विकासन्युज

ताइवान मुद्दामा सीको स्पष्ट धारणा, अमेरिकालाई दिए यस्तो सन्देश

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले आफ्नो अमेरिका भ्रमणका क्रममा ताइवानको मुद्दामा अमेरिकाले सही धारणा अपनाउनुपर्ने बताएका छन् । चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार सीले अमेरिकाले ‘ताइवानको स्वतन्त्रताको विरोध गर्ने’ सही अडानमा कायम रहने चीनले अपेक्षा गरेको बताएका छन् । चिनियाँ राष्ट्रपतिले अमेरिकालाई ‘ताइवानको मुद्दालाई सावधानीपूर्वक सम्हाल्न’ आग्रह गरेका हुन् ।  यसले दुई देशबीचको रणनीतिक सहकार्य र चीन–अमेरिका सम्बन्धका लागि बलियो आधार तयार पार्ने उनको भनाइ छ । सिन्ह्वाका अनुसार सीले चीनको राष्ट्रिय एकता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने विषयमा चीनको धारणा पूर्ण रूपमा स्पष्ट रहेको बताएका छन् । चीनले स्वशासित ताइवानलाई आफ्नो भूभागको हिस्सा मान्दै आएको छ । तर ताइवानले आफूलाई चीनबाट अलग स्वशासित क्षेत्रका रूपमा प्रस्तुत गर्दै आएको छ । सी नेतृत्वको चीनले पछिल्लो समय ताइवानको स्वतन्त्रताका पक्षमा हुने गतिविधि रोक्नका लागि दबाब र सैन्य गतिविधि बढाउँदै आएको छ । अमेरिकाको ताइवानसँग औपचारिक कूटनीतिक सम्बन्ध छैन । यद्यपि अमेरिकी कानुनअनुसार ताइवानलाई आफ्नो आत्मरक्षाका लागि आवश्यक साधन उपलब्ध गराउन अमेरिका बाध्य छ । तर अमेरिकाले ताइवानसँगको सम्बन्ध कायम राख्दै चीनसँग औपचारिक कूटनीतिक सम्बन्ध पनि निरन्तरता दिनुपर्ने भएकाले दुई पक्षबीच सन्तुलन कायम गर्दै आएको छ । यो करिब एक दशकपछि सीको पहिलो अमेरिका भ्रमण हो । साथै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रोपटक राष्ट्रपति बनेपछि सी र ट्रम्पबीच भएको यो तेस्रो भेटवार्ता हो ।

एजेन्सी दर्ताको धरौटी व्यवस्था हटाउन नाइमाको माग

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले एजेन्सी दर्तासम्बन्धी नियमलाई व्यवसायी तथा उद्यमीमैत्री बनाउन सरकारसँग आग्रह गरेको छ । नाइमाको प्रतिनिधिमण्डलले बिहीबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग भेट गरी यस्तो आग्रह गरेको हो । भेटका क्रममा नाइमाले एजेन्सी दर्ता गर्दा वा नयाँ वस्तु थप्दा कम्पनीको पुँजीको ०.५ प्रतिशत धरौटी बुझाउनुपर्ने व्यवस्थाबारे मन्त्रीको ध्यानाकर्षण गराएको छ । साथै विद्यमान नियममा ‘वस्तु’को परिभाषा स्पष्ट नभएको विषयमा पनि संघले प्रश्न उठाएको छ । एउटै ब्रान्डअन्तर्गत रहेका विभिन्न मोडेललाई छुट्टाछुट्टै ‘वस्तु’ मानेर प्रत्येक मोडेलका लागि अलग–अलग धरौटी मागिँदा व्यवसायीको ठूलो रकम अनावश्यक रूपमा रोक्का हुने र आर्थिक भार बढ्ने नाइमाको भनाइ छ । संघले एउटै ब्रान्डका विभिन्न मोडेललाई अलग–अलग वस्तु मानेर छुट्टाछुट्टै धरौटी लिने व्यवस्था हटाउन र नियममा ‘वस्तु’को परिभाषा स्पष्ट पार्न माग गरेको छ । यस विषयमा नाइमाले यसअघि नै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा लिखित सुझावसमेत पेस गरिसकेको जनाएको छ । छलफलका क्रममा मन्त्री साहले नाइमाले उठाएका विषयलाई सकारात्मक रूपमा लिएको बताए । उनले यसअघि भएका निर्णयको पुनरावलोकन गर्दै एजेन्सी दर्तासम्बन्धी नियमलाई व्यवसायी तथा उद्यमीमैत्री बनाउने गरी आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएका छन् । मन्त्रालयको सकारात्मक पहलप्रति आभार व्यक्त गर्दै नाइमाले नियम पुनरावलोकनका क्रममा आवश्यक तथ्य, विवरण तथा सुझाव उपलब्ध गराएर मन्त्रालयसँग सहकार्य गर्न तयार रहेको जनाएको छ । भेटमा नाइमाका बोर्ड सदस्य निराकार श्रेष्ठ र उदयन काब्रा, रणनीति तथा सदस्यता मामिला समितिका संयोजक आकाश गोल्छालगायत सहभागी थिए । यस्तै, नाइमाका सदस्य कम्पनी शशिला मोटर्स प्रालि, ओम्नी मोटर्स प्रालि, स्पार्क अटोमोटिभ्स प्रालि र कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका प्रतिनिधि तथा नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालको पनि उपस्थिति थियो ।

सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका महर्जन अस्पतालबाट डिस्चार्ज

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली ३–ए जलविद्युत आयोजनाको सुरुङमा १० दिनसम्म फसेर जीवितै उद्धार गरिएका मेकानिकल सुपरभाइजर कविर महर्जन अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि शुक्रवार अस्पतालबाट बिदा गरिएका महर्जनलाई ललितपुरस्थित उहाँको निवासमा भव्य स्वागत गरिएको छ ।  गत भदौ १० गते आएको भीषण बाढीका कारण जलविद्युत आयोजनाको सुरुङभित्र फसेका महर्जनको उद्धार कार्य विश्वभर चर्चाको विषय बनेको थियो । १० दिनसम्म अँध्यारो सुरुङमा अन्धकार र अनिश्चयबीच संघर्ष गरिरहेका महर्जनलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले अदम्य शाहसका साथ जीवितै बाहिर निकालेको थियो ।  उद्धारपश्चात उपचारका लागि अस्पताल भर्ना गरिएका महर्जनको स्वास्थ्य अवस्थालाई चिकित्सकहरूले नजिकबाट निगरानी गरेका थिए ।  लामो समयको मानसिक तथा शारीरिक तनावपछि महर्जनको स्वास्थ्यमा क्रमशः सुधार आएको अस्पताल स्रोतले जनाएको छ । शुक्रवार अस्पतालबाट डिस्चार्ज हुने क्रममा उनी पूर्णरूपमा होसमा र स्वस्थ देखिएका थिए । काठमाडौंबाट ललितपुरस्थित आफ्नो निवासतर्फ फर्कने क्रममा विभिन्न स्थानमा स्थानीयले उनलाई फूलमालाले स्वागत गर्दै स्वास्थ्य लाभको कामना गरेका थिए ।  महर्जनले आफूलाई नयाँ जीवन प्रदान गर्ने उद्धारकर्ताहरू र उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूप्रति आभार व्यक्त गरेका छन् ।

जनकपुरका गुठी जग्गावासी आन्दोलित, १५ दिने सूचना खारेज गर्न माग

काठमाडौं । जनकपुरधामका गुठी जग्गामा दशकौंदेखि बसोवास गर्दै आएका स्थानीय बासिन्दाहरूले सरकारद्वारा जारी १५ दिने सूचना खारेज गर्न माग गर्दै आन्दोलन सुरु गरेका छन् । आफूहरूले पुर्ख्यौली सम्पत्तिसरह भोगचलन गर्दै आएको जग्गाबाट विस्थापित हुनुपर्ने अवस्था आएको भन्दै स्थानीयले गुठी संस्थान र स्थानीय सरकारको ध्यानाकर्षण गराएका हुन् ।  जनकपुरका विभिन्न स्थानमा २०२५ सालदेखि नै बसोवास गर्दै आएका स्थानीयहरूले जग्गाको स्वामित्व वा व्यवस्थित उपभोगको अधिकार पाउनुपर्ने माग अघि सारेका हुन् ।  स्थानीयले गुठी संस्थान ऐन, २०२५ र २०३३ को प्रावधानअनुसार आफूहरूलाई व्यवस्थित गर्नुपर्नेमा उल्टै जग्गा खाली गर्न दबाब दिइएको आरोप लगाएका छन् ।  आन्दोलनकारीहरूले घर भत्काउने र विस्थापन गर्ने कार्य तत्काल रोक्न माग गरेका छन् । पीडित पक्षले स–साना बालबालिका बोकेर प्लास्टिकको छानोमुनि बस्नुपर्ने बाध्यता सिर्जना भएको भन्दै राज्यले यसको मानवीय पाटो हेर्नुपर्नेमा जोड दिएका छन् ।  उनीहरूले आफ्ना माग पूरा नभए आम हडताल र चक्काजामसम्मका कडा कदम चाल्ने चेतावनी दिएका छन् ।  संघर्ष समितिका सचिव वचनदेव मण्डलले गुठीले आतंक गरिरहेको बताउँदै उनीहरुको विरोधमा उत्रिएको बताए । यसैबीच, जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले गुठी जग्गाको विषय संघीय सरकारको क्षेत्राधिकारभित्र पर्ने स्पष्ट पारे ।  स्थानीयको समस्या समाधानका लागि गठित नौ सदस्यीय उच्चस्तरीय समितिमा आफ्ना मागहरू समावेश गर्ने प्रतिवद्धता जनाए । समितिले नापी, मालपोत र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिहरूसँग समन्वय गरी जग्गाको वास्तविक अवस्था अद्यावधिक गर्ने र स्वबासीको अधिकार नखोसिने गरी व्यवस्थापन गर्न पहल गर्ने विश्वास दिलाएको छ ।  जग्गाको वैधानिकता र स्वामित्वको विषयमा रहेको द्विविधाले गर्दा जनकपुरमा गुठी जग्गाको समस्या अझै जटिल बनेको छ । 

राष्ट्रपति पौडेलले गरे इन्द्रजात्राको अवलोकन (तस्बिरहरू)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्राको अवलोकन गरेका छन् । शुक्रवार उनले इन्द्रजात्राको अवलोकन गर्नुका साथै श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा अवलोकन गरेका हुन् ।  उनको साथमा जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, मन्त्री मण्डलका सदस्यहरूको उपस्थिति रहेको थियो ।  सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध शालिकदेखि पैदल हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठकसम्म पुगेका थिए ।  साथै विभिन्न देशका पाहुनासमेत इन्द्रजात्रा अवलोकनका लागि वसन्तपुर पुगेका थिए ।

पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा अवरुद्ध

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत पर्ने धादिङको बाङ्गेमा खसेको विशाल पहिरोका कारण राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।  सडकको माथिल्लो भागबाट खसेको लेदोसहितको पहिरोले दुवैतर्फी यातायात सेवा ठप्प पारेपछि सयौँ यात्रुहरू बीचबाटोमै अलपत्र परेका छन् । राजमार्गको उक्त खण्ड विगतमा त्रिशूली नदीमा आएको बाढीका कारण अत्याधिक कटानमा परेको संवेदनशील क्षेत्र मानिन्छ । स्थानीय प्रशासनकाअनुसार लामो समयदेखिको वर्षाका कारण कमजोर बनेको जमिन र भिरालो भूगोलका कारण पहिरो खसेको हो । बाढीको उच्च जोखिम झेलिसकेको सोही स्थानमा पुनः पहिरो खसेपछि राजमार्गको पुनःस्थापना थप चुनौतीपूर्ण बनेको छ । सडक अवरुद्ध भएसँगै काठमाडौंलाई देशका अन्य भागसँग जोड्ने मुख्य लाइफलाइनका रूपमा रहेको यो मार्गमा सवारी साधनहरूको लामो लाइन लागेको छ । प्रहरीले यात्रामा निस्कनुअघि ट्राफिक प्रहरीसँग सडकको अवस्थाबारे जानकारी लिन वा वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । बाढी प्रभावित क्षेत्र भएकाले यस भेगमा थप पहिरो जान सक्ने भन्दै सावधानी अपनाउन प्रशासनले शतर्क गराएको छ ।  

८ वर्षपछि वीर अस्पतालकी प्रमुख नर्सिङ प्रशासक श्रेष्ठको सरुवा

काठमाडौं । वीर अस्पतालमा आठ वर्षदेखि कार्यरत प्रमुख नर्सिङ प्रशासक संगीता श्रेष्ठको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सरुवा भएको छ ।  लामो समयदेखि एउटै संस्थामा कार्यरत नर्सिङ प्रशासकको सरुवा हुन नसकेको विषयमा विकासन्युजले समाचार प्रकाशित गरेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले श्रेष्ठको सरुवा गरेको हो । मन्त्रालय स्रोतका अनुसार श्रेष्ठको सरुवा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको छ । वीर अस्पतालमा लामो समयदेखि प्रमुख नर्सिङ प्रशासकको जिम्मेवारीमा रहेकी श्रेष्ठको सरुवासँगै अन्य लामो समयदेखि एउटै संस्थामा कार्यरत नर्सिङ प्रशासकको समेत सरुवा गर्ने तयारी मन्त्रालयले गरेको स्रोतले बताएको छ । विकासन्युजले असोज ७ गते वर्षौंदेखि एउटै अड्डामा नर्सिङ प्रशासक शीर्षकमा समाचार प्रकाशित गर्दै स्वास्थ्य सेवाका विभिन्न निकायमा लामो समयदेखि एउटै कार्यालयमा कार्यरत नर्सिङ प्रशासकको अवस्थाबारे समाचार प्रकाशन गरेको थियो । उक्त समाचारपछि मन्त्रालयले नर्सिङ प्रशासनमा लामो समयदेखि एउटै संस्थामा कार्यरत कर्मचारीको सरुवा व्यवस्थापन अघि बढाएको हो ।  मन्त्रालय स्रोतका अनुसार अन्य उच्च तहका नर्सिङ प्रशासकको सरुवा पनि गर्ने तयारी भइरहेको छ । तर बाँकी सरुवाको निर्णय तत्कालै हुन नसकेको स्रोतले जनाएको छ ।  कर्मचारी प्रशासन हेर्ने उपसचिव हाल बिदामा रहेकाले सरुवा प्रक्रिया केही प्रभावित भएको र सम्बन्धित अधिकारी कार्यालय फर्किएपछि बाँकी प्रक्रिया अघि बढाउने तयारी रहेको मन्त्रालय स्रोतको भनाइ छ । स्रोतका अनुसार अन्य नर्सिङ प्रशासकको सरुवा एक साताभित्र गर्ने तयारी भइरहेको छ । त्यसका लागि लामो समयदेखि एउटै कार्यालयमा रहेका कर्मचारीको विवरण र कार्यरत संस्थाका आधारमा सरुवा प्रक्रिया अघि बढाइनेछ । स्वास्थ्य सेवामा नियमित सरुवा प्रशासनिक व्यवस्थापनको महत्वपूर्ण पक्ष भए पनि केही नर्सिङ प्रशासक लामो समयसम्म एउटै संस्थामा कार्यरत रहेको विषयमा प्रश्न उठ्दै आएको थियो ।  विशेषगरी ठूला सरकारी अस्पतालमा नर्सिङ प्रशासनको नेतृत्व लामो समयसम्म एउटै व्यक्तिसँग रहँदा सरुवा व्यवस्थापन र जिम्मेवारीको पुनर्वितरणबारे चासो बढेको थियो । श्रेष्ठको सरुवा त्यसै क्रममा भएको पहिलो निर्णय भएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।  विकासन्युजले विषय उठाएपछि वीर अस्पतालकी प्रमुख नर्सिङ प्रशासक श्रेष्ठको सरुवा भएको छ भने अन्य लामो समयदेखि एउटै संस्थामा रहेका नर्सिङ प्रशासकको सरुवा प्रक्रिया पनि अघि बढाउने तयारीमा मन्त्रालय पुगेको हो ।  वर्षौंदेखि एउटै अड्डामा नर्सिङ प्रशासक

काठमाडौंबाट चोरेका टयाक्टर काभ्रेमा लगेर बेच्ने बाउछोरा पक्राउ

काठमाडौं। काठमाडौंको स्वयम्भू क्षेत्रबाट चोरी भएका हाते ट्याक्टर (पावर टिलर) चोरी गर्ने बाउछोरासहित पाँच जना पक्राउ परेका छन् । बिहीबार स्वयम्भू क्षेत्रबाट हाते ट्याक्टर चोरी भएको सूचनाका आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले भक्तपुरको मध्यपुर थिमीबाट चोरीका १४ थान ट्याक्टर र बा ३१ प २१५९ नम्बरको मोटरसाइकल बरामद गरेको हो। प्रहरीले भक्तपुर चाँगुनारायण नगरपालिका–५ का ४१ वर्षीय राजु मचामसी, २१ वर्षीय राजेश मचामसी र १९ वर्षीय राजन मचामसीलाई पक्राउ गरेको छ। त्यस्तै, रौतहट परोहा नगरपालिका–५ घर भई भक्तपुरको बोडेमा कवाड सञ्चालन गर्ने ३५ वर्षीय राजेश्वर जैसवाल र काभ्रे पाँचखाल नगरपालिका–४ घर भई कवाड सञ्चालन गर्ने ४८ वर्षीय बिपिन कुमार शाही पनि पक्राउ परेका हुन् । ट्याक्टर चोर्ने गिरोह पक्राउ, बाबु संलग्न भएको प्रहरीले जनाएको छ । उनीहरूले काठमाडौंमा चोरी गरि ललितपुर भक्तपुर र काभ्रेपलान्चोक सम्म पुर्याई बेचबिखन गर्ने गरेका थिए । चोरीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त स्वयम्भूले थप अनुसन्धान गरिरहेको काठमाडौं परिसरका प्रवक्ता दानबहादुर थापाले जानकारी दिए ।