काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी-त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीलाई ‘माउन्टेन सुनामी’ को संज्ञा दिँदै त्यसपछिको पुनर्निर्माणका लागि नेपालको कुल गार्हस्थ्य उत्पादनको करिब १० प्रतिशत रकम आवश्यक पर्ने बताएका छन् ।
संयुक्त राष्ट्रसङ्घको महासभामा शुक्रबार सम्बोधन गर्दै उनले उक्त विपद्मा कम्तीमा १ हजार ४ सय जनाको मृत्यु भएको र ६ हजारभन्दा बढी मानिस अझै बेपत्ता रहेको भयावह तथ्याङ्क प्रस्तुत गरे ।
सन् २०१५ को भूकम्पपछिको पुनर्निर्माणमा जस्तै अहिले पनि अन्तर्राष्ट्रिय समुदायबाट ऐक्यबद्धता र सहयोगको अपेक्षा गरिएको उनले बताए । विपद्पछि तत्काल सहयोग गर्ने छिमेकी राष्ट्र भारत र चीनसहित सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायलाई उनले धन्यवाद दिए ।