काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले लगातार भारी वर्षा र बाढी–पहिरोको जोखिम बढेकाले सार्वजनिक यातायात सञ्चालनमा सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरेको छ ।
महासंघले असोज ८ देखि १२ गतेसम्म देशभर भारी वर्षा हुने सम्भावना रहेको भन्दै मौसमविद् र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाअनुसार सतर्कता अपनाउन सदस्य संस्था, कम्पनी र समितिलाई निर्देशन दिएको हो ।
महासंघले यसअघि जारी गरिएको सार्वजनिक सवारी सञ्चालनसम्बन्धी सूचना पनि कडाइका साथ कार्यान्वयन गर्न पुनः आग्रह गरेको छ ।
त्यस्तै, चाडपर्व लक्षित यातायात व्यवस्थापनका लागि यातायात व्यवस्था विभाग र सरोकारवालाको बैठकले अग्रिम टिकट बुकिङलाई निरन्तरता दिने निर्णय गरेको महासंघले जनाएको छ । टिकट बिक्री सकेसम्म अनलाइनमार्फत गर्न र यात्रुको परिचय खुल्ने विवरणसहित टिकट जारी गरेर मात्र सवारी सञ्चालन गर्न भनिएको छ ।
महासंघले अनधिकृत टिकट काउन्टर बन्द गर्न, परिचयपत्र भएका कर्मचारीबाट मात्रै टिकट बिक्री गर्न र यात्रुले आधिकारिक काउन्टरबाट टिकट लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ ।
लामो दूरीका सवारी गन्तव्यतर्फ प्रस्थान गर्नुअघि अनिवार्य यान्त्रिक परीक्षण गर्नुपर्ने, कम्तीमा दुई जना चालक राख्नुपर्ने र चालकको मापसे तथा स्वास्थ्य परीक्षणसमेत गर्नुपर्ने व्यवस्था लागू गरिने जनाएको छ ।
महासंघका अनुसार चाडपर्वका लागि अग्रिम टिकट बुकिङ खुल्ने मिति र समय भने सडक तथा मौसमको अवस्था मूल्याङ्कनपछि अर्को सूचनामार्फत सार्वजनिक गरिनेछ ।