एक सातामा सुन तोलामा ४ हजार ५०० रुपैयाँले सस्तियो

काठमाडौं । नेपाली बजारमा पछिल्लो एक साताको अवधिमा सुनको मूल्य प्रतितोला ४ हजार ५०० रुपैयाँले घटेको छ । साताभर उतारचढाव देखिएको सुनको भाउ अन्ततः ३ लाख रुपैयाँभन्दा तल झरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असोज ३ गते शनिबार सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार १०० रुपैयाँ थियो । त्यसयता घटबढ हुँदै शुक्रबार असोज ९ गते सुनको मूल्य २ लाख ९८ हजार ६०० रुपैयाँ कायम भएको छ ।

साताको सुरुआतमा भने सुन महँगिएको थियो । असोज ४ गते आइतबार अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार १०० रुपैयाँ बढेर सुन ३ लाख ५ हजार २०० रुपैयाँ पुगेको थियो ।

त्यसपछि लगातार दुई दिन मूल्य घट्यो । असोज ५ गते सोमबार १ हजार ३०० रुपैयाँ घटेर सुन ३ लाख ३ हजार ९०० रुपैयाँमा कारोबार भयो भने असोज ६ गते मंगलबार थप १ हजार ७०० रुपैयाँ घटेर ३ लाख २ हजार २०० रुपैयाँमा झर्यो ।

असोज ७ गते बुधबार भने सुनको मूल्यमा सामान्य सुधार देखियो । उक्त दिन प्रतितोला १०० रुपैयाँ बढेर ३ लाख २ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

तर, बिहीबार फेरि ठूलो गिरावट आयो । असोज ८ गते सुन प्रतितोला ३ हजार २०० रुपैयाँ घटेर २ लाख ९९ हजार १०० रुपैयाँमा झर्यो । शुक्रबार पनि थप ५०० रुपैयाँ घटेसँगै सुनको मूल्य २ लाख ९८ हजार ६०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

पछिल्ला केही दिनदेखि नेपाली बजारमा सुनको मूल्य ३ लाख रुपैयाँको हाराहारीमा उतारचढाव भइरहे पनि साताको अन्त्यमा भने सुनको मूल्य तल झरेको छ ।

Share News