काठमाडौं । हाल नेपालमा मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेकाले देशका अधिकांश भू-भागमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले आगामी केही दिन वर्षाको क्रम जारी रहनेछ ।
मनसुनी रेखा र पश्चिमी वायुको संयुक्त प्रभावका कारण देशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बदली रहनेछ भने तराईका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
जल तथा मौसमविद्का अनुसार हाल जारी झरी र भारी वर्षाको प्रभाव आइतबारदेखि क्रमिक रूपमा घट्दै जानेछ । मौसमी प्रणाली कमजोर हुँदै गएसँगै देशभरको मौसममा पनि क्रमिक सुधार आउने अनुमान गरिएको छ ।
लगातारको वर्षाका कारण पहिरो, भूक्षय तथा नदीमा जलसतह बढेर बाढी आउने जोखिम भने कायमै रहेको छ । त्यसैले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
यस्तै, पहाडी तथा ग्रामीण सडकमा यात्रा गर्दा मौसमको अद्यावधिक जानकारी लिएर मात्र यात्रा गर्न र सम्भव भएसम्म रात्रिकालीन यात्रा नगर्न महाशाखा तथा स्थानीय प्रशासनले आग्रह गरेका छन् ।