ताइवान मुद्दामा सीको स्पष्ट धारणा, अमेरिकालाई दिए यस्तो सन्देश

फाइल तस्बिर ।

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले आफ्नो अमेरिका भ्रमणका क्रममा ताइवानको मुद्दामा अमेरिकाले सही धारणा अपनाउनुपर्ने बताएका छन् ।

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार सीले अमेरिकाले ‘ताइवानको स्वतन्त्रताको विरोध गर्ने’ सही अडानमा कायम रहने चीनले अपेक्षा गरेको बताएका छन् ।

चिनियाँ राष्ट्रपतिले अमेरिकालाई ‘ताइवानको मुद्दालाई सावधानीपूर्वक सम्हाल्न’ आग्रह गरेका हुन् । 

यसले दुई देशबीचको रणनीतिक सहकार्य र चीन–अमेरिका सम्बन्धका लागि बलियो आधार तयार पार्ने उनको भनाइ छ ।

सिन्ह्वाका अनुसार सीले चीनको राष्ट्रिय एकता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने विषयमा चीनको धारणा पूर्ण रूपमा स्पष्ट रहेको बताएका छन् ।

चीनले स्वशासित ताइवानलाई आफ्नो भूभागको हिस्सा मान्दै आएको छ । तर ताइवानले आफूलाई चीनबाट अलग स्वशासित क्षेत्रका रूपमा प्रस्तुत गर्दै आएको छ । सी नेतृत्वको चीनले पछिल्लो समय ताइवानको स्वतन्त्रताका पक्षमा हुने गतिविधि रोक्नका लागि दबाब र सैन्य गतिविधि बढाउँदै आएको छ ।

अमेरिकाको ताइवानसँग औपचारिक कूटनीतिक सम्बन्ध छैन । यद्यपि अमेरिकी कानुनअनुसार ताइवानलाई आफ्नो आत्मरक्षाका लागि आवश्यक साधन उपलब्ध गराउन अमेरिका बाध्य छ ।

तर अमेरिकाले ताइवानसँगको सम्बन्ध कायम राख्दै चीनसँग औपचारिक कूटनीतिक सम्बन्ध पनि निरन्तरता दिनुपर्ने भएकाले दुई पक्षबीच सन्तुलन कायम गर्दै आएको छ ।

यो करिब एक दशकपछि सीको पहिलो अमेरिका भ्रमण हो । साथै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रोपटक राष्ट्रपति बनेपछि सी र ट्रम्पबीच भएको यो तेस्रो भेटवार्ता हो ।

Share News