विकासन्युज

एनपीएलको जोश बढाउँदै एक्सट्रीम, ७ टोलीका लागि ७ वटा गेट तयार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सुरु हुनुअघि नै प्रतियोगिताको माहोल उत्सवमय बनाउन एक्सट्रीम इनर्जी ड्रिङ्कले विशेष अभियान सुरु गरेको छ । सिजन ३ मा सहभागी ८ टोलीमध्ये ७ टोलीसँग प्रायोजन साझेदारी गरेको एक्सट्रीमले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानबाहिर ती टोलीलाई समर्पित ७ वटा गेट तयार गरेको हो । एनपीएलका खेल हुने मुख्य मैदानबाहिरै समर्थकलाई आफ्नो मनपर्ने टोलीको उत्साहसँग जोड्ने उद्देश्यले गेटहरू तयार गरिएको कम्पनीले जनाएको छ । गेटहरूमा सम्बन्धित टोलीको पहिचानसँगै एक्सट्रीमको ब्रान्ड प्रस्तुत गरिएको छ । कम्पनीका अनुसार एनपीएल सुरु हुनुअघि नै यस किसिमको अभियान सुरु गर्ने पहिलो ब्रान्ड एक्सट्रीम हो । एक्सट्रीमले काठमाडौं गोर्खाज, विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्ससँग प्रायोजन साझेदारी गरेको छ । यससँगै कम्पनीले पोल ब्यानर, होर्डिङ, गेट ब्रान्डिङ तथा टेलिभिजन विज्ञापनमार्फत एनपीएलको उत्साहलाई थप व्यापक बनाउँदै लगेको जनाएको छ । एनपीएल सिजन ३ कार्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म सञ्चालन हुने तालिका छ ।

स्याक्म्यानका विद्युतीय ट्र्याक्टर र डम्प ट्रक नेपाली बजारमा ल्याउँदै जगदम्बा मोटर्स

काठमाडौं । शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले चीनको व्यावसायिक सवारीसाधन निर्माता स्याक्म्यानका एक्स–५०००ई ६×४ विद्युतीय ट्र्याक्टर र एक्स–५०००ई ६×४ विद्युतीय डम्प ट्रक नेपाल भित्र्याउने भएको छ । यी दुई मोडलमार्फत नेपालमा भारी तथा व्यावसायिक सवारीसाधनमा विद्युतीय प्रविधिको प्रयोग विस्तार गर्ने कम्पनीको लक्ष्य छ । पछिल्लो समय नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग यात्रुवाहक र हलुका व्यावसायिक सवारीसाधनबाट भारी सवारीसाधनतर्फ समेत विस्तार हुन थालेको अवस्थामा जगदम्बा मोटर्सले नयाँ मोडल ल्याउन लागेको हो । कम्पनीका अनुसार एक्स–५०००ई विद्युतीय ट्र्याक्टर भारी सामान ढुवानी तथा व्यावसायिक यातायातका लागि प्रयोग गर्न सकिनेछ । त्यस्तै, एक्स–५०००ई विद्युतीय डम्प ट्रक निर्माण, खानी तथा कठिन भौगोलिक क्षेत्रमा हुने कामका लागि लक्षित गरिएको छ । दुवै सवारीसाधनमा स्याक्म्यानको विद्युतीय शक्ति प्रणाली प्रयोग गरिएको छ । साथै, छिटो चार्ज गर्न सकिने सुविधा र स्मार्ट नियन्त्रण तथा ब्याट्री व्यवस्थापन प्रणाली रहेको कम्पनीले जनाएको छ । यी सुविधाले व्यावसायिक प्रयोगकर्तालाई सवारीसाधन सञ्चालनको समय व्यवस्थापन गर्न सहज बनाउनुका साथै विभिन्न कार्य वातावरणमा प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । स्याक्म्यानका यी दुई विद्युतीय मोडल नेपाल आएपछि भारी तथा औद्योगिक यातायातका क्षेत्रमा विद्युतीय सवारीसाधनको नयाँ विकल्प थपिने कम्पनीको भनाइ छ । एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प ट्रकको सार्वजनिक प्रदर्शन, बजारमा उपलब्धता तथा मूल्यसम्बन्धी थप विवरण आगामी दिनमा सार्वजनिक गरिने जगदम्बा मोटर्सले जनाएको छ ।

परोपकार अस्पताल र क्याम्पसमा दोहोरो जिम्मेवारी, डा. रिना श्रेष्ठ फेरि विवादमा

काठमाडौं । एउटै व्यक्तिले अस्पतालको नर्सिङ प्रशासन र नर्सिङ क्याम्पसको नेतृत्व सम्हाल्दा संस्था चलाउन सहज हुन्छ कि सेवा व्यवस्थापनमै समस्या थपिन्छ ?  परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालकी प्रमुख नर्सिङ प्रशासक तथा परोपकार नर्सिङ क्याम्पसकी क्याम्पस प्रमुख डा. रिना श्रेष्ठको दोहोरो जिम्मेवारीलाई लिएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा परेको पछिल्लो उजुरीले यही प्रश्न उठाएको छ । अस्पतालमा कार्यरत कर्मचारीहरूको नाममा गरिएको सामूहिक आग्रहमा श्रेष्ठले अस्पताल र क्याम्पस दुवैतर्फको जिम्मेवारी सम्हाल्दा सेवा प्रवाह तथा प्रशासनिक व्यवस्थापन प्रभावित भएको दाबी निवेदनमा गरिएको छ ।  गत जेठ २२ गते मन्त्रालयमा दर्ता गरिएको उजुरीमा उजुरीकर्ताहरूले अस्पतालको नर्सिङ प्रशासन र क्याम्पसको शैक्षिक नेतृत्व फरक–फरक जिम्मेवार व्यक्तिबाट सञ्चालन गर्नुपर्ने भन्दै श्रेष्ठलाई हालको जिम्मेवारीबाट फिर्ता बोलाई सक्षम नर्सिङ प्रशासक पठाउन मन्त्रालयसँग आग्रह गरेका छन् । उजुरीमा मुख्य प्रश्न श्रेष्ठको व्यक्तिगत कार्यसम्पादनभन्दा पनि एकै व्यक्तिलाई दिइएको दोहोरो संस्थागत जिम्मेवारीले व्यवस्थापनमा प्रभाव पारेको बताइएको छ ।  अस्पतालको दैनिक नर्सिङ सेवा, जनशक्ति परिचालन, ड्युटी व्यवस्थापन र प्रशासनिक समन्वयसँगै नर्सिङ क्याम्पसको शैक्षिक तथा प्रशासनिक जिम्मेवारीसमेत एउटै पदाधिकारीले सम्हाल्दा दुवैतर्फ अपेक्षित प्रभावकारिता कायम गर्न कठिन भएको दाबी कर्मचारी पक्षबाट गरिएको छ । डा. श्रेष्ठको नाममा उजुरी परेको यो पहिलो घटना भने होइन । उनी वीर अस्पतालको वरिष्ठ अस्पताल नर्सिङ प्रशासकका रूपमा कार्यरत रहँदा २०७८ माघमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रलगायतका निकायमा उजुरी परेको थियो । वीर अस्पतालका नर्सिङ कर्मचारी तथा अस्पताल सुधार पक्षधर कर्मचारीका नाममा परेको उक्त उजुरीमा श्रेष्ठमाथि विभिन्न प्रशासनिक तथा आर्थिक अनियमितताको आरोपसमेत लगाइएको थियो ।  १९ बुँदे उजुरीमा अनियमितताको छानबिनसँगै उनको शैक्षिक प्रमाणपत्र र सम्पत्तिसमेत अनुसन्धान गर्न माग गरिएको थियो । उजुरीमा सरकारी बिदा नलिई अध्ययन गरेको, कार्यालय समयमै निजी कलेजमा अध्यापन गर्न जाने गरेको तथा वीर अस्पतालबाटै कार्यालय समयमा निजी नर्सिङ कलेजमा अनलाइन अध्यापन गर्ने गरेको आरोप लगाइएको थियो । त्यस्तै, करारमा कार्यरत नर्सहरूको म्याद थपका लागि सिफारिस गर्दा पैसा माग गरेको र प्रयोगात्मक अभ्यासका लागि वीर अस्पताल आउने निजी नर्सिङ कलेजसँग आर्थिक कारोबार गरेको आरोपसमेत लगाइएको थियो ।  अस्पतालमा व्यापक विरोध भएपछि डा श्रेष्ठलाई भरतपुर अस्पताल सरुवा गरिएको थियो ।  यस विषयमा विकासन्युजले डा. श्रेष्ठसँग बुझ्ने प्रयास गरेपनि संवाद हुन सकेन ।

माछापुच्छ्रे बैंकको अगुवाइमा छुजुङ खोलामा ९ अर्ब लगानी

काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिका–२ मा निर्माणाधीन ६३ मेगावाट क्षमताको छुजुङ खोला अर्धजलाशययुक्त जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन पूरा भएको छ । सांग्रिला ऊर्जा लिमिटेडले प्रवर्द्धन गरिरहेको आयोजनाका लागि माछापुच्छ्रे बैंकको अगुवाइमा आधा दर्जन बैंक तथा वित्तीय संस्थाले ९ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । आयोजनाको कुल अनुमानित लागत १२ अर्ब रुपैयाँ रहेको छ । त्यसमध्ये ९ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट ऋण र बाँकी ३ अर्ब रुपैयाँ संस्थापकको स्वपुँजीबाट जुटाइनेछ । सहवित्तीयकरणमा माछापुच्छ्रे बैंक अगुवा बैंकका रूपमा रहेको छ भने प्रभु बैंक र लुम्बिनी विकास बैंक सह–अगुवा बैंकका रूपमा सहभागी छन् । त्यस्तै, मुक्तिनाथ विकास बैंक, एनआईसी एशिया बैंक र सांग्रिला डेभलपमेन्ट बैंक सदस्य बैंकका रूपमा सहभागी छन् । भदौ १० गतेको भोटेकोशी बाढीपछि वित्तीय व्यवस्थापन पूरा गर्ने यो सम्भवतः पहिलो जलविद्युत आयोजना भएको कम्पनीले जनाएको छ ।   आयोजनाको प्रतिमेगावाट लागत करिब १९ करोड रुपैयाँ पर्ने अनुमान गरिएको छ । चार घण्टा अर्धजलाशययुक्त प्रकृतिको आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएसँगै निर्माणका लागि आवश्यक स्रोत सुनिश्चित भएको छ । आयोजनाको नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) भइसकेको छ । सम्भाव्यता अध्ययनअनुसार आयोजनाबाट वार्षिक ३७ करोड १८ लाख युनिट विद्युत् उत्पादन हुनेछ । आयोजनास्थल याकखर्कमा हेलिकोप्टरमार्फत निर्माण सामग्री ढुवानी गरी काम अघि बढाइएको छ । आयोजनाको विद्युत्गृह भूमिगत बनाउने प्रस्ताव गरिएको छ । आयोजनाले विद्युत् उत्पादन सुरु गरेपछि पहिलो वर्ष २ अर्ब २७ करोड रुपैयाँ आम्दानी गर्ने प्रक्षेपण गरिएको छ । सञ्चालनको नवौं वर्षमा वार्षिक आम्दानी करिब २ अर्ब ८४ करोड रुपैयाँ पुग्ने अनुमान छ । विद्युत् प्राधिकरणबाट आयोजनाले वार्षिक ३ प्रतिशतका दरले आठ पटक मूल्यवृद्धि पाउनेछ । आयोजनाको वित्तीय विश्लेषणअनुसार इक्विटीमा प्रतिफल (आरओई) २५.६७ प्रतिशत र आन्तरिक प्रतिफल दर (आईआरआर) १५.४७ प्रतिशत हुने अनुमान गरिएको छ । आयोजनाको लाभ–लागत अनुपात १.५८ र खुद वर्तमान मूल्य (एनपीभी) ५ अर्ब ३३ करोड रुपैयाँ रहेको छ । साधारण पेब्याक अवधि करिब ५.७३ वर्ष हुने प्रक्षेपण गरिएको छ ।   आयोजनामा प्रमुख सेयरधनीका रूपमा घलेम्दी हाइड्रो लिमिटेडको करिब १ अर्ब १० करोड रुपैयाँ लगानी रहेको छ । घलेम्दीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–नरच्याङमा ५ मेगावाटको घलेम्दी खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । सांग्रिला ऊर्जाले प्रवर्द्धन गरिरहेको छुजुङ खोला आयोजनामा बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी जुटेसँगै निर्माण अघि बढाउन आवश्यक वित्तीय आधार तयार भएको कम्पनीले जनाएको छ । आयोजनाबाट उत्पादित विद्युत् ५५ किलोमिटर दूरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको शीतलपाटी २२० केभी सबस्टेसनमा जोडिनेछ । त्यसका लागि आयोजनाले ५५ किलोमिटर लामो २२० केभी क्षमताको डबल सर्किट प्रसारण लाइन निर्माण गर्नुपर्नेछ । सांग्रिला ऊर्जाले सोही नदी करिडोरमा निर्माण हुन लागेका आधा दर्जन जलविद्युत् आयोजनासँगको साझेदारीमा प्रसारण लाइन निर्माण गर्ने सम्झौता गरेको छ । करिडोरमा थप आयोजना पनि निर्माण हुने भएकाले प्रसारण लाइनको लागत अझ कम हुने कम्पनीको भनाइ छ । आयोजनाका लागि आवश्यक रुख कटानको काम सम्पन्न भइसकेको छ । एक रुख काटेपछि १० वटा रुख रोप्नुपर्ने नीतिअनुसार रुख रोप्ने तथा संरक्षणका लागि आयोजनाले वन तथा भूसंरक्षण विभागलाई ३ करोड ६३ लाख रुपैयाँ प्रदान गरेको छ । आयोजनाको १४ किलोमिटर लामो पहुँचमार्ग निर्माण सम्पन्न भएको छ । त्यस्तै, आयोजनाका लागि आवश्यक क्याम्प निर्माणको काम पनि पूरा भएको कम्पनीले जनाएको छ ।   सम्झौतापछि माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालाले आयोजना तोकिएको समयमै सम्पन्न गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न बैंक तथा सहवित्तीयकरणमा सहभागी बैंकहरू प्रतिबद्ध रहेको बताए । ‘यो आयोजना समयमै, कुनै अवरोधविना सञ्चालनमा आउनुपर्छ । बैंकको तर्फबाट लगानीमा कुनै कमी हुने छैन । प्रवर्द्धकले पनि सुरक्षा र गुणस्तरमा विशेष ध्यान दिई समयमै काम पूरा गर्नुपर्छ,’ उनले भने । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले आयोजनाका प्रवर्द्धकले अनुभवी र सहयोगी बैंकहरूको कन्सोर्टियम पाएको बताए । उनले आफ्नो पहिलो जलविद्युत् आयोजनामा पनि माछापुच्छ्रे बैंकले लगानी गरेको स्मरण गर्दै बैंकको सहयोगका कारण आयोजना निर्धारित समयभन्दा अगावै सम्पन्न भएको बताए । ‘मेरो पहिलो जलविद्युत् आयोजना ७.५ मेगावाटको थियो । त्यसमा पनि माछापुच्छ्रे बैंकले लगानी गरेको थियो। हामीले तीन वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य राखेका थियौँ । तर, बैंकको सहयोगका कारण २२ महिनामै सम्पन्न गर्न सफल भयौँ,’ उनले भने । डाँगीले छुजुङ खोला आयोजनाका प्रवर्द्धक अनुभवी रहेकाले आयोजना तोकिएको समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे । निर्माणमा ढिलाइ हुँदा निर्माण अवधिको ब्याज बढ्ने र आयोजनाको वित्तीय अवस्था प्रभावित हुन सक्ने भन्दै उनले समयमै आयोजना सम्पन्न गर्नुपर्नेमा जोड दिए ।   सांग्रिला ऊर्जाका कार्यकारी अध्यक्ष किशोर सुवेदीले आयोजनाको भौगोलिक तथा प्राविधिक अवस्थाका कारण तुलनात्मक रूपमा कम लागतमा छोटो समयमै आयोजना निर्माण गर्न सकिने बताए । उनका अनुसार आयोजनाको हेड ९०० मिटरभन्दा बढी रहेकाले क्षमताअनुसार अत्यधिक ठूला संरचना निर्माण गर्नुपर्ने अवस्था छैन । ‘आयोजनाको हेड ९०० मिटरभन्दा बढी भएकाले क्षमताअनुसार ठूला संरचना बनाउनुपर्ने अवस्था छैन । त्यसैले कम लागत र छोटो समयमै आयोजना सम्पन्न गर्न सक्ने अवस्था छ,’ उनले भने । उनले आयोजनाको क्याचमेन्टको ५९ प्रतिशतभन्दा बढी भूभाग ३ हजार मिटरभन्दा माथि रहेकाले हिउँदमा समेत तापक्रम बढेसँगै पानीको बहाव बढ्ने र यसले हाइड्रोलोजिकल जोखिम कम गर्ने दाबी गरे । सांग्रिला ऊर्जाका प्रबन्ध निर्देशक पुष्कर पौडेलले अर्धजलाशययुक्त आयोजनाले सुक्खायाममा पनि दैनिक चार घण्टा ६३ मेगावाट क्षमतामा विद्युत् उत्पादन गर्ने गरी डिजाइन गरिएको बताए । उनका अनुसार आयोजना नदीभन्दा ४५ मिटर माथि रहेकाले भोटेकोशीमा आएको जस्तो बाढीबाट आयोजनामा क्षति हुने जोखिम कम छ । नदीमा सेडिमेन्टको मात्रा न्यून रहेको र हिमपहिरोको जोखिमसमेत नरहेको उनको भनाइ छ ।    सांग्रिला ऊर्जाले १७१ मेगावाट क्षमताको जलाशययुक्त (स्टोरेज) जलविद्युत् आयोजना पनि अघि बढाउने भएको छ । कम्पनीले बाजुराको बिछ्या क्षेत्रमा छिम्दी कवाडी खोला जलविद्युत् आयोजना निर्माण गर्ने तयारी गरेको हो । हाल उक्त आयोजनाको सम्भाव्यता अध्ययन भइरहेको प्रबन्ध निर्देशक पौडेलले जानकारी दिए ।

उर्लिएका नदी, जोखिममा उपत्यका (तस्बिरसहित)

काठमाडौं । बिहीबारदेखि निरन्तर भइरहेको वर्षाका कारण काठमाडौं उपत्यकाका नदी तथा खोलामा शुक्रबार ठूलो बाढी आएको छ ।  बागमतीसहित मनोहरा, हनुमन्ते, विष्णुमती, नख्खुलगायतका नदी तथा खोलामा पानीको बहाव बढेको हो । लगातारको वर्षापछि नदी तथा खोलाको सतह बढ्दै गएपछि उपत्यकाका विभिन्न क्षेत्रमा बाढीको जोखिमसमेत बढेको छ ।  बागमतीलगायतका नदी करिडोर आसपासका सडकमा बाढीको पानी पस्न थालेपछि कतिपय स्थानमा आवतजावतसमेत बन्द गरिएको छ । बाढीको जोखिम बढेपछि सुरक्षाकर्मीले नदी करिडोरका सडक तथा आसपासका क्षेत्रमा माइकिङ गर्दै सर्वसाधारणलाई सचेत गराइरहेका छन् ।  नदी तथा खोलाको किनारमा नजान र जोखिमपूर्ण क्षेत्रमा सावधानी अपनाउन सुरक्षाकर्मीले आग्रह गरेका छन् । बाढी महाशाखाका अनुसार शुक्रबार काठमाडौंसहित देशका अधिकांश जिल्लाका नदी तथा खोलामा पानीको बहाव बढ्ने र बाढीको जोखिम उच्च हुने सम्भावना छ । निरन्तरको वर्षासँगै उपत्यकाका नदी तथा खोलामा आएको बाढीले जनजीवन प्रभावित बनेको छ । नदी किनारका सडक, करिडोर तथा आसपासका बस्तीमा समेत जोखिम बढेको छ । हेर्नूहोस् तस्बिरहरू :

म्याद नाघेका र किरा परेका सामग्रीबाट पुष्टकारी बनाउने दुई उद्योग शिलबन्दी

काठमाडौं । म्याद नाघेका, किरा परेका र अखाद्य कच्चा पदार्थ प्रयोग गरेर गुदपाक तथा पुष्टकारी उत्पादन गर्ने चन्द्रागिरिका दुई उद्योग शिलबन्दी गरिएको छ । अनुगमनका क्रममा लाखौँ रुपैयाँ बराबरका अखाद्य कच्चा पदार्थ तथा तयारी खाद्य सामग्रीसमेत फेला परेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ती सामग्री जफत गरी नष्ट गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, डिभिजन कार्यालय काठमाडौं, चन्द्रागिरी नगरपालिका र प्रहरी प्रभाग नैकापको संयुक्त टोलीले असोज ६ गते चन्द्रागिरी–१५, ढुंगेअड्डामा गरेको अनुगमनका क्रममा श्री कृष्ण पुष्टकारी तथा गुदपाक भण्डार र बज्रबाराही भण्डारमा गम्भीर खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कमजोरी फेला पारेको हो । अनुगमनका क्रममा श्री कृष्ण पुष्टकारी तथा गुदपाक भण्डारले म्याद नाघेका चिउरा, चकलेट, टुक्रा बिस्कुट, ओट्स, स्किम मिल्क पाउडर तथा किरा परेको भुटेको चना र त्यसैको पिठो प्रयोग गरी गुदपाक र पुष्टकारी बनाउने गरेको भेटिएको विभागले जनाएको छ । यति मात्र होइन, म्याद नाघेका चकलेटमा नयाँ लेबल र मिति कोड लगाएर पुनः बिक्री गर्ने गरेकोसमेत अनुगमन टोलीले फेला पारेको छ। अनुमतिपत्रसमेत नलिई सञ्चालनमा रहेको उक्त उद्योगबाट करिब २ लाख ६० हजार रुपैयाँ बराबरका अखाद्य कच्चा पदार्थ तथा १०० किलो गुदपाक र ५३५ किलो पुष्टकारी जफत गरी नष्ट गरिएको छ। उद्योगलाई तत्काल शिलबन्दी गरी थप अनुसन्धान अघि बढाइएको विभागले जनाएको छ । विभागले उक्त उद्योगबाट उत्पादित स्पेशल पुष्टकारी, श्रीकृष्ण पुष्टकारी, स्पेसल चकलेट, श्रीकृष्ण गुदपाक, मत्थर पेडा पुष्टकारी र स्पेसल कोसेली पुष्टकारी उपभोग नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। त्यस्तै, ढुंगेअड्डाकै बज्रबाराही भण्डारमा पनि खाद्य स्वच्छताको अवस्था सन्तोषजनक नरहेको पाइएको छ। एउटै कोठामा खाद्य सामग्रीको प्रशोधन र प्याकेजिङ गर्ने तथा आवश्यक अनुमतिको दायरामा नआई खाद्य सामग्री उत्पादन गर्ने गरेको अनुगमन टोलीले जनाएको छ। उक्त उद्योगबाट करिब १ लाख ४० हजार रुपैयाँ मूल्य बराबरको ३५० किलो तयारी अखाद्य सामग्री जफत गरी नष्ट गरिएको छ । उद्योगलाई समेत शिलबन्दी गरिएको विभागले जनाएको छ । यसैबीच, काठमाडौं महानगरपालिका–१५, स्वयम्भूस्थित श्री सस्तो बास्केटमा नक्कली मिति कोड र लेबल प्रयोग गरी खाद्य वस्तु बिक्री भइरहेको उजुरीका आधारमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा म्याद नाघेका सुजी, ब्रेडक्रम्ब, थाइम, राजमा लगायतका खाद्य वस्तु फेला परेपछि जफत गरी नष्ट गरिएको छ । विक्रेतालाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । स्वयम्भूकै यति आइस प्रालिले खाद्य पदार्थ उत्पादन तथा बिक्री–वितरणको अनुमति नलिई आइस क्युब उत्पादन गरिरहेको पाइएको छ । साथै, प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका, २०७४ को पालना नगरेको पाइएपछि उद्योगको सम्पूर्ण उत्पादन तथा बिक्री–वितरणमा रोक लगाइएको विभागले जनाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ कार्यान्वयनका क्रममा खाद्य उद्योग तथा पसलहरूको अनुगमनलाई थप कडाइ र निरन्तरता दिने जनाएको छ । विभागले खाद्य सामग्री उत्पादन, प्रशोधन तथा बिक्री–वितरण गर्दा तोकिएको मापदण्ड र अनुमति अनिवार्य रूपमा पालना गर्न व्यवसायीलाई सचेत गराएको छ । 

निप्पोन फर्मास्युटिकलले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट

काठमाडौं । मोरङको विराटनगरस्थित औषधि उत्पादक कम्पनी निप्पोन फर्मास्युटिकल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले आवश्यक नियामकीय स्वीकृति प्राप्त भएपछि आईपीओ जारी गर्ने जनाएको छ । कम्पनीले आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई दिएको छ । यस सम्बन्धमा दुवै पक्षबीच सम्झौता सम्पन्न भएको कम्पनीले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । सम्झौतापत्रमा निप्पोन फर्मास्युटिकलका तर्फबाट प्रबन्ध निर्देशक मन्टु घिमिरे र नबिल इन्भेष्टमेन्ट बैंकिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनीष नारायण जोशीले हस्ताक्षर गरेका छन् । निप्पोन फर्मास्युटिकल मोरङको विराटनगर महानगरपालिका–१२ बखरीमा रहेको औषधि उत्पादन कम्पनी हो । कम्पनी सन् २००६ मा दर्ता भएको र सन् २०१७ मा उद्योग स्थापना गरिएको जनाएको छ । कम्पनीले विश्व स्वास्थ्य संगठनको असल उत्पादन अभ्यास (डब्लुएचओ–जीएमपी) लगायत अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डअनुसार ट्याब्लेट, क्याप्सुल, तरल औषधि, मलम, क्रिम, जेल, ओआरएस, ड्राइ सिरप र पेनिसिलिनलगायत विभिन्न प्रकारका औषधि उत्पादन गर्दै आएको छ । सन् २०२२ देखि व्यावसायिक उत्पादन तथा बजार विस्तार सुरु गरेको कम्पनीले हाल विभिन्न उपचारात्मक समूहका ६० भन्दा बढी औषधिजन्य उत्पादन बजारमा ल्याइसकेको जनाएको छ । ‘सबैका लागि सुस्वास्थ्य’ भन्ने मूल नाराका साथ सञ्चालनमा रहेको कम्पनीले स्वदेशमै आवश्यक औषधिको उत्पादन बढाएर स्वास्थ्य क्षेत्रमा आत्मनिर्भरता अभिवृद्धि गर्ने लक्ष्य लिएको जनाएको छ ।

हिमालयन बैंक अब स्मार्ट पे अन्तरबैंक रकम स्थानान्तरण सेवामा आबद्ध

काठमाडौं । हिमालयन बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) बीच स्मार्ट पे अन्तरबैंक रकम स्थानान्तरण (आईबीएफटी) सेवा सञ्चालनका लागि सम्झौता भएको छ । सम्झौतासँगै हिमालयन बैंक एससीटीको स्मार्ट पे सञ्जालमा आबद्ध भएको छ । अब बैंकका ग्राहकले स्मार्ट पे आईबीएफटीमार्फत विभिन्न बैंक तथा वित्तीय संस्थाका खाताबीच सहज, सुरक्षित र प्रभावकारी रूपमा रकम स्थानान्तरण गर्न सक्ने बैंकले जनाएको छ । एससीटीका अनुसार स्मार्ट पे आईबीएफटी डिजिटल माध्यमबाट बैंक तथा वित्तीय संस्था, विद्युतीय वालेट र रेमिट्यान्स कम्पनीहरूबीच अन्तरबैंक रकम स्थानान्तरण गर्ने सेवा हो । यसले सहभागी संस्थाहरूबीच अन्तरआबद्धता बढाउँदै नेपालको डिजिटल भुक्तानी प्रणालीलाई थप सुदृढ बनाउन र वित्तीय पहुँच विस्तार गर्न सहयोग गर्दै आएको छ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त एससीटी नेपालकै पहिलो स्वदेशी कार्ड सञ्जाल सञ्चालन गर्ने संस्था हो । कम्पनीले हाल बैंक तथा वित्तीय संस्था, विद्युतीय वालेट कम्पनी, रेमिट्यान्स कम्पनी तथा सहकारी संस्थासहितको समावेशी सञ्जालमार्फत एससीटी युनियनपे कार्ड, भिसा कार्ड, मास्टरकार्ड, नेपालपे कार्ड, डिस्कभर कार्ड र रूपे कार्ड जारी तथा स्वीकार गर्ने सेवा सञ्चालन गर्दै आएको जनाएको छ । यसका साथै एससीटीले एटीएम, बिक्री केन्द्र (पीओएस), इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, स्मार्ट क्यूआर सेवा र रकमान्तर सेवामार्फत पनि डिजिटल भुक्तानी सेवा उपलब्ध गराउँदै आएको छ ।