काठमाडौं । लगातारको वर्षा र पहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्ग तथा सडकमा यातायात प्रभावित भएको छ । पृथ्वी राजमार्ग, बीपी राजमार्ग, सिद्धिचरण राजमार्ग, मध्यपहाडी राजमार्गलगायतका सडकखण्डमा अवरोध सिर्जना भएको छ ।
सडक विभागले सार्वजनिक गरेको भदौ १० गते बिहान ८:३० बजेसम्मको विवरणअनुसार विभिन्न सडकखण्डमा पहिरो हटाउने तथा यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ ।
पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर, चाकीभीर, जुवाखोला र फिस्लिङलगायतका स्थानमा यातायात प्रभावित भएको छ । लगातारको वर्षाका कारण स्थानीय प्रशासनले अर्को सूचना जारी नभएसम्म यातायात सञ्चालनमा रोक लगाएको छ। विभिन्न स्थानमा पहिरो पन्छाउने काम भइरहेको र राजमार्ग पुनः सञ्चालनमा ल्याउने प्रयास जारी रहेको विभागले जनाएको छ ।
त्यस्तै, बीपी राजमार्गअन्तर्गत मन्थली, पिप्ले, डाइने–कालोपत्रे, चारसयबेँसी, ककनी र चौकीडाँडालगायतका स्थानमा सडक अवरुद्ध भएको छ । पहिरो तथा सडकमा भएको क्षतिका कारण यातायात सञ्चालनमा समस्या भएको हो । अवरुद्ध सडक खुलाउन प्रयास भइरहेको छ ।
कान्ति राजमार्गमा भने आंशिक रूपमा यातायात सञ्चालनमा आएको छ । मकवानपुर खण्डमा पहिरो पन्छाएपछि यातायात सञ्चालनमा आएको भए पनि ललितपुर खण्डमा पहिरो हटाउने काम जारी छ । उक्त खण्डमा बिहान १० बजेदेखि यातायात सञ्चालनमा आउने अनुमान गरिएको छ।
सिद्धिचरण राजमार्गअन्तर्गत ओखलढुंगा–सल्लेरी खण्डको सोलुखोला नजिक सडक अवरुद्ध भएको छ । सडकमा क्षति पुगेपछि रक ब्रेकरसहित एक्साभेटर र ह्विल लोडर परिचालन गरिएको छ । थप वर्षा नभएमा सडकको कटिङ गरी बेलुकासम्म यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ ।
मध्यपहाडी राजमार्गअन्तर्गत निसी गाउँपालिका–कानाबगर क्षेत्रमा पनि सडक अवरुद्ध छ । पहिरो आउने क्रम जारी रहेकाले सडक खुलाउने काम प्रभावित भएको छ । पहिरो हटाउन आवश्यक मेसिन तथा उपकरण तयारी अवस्थामा राखिएको छ ।
कर्णाली करिडोर र बागलुङ–बेनी सडकका विभिन्न स्थानमा पनि पहिरोका कारण यातायात प्रभावित भएको छ । अवरुद्ध सडकमा पहिरो हटाउने मेसिन परिचालन गरिएको छ ।
यसैगरी, तमोर करिडोरअन्तर्गत मूलघाट–किमाथांका सडकखण्डका छुवा खोला, नावा खोला र रानीगाउँ क्षेत्रमा सडक अवरुद्ध भएको छ । खोलामा पानीको बहाव कम हुँदै गएकाले सडक खुलाउने प्रयास भइरहेको विभागले जनाएको छ ।
राप्ती राजमार्गको कपुरकोट–खारखोला खण्डमा पनि पहिरोका कारण यातायात अवरुद्ध भएको छ । सडकमा खसेको पहिरो हटाउने काम भइरहेको छ।
कर्णाली राजमार्गका गगने खोला, नाम्जुनलाको राँका क्षेत्र, बाङ्गेसिमल–दैलेखोला तथा अन्य स्थानमा समेत सडक अवरुद्ध भएको छ । विभिन्न स्थानमा खसेका साना पहिरो तथा ढुंगा हटाउने काम भइरहेको छ ।
भालुवाङ–चकचके–लिवाङ सडकखण्डका विभिन्न स्थानमा पनि आंशिक अवरोध रहेको छ । सडकमा खसेका पहिरो तथा ढुंगा हटाउन उपकरण परिचालन गरिएको छ ।
लगातारको वर्षाका कारण पहाडी तथा नदी किनारका सडकमा पहिरो र बाढीको जोखिम रहेकाले यात्रा गर्नुअघि सडकको पछिल्लो अवस्था बुझ्न तथा सावधानी अपनाउन आवश्यक देखिएको छ ।