टर्कीको रक्षा महत्त्वाकांक्षा : आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य

काठमाडौं । टर्कीले आगामी पाँच वर्षभित्र ५० लाख र १० वर्षभित्र १ करोड मानवरहित हवाई सवारीसाधन (यूएभी/ड्रोन) उत्पादन गर्ने महत्त्वाकांक्षी योजना सार्वजनिक गरेको छ।

‘डेनिजकुर्डु–२०२६’ सैन्य अभ्यासका क्रममा टर्कीका चिफ अफ जनरल स्टाफ सेल्चुक बायरक्तारोग्लुले देशको रक्षा उद्योगको उत्पादन क्षमताले यो लक्ष्य हासिल गर्न सक्षम रहेको बताएका हुन्।

हालै सम्पन्न ‘डेनिजकुर्डु–२०२६’ सैन्य अभ्यासमा बोल्दै जनरल बायरक्तारोग्लुले आधुनिक युद्धमा मानवरहित प्रणालीको भूमिका भविष्यमा अझ निर्णायक हुने स्पष्ट पारे। उनका अनुसार टर्कीले समुद्रमा मानवसहित र मानवरहित दुवै प्रणालीको समन्वयात्मक प्रयोगलाई उच्च प्राथमिकता दिँदै आएको छ।

टर्कीको रक्षा उद्योग पछिल्ला वर्षहरूमा ड्रोन प्रविधिमा विश्वमै उदाउँदो शक्तिका रूपमा देखिएको छ। बायरक्तारोग्लुका अनुसार विद्यमान औद्योगिक पूर्वाधार र प्राविधिक दक्षताले तोकिएको समयसीमाभित्रै यो विशाल उत्पादन लक्ष्य भेट्टाउन मद्दत गर्नेछ।

यसैबीच, आइतबारदेखि शुक्रबारसम्म सञ्चालन भएको ‘डेनिजकुर्डु–२०२६’ अभ्यास कालो सागर, मारमारा सागर, एजियन सागर र पूर्वी भूमध्यसागरमा केन्द्रित थियो।

यस अभ्यासमा करिब १४ हजार सैन्य जनशक्ति, १०० वटा जलसैनिक जहाज र ५० वटा विमानले सहभागिता जनाएका थिए। समुद्री सुरक्षा र आधुनिक प्रविधिको प्रयोग परीक्षण गर्ने उद्देश्यले गरिएको यो अभ्यासमा ड्रोन प्रविधिको भूमिकालाई निकै महत्त्वका साथ हेरिएको छ।

रक्षा विश्लेषकहरूका अनुसार टर्कीको यो घोषणाले विश्वव्यापी हतियार बजारमा ड्रोनको माग र आपूर्तिमा टर्कीको प्रभावलाई थप विस्तार गर्नेछ।

Share News