नुवाकोट र धादिङसम्म मोटरसाइकल पुर्‍याइ बेच्ने तीन जना पक्राउ

पैसा सकिएपछि पुनः चोरी गर्थे

काठमाडौं । काठमाडौंमा मोटरसाइकल चोरी गरी नुवाकोट र धादिङसम्म पुर्याएर बिक्री गर्ने प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका–७ घर भई काठमाडौं चन्द्रागिरि नगरपालिका–१२ बस्ने २७ वर्षीय नारायण तामाङ, सोही ठाउँका २२ वर्षीय आकाश तामाङ र गजुरी–८ का २१ वर्षीय बेलबहादुर तामाङ रहेका छन् ।

काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँस्थित घरअगाडि पार्किङ गरिएको मोटरसाइकल चोरी भएको सूचना पाएपछि प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले खोजी थालेको थियो ।

खोजीका क्रममा प्रहरीले चन्द्रागिरि–१ गोकुलपाटीबाट उनीहरूलाई दुई वटा मोटरसाइकलसहित पक्राउ गरेको हो । प्रहरीले बा प्र ०२–०४१ प ३९३४ र बा प्र ०२–०२४५ प ६७०५ नम्बरका मोटरसाइकल, मोटरसाइकलको लक तोड्न प्रयोग हुने ‘टी’ आकारका दुई वटा औजार, सिमकार्ड दुई थान, मोबाइल दुई थान र नगद ५५ हजार रुपैयाँ बरामद गरेको जनाएको छ ।

उनीहरूले काठमाडौंमा मोटरसाइकल चोरी गरी नुवाकोट र धादिङसम्म पुर्याएर बिक्री गर्ने गरेको खुलेको परिसरका प्रवक्ता दानबहादुर थापाले बताए । मोटरसाइकल बेचेर प्राप्त रकम सकिएपछि पुनः मोटरसाइकल चोरी गर्न जाने गरेको समेत उनको भनाइ छ ।

उनीहरूविरुद्ध चोरीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share News