडले व्यवसायमा पुर्याउने योगदानका बारेमा जानकारी दिएका थिए । यस्तै, नबिल बैंकका दिगो बैंकिङका प्रमुख लिला प्रसाद ओझाले नबिल दिगो बैंकिङको विभिन्न आयामहरुको बारेमा प्रस्तुतिका साथै कृषि कर्जा, महिला तथा युवा उद्यमशिल कर्जाका बारेमा जानकारी दिएका थिए । नेपाल सरकारले अबलम्बन गरेको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवसको दिन नबिलले दिगो बैंकिङको सुरुवात गरेको हो । सुरुमा १७ वटा शाखाबाट सुरु गरेको दिगो बैंकिङ बैंकले हाल १०० शाखामा विस्तार गरेको छ । दिगो बैंकिङ अन्र्तगत किसान कर्जा र उद्यमशील कर्जा मार्फत ५०० भन्दा बढी उद्यमीलाई ५५ करोड भन्दा बढी कर्जा प्रवाह गरेको छ ।
घरजग्गा बिना बैंकले नाफा कमाउन सक्दैन, कडाइ गरेपनि अर्कै बाटो खोजेर लगानी गर्छन् : इच्छाबहादुर वाग्ले
विगत साढे तीन दशकदेखि घरजग्गा व्यवसायमा लागेका सक्रिय व्यवसायी हुन् इच्छाबहादुर वाग्ले । नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष समेत रहेका वाग्लेले घरजग्गा व्यवसायमात्रै होइन शिक्षा, पर्यटन लगायत क्षेत्रमा लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् घरजग्गा धितो कर्जामा कडाइ गरेपछि घरजग्गा व्यवसायीहरू असन्तुष्ट बनेका छन् । वर्तमान घरजग्गा व्यवसाय, सरकारले गरेको नीति र वाग्लेको व्यक्तिगत व्यवसायिक जीवनको विषयमा विकासन्युजका सन्तोष रोकाया र राजिव न्यौपानेले कुराकानी गरेका छन् । पछिल्लो समय जग्गा व्यवसायीहरू असन्तुष्ट छन् भन्ने सुनिन्छ नी, किन ? सरकारको नीतिप्रति घर जग्गा व्यवसायीहरू असन्तुष्ट हुनुका २/३ वटा कारण छन् । घर जग्गाको वर्गीकरण सम्बन्धी कानुन आइसकेपछि क्लिरियन्स भएको छैन । जग्गाको नियमावली तथा वर्गीकरण सम्बन्धी ऐन आएपनि हालसम्म जग्गाको वर्गीकरण हुन नसक्दा कारोबार अन्योलमा छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि सार्वजनिक गरेको मौद्रिक नीतिले पनि घरजग्गा व्यवसायलाई निरुत्साहित गरेको छ । सबै कुरामा हामीले दबाब दिएर पनि हुँदैन । सरकारले पनि बुझ्ने कुरा हो । कुन बेला के गर्नुपर्छ, कस्तो हुनुपर्छ, कसरी परिचालन भन्ने कुरा हाम्रो हातको मात्र कुरा होइन । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् घर जग्गा धितो कर्जामा कडाइ गरेको छ । यो व्यवस्थाप्रति नै हो तपाईंहरुको असन्तुष्टि ? देशमा विभिन्न किसिमका उद्योगहरू छन् । कुनै उद्योगमा धितोको ७०/८० प्रतिशतसम्म बैंकहरुले कर्जा दिन्छन् होला । घर जग्गा व्यवसाय पनि एक किसिमको उद्योग नै हो । तर, घर जग्गाको कारोबार अलिक अव्यवस्थित देखेर यस्तो भएको हो । यसलाई व्यवस्थित बनाउनु पर्छ । व्यवस्थित बनाइसकेपछि यसलाई पनि एउटा उद्योग सरह लगेर ६०/७० प्रतिशतसम्म लगानी गरिएन भने उद्योग नै संकटमा पर्न जान्छ । यो क्षेत्र पुँजीको परिचालन गर्ने ठूलो माध्यम हो । हाम्रो देशको कर्जा प्रणाली धितोमा आधारित छ । बैंक धेरै छन् । बैंकहरु कम हुन् भनेर अहिले मर्जरलाई प्राथमिकता दिइएको छ । आज कुनै पनि बैंकले यो देशमा प्रोजेक्ट धितोमा रोखर ऋण दिन सकेको छैन । यस विषयमा सोच्नु पर्ने भएको छ । राष्ट्र बैंकले कर्जा लगानीमा गरेकाे कडाइले घरजग्गा क्षेत्रमा के कस्ताे प्रभाव पर्ला, घरजग्गा व्यवसायको भविश्य कस्तो होला ? घरजग्गा व्यवसायीलाई नीतिगत जटिलता पनि छ । अहिले जग्गाको कित्ताकाट हुँदैन । जग्गाको वर्ग नै कृषियोग्य र गैर–कृषियोग्य भनेर छुट्टिएको अवस्था छैन । हिजो बैंकहरुले धितो मूल्यांकनको ४० प्रतिशत कर्जा दिँदा पनि जग्गाको कारोबारमा पैसा आएकै थियो । ५०/६० प्रतिशत कर्जा प्रवाह गर्दा पनि पैसा आएकै छ । भोलि ३० प्रतिशत हुँदा पनि कर्जा आउँछ जस्तो मलाई लाग्छ । किनभने बैंकहरुले पनि जाने बाटो खोज्छ । अहिले सबैको हातमा कम्प्युटर मोबाइल छ । एउटा सेयरको हिसाबमा ३० अर्बसम्म चलखेल गरेको देखिन्छ । तर भोलिका दिनमा पैसाले खेल्ने ठाउँ पाउनु पर्याे । एक वर्ष अगाडिको हाम्रो क्यालकुलेसन अनुसार घर जग्गाको व्यवसायले अर्थतन्त्रको १२ प्रतिशतभन्दा बढी कभर गरेको थियो । बैंकहरुले कृषि भनेर ठूला–ठूला आयोजना गरेर देखाउँछ । १५ प्रतिशत लगानी बैंकलाई कृषिमा गर्नु नै भनेको छ । बैंकहरुले सो पुँजी कृषिमा परिचालन गर्छन् भन्ने मलाइ लाग्दैन । कृषिमा धेरै जोखिम छ । देशले कृषिबाट उत्थान गर्नको लागि कृषिभित्र धेरै विषयको सुधार हुनुपर्छ । उन्नत जातिको बिउ बिजन, प्रविधि, उपकरण सिजनेबल कृषि आदिलाई विविध विषयलाई बिचार गरेर कृषिको उत्पादनलाई उपलब्धिमुलक नठानी मान्छे कृषिमा जाँदैनन् । अहिले ठुलाठूला कृषिको रूपरेखा देखाएर धेरै मान्छेले सयौं बिघा जमिनमा कृषि गर्ने भनेर कृषकहरूलाई परिचालन गर्ने र त्यो पैसालाई अन्त परिचालन गरेको पनि हुन सक्छ । त्यो पैसा घरजग्गामा नै आएको छैन भन्न पनि सकिँदैन । बाटो फरक हो । पर्यटनको बाटोमा रकम जान्छ, सो रकम पनि फर्केर जग्गामा पनि आउन सक्छ । जग्गा यस्तो क्षेत्र हो जहाँबाट कहिल्यै मान्छेको पुँजी घट्दैन । घरजग्गामा लगानी गरेको मान्छे कहिल्यै पनि पछि परेको अवस्था छैन । यो नीतिले यसको बिजनेस निरुत्साहित हुन्छ । वास्तविक जग्गाको कारोबार गर्नेको लागि असुविधा हो । तर, अव्यवस्थित तरिकाको कारोबार हुन दिने हो भने त्यी अव्यवस्थितहरू कारोबार गर्नेहरुका लागि कुनै बाधा हुँदैन । उनीहरूले अरू बिजनेस देखाएर पनि यसमा लगानी गरिराख्छन् । यसमा लगानी गर्नको लागि बैंकले पनि कर्जा दिन्छ । किनभने बैंकको अन्य कुनै ठाउँ छैन, उनीहरूलाई पनि कर्जामा लगानी गर्नुछ । धितोमा आधारित कुनै पनि प्रोजेक्टमा लगानी छैन । त्यसैले बैंकले पनि हरेक वर्ष प्रोफिट बढाउन घरजग्गा नै चाहिन्छ । कर्जा कम भए पनि लगानी बैंकले घर जग्गामा नै गर्छन् । त्यसैले पैसा जग्गामा नै खेलिरहेको हुन्छ । सरकारले कृषि वा अन्य क्षेत्रमा जति प्राथमिकता दिए पनि त्यो लगानी घरजग्गामै आउँछ भन्नु भयो, यसको मतलब अब सरकारले पनि घरजग्गालाई नै मुख्य प्राथमिकता दिनु पर्छ भन्न खोज्नु भएको हो ? घरजग्गा विभिन्न बास्केट मध्येको एउटा बास्केट हो । यो क्षेत्र विकासको एउटा आधार हो । यो मानव जीवनको चौथो लगानी हो । पहिलो लगानी खाद्य वस्तु, दोस्रो अहिले प्रविधि भइसक्यो, तेस्रो अरू कुनै हुनसक्छ र, चौथो लगानी घरजग्गा नै हो । त्यसपछि मान्छेले आवास खोज्छ । मान्छे सहरीकरण भित्र बस्न खोज्छ । विदेश जाने मान्छेले पनि एउटा राम्रो ठाउँमा घडेरी किन्ने मनसाय बनाएको हुन्छ । गाउँले भएकाले शहरमा, शहरमा भएकाले अर्को कुनै नयाँ ठाउँमा जग्गा किन्न खोज्छ । बैंकहरुले घरजग्गा धितोलाई विश्वसनिय धितोका रुपमा लिन्छन् । कर्जाको ब्याजदरको विषयमा पनि बैंक र व्यवसायीहरुबीच मतभेद भइराख्छ, बैंकहरुले तपाईंहरुबाट कति ब्याज लिन्छन् ? उनीहरूले पहिला त घर जग्गालाई नै अनुत्पादक ठाउँ हो भन्छन् । उत्पादन जति यही क्षेत्रले खपत गर्नुपर्छ । अनुत्पादक क्षेत्र पनि हामीले स्वीकार गरी दियौं । हामीले नै दलाली गर्न नदेऊ सङ्गठित व्यवसाय गर्ने वातावरण सिर्जना गर्न देउ भन्यो भने पनि सरकारले गर्दैन । अनुत्पादक भन्ने बित्तिकै बैंकले ब्याज बढी राखी दिन्छ । व्यक्तिपिच्छे ब्याज फरक–फरक नै हुन्छ । अहिले औसत अहिले १४ देखि १५ प्रतिशतसम्म व्याजदर होला । बैंकहरुले आधारदरमा ७ प्रतिशतसम्म प्रिमियम लिइरहेका हुन्छन् । सरकारले पनि घरजग्गालाई अनुत्पादक क्षेत्रको रूपमा चित्रण गर्दै आएको छ । सर्वसाधारणले पनि घर जग्गा व्यवसायीलाई हेर्ने दृष्टिकोण अलि पृथक नै हुन्छ । तर, घरजग्गा सबैलाई नभइ नहुने हुन्छ, यो वातावरण सिर्जना कसरी भयो ? घरजग्गा व्यवसाय गर्ने तरिका अव्यवस्थित भयो । यसलाई व्यवस्थित तरिकाले गर्दा यो पनि एउटा उद्योगको रूपमा व्यवस्थित कारोबार गर्ने माध्यमबाट अगाडि जानु पर्ने हो । यो सबैले कारोबार गर्न सक्ने ठाउँ भयो । यो सबैको व्यवसाय बन्न नहुने भयो भने सबैको सन्तुलन मिलाउन सक्छ । यस्ता नीति नियमन गर्ने संस्थाहरू भएनन् । अव्ययस्थित भएको कारणले जग्गाको भाउ अस्वाभाविक रूपले बढ्दै गयो । यो किसिमको ग्रोथ राम्रो हैन भन्ने कुराको महसुस हामीले पनि गरेका छौं । तर, यो किसिमको ग्रोथ रोक्न सरकारले नै एउटा एजेन्सी बनाइसक्नु पर्ने हो । अहिलेको सरकारले यसलाई विशिष्टिकृत संस्थाबाट कारोबार अगाडि बढाउने भनेको छ । विशिष्टकृत कम्पनीबाट अगाडि बढाएर नीति नियम मिलाएर यसको कारोबार हुन दियो भने राम्रो नै हुन्छ । मूल्यवृद्धि पनि हुँदैन । नजान्ने मान्छेले कारोबार पनि गर्दैन । सबैले यो ब्यापार गर्दा यस्तो खालको वातावरण सिर्जना भएको हो । उसलाई आज बैना गरेर पर्सि बिक्री गर्दा नाफा आयो कि आएन भनेर हेर्छ । सबै वर्गले यसको व्यपार गर्दा यस्तो भएको हो । घरजग्गा व्यवसायमा धेरै मेहेनत गर्नु नपर्ने, छोटो समयमा राम्रो प्रतिफल पाउन सकिने, यस क्षेत्रले रोजगारी पनि सिर्जना नगर्ने र देशको अर्थतन्त्रमा पनि खासै टेवा नपुर्याउने क्षेत्रमा रुपमा मान्छेहरूले बुझ्छन्, यसमा तपाईको धारण के छ ? एउटा प्लानर (योजनाकार)ले एउटा जग्गाको डेभलप गर्नको लागि कति किसिमको बुद्धि पुर्याउनु पर्छ ? त्यसले जग्गाको कलेक्सन कसरी गर्छ ? कसरी सरकारका मापदण्ड मिलाउनु पर्छ ? कस्ता क्षेत्रहरु छुट्याउनु पर्छ ? कति बाटो खर्चनु पर्छ ? यी असिमित विषयहरू छन् । दलाली हिसाबले हुने जग्गा किन बेच्चलाई बन्द गरेर सङ्गठित हिसाबले जानु पर्याे । सङ्गठित हिसाबले जान सरकारले पनि पहल गर्नु पर्याे । घर जग्गालाई जग्गाको विकासको रूपमा मात्र हेर्नु भएन । सहरी विकास, स्मार्ट सिटी आदिको विकासको रूपमा हेर्नु पर्याे । त्यो भइसकेपछि घर कोलोनीको रूपमा विकास हुन्छ । सरकारले पनि के आँकडा गर्नु पर्याे भने कुन–कुन कोलोनीहरू कहाँ कहाँ छन् । एउटा कोलोनी बनाउँदा त्यसले राष्ट्रिय वा अन्तर्राष्ट्रिय उत्पादन हुने कुराहरू कति खपत हुन्छ । यी विभिन्न विषयहरु अध्ययन गरेर काम गर्नु पर्छ । पछिल्लो समय अव्यवस्थित रूपमा जग्गा प्लटिङ भइरहेको छ, हरियाली वनजंगल जग्गा प्लटिङकै कारण सखाप भएको छ, याे विषयप्रति तपाईंहरु सचेत किन नभएको ? सरकारले अहिले भूमिको वर्गीकरण गर्ने भनेको छ । तर, तोकेको छैन । छिटो तोक्नु पर्यो । कुन ठाउँमा के–के गर्न पाइन्छ भनेर तोक्नु राम्रो नै कुरा हो । तोकेपछि यो ठाउँमा आवास, बन, उद्योग, कृषि भनेर निर्धारण गर्नु पर्दथ्यो । भूमिको वर्गीकरण गर्न अब ढिलाइ भइसकेको छ । यो कुरा ४० वर्ष अगाडि हुन पर्थ्याे । ४० वर्ष अगाडिको कुरा अहिले भएको छ । अहिले आएर काठमाडौंलाई कृषि क्षेत्र बनाउन सम्भव छैन । अहिले कुना काप्चामा सबै घर बनिसके । यो कुराको रोकावट व्यक्तिले गर्ने हैन सरकारले गर्ने हो । अहिले डाँडाँ पाखामा डोजर चलाएर जमिन उजाड बनाइरहेका छन् । त्यो राम्रो कुरा हैन । अव्यवस्थित रूपमा जग्गा कटानीको आरोप त तपाईंहरूलाई लाग्छ नी ? दोष सरकारलाई लगाउने हो, हामीलाई हैन । वि.स २०७४ सालदेखि नै जग्गाको कित्ताकाट रोकिएको छ । वर्षमा एक प्लट मात्र कित्ताकाट गर्न सकिने व्यवस्था छ । कित्ताकाट रोकिएपछि नै नेपालमा बढी कित्ताकाट भएको छ । यसको दोषी हामी होइन, सरकारका कर्मचारी हुन् । यसमा त तपाईंहरु घरजग्गा व्यवसायी र मालापोतका कर्मचारीहरुबीच मिलेमतो हुन्छ भन्ने सुनिन्छ नी ? त्यस्तो भएको छैन । हामीले चाहे पनि कर्मचारीले त नगर्नु पर्ने हो । व्यवसायी आफ्नो फाइदाको लागि अनेकौं गर्लान् । घरजग्गा सम्बन्धी नबुझेको मान्छेले पैसा कमाउन विभिन्न उपयाहरु अपनाउन सक्ला । तर, जग्गाको कित्ताकाट रोकिएको अवस्थामा कर्मचारीहरूले कित्ताकाट नगर्नु पर्ने हो । तर, गरिदिन्छन् । जग्गाको कित्ताकाट अहिले रोके पनि अझै कित्ताकाट भइरहेको होला । जग्गाको वर्गीकरण भयो भने यस समस्याको समाधान हुन सक्छ । नेपाल सरकारको चालु आर्थिक वर्षको निति तथा कार्यक्रममा जग्गा वर्गीकरण सम्बन्धी व्यवस्था ल्याएको छ । सोही व्यवस्थालाई सरकारले छिटो लागू गर्नुपर्ने देखिन्छ । वान डोर सिस्टमबाट यसको कारोबार चलाइदिने हो भने समुन्नत रूपमा सहरको विकास हुन्छ । मालपोत कार्यालयका कर्मचारीहरूसँग तपाईंहरुको हिमचिम बढी नै हुन्छ, उनीहरूको व्यवहार पनि तपाईंहरुलाई बढी थाहा होला, घुस बिना काम नै गर्दैनन् भन्ने सुनिन्छ नी, यसमा कतिकाे सत्यता छ ? नेपालको मालपोत क्षेत्र र भूमि सम्बन्धी क्षेत्रमा जति भ्रष्टचार अन्य कुनै पनि क्षेत्रमा भएको छैन होला । जग्गाको कित्ताकाट नगर भनेकै समयमा बढी कित्ताकाट भएको छ । यसले पनि भ्रष्टचार भएको पुष्टि गर्छ । यसबाट ठगिने सर्वसाधारण नै हो । भ्रष्टचार भएको नागरिकले खुलेर भन्दैनन् । किनभने उनीहरूकै काम गरिदिनु पर्छ । जग्गाको कित्ताकाट हेरेर हामीले अनुमान गर्ने कुरा हो । रजिस्टर पल्टाउँदा पनि कित्ताकाट देख्छौं । यसमा तलदेखि माथिसम्मका सबै कर्मचारी मिलेका होलान् । हामी त काम गर्न खोज्छौं । उनीहरुले काम गरिदिए न भने कारोबार नै बन्द गरेर बस्थ्यौं । तर, उनीहरुले सजिलो किसिमले काम गरिदिन्छन् । घरजग्गाको मूल्य आकासिनुमा पनि कर्मचारीको हात ठूलो छ । हामीले जग्गाको कित्ताकाट रोकिएको बेला कारोबार गरेनौं । ऐन आओस् अनि व्यवस्थित भएपछि हाम्रो प्लानलाई अगाडि बढाउने भन्ने कुरा छ । भूमि व्यवस्था मन्त्रालयले भूमि उपयोग नियमावली पनि ल्याएको छ, यसमा तपाईंहरुको धारण के छ ? भूमि उपयोग छिटो वर्गीकरण गर्नु राम्रो कुरा हो । यो धेरै वर्ष अगाडि हुनु पर्दथ्यो । अहिले वर्गीकरण असजिलो हुन्छ । तर, असजिलो भए पनि भूमि सम्बन्धी ऐनलाई छिटो कार्यान्वयन गर्नुपर्छ । पछिल्लो समय हाउजिङ निर्माण सुस्ताएको हो ? हेर्दा त्यस्तै देखिन्छ । अहिले जग्गाको मूल्य बढ्दो छ, जग्गाको कलेक्सन गर्न नै समस्या भयो । काठमाडौंमा जग्गा सकिँदै गए, बाहिर पूर्वाधार नभएको कारणले गर्दा हाउजिङ निर्माण सुस्ताएको हो । तपाईं व्यक्तिगत रुपमा केमा व्यस्त हुनुहुन्छ ? अहिले म एउटा क्षेत्रमामात्र नभई विभिन्न क्षेत्रसँग जोडिएर काम गरिरहेको छु । निजी व्यवसायको रूपमा होटल ट्राभल ट्रेडमा विगत २७ वर्षदेखि सञ्चालन गरिरहेको छु । शिक्षा क्षेत्रमा कलेजहरू सञ्चालन गर्ने काम पनि गरिरहेको छु । अहिले स्वास्थ्य क्षेत्रमा पनि गएर काम गरिरहेको छु । अहिले एग्रो टुरिजम सञ्चालन गर्ने तयारीमा छु । बारामा कृषि–पर्यटन व्यवसाय गर्ने तयारीका साथ काम भइरहेको छ । त्यसको जग्गा अधिग्रहणको काम भइरहेको छ । ४० बिघा क्षेत्रफलमा सो व्यवसाय गर्ने तयारी छौं । नेपालका उत्पादनहरू अर्गानिक रूपमा राखेर त्यही आफूले नै खपत गर्ने योजनाका साथ सो व्यवसाय सञ्चालन गर्ने तयारी जुटेका हौं । बारामा मेरो आफ्नै होटल पनि छ । कृषि–पर्यटन व्यवसायबाट उत्पादन वस्तुलाई होटलले नै खपत गर्नेछ । अब पर्यटनसँगै कृषिमा पनि जाने तयारी गरेको हुँ । पर्यटकका लागि पनि सो क्षेत्र आकर्षणको केन्द्र बन्न सक्छ भन्ने हाम्रो सोच हो । करिब १५ बिघा जमिन खरिद गरिसकेको छु । सो ठाउँमा जग्गाको मूल्य कठ्ठाको ३ लाख रुपैयाँ जस्तो पर्न जान्छ । झन्डै ६० लाख रुपैयाँ बिघाको पर्छ । जमिन खरिदको लागि ३०/४० करोड रुपैयाँ लाग्ने अनुमान गरेका छौं । यसलाई एकै पटकभन्दा पनि क्रमबद्ध रूपमा विकास गर्दै लैजाने हो । सो क्षेत्रमा सयौंले रोजगारी पाउनेछन् भने कराडौं लगानी लाग्नेछ । परियोजनाको विस्तृत अध्ययन गर्न भने बाँकी नै छ । अब घरजग्गा व्यवसायबाट कृषि क्षेत्रतर्फ लाग्न खोज्नु भएको हो ? हैन, घरजग्गा त हाम्रो पैतृक नै भइसक्यो । ३५ वर्ष मैले यो क्षेत्रमा रहेर काम गरिसकेँ । नेपालमा घरजग्गा विकासको खाका केहो भन्नेर चिनाउने मान्छे मै हो । दोस्रो मान्छे अहिलेसम्म मसँग दाबी गर्दैन । जग्गा प्लटिङ गरेर विकसित घडेरी दिने, २६ फिटको बाटो २० फिटको बाटो कसरी राख्नुपर्छ भनेर चिनाउने मान्छे म नै हो । अन्त्यमा, सरकारलाई तपाईंको सुझाव के छ ? सरकारले उपयुक्त समयमा उपयुक्त निति बनाइदिनु पर्याे । यस व्यवसायलाई वान सिस्टममा ल्याउनु पर्यो । यस क्षेत्रका मर्महरू बुझ्नु पर्छ । यसबाट कस्तो राजश्व संकलन हुन्छ । यसलाई के गर्दा अंकुश लगाउन सकिन्छ भनेर मात्र सरकारले काम गर्नु भएन । यसलाई कसरी बैंकिङ गर्न सकिन्छ, कसरी सिटीहरू राम्रो हुन्छ सहरको स्वरूप राम्रो हुन्छ । यी विविध विषयमा सरकारले सोच्नु पर्यो । काम गर्नु पर्यो ।
चुनावको मिति तोक्न मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार दिउँसो १ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयकाअनुसार मन्त्रिपरिषद्को बैठक बिहीबार दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ । बैठकले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोक्न सक्ने बताइएको छ ।
‘शुभ लक्ष्मी कोष’ खुल्लामुखी म्युचुअल फण्डकाे बिक्री खुला
काठमाडाैं । लक्ष्मी क्यापिटलले सर्वसाधारण लगानिकर्ताको लागि ‘शुभ लक्ष्मी कोष’ नामक खुल्लामुखी म्युचुअल फण्ड निष्कासन तथा बिक्री खुला गरेको छ । क्यापिटलले लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाई १० रुपैयाँ अंकित दरका ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाईहरु निष्कासन गरेकाे हो । जसमध्ये १५ प्रतिशत इकाई कोष प्रवद्धक लक्ष्मी बैंकले बिज पुँजीको रुपमा लगानी गर्नेछ भन बाँकी रहेको ४ करोड ७५ लाख इकाईमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि १ करोड ७५ लाख इकाई बिक्री खुल्ला गरेको छ । सर्वसाधारण लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले छिटोमा साउन २३ गतेसम्म र ढिलोमा भदौ २ गतेसम्म धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट पनि आवेदन दिन सक्नेछन् ।
शहीद तथा बेपत्ताका परिवारलाई मासिक भत्ता
गलकोट । बागलुङको ताराखोलाका शहीद, बेपत्ताका परिवार तथा घाइतेले गाउँपालिकाबाट मासिक भत्ता प्राप्त गर्ने भएका छन् । गाउँपालिकाले द्वन्द्वको क्रममा भएका शहीद, बेपत्ताका परिवार, घाइेते तथा अपाङ्गलाई मासिक भत्ता दिने भएको हो । पालिकाले गाउँसभाबाटै नीति तथा बजेटमा सो कुरा समावेश गरेको छ । कार्यपालिका बैठकबाट भत्ता वितरणको नीति बनाएर पारित गरेकाले आगामी महिनादेखि शहीद तथा बेपत्ताका परिवारलाई मासिक भत्ता दिन थाल्ने गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले जानकारी दिए । सशस्त्र द्वन्द्वका क्रममा राज्य पक्षबाट २१ शहीद र दुई बेपत्ता भएका थिए भने विद्रोही नेकपा माओवादी पक्षबाट चार शहीद भएका थिए । उनीहरुका परिवारलाई मासिक रु एक हजार पाँच सयका दरले भत्ता दिने निर्णय गरिएको विकले बताए । घाइते तथा अपाङ्गताको हकमा परिचयपत्रको आधारमा जिल्ला प्रशासन र वडा कार्यालयले प्रमाणित गरेपछि पाँच सयदेखि एक हजार भत्ता दिने निर्णय गरिएको छ । गाउँपालिकामा ११ जना द्वन्द्वको क्रममा गम्भीर घाइते भएका थिए । पालिकाले विद्रोही तथा राज्य पक्षबाट भौतिक संरचना गुमाएका परिवारलाई रोजगारी दिने गरी नीति बनाएको छ । पालिकाले दिने हरेक रोजगारीमा यो सूचक राखिने गाउँपालिकाले जनाएको छ । रासस
सिलवालको प्रश्न : सरकारी कम्पनीलाई बीमा समितिको नियमनभित्र किन राखेको ?
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले सरकारी बीमा कम्पनी (राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी) लाई समितिको क्षेत्राधिकार भित्र किन राखेको भन्दै प्रश्न उठाएका छन् । बुधबार राष्ट्रिय बीमा कम्पनीको नवौं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले सरकारसमक्ष सो प्रश्न गरेका हुन् । ‘सरकारी कम्पनीले सरकारले सहयोग नगरेसम्म चुक्ता पुँजी वृद्धि नगर्ने रे, सरकारले गर्दैन भने हाम्रो नियमावली भित्र किन राखेको ? राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीलाई केही गर्न नसक्ने भए समितिको क्षेत्राधिकारभित्र किन राख्ने ? झिक्दा हुन्छ,’ उनले भने । सरकारी कम्पनीले बीमा समितिको नियमलाई अटेर गरेको र कम्पनीको अहिलेको काम कारवाहीले बाँकी रहेको बीमा बजारलाई बिगार्ने उनले सो बताए । पछिल्लो समय सरकारले कोरोना बीमाको पैसा नदिएकोले बीमा क्षेत्र बदनामी भएको अध्यक्ष सिलवालको दावी छ । बीमा समिति सरकारले भनेको निर्देशन मान्न बाध्य छ भने सरकारी बीमा कम्पनीलाई सहयोग गर्ने सरकारको दायित्व रहेको उनको भनाइ छ । साथै, कम्पनीको लेखापरीक्षण समयमै गराई वित्तीय परदर्शीतालाई देखाउने वातावरण पनि सरकारले सिर्जना गरिदिनुपर्ने उनले बताए । तोकिएको पुँजी नपुर्याए राष्ट्रिय बीमा कम्पनीको सबै कारोबार रोक्का हुने कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले तोकिएको समयमा पुँजी नपुर्याए कम्पनीको सबै कारोबार रोक्का गरिदिने चेतावनी दिएका छन् । नियामकले सपोर्ट गर्ने ठाउँमा सपोर्ट नै गर्छ र कडाई गर्ने बेलामा पनि कडाई नै गर्छ भन्दै उनले सो बताएका हुन् । ‘अर्थमन्त्रालयलाई पुँजी वृद्धि गर्नुपर्यो भनेर माग गर्नुस्, मैले तोकेको समयभित्र पुँजी वृद्धि भएन भने कारोबार रोक्का हुन्छ, अर्थमन्त्रालयलाई भनेर हुन्छ की कसरी हुन्छ प्रकृया अघि बढाउनुस्,’ उनले राष्ट्रिय बीमा कम्पनीलाई भने । हाल कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख रुपैयाँ छ । समितिले तोकेअनुसार कम्पनीले न्यूनतम साढे २ अर्ब रुपैयाँ बराबरको चुक्ता पुँजी पुर्याउनु पर्छ । जसको लागि समितिले २०७९ चैत मसान्तसम्मको समय दिएको छ । साथै, समितिका अध्यक्ष सिलवालले अबको २ चार महिना भित्रमा अडिटका सबै काम सक्न समेत कम्पनीलाई आग्रह गरेका छन् । पछिल्लो समय कम्पनीले विगतमा लेखापरीक्षण हुन बाँकी रहेका प्रतिवेदनहरुलाई विशेष प्राथमिकतामा राखेको छ । कम्पनीको सीईओमा ज्ञानेन्द्र राज ओझा आएसँगै कम्पनीले छोटो अवधिमै दुई वर्ष (आर्थिक वर्ष २०७०/७१, २०७१/७२) को लेखापरीक्षण गरिसकेको छ भने आर्थिक वर्ष २०७२/७३ को प्रतिवेदन पास गराउने प्रकृयामा छ । कारोना बीमा भुक्तानीको समस्या छिट्टै सल्टिने अर्थमन्त्रालयका राजश्व सचिव कृष्णहरि पुष्करले कोरोना बीमा भुक्तानीको लागि प्रकृया अघि बढिरहेको र त्यसको समस्या छिट्टै सल्टिने बताए । ‘कारोना बीमा भुक्तानीको लागि अर्थमन्त्रालयले बीमा समितिसँग विभिन्न मोडालिटीमा छलफल गरेको छ, यसलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा अर्थमन्त्रालय करिब निश्कर्षमा पुगिसकेको छ, छिट्टै निर्णय गर्ने छौं,’ पुष्करले भने । राष्ट्रिय बीमा कम्पनीको हरेक पक्षलाई सम्बोधन गर्न सरकार तयार रहेको पनि उनले बताए । त्यस्तै, कम्पनीका अध्यक्ष राजेश्वर ज्ञवालीले बीमा समितिका अध्यक्षले भनेका विषयलाई मनन् गर्दै अघि बढ्ने बताए । त्यस्तै, कार्यक्रममा कर्मचारी संघ संगठनका प्रतिनिधिले उठाएका विषयलाई पनि मनन गर्ने उनको भनाई छ । ‘सञ्चालक समिति चिर निन्द्रामा छैन, सबैलाई हित हुने गरी अघि बढ्छ, तर कर्मचारीहरुले अनुशासनमा बसेर तोकिएको काम गर्नुपर्छ, होइन भने कारवाही गर्छौं, पहिला कस्तो थियो थाहाँ भएन, अब त्यसरी चल्दैन,’ उनले भने । त्यस्तै, कार्यक्रममा बोल्दै जीवन बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले राष्ट्रिय बीमा कम्पनीलाई नियामकको नियमअनुसार अघि बढ्न आवश्यक रहेको बताएका छन् । सम्बन्धित सामाग्री राष्ट्रिय बीमा कम्पनीलाई सिलवालकाे चेतावनी : तोकेको समयमा पुँजी वृद्धि नगरे कारोबार रोक्ने कोरोना बीमा पोलिसी ल्याउनेलाई जेल हाल्नुपर्छ, अभिकर्ताको कमिसन बढाऔं : अध्यक्ष ढुंगाना
अभियान लघुवित्तको आईपीओमा पहिलो दिन नै ५१ करोड रुपैयाँ संकलन, कति पर्याे आवेदन ?
काठमाडौं । अभियान लघुवित्तको आईपीओमा पहिलो दिन नै मागभन्दा ५.२५ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बुधबार ५ बजेसम्म लघुवित्तको आईपीओमा ४ लाख ३८ हजार २५५ जनाले आवेदन दिएका छन् । लघुवित्तको आईपीओ खरिद गर्न लगानीकर्ताले ५१ लाख २८ हजार ४१० कित्ताका लागि ५१ करोड २८ लाख ४१ हजार रुपैयाँ बराबरको आवेदन दिएका हुन् । लघुवित्तले साउन १८ गतेदेखि चुक्ता पूँजी १५ करोड २५ लाख रुपैयाँको ९ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन गरेको हो । जसमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुका लागि र बाँकी ९ लाख १३ हजार ७५० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको छ । लघुवित्तको आईपीओमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ । लघुवित्तको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ३ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लघुवित्तको आईपीओमा लगानीकर्ताले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् । लघुवित्तको आईपीओलाई इक्रा नेपालले इक्राएनपि इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । जसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
हिमालय एयरलाइन्सद्वारा महामारी अवधिमा गरेका कामको प्रतिवेदन सार्वजनिक
काठमाडौं । हिमालय एयरलाइन्सले महामारीका वर्षहरूमा आफुले निभाएका संस्थागत सामाजिक उत्तरदायित्वहरूको प्रतिवेदन सार्वजनिक गरेको छ । एअरलाइन्स्ले आज एक कार्यक्रम गर्दै सो प्रतिवेदन सार्वजनिक गरेको हो । विगतका केही वर्ष यता हिमालयले विस्तारै समाजको उन्नतितर्फ आफ्नो समग्र दृष्टिकोण विकास गर्दै आएको जनाएको छ । त्यस्तै आफ्ना मुख्य संस्थागत सामाजिक उत्तरदायित्वका उद्देश्यहरूमा आर्थिक समृद्धि, वातावरणीय दिगोपना र सामाजिक उत्तरदायित्वसँग मिल्दाजुल्दा धेरै तवरबाट राष्ट्रलाई टेवा पुर्याउने खालका कार्यहरू गर्दै आएको एअरलाइन्स् ले जनाएको छ । एयरलाइन्सकी ब्राण्ड विभागीय प्रमुख श्रीमती उज्ज्वला दलीले कोरोना संक्रमणको चुनौतिपूर्ण घडीमा सबै सीमा र सिमानालाई पार गर्दै हिमालयले आफ्नो व्यवसायिक मर्यादालाई पालना गर्दै समाज र राष्ट्रको उन्नतिको लागि आफ्नो प्रतिबद्धतालाई पनि कायमै राख्न सफल भएको बताइन् । ‘महामारीले विश्वभरका मानिसको जनजीवन प्रभावित त पा¥यो नै, व्यापार तथा अर्थतन्त्रलाई समेत उथलपुथल गरेकोले विगत दुई वर्ष अत्यन्तै चुनौतीपूर्ण रह्यो,’ उनले भनिन् । सन् २०२० मा देखा परेको कोभिड–१९ को प्रकोपसँगै, संस्थागत सामाजिक उत्तरदायित्वको भूमिका पहिलेको भन्दा अझ बढी महत्वपूर्ण रहेको एयरलाइन्सले बताएको छ । हिमालयले अग्रगामीरुपमा नेपाल सरकारको कोभिड–१९ कोषमा १० लाख रुपैयाँ, कोभिड–१९ अत्यावश्यक स्वास्थ्य सामग्रीका लागि कार्गो उडान सञ्चालन, विभिन्न देशबाट अलपत्र परेका यात्रुलाई फिर्ता ल्याउने, अस्पतालहरूलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने लगायतका कार्य एयरलाइन्सले गरेको कुरा आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । नेपाल सरकारसँग सहकार्य गर्दै दृढताका साथ र संकटको घडीमा भेरोसेल भ्याक्सिनको २ लाख डोज ल्याउन २ करोड २५ लाख रुपैयाँ बराबरको चारवटा निःशुल्क कार्गो उडानहरू सञ्चालन गरेको हिमालयनले उल्लेख गरेको छ ।