विकासन्युज

काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षा

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा बिहीवारदेखि भइरहेको अविरल वर्षाका कारण जनजीवन नराम्ररी प्रभावित भएको छ । उपत्यकाका मुख्य नदी तथा खोलाहरूमा पानीको सतह तीव्र गतिमा बढ्दै गएको छ भने प्रमुख स्थानहरूमा शतर्कता र खतराको सीमा पार भइसकेको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्युन चापीय रेखा नेपालको हिमाली तथा पहाडी भूभाग नजिक अवस्थित छ ।  यसका साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण वागमती, कोशी, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा आगामी २४ घण्टासम्म भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।  विपद् व्यवस्थापन विज्ञहरूले पहाडी भेगमा पहिरो र उपत्यका तथा तराईका होचा भूभागमा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिँदै यात्रा गर्दा विशेष सावधानी अपनाउन र आपतकालीन सम्पर्क नम्बरहरू साथमा राख्न सुझाव दिएका छन् । 

काठमाडौंका नदी- खोला किनारामा सुरक्षाकर्मी 'अलर्ट'

काठमाडौं । काठमाडौंका खोला नदी किनारा पानीको सतह बढेपछि तीन वटै सुरक्षा निकायलाई अर्लटमा राखिएको छ ।  काठमाडौं जिल्ला प्रशासन कार्यालयले खोला नदीमा पानीको बहाव बढेसँगै सम्भावित क्षति हुन नदिन सुरक्षा निकायलाई 'अलर्ट' गरेको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र काठमाडौं महानगर प्रहरीलाई पूर्ण रुपमा हाइ अर्लट गरिएको काठमाडौं जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खिमराज भुसालले जानकारी दिए। 'अहिलेसम्म काठमाडौंका कुनै पनि ठाउँमा वर्षाको कारण क्षति भएको छैन,' उनले विकासन्युजसँग भने । भुसालले काठमाडौंमा क्षति नहोस भनेर खोला नदीका क्षेत्रमा सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको बताए । उनका अनुसार सम्भावित जोखिम क्षेत्रको पहिचान गरेर सबैलाई सचेत गराइएको छ । जोखिम क्षेत्रमा गएर माइकिङ गरिएको छ । उद्धार तयारीको सामग्रीसहित सुरक्षाकर्मी परिचालन भएका छन । जिल्ला विपद व्यवस्थापन समितिले काठमाडौंका सबै स्थानीय तहसँग छलफलसमेत गरेको उनले बताए । सबै निकाय तयारी अवस्थामा रहेको उनको भनाइ छ ।  

नेपाललाई अफगानस्तानको १०३ रनको लक्ष्य

काठमाडौं । जापानमा जारी एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा अफगानिस्तानले नेपालसामु जितका लागि १०३ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको अफगानिस्तानले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै १०२ रन बनाएको हो । अफगानिस्तानले सुरुवातदेखि नै नेपाली बलरको दबाब सामना गर्नुपरेको थियो । नेपाली बलरहरूले नियमित अन्तरालमा विकेट निकाल्दै अफगानिस्तानलाई ठूलो योगफलतर्फ अघि बढ्न दिएनन् । अन्तिम ओभरसम्म आइपुग्दा अफगानिस्तानले १०२ रनमा आफ्नो इनिङ्स टुंग्याएको हो । नेपालका लागि बलिङमा ललित राजवंशी र कुशल भुर्तेल प्रभावशाली देखिए । राजवंशीले ३ विकेट लिए भने भुर्तेलले ४ विकेट हात पारे । उनीहरूको बलिङका कारण अफगानिस्तानको ब्याटिङ लाइनअप खुलेर खेल्न सकेन । अफगानिस्तानका लागि फैजल खान र निजाबुल्लाह जाद्रानले समान ३० रनको योगदान दिए । उनीहरूबाहेक अन्य ब्याटरले उल्लेख्य रन जोड्न नसक्दा अफगानिस्तानको स्कोर १०२ रनमै सीमित भएको हो । अब नेपालले जितका लागि २० ओभरमा १०३ रन बनाउनुपर्नेछ । लक्ष्य तुलनात्मक रूपमा सामान्य भए पनि एसियन गेम्सको महत्वपूर्ण खेल भएकाले नेपालका लागि ब्याटिङमा सुरुवातदेखि नै संयमित प्रदर्शन आवश्यक हुनेछ । नेपालले पावरप्लेमा राम्रो सुरुवात गर्दै लक्ष्य पछ्याउने प्रयास गर्नेछ । नेपाली ब्याटरले अफगानिस्तानका बलरको दबाब सामना गर्दै साझेदारी बनाउन सके लक्ष्य भेट्टाउन सक्ने अवस्था देखिन्छ । नेपाल र अफगानिस्तानबीचको यो खेल एसियन गेम्सको पुरुष क्रिकेटअन्तर्गत महत्वपूर्ण प्रतिस्पर्धाका रूपमा रहेको छ । नेपाली टोलीले पहिलो इनिङ्समा उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि अब त्यही प्रदर्शनलाई जितमा परिणत गर्न ब्याटिङमा जिम्मेवार खेल देखाउनुपर्नेछ ।   

यी हुन् बाढीको उच्च जोखिममा रहेका जिल्लाहरू

काठमाडौ‌ । लगातकारको वर्षासँगै देशका विभिन्न जिल्लामा आज (असोज ९) आकस्मिक बाढीको जोखिमको पूर्वानुमान रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कतिपय सानाठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको छ । आज गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने स–साना नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । महाशाखाका अनुसार यी जिल्लामा आकस्मिक बाढीको उच्च जोखिमको सम्भावना रहेको छ । ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, ओखलढुंगा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर भई बहने स–साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । त्यसैगरी, मकवानपुर, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रसुवा, नुवाकोट, धादिङ, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची,  म्याग्दी, बागलुङ, पर्वत भई बहने स–साना नदीमा समेत बहाव उल्लेख्य बढ्ने सम्भावना छ । त्यस्तै, रुकुम पूर्व, रुकुम पश्चिम, प्युठान, रोल्पा, सल्यान, डोल्पा, जाजरकोट, जुम्ला, कालीकोट, मुगु, हुम्ला, बाजुरा, अछाम, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुरा र आसपासका जिल्ला भई बहने स–साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । ताप्लेजुङदेखि डडेलधुरासम्मका यी नदीखोलामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखका अनुसार आज बिहानको मापनानुसार कोसी, नारायणी, वाग्मती, कन्काई, कमला र यी नदीका सहायक नदीहरूमा जलसतह सतर्कता तहनजिक रहेको छ ।   पश्चिम राप्ती, बबई, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहेको महाशाखाले जनाएको छ । 

प्रधानमन्त्री बालेनले महासभामा उठाएका मुद्दाले पाए अन्तर्राष्ट्रिय मिडियामा स्थान, कसले के लेखे ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रसंघको ८१औं महासभामा गरेको सम्बोधन अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको ध्यान तान्न सफल भएको छ । नेपालमा भएको भोटेकोशी-त्रिशूली बाढीलाई विश्वका लागि चेतावनी भन्दै जलवायु न्याय, क्षतिपूर्ति र विपद् पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको माग गरेको विषयलाई अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस (एपी)सहितका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रमुखताका साथ उठाएका छन् । एपीले शाहको सम्बोधनलाई केन्द्रमा राखेर प्रकाशित गरेको समाचारको शीर्षक नै नेपालको पछिल्लो बाढी विश्वका लागि जलवायु परिवर्तनको चेतावनी भन्ने कोणमा छ । एपीको रिपोर्टमा शाहले नेपालले जलवायु संकट सिर्जना नगरे पनि त्यसको ठूलो मूल्य चुकाइरहेको र विश्वले हिमालयबाट आएको चेतावनी नसुनेको बताएका विषयलाई प्रमुखता दिइएको छ । शाहले नेपालले नगण्य मात्रामा हरितगृह ग्यास उत्सर्जन गरे पनि जलवायु परिवर्तनको ठूलो असर भोगिरहेको तर्क गरेको उल्लेख गरेको छ । हिमनदी पग्लिनु, पहाडी भूभाग अस्थिर हुनु तथा बाढी र पहिरोजस्ता विपद्को जोखिम बढ्दै जानुलाई पनि रिपोर्टले जोडेको छ। नेपालको न्यून कार्बन उत्सर्जन र जलवायु परिवर्तनबाट भइरहेको क्षतिबीचको असमानता, हिमनदी पग्लिँदा बढिरहेको जोखिम तथा विकसित मुलुकको जिम्मेवारीलाई समेत समाचारको मुख्य सन्दर्भ बनाएको छ । एपीका अनुसार शाहले जलवायु वित्तीय प्रणाली अत्यधिक जटिल र ढिलो भएको भन्दै विपदमा परेका मुलुकलाई तत्काल सहयोग आवश्यक रहेको बताएका थिए । अमेरिकी सञ्चारमाध्यम एबीसी न्युजले पनि एपीकै विस्तृत रिपोर्ट प्रकाशित गर्दै शाहको सम्बोधनलाई अन्तर्राष्ट्रिय समाचारको विषय बनाएको छ । त्यस्तै, एपीको सामग्री अन्य अमेरिकी सञ्चारमाध्यममा समेत प्रकाशित भएको देखिन्छ । रोयटर्सले बाढीपछिको पुनर्निर्माणका लागि नेपालले ऋणभन्दा अनुदानमा आधारित अन्तर्राष्ट्रिय सहयोग खोजेको विषयलाई केन्द्रमा राखेको छ । शाहले जलवायुजन्य विपत्तिबाट प्रभावित मुलुकलाई सहयोग गर्दा थप ऋणको बोझ थोपर्न नहुने बताएका रोयटर्सको समाचारमा उल्लेख छ ।  शाहको सम्बोधनको अर्को महत्त्वपूर्ण पक्षलाई भारतीय सञ्चारमाध्यमले प्राथमिकता दिएका छन् । भारतको द प्रिन्टले नेपाल, भारत र चीनको नेतृत्वमा हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम निर्माण गर्ने शाहको प्रस्तावलाई समाचारको मुख्य विषय बनाएको छ । उक्त संयन्त्रमार्फत उपग्रहसम्बन्धी तथ्यांक र प्राविधिक ज्ञान आदानप्रदान, जोखिमयुक्त हिमतालको निगरानी, संयुक्त पूर्वसूचना प्रणाली तथा विपद्का बेला सीमापार सहयोग गर्ने प्रस्ताव शाहले गरेका थिए । शाहले हिन्दुकुश हिमालय क्षेत्र करिब दुई अर्ब मानिसको पानी, कृषि, पारिस्थितिक प्रणाली र जीविकोपार्जनसँग जोडिएको उल्लेख गर्दै हिमालयलाई विभाजित सूचनाको सीमाभन्दा अन्तर्राष्ट्रिय सहकार्यको प्रयोगशाला बनाउनुपर्ने प्रस्ताव गरेका थिए । अन्तर्राष्ट्रिय मिडियाको कभरेजमा शाहको सम्बोधनका विषय विशेष रूपमा देखिएका छन् । नेपालको विपद्लाई जलवायु संकटसँग जोड्नु, जलवायु न्याय तथा क्षतिपूर्तिको माग गर्नु र विपद् पुनर्निर्माणका लागि अनुदानमा आधारित अन्तर्राष्ट्रिय वित्तीय सहयोग माग्नु रहेको विभिन्न सञ्चारमाध्यमहरूले लेखेका छन् । शाहले नेपालले विश्वको कुल हरितगृह ग्यास उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान गरे पनि जलवायु संकटको ठूलो मूल्य चुकाइरहेको बताएका थिए । उनले जलवायु परिवर्तनले सीमा नमान्ने र हिमनदी, बाढी तथा पहिरोले राजनीतिक सीमाभन्दा बाहिर असर पार्ने भन्दै अन्तर्राष्ट्रिय समुदायलाई तत्काल कदम चाल्न आग्रह गरेका थिए । उनले जलवायु वित्तलाई जटिल प्रशासनिक प्रक्रियामा अल्झाउन नहुने भन्दै विपदमा परेका मुलुकलाई तत्काल सहयोग उपलब्ध गराउनुपर्ने धारणा राखेका थिए । उनको सम्बोधनको निष्कर्षमा राहत, पुनःस्थापना र पुनर्निर्माणसँगै जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलतालाई जलवायु कार्यको आधार बनाउनुपर्ने सन्देश थियो । अन्तर्राष्ट्रिय कभरेजमा शाहको व्यक्तिगत शैलीभन्दा पनि उनले उठाएको नेपालको जलवायु एजेन्डा बढी केन्द्रमा देखिएको छ । एपीले भोटेकोशी–त्रिशूली विपद्लाई विश्वव्यापी जलवायु संकटसँग जोडेर समाचार बनाएको छ भने भारतीय सञ्चारमाध्यमले नेपाल–भारत–चीन सहकार्यको प्रस्तावलाई प्राथमिकता दिएका छन् । यसले शाहको सम्बोधनलाई नेपालको आन्तरिक राजनीतिक सन्देशभन्दा बाहिर हिमालय, जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय वित्तीय न्यायसँग जोडिएको विषयका रूपमा प्रस्तुत गरेको देखिन्छ । नेपालको पछिल्लो विपदमा १ हजार ४०० भन्दा बढी मानिसको मृत्यु र हजारौँ बेपत्ता भएको उल्लेख गर्दै एपीले विपद्को आर्थिक तथा मानवीय असरलाई समेत समाचारमा समेटेको छ । एपीका अनुसार शाहले नेपालले सिर्जना नगरेको संकटको मूल्य नेपालले चुकाइरहेको बताएका थिए । यसरी हेर्दा प्रधानमन्त्री शाहको यूएन सम्बोधन अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा बालेनको भाषण मात्र नभई नेपालको हिमाली विपद्, जलवायु न्याय र अन्तर्राष्ट्रिय सहयोगको मागका रूपमा स्थापित भएको देखिएको छ ।

पहाडी जिल्लामा उडान प्रभावित, विमानस्थलमा यात्रु अलपत्र

काठमाडौं । वर्षाको कारण काठमाडौंबाट हुने आन्तरिक उडान प्रभावित भएको छ । वर्षाका कारण भिजिविलिटी कम भएकाले उडान हुन नसकेको हो । पहाडी जिल्ला र लुक्लामा उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नागरिक उड्डयन प्राधिकरणको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार पहाडी जिल्ला, लुक्लामा उडान हुन सकेको छैन । पोखरा, भरतपुर, सुर्खेत लगायतका स्थानमा उडान हुन सकेको छैन । तराईका जिल्लामा उडान भइरहेको छ ।  बढी भिजिविलिटी चाहिने ठाउँमा उडान हुन नसकेको प्राधिकरणले जनाएको छ । बिहानैदेखि विमानस्थलमा पोखरा र भरतपुर जाने यात्रुहरू बसिरहेका छन् ।

यूएनमा नेतन्याहूविरुद्ध ‘सामूहिक विरोध’, भाषण सुरु भएलगत्तै ‘वाकआउट’

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सम्बोधन सुरु गर्नासाथ दर्जनौं देशका प्रतिनिधिहरू सभाहलबाट बाहिरिएका छन् । संयुक्त राष्ट्रसंघको ८१औं महासभा बैठकअन्तर्गत बिहीबार न्युयोर्कमा भएको नेतन्याहूको सम्बोधनका क्रममा विभिन्न देशका प्रतिनिधिहरूले सामूहिक रूपमा सभाहल छाडेका हुन् ।  नेतन्याहू मञ्चतर्फ अघि बढेर सम्बोधन सुरु गर्ने क्रममा प्रतिनिधिहरू उठेर बाहिरिएका हुन् । अरब तथा मुस्लिम बहुल मुलुकसहित कोलम्बिया, दक्षिण अफ्रिकालगायत देशका प्रतिनिधिहरू सभाहलबाट बाहिरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  केही प्रतिनिधि भने सभामै बसेर नेतन्याहूको समर्थनमा ताली बजाउँदै ‘अम यिस्रायल चाइ’ अर्थात् ‘इजरायली जनता जीवित छन्’ भन्ने नारा लगाएका थिए । प्रतिनिधिहरू बाहिरिएपछि नेतन्याहूले त्यसको प्रत्यक्ष प्रतिक्रिया जनाउँदै विरोधमा सभाहल छाड्नेहरूलाई ‘नैतिक रूपमा कायर’ को संज्ञा दिए । उनले भने, ‘यदि कुनै अन्य नैतिक रूपमा कायर व्यक्ति अझै पनि यो सभाहलमा बसिरहेको छ भने कृपया अब बाहिर जानूहोस् ।’ नेतन्याहूले इजरायललाई निजी रूपमा समर्थन गर्ने कतिपय देशका प्रतिनिधिहरू समेत संयुक्त राष्ट्रसंघको सभाहलबाट बाहिरिएको भन्दै त्यसलाई ‘पाखण्ड’ का रूपमा चित्रित गरे ।  उनले अन्तर्राष्ट्रिय समुदायबाट इजरायलमाथि भइरहेको आलोचनालाई अस्वीकार गर्दै आफ्नो सरकारको सैन्य कारबाहीको बचाउ गरे । उनको सम्बोधनको मुख्य विषय इजरायलको सुरक्षा, गाजा युद्ध, इरानसँगको द्वन्द्व र इजरायलमाथि बढ्दो अन्तर्राष्ट्रिय दबाब थियो । नेतन्याहूले इजरायलले गाजामा नरसंहार गरेको भन्ने आरोपलाई अस्वीकार गर्दै त्यसलाई ‘शताब्दीकै सबैभन्दा ठूलो झूट’ भएको दाबी गरे । उनले इरानमाथि इजरायलले गरेको आक्रमणको समेत बचाउ गरे । नेतन्याहूले इरानमाथि आक्रमण गर्ने निर्णय आफूले गरेको सबैभन्दा सजिलो निर्णयमध्ये एक भएको बताए । उनले इरानबाट उत्पन्न सुरक्षा खतरालाई इजरायलका लागि गम्भीर चुनौतीका रूपमा प्रस्तुत गर्दै आफ्नो सैन्य नीतिको बचाउ गरेका थिए । गाजामा जारी युद्धका कारण इजरायलमाथि अन्तर्राष्ट्रिय दबाब बढिरहेको बेला नेतन्याहूले सम्बोधन गरेका हुन् । सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि सुरु भएको युद्ध लामो समयदेखि जारी छ ।  हमासको आक्रमणमा करिब १ हजार २०० इजरायलीको मृत्यु भएको र २५१ जनालाई बन्धक बनाइएको थियो । त्यसपछि इजरायलले गाजामा व्यापक हवाई तथा स्थल सैन्य अभियान सञ्चालन गर्दै आएको छ ।  गाजाका स्वास्थ्य अधिकारीका अनुसार युद्धमा ७३ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ । इजरायलले भने आफूले हमासका लडाकुलाई लक्षित गर्दै सैन्य कारबाही गरिरहेको र नरसंहारको आरोप अस्वीकार गर्दै आएको छ । नेतन्याहूको यसपटकको संयुक्त राष्ट्रसंघीय सम्बोधनलाई इजरायलको अन्तर्राष्ट्रिय छवि र उनको घरेलु राजनीतिक अवस्थासँग समेत जोडेर हेरिएको छ ।  इजरायलमा आगामी अक्टोबर २७ मा आमनिर्वाचन हुँदैछ । निर्वाचन नजिकिँदै गर्दा नेतन्याहूले विदेशमा बढिरहेको आलोचनाको सामना गर्दै देशभित्र आफ्नो राजनीतिक आधार बलियो बनाउने प्रयास गरिरहेका छन् ।  न्युयोर्कमै पनि नेतन्याहूको भ्रमण र सम्बोधनलाई लिएर विरोध प्रदर्शन भएका थिए । नेतन्याहूको सरकारको समर्थनमा म्यानह्याटनका विभिन्न स्थानमा ५०० वटा प्रो–इजरायल तथा इरानविरोधी बिलबोर्ड राखिएको र सन्देश बोकेका दर्जनौं ट्रक सञ्चालन गरिएको इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको थियो ।  अर्कोतर्फ, नेतन्याहूको सरकार र गाजामा इजरायली सैन्य कारबाहीको विरोधमा प्रदर्शनसमेत भएका थिए । नेतन्याहूले संयुक्त राष्ट्रसंघको मञ्च प्रयोग गर्दै न्युयोर्कका मेयर जोहरान ममदानीमाथि समेत आक्रामक टिप्पणी गरे ।  ममदानीले नेतन्याहूलाई ‘युद्ध अपराधी’ भन्दै गाजामा प्यालेस्टिनीविरुद्ध भयावह नरसंहार गरेको आरोप लगाएका थिए । उनले आफूलाई सम्भव भए नेतन्याहूलाई पक्राउ गर्ने बताएका थिए ।  नेतन्याहूले त्यसको जवाफमा ममदानीमाथि हमासलाई समर्थन गरेको आरोप लगाउँदै सार्वजनिक रूपमा आलोचना गरेका थिए । संयुक्त राष्ट्रसंघको महासभामा भएको यो घटनाले इजरायल र अन्तर्राष्ट्रिय समुदायबीचको बढ्दो राजनीतिक दूरीलाई समेत उजागर गरेको छ ।  नेतन्याहूले आफ्नो सरकारको नीति र सैन्य कारबाहीको दृढतापूर्वक बचाउ गरिरहँदा ठूलो संख्यामा प्रतिनिधिहरूको सभाहलबाट बाहिरिनुले गाजाको युद्धप्रति विश्वका विभिन्न मुलुकको असन्तुष्टि र विरोधलाई सार्वजनिक रूपमा देखाएको छ । यद्यपि, नेतन्याहूले भने यस्तो विरोधका बीच पनि आफ्नो धारणा प्रस्तुत गर्न रोकिएनन् । उनले इजरायलमाथि लगाइएका आरोपहरू अस्वीकार गर्दै आफ्नो देशको सुरक्षा र अस्तित्वको रक्षाका लागि सैन्य कारबाही आवश्यक रहेको दाबी गरे ।  उनको सम्बोधनका क्रममा सभाहलमा उपस्थित प्रतिनिधिहरूको प्रतिक्रिया भने मिश्रित थियो । केहीले समर्थन जनाए भने ठूलो संख्यामा प्रतिनिधिहरूले विरोधस्वरूप बाहिरिने बाटो रोजे ।

अग्रिम टिकट बुकिङ जारी रहने, अनधिकृत काउन्टर बन्द गर्न महासंघको आग्रह

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले लगातार भारी वर्षा र बाढी–पहिरोको जोखिम बढेकाले सार्वजनिक यातायात सञ्चालनमा सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरेको छ । महासंघले असोज ८ देखि १२ गतेसम्म देशभर भारी वर्षा हुने सम्भावना रहेको भन्दै मौसमविद् र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाअनुसार सतर्कता अपनाउन सदस्य संस्था, कम्पनी र समितिलाई निर्देशन दिएको हो । महासंघले यसअघि जारी गरिएको सार्वजनिक सवारी सञ्चालनसम्बन्धी सूचना पनि कडाइका साथ कार्यान्वयन गर्न पुनः आग्रह गरेको छ । त्यस्तै, चाडपर्व लक्षित यातायात व्यवस्थापनका लागि यातायात व्यवस्था विभाग र सरोकारवालाको बैठकले अग्रिम टिकट बुकिङलाई निरन्तरता दिने निर्णय गरेको महासंघले जनाएको छ । टिकट बिक्री सकेसम्म अनलाइनमार्फत गर्न र यात्रुको परिचय खुल्ने विवरणसहित टिकट जारी गरेर मात्र सवारी सञ्चालन गर्न भनिएको छ । महासंघले अनधिकृत टिकट काउन्टर बन्द गर्न, परिचयपत्र भएका कर्मचारीबाट मात्रै टिकट बिक्री गर्न र यात्रुले आधिकारिक काउन्टरबाट टिकट लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ । लामो दूरीका सवारी गन्तव्यतर्फ प्रस्थान गर्नुअघि अनिवार्य यान्त्रिक परीक्षण गर्नुपर्ने, कम्तीमा दुई जना चालक राख्नुपर्ने र चालकको मापसे तथा स्वास्थ्य परीक्षणसमेत गर्नुपर्ने व्यवस्था लागू गरिने जनाएको छ । महासंघका अनुसार चाडपर्वका लागि अग्रिम टिकट बुकिङ खुल्ने मिति र समय भने सडक तथा मौसमको अवस्था मूल्याङ्कनपछि अर्को सूचनामार्फत सार्वजनिक गरिनेछ ।