श्रम स्वीकृतिबिनै कुवेत पठाउने सिजवाललाई कारबाही

फाइल तस्बिर ।

काठमाडौं । अध्यागमन विभागले श्रम स्वीकृतिबिनै एक श्रमिकलाई कुवेत पठाएपछि एक अधिकृतलाई कारबाही गरेको छ ।

घटनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत एक जना अध्यागमन अधिकृतको संलग्नता हुनसक्ने देखिएपछि विभागका अधिकृत चेतबहादुर सिजवाललाई जिम्मेवारीबाट अलग गरेर विभागमा फिर्ता बोलाइएको हो ।

सिजवाललाई आजैदेखि जिम्मेवारीबाट अलग गरी विभागमा फिर्ता बोलाइएको विभागका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए ।

विभागले यात्रुलाई श्रम स्वीकृति नभएको अवस्थामा समेत प्रस्थान अनुमति दिइएको विषयमा अनुसन्धान गरेको थियो ।

अनुसन्धानका क्रममा विभागको नेपाली पोर्ट प्रणाली तथा सीसीटीभी फुटेजबाट श्रमिक बिहान करिब ६ः३० मा अध्यागमन क्षेत्रमा प्रवेश गरेको देखिएको छ । 

श्रम स्वीकृति नभएको अवस्थामा समेत उनले अध्यागमन डेस्कमा करिब ३० मिनेटसम्म कुराकानी गरेको र तेस्रो व्यक्तिसँग सम्पर्क गरेको देखिएको अनुसन्धानबाट खुलेको छ । 

त्यसपछि बिहान करिब ७ः१० बजे उनलाई प्रस्थान अनुमति दिइएको पाइएको छ ।

वैदेशिक रोजगार विभागको श्रम स्वीकृतिसम्बन्धी प्रणालीबाट प्राप्त विवरणअनुसार ती यात्रु उडिसकेपछि मात्र श्रम स्वीकृतिको प्रक्रिया अघि बढाइएको देखिएको छ । 

यसबाट प्रस्थान अनुमति दिइएको समयमा यात्रुको श्रम स्वीकृति प्रक्रिया पूरा नभएको प्रारम्भिक रूपमा देखिएको विभागले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा यात्रु र जापानमा रहेका एक व्यक्तिबीच रकमसम्बन्धी कारोबार भएको समेत देखिएको छ । 

प्रवक्ता ढकालका अनुसार घटनामा अन्य व्यक्तिहरूको समेत संलग्नता हुन सक्ने देखिएकाले विस्तृत अनुसन्धान गरी आवश्यक कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा सिफारिससहित पठाइएको छ ।

श्रमिकले विमानस्थलका बिचौलियालाई २३ हजार रुपैयाँ दिएको खुलेको छ ।

नेपाली श्रमिकले विमानस्थलमा अध्यागमनका विचौलियालाई २३ हजार तिरेर कुवेत उडे

Share News