काठमाडौं । नेपाल उद्योग परिसंघले औद्योगिक क्षेत्रमा बढाइएको जग्गा भाडा तत्काल फिर्ता लिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूलाई आग्रह गरेको छ ।
परिसंघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद अधिकारी नेतृत्वको टोलीले मन्त्री बडू र उद्योग सचिव अर्जुनप्रसाद पोखरेललाई भेट गरी औद्योगिक क्षेत्र व्यवस्थापनले बढाएको भाडा फिर्ता गर्न र दीर्घकालीन रुपमा समस्या समाधान गर्न आग्रह गरेको हो ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले २०७५ साउनदेखि भाडा वृद्धि गर्ने निर्णय गरेको थियो । उद्योगीहरूको असहमति तथा विरोधपछि सो निर्णय तत्काल कार्यान्वयन नगर्न र त्यस सम्बन्धमा विस्तृत अध्ययन गर्न तत्कालीन उद्योग मन्त्रीले निर्देशन दिएका थिए ।
२०७९ असार २२ गते बसेको औद्योगिक क्षेत्र व्यवस्थापन बैठकले फेरि २०७५ साउन १ गते देखिकै भाडा असुल गर्ने निर्णय गरेको हाे । यसले उत्पादनमुलक उद्योगमा हुने लगानी नै प्रभावित हुने तथा निजी क्षेत्रलाई हतोत्साहित गर्ने भन्दै परिसंघले फिर्ता लिन आग्रह गरेको छ ।
औद्योगिक क्षेत्र व्यवस्थापनले उद्योगमा रहेका उपकरणका आधारमा विद्युतको डिमाण्ड चार्ज लिने, उद्योगलाई आवश्यक पानी उद्योग आफैले वोरिङ गरी निकालेको पानीमा समेत मिटर जडान गरी शुल्क लिने र जग्गाको भाडा बढाउने लगायतका कार्य गरेको भन्दै परिसंघले आपत्ति जनाएको छ ।
औद्योगिक क्षेत्रमा ९८ देखि ६८७ प्रतिशतसम्मको भाडा वृद्धि उद्योगहरुले थेग्न नसक्ने परिसंघका कार्यवाहक अध्यक्ष अधिकारीले बताए । औद्योगिक क्षेत्र व्यवस्थापनको पुनर्संरचना गर्नुपर्ने आवश्यकता रहेको समेत उनले बताए ।
‘भाडा बढाउन उद्योगहरू सहमत नभएको अवस्थामा जग्गाको करार अवधि थप नगर्ने, बैंकको कर्जा नवीकरण गर्न सिफारिस नगर्ने वा उद्योगका लागि कुनै पनि कार्य अगाडि नबढाउने जस्ता कार्य औद्योगिक क्षेत्र व्यवस्थापनले गरेकोमा हाम्रो आपत्ति छ,’ परिसंघले भनेको छ ।
परिसंघसँगको भेटमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बडूले भाडा वृद्धि सम्बन्धी विषयलाई मन्त्रालयले उच्च प्राथमिकता राखेको र निजी क्षेत्रसँगको सहकार्यमा समाधान गर्न प्रतिबद्ध रहेको बताए ।