ठमेलबाट ५० बढी पर्यटक पक्राउ

काठमाडौं । प्रहरीले  ठमेल लगायत विभिन्न स्थानमा अप्रेशन चलाएर विदेशी नागरिक पक्राउ गरेको छ ।

सोमबार राति प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) देखि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौं प्रहरी परिसर र  मानव बेचबिखन अनुसन्धान ब्यूरोलगायतको संयुक्त टोलीले छापा मारेर ५० बढी विदेशीलाई नियन्त्रणमा लिएको हो । 

प्रहरीको संयुक्त टोलीले काठमाडौंको पर्यटकीय क्षेत्रमा छापा मार्दा ५० बढी विदेशीलाई पक्राउ गरेको थियो । उपत्यकाका विभिन्न ठाउँहरूमा स्वीप अपरेशन चलायो । प्रहरी स्रोतका अनुसार यसरी पक्राउ पर्नेमा चिनियाँ र भियतनामी नागरिक रहेका छन् । 

नेपालमा अवैध रूपमा बसोबास गरिरहेका विदेशी नागरिक तथा अवैध रूपमा बसेर विभिन्न आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूमाथि प्राप्त सूचनाका आधारमा कारबाही गरिएको प्रहरीका एक उच्च अधिकृतले विकासन्युजलाई बताए । 

'कतिपय विदेशीले एउटा प्रयोजनका लागि भिसा लिएर अर्कै काम गरिरहेको पाइएको छ,'उनले भने,' कतिपयको कागजात तथा भिसाको म्याद सकिए पनि नेपालमै बसिरहेको अवस्था भेटिएको छ।'

त्यस्तै, विदेशी नागरिक पर्यटक भिसामा नेपाल आएर पछि बिजनेस भिसामा रूपान्तरण गरेको पाइएको  ती प्रहरी अधिकृतले बताए । बिजनेस भिसाका लागि कागजी रूपमा उद्योग दर्ता गरेको देखिए पनि वास्तविक रूपमा उद्योग सञ्चालन नगरीएको उनले बताए ।

प्रहरीका अनुसार वास्तविक भिसा अनुसारको काम नगरेर अध्यागमन कानुन विपरीतको गतिविधिमा संलग्न रहेको पाइएको छ। विभिन्न विदेशी नागरिकमाथि अहिले स्क्रिनिङ भइरहेको छ।

नियन्त्रणमा लिइएका विदेशीलाई लैनचौर, दरबारमार्ग र काठमाडौं परिसरमा राखिएको छ। 

काठमाडौं प्रहरी परिसरका प्रवक्ता दानबहादुर थापाले सोमबार राती ठमेल लगायत विभिन्न क्षेत्रबाट विदेशीलाई नियन्त्रणमा लिएको पुष्टि गरे । केही विदेशीलाई छाडिएको र नियन्त्रणमा लिएकालाई अध्यागमन विभागमा बुझाइएको उनले बताए । 

कति संख्यामा नियन्त्रण लिएको त्यसको गणना भइरहेको उनको भनाइ छ ।

Share News