१५२ आउटलेटपछि होटल व्यवसायमा बर्गर ग्रुपको इन्ट्री

‘काठमाडौं । ११ वर्ष यता रेस्टुरेन्ट सेवा दिँदै आएको बर्गर ग्रुपले आफ्नो क्षमता विस्तार गर्दै मेलुङ होटल सञ्चालनमा ल्याएको छ । मंलबार बौद्धस्थित नौतलेमा कम्पनीले पर्यटकस्तरीय होटल मेलुङ सञ्चालनमा ल्याएको हो । 

‘होटल रेस्टुरेन्ट क्षेत्रमा लगानी गर्ने उद्धेश्यले होटल सेवा सुरु गरेका हौं,’ कम्पनीका संस्थापक वसन्त लामाले भने, ‘यो हिन्दु र बौद्ध धर्मको संगम स्थल भएका कारण आन्तरिकसँगै म्यानमार, भुटान, कम्बोडिया, श्रीलंका, भारत, कालिम्पोङबाट आउने पर्यटकलाई  लक्षित गरेर होटल सञ्चालनमा ल्याएका हौं ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नजिक होटलमा आउने आन्तरिक तथा वाह्य पर्यटकले पशुपतीनाथ, बौद्धनाथसँगै काठमाडौं वरपर सहज भ्रमण गर्न सक्ने  भएका कारण स्थानका आधारमा पर्यटकका लागि विशेष रहेको उनले बताए ।

यहाँ आउने पर्यटकले नेपाली रैथाने परिकारको विशेष स्वाद लिन सक्ने उनले जानकारी दिए । ‘नेपालको पर्यटनसँगै नेपाली परिकारको प्रवर्धन गर्नु हाम्रो मुल उद्धेश्य हो,’ उनले भने, ‘हामीले परिकारमा प्रयोग गर्ने अधिकान्श खाद्य सामाग्री नेपाली उत्पादन नै हुनेछन् । ’

१७ आना क्षेत्रफलमा रहेको होटलमा २२ वटा कोठा, रेस्टुरेन्ट, बार, बगैंचालगायत सेवा रहेको उनले बताए । होटलमा १५ वटा चार पांग्रे र २० वटा दुई पांग्रे सवारी पार्किङ क्षमता रहेको छ । जग्गा र भवनबाहेक कम्पनीले होटल तयारीका लागि ३ करोड रुपैयाँ खर्चिएको उनले जानकारी दिए । 

कम्पनीका अनुसार १० वर्षका लागि जग्गा र भवन लिजमा लिइएको हो । हाल बर्गर ग्रुपअन्तर्गत विभिन्न स्थानमा बर्गर हाउस, मेलुङ थकाली, मेलुङ मार्ट, क्याफे हन्ड्रेड गरी कुल १५२ आउटलेट सञ्चालित छन् । 

Share News