२ कम्पनीको लाइसेन्स खारेज गर्दै श्रम कार्यालय
काठमाडौं । श्रम तथा रोजगार कार्यालयले दुई वटा कम्पनीको श्रम इजाजतपत्र (लाइसेन्स) खारेज गर्ने प्रक्रिया अघि बढाएको छ । कार्यालयले आई गार्ड सेक्युरिटी सर्भिस प्रालि र इनोभेटिभ हस्पिटालिटी प्रालिको श्रम इजाजतपत्र खारेज गर्ने प्रक्रिया अघि बढाइएको जनाएको हो । कार्यालयले इजाजतपत्र खारेज गर्न निवेदन दिएका कम्पनीसँग कसैले ऋण लिएको वा ती कम्पनीले श्रमिक तथा अन्य सरोकारवालालाई तिर्नुपर्ने दायित्व वा बक्यौता बाँकी रहेको भए प्रमाणसहित ३५ दिनभित्र कार्यालयमा सम्पर्क गरी हकदाबी गर्न आग्रह गरेको छ । आई गार्ड सेक्युरिटीको इजाजतपत्र नम्बर (३क) १२५/०८१/८२ रहेको छ । कम्पनीले सुरक्षा सेवा तथा सहजकारी सेवा प्रदान गर्दै आएको थियो । त्यस्तै, इनोभेटिभ हस्पिटालिटी प्रालिको इजाजतपत्र नम्बर (३क) ७३/०७५/७६ रहेको छ । कम्पनीले सहजकारी सेवा तथा व्यावसायिक सहयोग सेवा प्रदान गर्दै आएको कार्यालयले जनाएको छ । कार्यालयले तोकिएको ३५ दिनभित्र प्रमाणसहित हकदाबी गर्न नआएमा प्रचलित प्रक्रियाअनुसार सम्बन्धित कम्पनीको इजाजतपत्र खारेज गरिने जनाएको छ ।
बालेनसँग अष्ट्रेलियाली प्रधानमन्त्रीको भेट, नेपालसँग मिलेर काम गर्ने प्रतिबद्धता
काठमाडौं । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले संयुक्त राष्ट्रसङ्घमा प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गर्दै नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावितप्रति समवेदना व्यक्त गरेका छन् । अल्बानिजले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहसँग संयुक्त राष्ट्रसङ्घमा भेट भएको जानकारी दिँदै बाढी प्रभावितका लागि अष्ट्रेलियाले गरिरहेको सहयोगबारे जानकारी गराएको बताए । उनले बाढीपछि नेपालमा बेपत्ता रहेका अष्ट्रेलियाली नागरिकका परिवार तथा आफन्तप्रति आफ्नो ध्यान र सहानुभूति रहेको उल्लेख गरे । 'बेपत्ता रहेका अष्ट्रेलियाली नागरिकका परिवार र आफन्तप्रति हाम्रो विचार र सहानुभूति छ,' उनले लेखेका छन् । नेपाल विनाशकारी बाढीबाट प्रभावित भएर पुनःस्थापना र पुनर्निर्माणको चरणमा रहेकाले अष्ट्रेलिया नेपाली जनतासँगै उभिएको अल्बानिजले बताए । आवश्यक परेको स्थानमा सहयोग पुर्याउन अष्ट्रेलियाले नेपालसँग निरन्तर सहकार्य गर्ने उनको भनाइ छ । अल्बानिजले नेपालमा बाढीबाट प्रभावित तथा क्षति बेहोरेका परिवारप्रति अष्ट्रेलियाको गहिरो समवेदना रहेको उल्लेख गर्दै अहिलेसम्म गरिएका सहायता प्रयासबारे समेत प्रधानमन्त्री शाहलाई जानकारी गराएको बताए ।
राष्ट्रिय योजना आयोगले माग्यो बाढी प्रभावितका घाइते, बेपत्ता र मृतकको विवरण
काठमाडौं । राष्ट्रिय योजना आयोगले रसुवागढी तथा भोटेकोशी नदी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित घाइते, बेपत्ता तथा मृतक व्यक्तिको विवरण उपलब्ध गराउन आग्रह गरेको छ । आयोगले बाढीबाट भएको मानवीय, आर्थिक, सामाजिक तथा पूर्वाधारलगायतका क्षेत्रमा भएको क्षतिको विस्तृत मूल्याङ्कन गरी वित्तीय आवश्यकता अनुमान र पुनर्निर्माण योजना तयार गर्न विपद्पछिको आवश्यकता मूल्याङ्कन प्रतिवेदन तयार गर्ने काम अघि बढाएको जनाएको छ । आयोगका अनुसार बाढी प्रभावित क्षेत्रमा स्थानीय बासिन्दासँगै कामका लागि पुगेका मजदुर, तीर्थयात्री, पदयात्रामा गएका स्वदेशी तथा विदेशी नागरिक, पथप्रदर्शक, आयातित सामान लिन पुगेका सवारीचालक तथा सहयोगी र व्यापार–व्यवसायका क्रममा अस्थायी रूपमा बसोबास गरिरहेका व्यक्तिसमेत प्रभावित भएका छन् । तीमध्ये केही बेपत्ता तथा केहीको मृत्यु भएको विवरण सार्वजनिक भएको आयोगले जनाएको छ । प्रभावित व्यक्तिको यथार्थ विवरण, उनीहरूसँग सम्बन्धित व्यवसाय तथा क्षति भएका व्यक्तिगत र व्यावसायिक सम्पत्तिको विवरण सङ्कलन गरी क्षति तथा आवश्यकता पहिचान गर्न आयोगले छुट्टै अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । रसुवा, भोटेकोशी लगायतका बाढी प्रभावित क्षेत्रमा घाइते, बेपत्ता वा मृत्यु भएका व्यक्तिको हकमा उनीहरू अन्य जिल्ला वा स्थानका बासिन्दा भए पनि सम्बन्धित परिवार, आफन्त वा कानुनी हकवालाले सम्बन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकृत, वडा सचिव वा तोकिएको कर्मचारीमार्फत पोर्टलमा विवरण भर्न सक्ने आयोगले जनाएको छ । आयोगले २०८३ असोज १५ गतेभित्र सम्भव भएसम्म पूर्ण र यथार्थ विवरण उपलब्ध गराउन आग्रह गरेको छ । साथै, स्थानीय तहलाई आफ्नो क्षेत्रका सम्भावित प्रभावित परिवार तथा आफन्तजनलाई यसबारे जानकारी गराई विवरण भर्न आवश्यक सूचना, सहजीकरण तथा समन्वय गर्न अनुरोध गरिएको छ ।
आज इन्द्रजात्रा पर्व मनाइँदै, कुमारी, गणेश र भैरवको रथयात्रा मुख्य आकर्षण
काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा-आराधना गरी आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधिसहित मनाउने गरिन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकास्थित दरबार क्षेत्रअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो (यःसिँ) ठड्याएपछि इन्द्रजात्रा सुरु हुन्छ । आठ दिनसम्म मनाइने जात्रामा विभिन्न प्रकारका नाचगान, रथयात्रा तथा देवीदेवताको पूजा-आराधना गरिन्छ । शनिबार बिहान ६ बजेर ५७ मिनेटसम्म द्वादशी तिथि रहेकाले सोही दिन इन्द्रध्वजोत्थानको साइत निकालिएको र आइतबार बिहान सूर्योदय चतुर्दशी तिथिमा हुने भएकाले यस दिन इन्द्रजात्रा मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष तथा धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए । भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोको फेदमा भैरवको पूजा गर्ने परम्परा छ । शत्रुमाथि विजय प्राप्त गरेपछि विजय उत्सवका रूपमा इन्द्रजात्रा मनाउने गरिएको धार्मिक मान्यता छ । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर त्यसको प्रदर्शन गर्ने पर्वका रूपमा पनि इन्द्रजात्रालाई लिइन्छ । इन्द्रजात्राको मुख्य दिन आज हनुमानढोकास्थित गद्दी बैठकबाट राष्ट्रपतिले जीवित देवीका रूपमा मानिने कुमारी, गणेश र भैरवको रथयात्रा अवलोकन गर्ने परम्परा छ । जात्राका क्रममा भक्कुनाच, महाकाली नाच, लाखे नाच, दशावतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच प्रदर्शन गरिन्छ । यी नाच तथा सांस्कृतिक गतिविधिले इन्द्रजात्राको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई झल्काउने गर्छन् । भाद्र शुक्ल चतुर्दशीका दिन अनन्तनाथ अर्थात् भगवान् विष्णुको समेत पूजा-आराधना गर्ने गरिन्छ । त्यसैले यस दिनलाई अनन्त चतुर्दशी पनि भनिन्छ । चोखो धागोमा अनन्त मन्त्रण गरी बाँध्नाले वर्षभर शुभ हुने धार्मिक विश्वास रहेको छ ।
पुनर्निर्माणमा जिडिपीको १० प्रतिशत रकम आवश्यकः प्रधानमन्त्री बालेन
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी-त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीलाई ‘माउन्टेन सुनामी’ को संज्ञा दिँदै त्यसपछिको पुनर्निर्माणका लागि नेपालको कुल गार्हस्थ्य उत्पादनको करिब १० प्रतिशत रकम आवश्यक पर्ने बताएका छन् । संयुक्त राष्ट्रसङ्घको महासभामा शुक्रबार सम्बोधन गर्दै उनले उक्त विपद्मा कम्तीमा १ हजार ४ सय जनाको मृत्यु भएको र ६ हजारभन्दा बढी मानिस अझै बेपत्ता रहेको भयावह तथ्याङ्क प्रस्तुत गरे । सन् २०१५ को भूकम्पपछिको पुनर्निर्माणमा जस्तै अहिले पनि अन्तर्राष्ट्रिय समुदायबाट ऐक्यबद्धता र सहयोगको अपेक्षा गरिएको उनले बताए । विपद्पछि तत्काल सहयोग गर्ने छिमेकी राष्ट्र भारत र चीनसहित सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायलाई उनले धन्यवाद दिए ।
आइतबारदेखि कमजोर हुँदै जानेछ मौसमी प्रणाली, वर्षा क्रमशः घट्ने
काठमाडौं । हाल नेपालमा मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेकाले देशका अधिकांश भू-भागमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले आगामी केही दिन वर्षाको क्रम जारी रहनेछ । मनसुनी रेखा र पश्चिमी वायुको संयुक्त प्रभावका कारण देशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बदली रहनेछ भने तराईका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । जल तथा मौसमविद्का अनुसार हाल जारी झरी र भारी वर्षाको प्रभाव आइतबारदेखि क्रमिक रूपमा घट्दै जानेछ । मौसमी प्रणाली कमजोर हुँदै गएसँगै देशभरको मौसममा पनि क्रमिक सुधार आउने अनुमान गरिएको छ । लगातारको वर्षाका कारण पहिरो, भूक्षय तथा नदीमा जलसतह बढेर बाढी आउने जोखिम भने कायमै रहेको छ । त्यसैले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । यस्तै, पहाडी तथा ग्रामीण सडकमा यात्रा गर्दा मौसमको अद्यावधिक जानकारी लिएर मात्र यात्रा गर्न र सम्भव भएसम्म रात्रिकालीन यात्रा नगर्न महाशाखा तथा स्थानीय प्रशासनले आग्रह गरेका छन् ।
हतियार र क्षेप्यास्त्र समयमै पुग्छन्, किसानले मल पाउँदैनन् : प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले विश्वव्यापी आपूर्ति प्रणालीमा रहेको असमानतामाथि प्रश्न उठाउँदै हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा भने कमजोर रहेको बताएका छन् । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई शुक्रबार बिहान सम्बोधन गर्दै प्रधानमन्त्री शाहले अन्तरमहादेशीय क्षेप्यास्त्र, राइफल तथा गोलाबारुद तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर किसानले आवश्यक परेको बेला बजार मूल्यमा समेत मल वा इन्धन पाउन नसक्ने अवस्था रहेको बताए । आफूले तिर्न सक्ने देशले आवश्यक वस्तु किन्न पाउनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री शाहले ७२ घण्टाभित्र संसारको जुनसुकै ठाउँमा हतियार पुर्याउन सक्ने विश्वसँग किसानलाई मर्यादित जीविकोपार्जनका साधनबाट वञ्चित राख्ने कुनै बहाना हुन नसक्ने बताए । उनले विश्वव्यापी आपूर्ति प्रणालीको असमानतालाई जलवायु न्याय र विश्वव्यापी आर्थिक व्यवस्थासँग जोड्दै कमजोर तथा विकासशील देशका नागरिकले आफूले सिर्जना नगरेका सङ्कटको भार बोक्नुपरेको बताए । जलवायु परिवर्तनले नेपालजस्ता देशलाई प्रभावित पारिरहेको र अर्कोतर्फ विश्वव्यापी आपूर्ति शृङ्खलाको कमजोरीले गरिब तथा कमजोर समुदायलाई थप प्रभावित बनाइरहेको उनको भनाइ छ । प्रधानमन्त्री शाहले जलवायु विपद्को सामना गर्न नेपाल, भारत र चीनको नेतृत्वमा हिमालय जलवायु उत्थानशीलता संयन्त्र स्थापना गर्न प्रस्तावसमेत गरेका छन् । हिमालय क्षेत्र करिब २ अर्ब मानिसको आश्रयस्थल र पृथ्वीको जीवनरक्षक प्रणालीको हिस्सा भएको उल्लेख गर्दै उनले प्रस्तावित संयन्त्रमाफर्त भूउपग्रहको तथ्याङ्क आदानप्रदान, जोखिमयुक्त हिमतालको संयुक्त अनुगमन तथा पूर्वचेतावनी प्रणालीलाई सुदृढ गर्नुपर्नेमा जोड दिए । विपद्का बेला सीमापार समन्वय आवश्यक रहेको बताउँदै उनले हिमालय क्षेत्रलाई खण्डित सूचनाको सिमानाका रूपमा नभई अन्तर्राष्ट्रिय सहकार्यको प्रयोगशाला बनाउनुपर्ने बताए । प्रधानमन्त्री शाहले जलवायु न्याय केवल आर्थिक सहयोगको विषय नभई वितरणात्मक तथा प्रक्रियागत न्यायको विषय भएको पनि बताए । ‘जलवायु न्याय केवल पैसाको विषय होइन । यो वितरणात्मक न्यायको विषय हो, अर्थात् यसको लागत कसले बेहोर्छ भन्ने प्रश्न हो,’ उनले भने । उनले जलवायु न्याय प्रक्रियागत न्यायसँग पनि जोडिएको उल्लेख गर्दै हिमाली समुदाय, साना टापु राष्ट्र, भूपरिवेष्टित तथा अति कम विकसित देश र अझै जन्मिन बाँकी पुस्ताको भविष्यलाई समान महत्त्व दिइन्छ कि दिइँदैन भन्ने प्रश्न रहेको बताए । ‘भोलिदेखि यही संयुक्त राष्ट्रसङ्घमा हुने ‘सगरमाथादेखि समुद्रसम्म’ साइड इभेन्टमार्फत नेपाल यो संवादको नेतृत्व गर्न सहयोग गर्न तयार छ,’ उनले भने । विश्वमञ्चमा नेपालको वातावरणीय प्रयासको चर्चा गर्दै प्रधानमन्त्री शाहले अति कम विकसित देश भएर पनि नेपालले आफ्नो दायित्वभन्दा बढी योगदान गरिरहेको दाबी गरे । नेपालको आधाजसो भूभाग वनजङ्गलले ढाकेको, जीवाश्म इन्धनमा आधारित ऊर्जालाई विस्थापित गर्न तीव्र गतिमा जलविद्युत् उत्पादन भइरहेको तथा विद्युतीय सवारीसाधनको प्रवर्द्धनमा नेपालले उल्लेखनीय प्रगति गरेको उनले बताए । बढ्दो जलवायु विपद्को सामना गर्न स्थानीय स्तरमा जलवायु अनुकूलनका कामलाई थप बलियो बनाउँदै लैजाने प्रतिबद्धतासमेत उनले विश्वसमुदायसमक्ष व्यक्त गरे । प्रधानमन्त्री शाहले नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा ०.१ प्रतिशतभन्दा पनि कम योगदान गरे पनि जलवायु परिवर्तनको असाध्यै ठूलो मूल्य चुकाइरहेको बताए । राष्ट्रसङ्घको महासभामा विश्वको ध्यानाकर्षण गराउँदै उनले नेपालका लागि जलवायु महाविपत्ति केवल मानवीय घटना मात्र नभई ‘विकासको आपत्काल’ भएको स्पष्ट पारे । ऐतिहासिक रूपमा धेरै प्रदूषण गर्ने राष्ट्रहरूले अब बढी जिम्मेवारी लिनुपर्ने उल्लेख गर्दै उनले भने, ‘जलवायु न्याय संयुक्त राष्ट्रसङ्घको दस्ताबेजमा मात्र सीमित एउटा सुन्दर वाक्यांश बन्नु हुँदैन । हाम्रा नागरिकले निरन्तर आफ्नो विगतको पुनर्निर्माण गरिरहनुको सट्टा अब आफ्नो भविष्य निर्माण गर्न पाउनुपर्छ ।’
पशुपतिनाथले विश्वको कल्याण गरून्, विश्व बुद्धको बाटोमा हिँडोस्ः बालेन
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै विश्व शान्ति र कल्याणको कामना गरेका छन् । सम्बोधनको अन्त्यमा प्रधानमन्त्री शाहले भने, ‘भगवान् पशुपतिनाथले विश्वको कल्याण गरून् । यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस् । धन्यवाद, नमस्ते ।’ नेपालको आध्यात्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएका पशुपतिनाथ र गौतम बुद्धको सन्देशलाई विश्व शान्ति र कल्याणसँग जोड्दै प्रधानमन्त्री शाहले आफ्नो सम्बोधन टुंग्याएका हुन् ।