‘हुंकार मधेस’ अभियान घोषणा
काठमाडौं । विभिन्न दल छाडेका युवाहरूले देश र मधेशका लागि विचारसहितको वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले ‘हुंकार मधेश’ अभियान घोषणा गरिएको छ । शुक्रवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै शक्तिशाली राजनीतिक संगठनको जग निर्माण तथा सक्षम र योग्य युवा नेतृत्व तयार गर्ने लक्ष्यसहित उक्त अभियान घोषणा गरिएको हो । अभियान घोषणा कार्यक्रममा बोल्दै राष्ट्रिय मुक्ति पार्टी नेपाल छाडेका केशव झाले युवापुस्ताहरूलाई राजनीतितर्फ आकर्षित गर्ने उद्देश्यले अभियान अघि बढाइएको बताए । उनले राजनीतिलाई ‘डर्टी गेम’का रूपमा चित्रित गर्ने प्रवृत्तिका कारण सक्षम र विद्वान व्यक्तिहरू राजनीतिबाट टाढिँदै गएकोमा चिन्ता व्यक्त गरे । उनले मधेश केन्द्रित राजनीतिक दलहरूसँग एउटै दल बनाएर अघि बढ्न आफूहरूले राखेको प्रस्ताव स्वीकार नगरेको कारण अभियान अघि बढाइएको जानकारी दिए । राजनीतिलाई समाजको सबैभन्दा जानकार, शिक्षित र आत्मनिर्भर व्यक्तिहरूले नेतृत्व गर्नुपर्ने उनको भनाइ छ । उनले राजनीतिक नेतृत्वले आफ्नो व्यक्तित्व र सामाजिक सम्मान पुनर्स्थापित गर्नुपर्ने आवश्यकता रहेको पनि बताए । झाले राजनीतिलाई ट्र्याकमा ल्याउँदै युवा पुस्तालाई राजनीतिमा जोड्ने अभियानको मुख्य लक्ष्य रहेको पनि बताए।
एनआईएमबीको १ लाख ५१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका संस्थापक सेयरधनी कम्पनी सोफिया इन्भेष्टमेन्ट प्रालिका सेयरधनी किरणमान शेरचनले आफ्नो नाममा रहेको १ लाख ५१ हजार ५३४ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका छन् । बैंकले संस्थापक सेयर खरिद गर्न इच्छुक साविक समूह ‘क’ का विद्यमान संस्थापक सेयरधनीहरूलाई आवेदन दिन आह्वान गरेको छ । बैंकका अनुसार इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको सेयर संख्या र प्रतिकित्ता वा कुल रकमसमेत खुलाएर बैंकमा लिखित जानकारी दिनुपर्नेछ । शेरचनको नाममा रहेको उक्त सेयरसँग सम्बन्धित लाभ तथा दायित्वसमेत बिक्री गर्न खोजिएको बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन–२०८२ को इ.प्रा. निर्देशन नं. १०/०८२ बमोजिम संस्थापक सेयर बिक्रीको प्रक्रिया अघि बढाइएको बैंकले जनाएको छ । इच्छुक संस्थापक सेयरधनीले बैंकको केन्द्रीय कार्यालय, दरबारमार्ग, काठमाडौंमा सम्पर्क गरी आवेदन दिन सक्नेछन् ।
अफगानिस्तानमाथि नेपालको सानदार जित
काठमाडाैं । जापानमा जारी एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानमाथि सानदार जित निकालेको छ । अफगानिस्तानले दिएको १०३ रनको सामान्य लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्दै खेल आफ्नो पक्षमा पारेको हो । नेपालका ब्याटरले लक्ष्य पछ्याउने क्रममा संयमित प्रदर्शन गर्दै अफगानिस्तानमाथि दबाब कायम राखेका थिए । सुरुवाती चरणमा केही विकेट गुमाए पनि नेपाली ब्याटरले इनिङ्स सम्हाल्दै लक्ष्यतर्फ अघि बढे । अन्ततः नेपालले निर्धारित लक्ष्य पूरा गर्दै महत्वपूर्ण जित दर्ता गराएको हो । नेपालको जितमा सन्दीप जोराले सर्वाधिक ३४ रनको योगदान दिए । उनले जिम्मेवार ब्याटिङ गर्दै टोलीलाई लक्ष्यनजिक पुर्याउन महत्वपूर्ण भूमिका खेले । त्यस्तै रोहित पौडेलले ३३ रन बनाएर नेपालको इनिङ्सलाई बलियो आधार दिए । कप्तान दीपेन्द्र सिंह ऐरीले १५ रन जोड्दा कुशल मल्लले ९ रन बनाए । यी ब्याटरको योगदानपछि नेपालले १७.२ ओभरमै लक्ष्य भेट्टाउन सफल भयो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०२ रन बनाएको थियो । अफगानिस्तानका लागि फैजल खान र निजाबुल्लाह जाद्रानले समान ३० रन बनाएका थिए । अफगानिस्तानलाई सामान्य योगफलमै रोक्न नेपालको बलिङ प्रभावकारी रह्यो । कुशल भुर्तेलले ४ विकेट तथा ललित राजवंशीले ३ विकेट लिएपछि अफगानिस्तान ठूलो योगफल बनाउनबाट रोकिएको थियो । बलिङमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले त्यसपछि ब्याटिङमा पनि लक्ष्य सहज रूपमा पूरा गर्दै अफगानिस्तानलाई पराजित गरेको हो । एसियन गेम्सको महत्वपूर्ण प्रतिस्पर्धामा आएको यो जितले नेपाली टोलीको मनोबलसमेत बढाएको छ । अफगानिस्तानले प्रस्तुत गरेको १०२ रनको योगफललाई नेपालले १६ बल बाँकी छँदै पार गरेको हो । लक्ष्य पछ्याउँदा सन्दीप जोरा र रोहित पौडेलको ब्याटिङ विशेष प्रभावकारी रह्यो ।
सिटिजन्स बैंकको ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका संस्थापक समूहका सेयरधनी चन्द्र इन्भेष्टमेन्ट प्रालिले आफ्नो स्वामित्वमा रहेको ६० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीका अनुसार उक्त सेयर बिक्रीका लागि चन्द्र इन्भेष्टमेन्ट प्रालिले बैंकमा निवेदन दिएको छ । नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनअनुसार संस्थापक समूहको सेयर खरिद–बिक्री गर्दा विद्यमान संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकता दिनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार बैंकले संस्थापक सेयरधनीहरूलाई उक्त सेयर खरिद गर्न आह्वान गरेको हो । इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, नारायणहिटी पथ, काठमाडौंमा निवेदन दिनुपर्नेछ । तोकिएको ३५ दिनभित्र कुनै संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि आवेदन नपरेमा वा सेयर बिक्री हुन नसकेमा प्रचलित नियमअनुसार अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।
हाथवे इन्भेष्टमेन्टका सेयरधनी हेमराज ढकालले २० लाख कित्ता सेयर बेच्ने
काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडका आधारभूत सेयरधनी हेमराज ढकालले कम्पनीको २० लाख कित्ता सेयर बिक्री गर्ने भएका छन् । कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई दिएको जानकारीअनुसार ढकालले आफूले धारण गरेको सेयरमध्ये २० लाख कित्ता सेयर आगामी तीन महिनाभित्र बिक्री गर्ने मनसायसहित कम्पनीमा निवेदन दिएका छन् । नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार आधारभूत सेयरधनीले आफूले धारण गरेको ५ प्रतिशत वा सोभन्दा बढी शेयर बिक्री गर्नुअघि कम्तीमा १५ दिन अगावै जानकारी गराउनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार ढकालले शेयर बिक्री गर्ने मनसायबारे कम्पनीलाई जानकारी गराएका हुन् । कम्पनीका अनुसार ढकालले असोज ८ गते सेयर बिक्रीसम्बन्धी निवेदन दिएका हुन् ।
८ करोड ४२ लाख विगो भइ फरार रहेका मगर पक्राउ
काठमाडौं । बैंकिङ कसुरमा फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । ८ करोड ४२ लाख बिगो भएको र १२ वटा बैंकिङ कसुर सम्बन्धी मुद्दामा फरार रहेका ४८ वर्षीय शेरबहादुर मगर पक्राउ परेका हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई ललितपुरबाट पक्राउ गरेको हो । उनलाई ८ करोड ४२ लाख बिगो भएको १२ वटा बैंकिङ कसुर सम्बन्धी मुद्दामा २ वर्ष १४ दिन कैद र ६२ लाख जरिवाना ठहर भएको थियो । उनलाई कार्यालयले फैसला कार्यान्वयनको लागि सम्मानित काठमाडौं जिल्ला अदालतमा बबरमहल उपस्थित गराइसकेको छ । राजु खड्का समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादीसमेत रहेको ओखलढुङ्गा चम्पादेवी गाउँपालिकाका काठमाडौं महानगर ३२ बस्ने ४८ वर्षीय मगर हुन् । उच्च अदालत पाटन, काठमाडौं जिल्ला अदालत, भक्तपुर जिल्ला अदालतको विभिन्न समयमा भएको फैसलाले कैद २ वर्ष १४ दिन र जरिवाना ६२ लाख १० हजार एक सय रुपैयाँ हुने फैसला भएको थियो ।
कान्ति राजमार्ग अवरुद्ध : पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा
काठमाडौं । अविरल वर्षाका कारण कान्ति राजमार्गमा विभिन्न तीन स्थानमा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । सडकको उचित निकास नहुँदा पहाडी भिरालोबाट बगेको पानी सिधै सडकमा पस्दा सडकको पिच उप्किने र ग्याबिन पर्खालसमेत जोखिममा पर्ने देखिएको हो । कान्ति राजमार्गमा देखिएको पछिल्लो सडक अवरोधले स्थानीयवासी र यात्रुलाई सास्ती दिएको छ । सडक निर्माणका क्रममा आवश्यक पर्ने पानी निकासको दिगो प्रबन्ध नहुँदा सामान्य वर्षामा समेत ठूलो क्षति व्यहोर्नुपर्ने अवस्था आएको हो । सडकको माथिल्लो भागबाट आएको भलपानी नाली हुँदै सुरक्षित स्थानमा लैजानुको साटो सडकको पिचमै बग्न दिइएको छ । सडक किनारमा रहेका ग्याबिन पर्खालहरू पानीको तीव्र बहावका कारण कमजोर बनेका छन् । सडक सुरक्षाका लागि अपनाउनुपर्ने प्राविधिक मापदण्डहरू पालना नहुँदा र समयमा मर्मतसम्भार नहुँदा कान्ति राजमार्ग बारम्बार अवरुद्ध हुने गरेको छ ।
भारी वर्षाले कांग्रेसको क्षेत्रीय अधिवेशन प्रभावित
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको कार्यतालिका प्रभावित भएको छ । निरन्तर वर्षाका कारण क्षेत्रीय अधिवेशनको कार्यतालिका प्रभावित भएको हो । केन्द्रीय निर्वाचन समितिले बिहीबार विज्ञप्ति जारी गर्दै मौसमको अवस्था हेरेर क्षेत्रीय अधिवेशनको मिति व्यवस्थापन गर्न सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । समितिका सदस्यसचिव राजु कटुवालले जारी गरेको विज्ञप्तिअनुसार मौसम अनुकूल रहेका क्षेत्रमा असोज १० गतेकै निर्धारित मितिमा प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न गर्नुपर्नेछ । तर भारी वर्षा वा अन्य प्रतिकूल मौसमका कारण निर्वाचन सञ्चालन गर्न कठिनाइ भएका क्षेत्रमा सम्बन्धित जिल्ला तथा क्षेत्रीय कार्यसमितिसँग समन्वय गरी असोज १३ गतेभित्र अधिवेशन सम्पन्न गर्नुपर्ने कटुवालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विभिन्न जिल्लामा भइरहेको भारी वर्षाका कारण अधिवेशन प्रक्रिया प्रभावित भइरहेको जानकारी निर्वाचन अधिकृतहरूबाट प्राप्त भएको समितिले जनाएको छ । केही दिन अझै वर्षा कायम रहने भन्दै मौसम विभागलगायतका निकायले सतर्कता अपनाउन सूचना जारी गरेको अवस्थालाई समेत निर्णयको आधार बनाइएको कटुवालले बताए । कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत वडा अधिवेशन सम्पन्न भइसकेको छ भने गाउँ तथा नगर अधिवेशन जारी छ । निर्वाचन समितिका अनुसार अहिलेसम्म ६६ जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न भइसकेको छ । अब क्षेत्रीय अधिवेशनको हकमा भने स्थानीय मौसम र परिस्थितिअनुसार निर्वाचनको मिति केही दिन सार्न सकिने भएको छ । यसले असोज १० गते सबै क्षेत्रमा एकैपटक क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने पूर्वनिर्धारित कार्यतालिकामा लचकता ल्याएको छ । कांग्रेसको १५औं महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका छ । महाधिवेशनको मिति नजिकिँदै गर्दा वर्षाका कारण प्रभावित निर्वाचन कार्यक्रमलाई असोज १३ गतेभित्रै टुंग्याउने गरी निर्वाचन समितिले समयसीमा तोकेको हो ।