टर्कीमा साढे चार लाख लगानीकर्ता जोखिममा, सरकारद्वारा छानबिन सुरु

काठमाडौं । टर्कीको पुँजी बजारमा देखिएको गम्भीर लगानी कोष संकटका कारण करिब साढे चार लाखभन्दा बढी लगानीकर्ताको बचत जोखिममा परेको छ ।

सेयर बजारमा कृत्रिम रूपमा मूल्य वृद्धि गरी ठगी गरेको आरोपमा सातवटा पोर्टफोलियो व्यवस्थापन कम्पनी खारेजीको प्रक्रियामा छन् । टर्कीको पुँजी बजार बोर्डले यस प्रकरणमा विस्तृत अनुसन्धान अघि बढाएको छ ।

सेप्टेम्बर १७ मा जारी गरिएको आदेशअनुसार सातवटा पोर्टफोलियो व्यवस्थापन कम्पनी मातहतका १३१ वटा कोषलाई खारेजी प्रक्रियामा लगिएको छ । आधिकारिक तथ्यांकअनुसार यसबाट ४ लाख ५५ हजार ७५८ लगानीकर्ता प्रभावित भएका छन् ।

बजारमा कृत्रिम रूपमा सेयरको भाउ बढाएर सर्वसाधारणलाई आकर्षित गर्ने र पछि बजार खस्किएपछि लगानीकर्तालाई फसाउने गिरोह सक्रिय भएको पाइएको छ ।

यस संकटका कारण गत साता इस्तानबुल स्टक एक्सचेन्जको सूचकांकमा ७.५ प्रतिशतभन्दा बढीको गिरावट आएको थियो। यसले टर्कीको समग्र आर्थिक स्थायित्वमाथि प्रश्न उठाएको छ ।

वित्तीय विज्ञहरूका अनुसार ५ लिरा मूल्यका सेयरलाई अनावश्यक रूपमा ५०० लिरासम्म पुर्याइएको थियो। यसबाट साना लगानीकर्ता सबैभन्दा बढी प्रभावित भएका छन् ।

टर्कीका नियामक निकायहरूले प्रभावित कोषको खारेजी अवधि तीन महिनाबाट बढाएर छ महिना पुर्याएका छन् ।

पुँजी बजारका कानुनविद् याल्सिन ओजगे ओकातका अनुसार यो प्रक्रिया सामान्य कर्पोरेट टाट पल्टिने प्रक्रियाभन्दा फरक हो । कोषका सम्पत्ति बिक्री गरेर दायित्व चुक्ता गर्ने र बाँकी रकम लगानीकर्तालाई फिर्ता गर्ने प्रयास भइरहेको छ ।

अनुसन्धानको दायरा फराकिलो बनाउँदै अधिकारीहरूले यस प्रकरणमा संलग्न उच्चपदस्थ अधिकारीहरूलाई पक्राउ गरेका छन् । साथै, संदिग्धहरूको सम्पत्ति रोक्का, यात्रा प्रतिबन्ध र शंकास्पद सामाजिक सञ्जाल खाता बन्द गर्ने काम पनि जारी छ ।

बजार विश्लेषकहरूले यस घटनाले विदेशी लगानीकर्तामा समेत त्रास फैलाएको र टर्कीको अर्थतन्त्रमा अल्पकालीन दबाब सिर्जना गरेको चेतावनी दिएका छन् ।

Share News