विकासन्युज

किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले किसानलाई तत्काल धान नकाट्न आग्रह गरेको छ । देशका विभिन्न भागमा जारी अविरल वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेपछि विभागले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको हो । विभागका मौसमविद् रोजन लामिछानेले मौसममा सुधार नआएसम्म किसानलाई धान नकाट्न र नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन सुझाव दिएका छन् । उनले प्रतिकूल मौसममा हतार गर्दा बाली तथा जनधनको क्षति हुन सक्ने भएकाले मौसम खुलेपछि मात्र धान काट्ने योजना बनाउन किसानलाई आग्रह गरे । विशेषगरी जमिन चिरा परेको वा सानो पहिरो देखिएको क्षेत्रमा जोखिम उच्च हुने भन्दै उनले त्यस्ता स्थानका बासिन्दालाई तुरुन्त सुरक्षित स्थानमा सर्न र छिमेकीलाई समेत सचेत गराउन अनुरोध गरे । उनले भने, ‘किसान तथा सर्वसाधारणले तत्काल धान नकाट्नुहोला । मौसमको अवस्था बुझेर आगामी दिनमा मौसम खुलेपछि मात्र धान काट्ने योजना बनाउनुहोला ।’ उनका अनुसार नेपालको पूर्वी भूभागमा मौसममा क्रमिक सुधार हुँदै गएको छ । केही स्थानमा मात्र हल्कादेखि मध्यम वर्षा भइरहेको छ । तर पश्चिमी भूभागमा भने भोलि दिउँसोसम्म वर्षाको प्रभाव देखिने सम्भावना छ । ‘विशेषगरी पश्चिमी क्षेत्रमा लगातार तीन–चार दिनदेखि पानी परिरहेको छ । भोलिसम्म थप वर्षा हुन सक्ने सम्भावना रहेकाले ती क्षेत्र बढी जोखिममा छन् । त्यसैले सबैले सावधानी र सतर्कता अपनाउनुपर्ने देखिन्छ,’ उनले भ ने। यस्तै, नदी तथा खोला किनारमा बसोबास गर्ने समुदायलाई जलसतह बढ्न सक्ने भएकाले थप सजग रहन विभागले आग्रह गरेको छ । स्थानीय प्रशासन र प्रहरीले गर्ने माइकिङ तथा साइरनलाई बेवास्ता नगर्न पनि विभागले जोड दिएको छ । विपद्का समयमा सूचनाको पहुँच महत्त्वपूर्ण हुने भएकाले सर्वसाधारणलाई मौसमसम्बन्धी पछिल्लो जानकारी नियमित रूपमा लिन विभागले आग्रह गरेको छ । मौसमसम्बन्धी जिज्ञासा वा जानकारीका लागि विभागको टोल फ्री नम्बर ११५५ मा सम्पर्क गर्नसमेत अनुरोध गरिएको  छ।

वर्षाका कारण विभिन्न राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी

काठमाडौं । लगातारको वर्षा र पहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्ग तथा सडकमा यातायात प्रभावित भएको छ । पृथ्वी राजमार्ग, बीपी राजमार्ग, सिद्धिचरण राजमार्ग, मध्यपहाडी राजमार्गलगायतका सडकखण्डमा अवरोध सिर्जना भएको छ । सडक विभागले सार्वजनिक गरेको भदौ १० गते बिहान ८:३० बजेसम्मको विवरणअनुसार विभिन्न सडकखण्डमा पहिरो हटाउने तथा यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर, चाकीभीर, जुवाखोला र फिस्लिङलगायतका स्थानमा यातायात प्रभावित भएको छ । लगातारको वर्षाका कारण स्थानीय प्रशासनले अर्को सूचना जारी नभएसम्म यातायात सञ्चालनमा रोक लगाएको छ।  विभिन्न स्थानमा पहिरो पन्छाउने काम भइरहेको र राजमार्ग पुनः सञ्चालनमा ल्याउने प्रयास जारी रहेको विभागले जनाएको छ । त्यस्तै, बीपी राजमार्गअन्तर्गत मन्थली, पिप्ले, डाइने–कालोपत्रे, चारसयबेँसी, ककनी र चौकीडाँडालगायतका स्थानमा सडक अवरुद्ध भएको छ । पहिरो तथा सडकमा भएको क्षतिका कारण यातायात सञ्चालनमा समस्या भएको हो । अवरुद्ध सडक खुलाउन प्रयास भइरहेको छ । कान्ति राजमार्गमा भने आंशिक रूपमा यातायात सञ्चालनमा आएको छ । मकवानपुर खण्डमा पहिरो पन्छाएपछि यातायात सञ्चालनमा आएको भए पनि ललितपुर खण्डमा पहिरो हटाउने काम जारी छ । उक्त खण्डमा बिहान १० बजेदेखि यातायात सञ्चालनमा आउने अनुमान गरिएको  छ। सिद्धिचरण राजमार्गअन्तर्गत ओखलढुंगा–सल्लेरी खण्डको सोलुखोला नजिक सडक अवरुद्ध भएको छ । सडकमा क्षति पुगेपछि रक ब्रेकरसहित एक्साभेटर र ह्विल लोडर परिचालन गरिएको छ । थप वर्षा नभएमा सडकको कटिङ गरी बेलुकासम्म यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ । मध्यपहाडी राजमार्गअन्तर्गत निसी गाउँपालिका–कानाबगर क्षेत्रमा पनि सडक अवरुद्ध छ । पहिरो आउने क्रम जारी रहेकाले सडक खुलाउने काम प्रभावित भएको छ । पहिरो हटाउन आवश्यक मेसिन तथा उपकरण तयारी अवस्थामा राखिएको छ । कर्णाली करिडोर र बागलुङ–बेनी सडकका विभिन्न स्थानमा पनि पहिरोका कारण यातायात प्रभावित भएको छ । अवरुद्ध सडकमा पहिरो हटाउने मेसिन परिचालन गरिएको छ । यसैगरी, तमोर करिडोरअन्तर्गत मूलघाट–किमाथांका सडकखण्डका छुवा खोला, नावा खोला र रानीगाउँ क्षेत्रमा सडक अवरुद्ध भएको छ । खोलामा पानीको बहाव कम हुँदै गएकाले सडक खुलाउने प्रयास भइरहेको विभागले जनाएको छ । राप्ती राजमार्गको कपुरकोट–खारखोला खण्डमा पनि पहिरोका कारण यातायात अवरुद्ध भएको छ । सडकमा खसेको पहिरो हटाउने काम भइरहेको  छ। कर्णाली राजमार्गका गगने खोला, नाम्जुनलाको राँका क्षेत्र, बाङ्गेसिमल–दैलेखोला तथा अन्य स्थानमा समेत सडक अवरुद्ध भएको छ । विभिन्न स्थानमा खसेका साना पहिरो तथा ढुंगा हटाउने काम भइरहेको छ । भालुवाङ–चकचके–लिवाङ सडकखण्डका विभिन्न स्थानमा पनि आंशिक अवरोध रहेको छ । सडकमा खसेका पहिरो तथा ढुंगा हटाउन उपकरण परिचालन गरिएको छ । लगातारको वर्षाका कारण पहाडी तथा नदी किनारका सडकमा पहिरो र बाढीको जोखिम रहेकाले यात्रा गर्नुअघि सडकको पछिल्लो अवस्था बुझ्न तथा सावधानी अपनाउन आवश्यक देखिएको छ ।

काठमाडौंको मौसमः साँझ वर्षा र हावाहुरी चल्ने

काठमाडौं । काठमाडौं उपत्यकामा शनिबार दिनभर मौसम खुले पनि साँझतिर हल्का वर्षासँगै हावाहुरी चल्ने जोखिम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले विकासन्युजसँग कुरा गर्दै काठमाडौंमा आज साँझ हल्का वर्षाको सम्भावना रहे पनि ठूलो वर्षाको जोखिम नरहेको बताए । तर, हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्क रहन उनले आग्रह गरे ।  ‘काठमाडौंमा आज साँझ हल्का पानी पर्ने सम्भावना छ। तर, अहिलेको मुख्य जोखिम हावाहुरीको हो,’ लामिछानेले भने । बिहीबार र शुक्रबार देशका अधिकांश क्षेत्रमा लगातार वर्षा हुँदा जनजीवन प्रभावित भएको थियो । काठमाडौं उपत्यकामा दिनभर झरी पर्दा बागमतीसहित नदी–खोलाको बहाव बढेको थियो। महाशाखाका अनुसार पश्चिमी नेपालका केही क्षेत्रमा भने आज र आइतबार पनि वर्षा जारी रहने सम्भावना छ। त्यहाँ भारी वर्षासँगै बाढीको जोखिम समेत कायम रहेको लामिछानेले बताए । उनका अनुसार काठमाडौंमा आइतबार पनि साँझको समयमा हल्का वर्षा हुन सक्छ । सोमबारदेखि भने मौसम क्रमशः खुल्दै जाने र वर्षाको गतिविधि कम हुने अनुमान गरिएको छ । मौसम महाशाखाले विशेषगरी पश्चिमी भेगका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र हावाहुरीको सम्भावना रहेका स्थानमा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

७.१२ अर्बमा द ओबेरोई होटल बनाउँदै सिद्धार्थशमशेर जबरा

काठमाडौं । सिप्रभ्या होटल्स एन्ड रिसोट्र्स प्रालिले काठमाडौंको रविभवनमा ७५ कोठाको विलासी होटल द ओबेरोई काठमाडौं निर्माण गरिरहेको छ । सन् २००४ जनवरीमा स्थापना भएको कम्पनीले भारतस्थित द ओबेरोई होटल्स एन्ड रिसोट्र्स लिमिटेडसँगको सहकार्यमा उक्त होटल निर्माण गरिरहेको हो । होटल निर्माणको अनुमानित लागत ७ अर्ब १२ करोड ४० लाख रुपैयाँ रहेको छ । परियोजनामा ऋण र पुँजीको अनुपात ६०:४० कायम गरिएको छ । कुल परियोजना लागतमध्ये बैंक तथा वित्तीय संस्थाबाट ४ अर्ब २७ करोड ४० लाख रुपैयाँ ऋण लिने योजना रहेको छ भने प्रवर्द्धकको पुँजी लगानी २ अर्ब ८५ करोड रुपैयाँ रहनेछ । परियोजनाको निर्माण कार्य सन् २०२५ जुनदेखि सुरु भएको हो । २०२६ जुन मध्यसम्म प्रवर्द्धकले कुल पुँजी आवश्यकताको करिब ८४ प्रतिशत अर्थात् २ अर्ब ४० करोड रुपैयाँ लगानी गरिसकेको छ । बाँकी करिब १६ प्रतिशत पुँजी पनि समयमै लगानी हुने कम्पनीले जनाएको छ ।  २०२६ जुलाई मध्यसम्म परियोजनाको वित्तीय प्रगति करिब ३८ प्रतिशत पुगेको छ भने निर्माणतर्फको प्रगति करिब ५७ प्रतिशत रहेको छ । व्यवस्थापनले होटलको सञ्चालन सन् २०२९ सेप्टेम्बरदेखि सुरु गर्ने लक्ष्य राखेको छ । यसअघि सञ्चालनको लक्ष्य सन् २०२९ जुन रहेकोमा संशोधन गरी सेप्टेम्बर पुर्याइएको हो । द ओबेरोई होटल्स एन्ड रिसोट्र्ससँगको सहकार्यलाई परियोजनाको प्रमुख सकारात्मक पक्षका रूपमा लिइएको छ । अन्तर्राष्ट्रिय पहिचान र ठूलो ग्राहक आधार रहेको विलासी होटल ब्रान्डसँगको सहकार्यले होटल सञ्चालनमा आएपछि सुरुवाती ग्राहक आकर्षण तथा अधिभोग दर बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, ओबेरोई समूहका स्थापित सञ्चालन मापदण्डले होटलको बजार पहुँच विस्तार गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ । सिप्रभ्या होटल्स एन्ड रिसोट्र्समा सिद्धार्थशमशेर जबराको ६० प्रतिशत स्वामित्व रहेको छ । बाँकी ४० प्रतिशत स्वामित्व सूर्य इन्टरप्राइजेज प्रालि र एसआर होल्डिङ्सको समान २०-२० प्रतिशत रहेको छ । यी दुवै संस्थामा पनि जबराको मुख्य स्वामित्व रहेको छ । परियोजनाको निर्माण प्रगतिसँगै यान्त्रिक, विद्युतीय तथा प्लम्बिङसम्बन्धी कामको सम्झौता अन्तिम चरणमा पुगेको छ । उक्त सम्झौता छिट्टै टुंगिने कम्पनीले जनाएको छ । तर, प्लान्ट, मेसिनरी तथा उपकरणसम्बन्धी केही महत्वपूर्ण सम्झौता अझै अन्तिम भएका छैनन् । यी सामग्रीको ठूलो हिस्सा अमेरिकी डलरमा खरिद हुने भएकाले विदेशी विनिमय दर तथा अन्तर्राष्ट्रिय परिस्थितिका कारण लागत बढ्न सक्ने जोखिम कायमै रहेको छ । परियोजनाको प्रतिकोठा लागत करिब ९ करोड ५० लाख रुपैयाँ र प्रतिकोठा ऋणभार करिब ५ करोड ७० लाख रुपैयाँ रहनेछ । तुलनात्मक रूपमा उच्च प्रतिकोठा लागत र होटल क्षेत्रमा रहने उच्च सञ्चालन खर्चका कारण होटल सञ्चालनको प्रारम्भिक वर्षमा वित्तीय अवस्थामा दबाब पर्न सक्ने देखिएको छ । होटलले पूर्ण सञ्चालन स्थायित्व हासिल गर्न समय लागेमा प्रवद्र्धकबाट थप वित्तीय सहयोग आवश्यक पर्न सक्नेछ । काठमाडौंको आतिथ्य क्षेत्रमा विद्यमान तथा निर्माणाधीन नयाँ होटलका कारण प्रतिस्पर्धा पनि उच्च रहेको छ । तीमध्ये धेरै होटल अन्तर्राष्ट्रिय होटल शृङ्खलासँग आबद्ध छन् । यसले नयाँ होटलको सञ्चालन स्थायित्व हासिल गर्ने अवधि लम्ब्याउन सक्ने जोखिम रहेको छ । यद्यपि, विलासी होटलले लक्षित गर्ने विशिष्ट ग्राहक वर्गले यस्तो प्रतिस्पर्धाको प्रभाव केही हदसम्म कम गर्न सक्ने अपेक्षा गरिएको छ ।  कम्पनीका अनुसार होटल तथा आतिथ्य व्यवसाय पर्यटक आगमनमा हुने मौसमी उतारचढाव र यात्राको ढाँचामा हुने परिवर्तनप्रति पनि संवेदनशील रहने गरेको छ । पर्यटक आगमन व्यापक आर्थिक अवस्था, पर्यटनसम्बन्धी नीति, भूराजनीतिक घटनाक्रम, प्राकृतिक विपत्ति तथा अन्य नियामकीय र समष्टिगत आर्थिक घटनाक्रमबाट प्रभावित हुन सक्छ । यस्ता घटनाक्रमले होटलको अधिभोग दर, कोठाको शुल्क तथा समग्र नगद प्रवाहमा असर पार्न सक्ने जोखिम रहेको छ । नेपाल सरकारको पर्यटन प्रवद्र्धनसम्बन्धी नीतिगत प्रयास, पूर्वाधार विकास तथा अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनले आतिथ्य तथा पर्यटन क्षेत्रलाई दीर्घकालीन रूपमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । भारत र चीनजस्ता ठूला बजारको बीचमा नेपालको भौगोलिक अवस्थिति तथा पछिल्ला वर्षमा बढ्दो अन्तर्राष्ट्रिय पर्यटक आगमनले पनि पर्यटन क्षेत्रको सम्भावनालाई बल पुर्याएको छ । ओबेरोई होटल्स एन्ड रिसोट्र्स भारतको नयाँदिल्लीमा मुख्यालय रहेको विलासी होटल समूह हो । सन् १९३४ मा स्थापना भएको समूहले ओबेरोई होटल्स एन्ड रिसोट्र्स र ट्राइडेन्ट ब्रान्डअन्तर्गत ७ देशमा ३२ वटा विलासी होटल तथा पर्यटकीय जहाज सञ्चालन तथा व्यवस्थापन गर्दै आएको छ । सिप्रभ्या होटल्स एन्ड रिसोट्र्सका प्रवद्र्धक सिद्धार्थशमशेर जबराको विभिन्न क्षेत्रमा व्यावसायिक संलग्नता रहेको छ । उनी सन् २०१७ को आर्थिक वर्षमा चौथोपटक सर्वाधिक व्यक्तिगत कर तिर्ने व्यक्ति बनेका थिए ।

नुवाकोट र धादिङसम्म मोटरसाइकल पुर्‍याइ बेच्ने तीन जना पक्राउ

काठमाडौं । काठमाडौंमा मोटरसाइकल चोरी गरी नुवाकोट र धादिङसम्म पुर्‍याएर बिक्री गर्ने प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका–७ घर भई काठमाडौं चन्द्रागिरि नगरपालिका–१२ बस्ने २७ वर्षीय नारायण तामाङ, सोही ठाउँका २२ वर्षीय आकाश तामाङ र गजुरी–८ का २१ वर्षीय बेलबहादुर तामाङ रहेका छन् । काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँस्थित घरअगाडि पार्किङ गरिएको मोटरसाइकल चोरी भएको सूचना पाएपछि प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले खोजी थालेको थियो । खोजीका क्रममा प्रहरीले चन्द्रागिरि–१ गोकुलपाटीबाट उनीहरूलाई दुई वटा मोटरसाइकलसहित पक्राउ गरेको हो । प्रहरीले बा प्र ०२–०४१ प ३९३४ र बा प्र ०२–०२४५ प ६७०५ नम्बरका मोटरसाइकल, मोटरसाइकलको लक तोड्न प्रयोग हुने ‘टी’ आकारका दुई वटा औजार, सिमकार्ड दुई थान, मोबाइल दुई थान र नगद ५५ हजार रुपैयाँ बरामद गरेको जनाएको छ । उनीहरूले काठमाडौंमा मोटरसाइकल चोरी गरी नुवाकोट र धादिङसम्म पुर्‍याएर बिक्री गर्ने गरेको खुलेको परिसरका प्रवक्ता दानबहादुर थापाले बताए । मोटरसाइकल बेचेर प्राप्त रकम सकिएपछि पुनः मोटरसाइकल चोरी गर्न जाने गरेको समेत उनको भनाइ छ । उनीहरूविरुद्ध चोरीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नेपाल पर्यटनका लागि खुला छ : नाट्टाको ‘नेपाल बोलाउँदैछ’ अभियान

काठमाडौं । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले विश्व पर्यटन दिवस २०२६ को अवसरमा दुई दिने विशेष कार्यक्रम आयोजना गर्ने भएको  छ । शनिवार र आइतबार ‘नेपाल बोलाउँदैछ’ र ‘नेपाल खुला छ’ अभियानअन्तर्गत कार्यक्रम गर्न लागेको हो । अभियानमार्फत नेपाल सुरक्षित, सञ्चालनयोग्य र विदेशी पर्यटकका लागि खुला रहेको सन्देश प्रवाह गरिने नाट्टाले जनाएको छ । अभियानको पहिलो दिन शनिबार बिहान ८ बजे ‘नाट्टा स्वच्छ तथा हरियाली अभियान’ सञ्चालन हुनेछ । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज करिडोरअन्तर्गत बूढानीलकण्ठ–टोखा–चण्डेश्वरी क्षेत्रमा सरसफाइ गरिने नाट्टाका महासचिव राजकुमार देवकोटाले जानकारी दिए । दोस्रो दिन आइतबार बिहान ७ बजे ‘नेपाल बोलाउँदैछ–नाट्टा सम्पदा दौड’ आयोजना हुनेछ । काठमाडौंको वसन्तपुर दरबार क्षेत्रबाट सुरु हुने करिब ६ किलोमिटर दौड पाटन दरबार क्षेत्रमा पुगेर सम्पन्न हुनेछ । दौडमा पर्यटन व्यवसायी, पर्यटनसम्बद्ध संघसंस्था, युवा तथा सर्वसाधारणको सहभागिता रहने उनले बताए । अभियानले नेपालको सम्पदा, संस्कृति, वातावरण र पर्यटनलाई जोड्दै नेपाल पर्यटनका लागि खुला रहेको सन्देश दिने उनको भनाइ छ। नाट्टाले दुवै कार्यक्रमलाई विश्व पर्यटन दिवसको सन्दर्भमा नेपालका सम्पदा, संस्कृति, वातावरण र पर्यटन व्यवसायबीचको सम्बन्धलाई थप सुदृढ गर्ने अवसरका रूपमा लिएको जनाएको छ । 

एक सातामा सुन तोलामा ४ हजार ५०० रुपैयाँले सस्तियो

काठमाडौं । नेपाली बजारमा पछिल्लो एक साताको अवधिमा सुनको मूल्य प्रतितोला ४ हजार ५०० रुपैयाँले घटेको छ । साताभर उतारचढाव देखिएको सुनको भाउ अन्ततः ३ लाख रुपैयाँभन्दा तल झरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असोज ३ गते शनिबार सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार १०० रुपैयाँ थियो । त्यसयता घटबढ हुँदै शुक्रबार असोज ९ गते सुनको मूल्य २ लाख ९८ हजार ६०० रुपैयाँ कायम भएको छ । साताको सुरुआतमा भने सुन महँगिएको थियो । असोज ४ गते आइतबार अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार १०० रुपैयाँ बढेर सुन ३ लाख ५ हजार २०० रुपैयाँ पुगेको थियो । त्यसपछि लगातार दुई दिन मूल्य घट्यो । असोज ५ गते सोमबार १ हजार ३०० रुपैयाँ घटेर सुन ३ लाख ३ हजार ९०० रुपैयाँमा कारोबार भयो भने असोज ६ गते मंगलबार थप १ हजार ७०० रुपैयाँ घटेर ३ लाख २ हजार २०० रुपैयाँमा झर्‍यो । असोज ७ गते बुधबार भने सुनको मूल्यमा सामान्य सुधार देखियो । उक्त दिन प्रतितोला १०० रुपैयाँ बढेर ३ लाख २ हजार ३०० रुपैयाँ कायम भएको थियो । तर, बिहीबार फेरि ठूलो गिरावट आयो । असोज ८ गते सुन प्रतितोला ३ हजार २०० रुपैयाँ घटेर २ लाख ९९ हजार १०० रुपैयाँमा झर्‍यो । शुक्रबार पनि थप ५०० रुपैयाँ घटेसँगै सुनको मूल्य २ लाख ९८ हजार ६०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । पछिल्ला केही दिनदेखि नेपाली बजारमा सुनको मूल्य ३ लाख रुपैयाँको हाराहारीमा उतारचढाव भइरहे पनि साताको अन्त्यमा भने सुनको मूल्य तल झरेको छ ।

टर्कीमा साढे चार लाख लगानीकर्ता जोखिममा, सरकारद्वारा छानबिन सुरु

काठमाडौं । टर्कीको पुँजी बजारमा देखिएको गम्भीर लगानी कोष संकटका कारण करिब साढे चार लाखभन्दा बढी लगानीकर्ताको बचत जोखिममा परेको छ । सेयर बजारमा कृत्रिम रूपमा मूल्य वृद्धि गरी ठगी गरेको आरोपमा सातवटा पोर्टफोलियो व्यवस्थापन कम्पनी खारेजीको प्रक्रियामा छन् । टर्कीको पुँजी बजार बोर्डले यस प्रकरणमा विस्तृत अनुसन्धान अघि बढाएको छ । सेप्टेम्बर १७ मा जारी गरिएको आदेशअनुसार सातवटा पोर्टफोलियो व्यवस्थापन कम्पनी मातहतका १३१ वटा कोषलाई खारेजी प्रक्रियामा लगिएको छ । आधिकारिक तथ्यांकअनुसार यसबाट ४ लाख ५५ हजार ७५८ लगानीकर्ता प्रभावित भएका छन् । बजारमा कृत्रिम रूपमा सेयरको भाउ बढाएर सर्वसाधारणलाई आकर्षित गर्ने र पछि बजार खस्किएपछि लगानीकर्तालाई फसाउने गिरोह सक्रिय भएको पाइएको छ । यस संकटका कारण गत साता इस्तानबुल स्टक एक्सचेन्जको सूचकांकमा ७.५ प्रतिशतभन्दा बढीको गिरावट आएको थियो। यसले टर्कीको समग्र आर्थिक स्थायित्वमाथि प्रश्न उठाएको छ । वित्तीय विज्ञहरूका अनुसार ५ लिरा मूल्यका सेयरलाई अनावश्यक रूपमा ५०० लिरासम्म पुर्‍याइएको थियो। यसबाट साना लगानीकर्ता सबैभन्दा बढी प्रभावित भएका छन् । टर्कीका नियामक निकायहरूले प्रभावित कोषको खारेजी अवधि तीन महिनाबाट बढाएर छ महिना पुर्‍याएका छन् । पुँजी बजारका कानुनविद् याल्सिन ओजगे ओकातका अनुसार यो प्रक्रिया सामान्य कर्पोरेट टाट पल्टिने प्रक्रियाभन्दा फरक हो । कोषका सम्पत्ति बिक्री गरेर दायित्व चुक्ता गर्ने र बाँकी रकम लगानीकर्तालाई फिर्ता गर्ने प्रयास भइरहेको छ । अनुसन्धानको दायरा फराकिलो बनाउँदै अधिकारीहरूले यस प्रकरणमा संलग्न उच्चपदस्थ अधिकारीहरूलाई पक्राउ गरेका छन् । साथै, संदिग्धहरूको सम्पत्ति रोक्का, यात्रा प्रतिबन्ध र शंकास्पद सामाजिक सञ्जाल खाता बन्द गर्ने काम पनि जारी छ । बजार विश्लेषकहरूले यस घटनाले विदेशी लगानीकर्तामा समेत त्रास फैलाएको र टर्कीको अर्थतन्त्रमा अल्पकालीन दबाब सिर्जना गरेको चेतावनी दिएका छन् ।