देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै
काठमाडौं । नेपाली काङ्ग्रेसको महाधिवेशन प्रक्रियाअन्तर्गत आज देशभरका अधिकांश संघीय तथा प्रदेश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदैछ । केही क्षेत्रमा अत्यधिक वर्षाका कारण कार्यतालिका संशोधन गरिए पनि अधिकांश निर्वाचन क्षेत्रमा पूर्वनिर्धारित तालिकाअनुसार आजै अधिवेशन हुने भएको हो । काङ्ग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार विगत दुई दिनको लगातार वर्षा र केही स्थानमा सडक अवरुद्ध भएका कारण असोज १३ गतेभित्र अनुकूल समयमा अधिवेशन सम्पन्न गर्न सकिने विकल्प दिइएको छ । त्यसअनुसार विशेषगरी पहाडी जिल्लाका केही निर्वाचन क्षेत्रमा अधिवेशन भोलि र पर्सिका लागि सारिएको छ । निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार मौसममा सुधार देखिएकाले अधिकांश स्थानमा आजै अधिवेशन सम्पन्न हुने र बाँकी क्षेत्रको अधिवेशन भोलि तथा पर्सिसम्म सकिने तयारी गरिएको छ । आज हुने संघीय निर्वाचन क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चयन गरिनेछन् । पालिका सभापति र प्रदेश सभा क्षेत्रीय सभापति भने पदेन सदस्यका रूपमा क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिमा रहने व्यवस्था छ। उनीहरूलाई मतदान गर्ने अधिकार भए पनि उम्मेदवार बन्न नपाउने व्यवस्था विधानमा छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिमा सभापति र सचिव एक–एक जना निर्वाचित हुनेछन् भने सहसचिवमा एक महिलासहित दुई जना चयन हुनेछन्। कोषाध्यक्ष सभापतिले मनोनयन गर्ने व्यवस्था गरिएको छ । कार्यसमितिमा खुला, महिला, युवा, दलित र समानुपातिक समूहबाट सदस्य निर्वाचित गरिनेछन् । क्षेत्रीय अधिवेशनबाट प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट ३३ जना महाधिवेशन प्रतिनिधि पनि चयन हुनेछन् । महिला, खुला, युवा, दलित, मुस्लिम तथा अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति, श्रमिक, पेसागत विज्ञ र द्वन्द्वपीडितलगायत समूहको प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरिएको काङ्ग्रेसले जनाएको छ । आजै हुने प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट प्रदेश क्षेत्रीय कार्यसमिति र प्रदेश अधिवेशन प्रतिनिधि पनि चयन गरिनेछन् । प्रदेश कार्यसमितिमा सभापति, उपसभापति, सचिव, सहसचिव तथा विभिन्न समावेशी समूहबाट सदस्य निर्वाचित हुनेछन् । काङ्ग्रेसको अधिवेशन शृङ्खला असोज ३ गते वडा अधिवेशनबाट सुरु भएको थियो । वडा र पालिका अधिवेशन सम्पन्न भइसकेका छन् भने क्षेत्रीय अधिवेशन सकिएलगत्तै असोज १६ देखि १९ गतेसम्म काठमाडौंको खुलामञ्चमा केन्द्रीय महाधिवेशन गर्ने तयारी भइरहेको पार्टीले जनाएको छ ।
टर्कीको रक्षा महत्त्वाकांक्षा : आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य
काठमाडौं । टर्कीले आगामी पाँच वर्षभित्र ५० लाख र १० वर्षभित्र १ करोड मानवरहित हवाई सवारीसाधन (यूएभी/ड्रोन) उत्पादन गर्ने महत्त्वाकांक्षी योजना सार्वजनिक गरेको छ। ‘डेनिजकुर्डु–२०२६’ सैन्य अभ्यासका क्रममा टर्कीका चिफ अफ जनरल स्टाफ सेल्चुक बायरक्तारोग्लुले देशको रक्षा उद्योगको उत्पादन क्षमताले यो लक्ष्य हासिल गर्न सक्षम रहेको बताएका हुन्। हालै सम्पन्न ‘डेनिजकुर्डु–२०२६’ सैन्य अभ्यासमा बोल्दै जनरल बायरक्तारोग्लुले आधुनिक युद्धमा मानवरहित प्रणालीको भूमिका भविष्यमा अझ निर्णायक हुने स्पष्ट पारे। उनका अनुसार टर्कीले समुद्रमा मानवसहित र मानवरहित दुवै प्रणालीको समन्वयात्मक प्रयोगलाई उच्च प्राथमिकता दिँदै आएको छ। टर्कीको रक्षा उद्योग पछिल्ला वर्षहरूमा ड्रोन प्रविधिमा विश्वमै उदाउँदो शक्तिका रूपमा देखिएको छ। बायरक्तारोग्लुका अनुसार विद्यमान औद्योगिक पूर्वाधार र प्राविधिक दक्षताले तोकिएको समयसीमाभित्रै यो विशाल उत्पादन लक्ष्य भेट्टाउन मद्दत गर्नेछ। यसैबीच, आइतबारदेखि शुक्रबारसम्म सञ्चालन भएको ‘डेनिजकुर्डु–२०२६’ अभ्यास कालो सागर, मारमारा सागर, एजियन सागर र पूर्वी भूमध्यसागरमा केन्द्रित थियो। यस अभ्यासमा करिब १४ हजार सैन्य जनशक्ति, १०० वटा जलसैनिक जहाज र ५० वटा विमानले सहभागिता जनाएका थिए। समुद्री सुरक्षा र आधुनिक प्रविधिको प्रयोग परीक्षण गर्ने उद्देश्यले गरिएको यो अभ्यासमा ड्रोन प्रविधिको भूमिकालाई निकै महत्त्वका साथ हेरिएको छ। रक्षा विश्लेषकहरूका अनुसार टर्कीको यो घोषणाले विश्वव्यापी हतियार बजारमा ड्रोनको माग र आपूर्तिमा टर्कीको प्रभावलाई थप विस्तार गर्नेछ।
बालेनसँगको फोटोले अस्ट्रेलियाली प्रधानमन्त्रीलाई ३ लाख लाइक
काठमाडौं । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज सामाजिक सञ्जाल फेसबुकमा सक्रिय छन् । सार्वजनिक भेटघाटदेखि अन्तर्राष्ट्रिय मञ्चका गतिविधिसम्मका विषय उनी नियमित रूपमा फेसबुकमा सार्वजनिक गर्छन् । तर, पछिल्लो समय उनको फेसबुकमा गरिएको एउटा पोस्टले विशेष ध्यान खिचेको छ- नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेटको तस्बिर । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन विभिन्न देशका सरकार प्रमुख अहिले अमेरिकामा छन् । यही क्रममा शुक्रबार अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजले प्रधानमन्त्री शाहसँग संयुक्त राष्ट्रसङ्घमा भेटवार्ता गरे । भेटका क्रममा अल्बानिजले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावितप्रति समवेदना व्यक्त गरे । बाढीपछि नेपालमा बेपत्ता रहेका अष्ट्रेलियाली नागरिकका परिवार तथा आफन्तप्रति आफ्नो ध्यान र सहानुभूति रहेको उनले उल्लेख गरे । नेपाल बाढीबाट प्रभावित भएर पुनःस्थापना र पुनर्निर्माणको चरणमा रहेकाले अष्ट्रेलिया नेपाली जनतासँगै उभिएको अल्बानिजले बताए । आवश्यक परेको स्थानमा सहयोग पुर्याउन अष्ट्रेलियाले नेपालसँग निरन्तर सहकार्य गर्ने उनको भनाइ थियो । अल्बानिजले प्रधानमन्त्री शाहसँगको भेटको तस्बिर फेसबुकमा पोस्ट गर्दै भेटबारे जानकारी दिएका छन् । फेसबुकमा अल्बानिजले विभिन्न अन्तर्राष्ट्रिय गतिविधिका तस्बिर तथा भिडियो नियमित रूपमा सार्वजनिक गर्दै आएका छन् । उनले संयुक्त राष्ट्रसङ्घमा सम्बोधन गरेको भिडियोदेखि युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसँग भेट गरेको भिडियोसम्म पोस्ट गरेका छन् । साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्दै सेल्फी खिचेको तस्बिर पनि उनले फेसबुकमा राखेका छन् । ट्रम्पसँगको तस्बिरमा समाचार तयार पार्दासम्म २१ हजार लाइक, १२.९ हजार कमेन्ट र ७२४ सेयर भएका छन् । तर, बालेन्द्र शाहसँग खिचेको तस्बिरले भने अल्बानिजको फेसबुकमा फरक खालको प्रतिक्रिया पाएको देखिन्छ । समाचार तयार पार्दासम्म उक्त तस्बिरमा ३ लाखभन्दा बढी अर्थात् ३०१ के लाइक, ९ हजारभन्दा बढी कमेन्ट र ३.२ के सेयर भएका छन् । अल्बानिजको फेसबुकमा सार्वजनिक गरिएका विभिन्न पोस्टमध्ये यही तस्बिरमा सबैभन्दा बढी लाइक आएको देखिन्छ ।
लघुवित्तबाट ऋण लिने बढे, २१ हजार ७९२ लाई रोजगारी
काठमाडौं । लघुवित्त वित्तीय संस्थाको शाखा संख्या पछिल्लो समय घट्दै गएको देखिएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा लघुवित्त वित्तीय संस्थाको शाखा संख्या १.०२ प्रतिशतले घटेको थियो । गत आर्थिक वर्ष २०८२/८३ मा पनि शाखा संख्या ०.७५ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार २०८२ असारमा लघुवित्तका ४ हजार ९६१ शाखा रहेकामा २०८३ असारसम्ममा घटेर ४ हजार ९२४ वटा मात्रै कायम छन् । राष्ट्र बैंकका अनुसार ५१ वटा लघुवित्त सञ्चालनमा रहेका छन् । तीमध्ये तीन वटा थोक कर्जा प्रदायक संस्था छन् भने बाँकी ४८ वटा खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्त संस्था रहेका छन् । यसैबीच, लघुवित्त वित्तीय संस्थाका सदस्य संख्या भने बढेको छ । २०८२ असारको तुलनामा २०८३ असारमा सदस्य संख्या ४.९६ प्रतिशतले बढेर ६५ लाख ३० हजार पुगेको छ । २०८२ असारमा सदस्य संख्या ६२ लाख २१ हजार रहेको थियो । यस्तै, लघुवित्त वित्तीय संस्थाका कुल ऋणीको संख्या पनि सामान्य बढेको छ । २०८२ असार मसान्तमा २७ लाख ७ हजार कुल ऋणी रहेकामा गत आर्थिक वर्ष ०.२२ प्रतिशतले बढेर २०८३ असार मसान्तमा २७ लाख १३ हजार पुगेका छन् । राष्ट्र बैंकका अनुसार लघुवित्त वित्तीय संस्थामा कार्यरत कर्मचारीको संख्या पनि सामान्य बढेको छ । २०८२ असार मसान्तमा २१ हजार ७१७ जना कर्मचारी कार्यरत रहेकामा २०८३ असार मसान्तसम्ममा ०.३५ प्रतिशतले बढेर २१ हजार ७९२ पुगेका छन् ।
मुख्य राजमार्ग अवरुद्ध, दर्जनौं सडकमा यात्रा गर्न रोक
काठमाडौं । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण देशका विभिन्न जिल्लामा मुख्य राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीले शनिबार बिहान ७ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार ३० जिल्लाका विभिन्न स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध हुनुका साथै सम्भावित जोखिमलाई ध्यानमा राख्दै दर्जनौं सडकखण्डमा रात्रिकालीन सवारी आवागमनमा रोक लगाइएको छ । ललितपुरमा बागमती गाउँपालिका–३ भट्टेडाँडाको पाङ्दुर तथा टाकुर्चे र गोदावरी नगरपालिका–६ बिखेंधारामा पहिरो गएपछि कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ । कोशी प्रदेशका विभिन्न जिल्लामा पनि सडक आवागमन प्रभावित भएको छ । सोलुखुम्बुमा सिद्धिचरण लोकमार्गलगायत भित्री सडकमा सम्भावित बाढीपहिरोको जोखिमका कारण रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ । भोजपुरमा मध्यपहाडी लोकमार्गलगायत सडकमा पनि रात्रिकालीन आवागमन रोकिएको छ । इलाममा मेची राजमार्ग, मेची करिडोरलगायत जिल्लाभित्रका सडकमा सम्भावित बाढीपहिरोको जोखिमका कारण रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । खोटाङमा मध्यपहाडी लोकमार्ग र उदयपुरमा कटारी–घुर्मी सडकखण्डमा पनि रात्रिकालीन आवागमन रोकिएको छ । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ र ७ को सीमामा पर्ने भँडारे खोलामा बाढी आएपछि सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ । पाँचथरको तुम्बेवा गाउँपालिका–२ स्थित नावाखोला र याङवरक गाउँपालिका–२ स्थित दोभाने खोलामा बाढीपहिरो आएपछि तमोर करिडोर र मध्यपहाडी लोकमार्ग अवरुद्ध भएका छन् । बागमती प्रदेशमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–८ गिम्तीबेँसी तथा वडा नम्बर ४ सयबेँसीमा पहिरो गएपछि बीपी राजमार्ग अवरुद्ध भएको छ । धुलिखेल नगरपालिका–८ पकुचामा पहिरो गएपछि अरनिको राजमार्ग पनि अवरुद्ध भएको छ । रसुवामा मुख्य राजमार्गहरू बाढीका कारण प्रभावित भएका छन् । नुवाकोटमा पासाङ ल्हामु सडकखण्ड र टोखा–छहरे सडकखण्डमा सम्भावित बाढीपहिरोको जोखिमका कारण रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीर, वडा नम्बर १० टिङराङखानी, वडा नम्बर ९ जेनरीघाट तथा गजुरी गाउँपालिका–५ बाङ्गेमोड क्षेत्रमा पहिरो गएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । धादिङ र आसपासका क्षेत्रमा पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण सवारीसाधनलाई अर्को सूचना जारी नभएसम्म आवागमनमा रोक लगाइएको प्रहरीले जनाएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–८ बगुवाखोला नजिक र हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीमा पहिरो गएपछि सडक प्रभावित भएको छ । कान्ति लोकपथ र महेन्द्र राजमार्गमा पनि सवारी आवागमन प्रभावित भएको छ । सिन्धुलीमा बीपी राजमार्गलगायत सडकखण्ड तथा दोलखा र सिन्धुपाल्चोकमा जिल्लाभरका सडकखण्डमा सम्भावित बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ । चितवनमा नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्ग प्रभावित भएका छन् । चितवन र आसपासका क्षेत्रमा नारायणगढ–मुग्लिन सडकखण्ड भएर चल्ने सम्पूर्ण सवारीसाधनलाई अर्को सूचना जारी नभएसम्म आवागमनमा रोक लगाइएको छ । गण्डकी प्रदेशमा मनाङको चामे–बेँसीसहर सडकखण्ड, कास्की र मुस्ताङका जिल्लाभित्रका सडकमा सम्भावित बाढीपहिरोको जोखिमका कारण रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ । पर्वतमा पोखरा–बागलुङ मध्यपहाडी लोकमार्गअन्तर्गत जिल्लाभित्र पर्ने सडकखण्ड प्रभावित भएको छ । म्याग्दी र नवलपरासी पूर्वमा पनि सम्भावित बाढीपहिरोका कारण रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ । बागलुङको जैमिनी नगरपालिका–८ बेलबगर र निसीखोला गाउँपालिका–४ कानाबगरमा पहिरो गएपछि सडक अवरुद्ध भएको छ । पोखरा–बेनी–बागलुङ सडकखण्ड तथा मध्यपहाडी लोकमार्ग पनि प्रभावित भएका छन् । लुम्बिनी प्रदेशमा दाङको राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–कपुरकोट सडकखण्ड असोज ११ गते साँझसम्म पूर्ण रूपमा बन्द गरिएको छ । भालुवाङदेखि प्युठानको चकचकेसम्मको सडकखण्ड तथा सहिदमार्गअन्तर्गत घोराही–होलेरी र घोराही–मुर्कुटी सडकखण्डमा पनि सवारी आवागमन प्रभावित भएको छ । मदन भण्डारी राजमार्गअन्तर्गत घोराही–थवाङ, रुकुम सहिदमार्ग तथा गोरुसिंगे–सन्धिखर्क सडकखण्डमा समेत सवारी आवागमन प्रभावित भएको छ । रोल्पाको रोल्पा नगरपालिका–७ माडीचौर र माडी गाउँपालिका–३ गरगरेमा पहिरोका कारण सडक अवरुद्ध भएको छ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ रिपामा पनि पहिरोका कारण सडक अवरुद्ध भएको छ । गुल्मीको रुरु क्षेत्र गाउँपालिका–१ बिसौना, चन्द्रकोट गाउँपालिका–७ सिस्नेभीर तथा कालीगण्डकी गाउँपालिका–२ राक्सेमा पहिरो गएपछि मदन भण्डारी राजमार्ग, रुद्रवेणी–वामीटक्सार सडकखण्ड तथा कालीगण्डकी करिडोर प्रभावित भएका छन् । कर्णाली प्रदेशमा कालिकोटको शुभकालिका गाउँपालिका–१ मा पहिरो गएपछि कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । सल्यानको कपुरकोट गाउँपालिका–५ खारखोलामा पहिरो गएपछि राप्ती राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । विभिन्न जिल्लामा सम्भावित बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै साँझदेखि बिहानसम्म अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ । रोक लगाइएको समय र अवधि जिल्लाअनुसार फरकफरक रहेको छ । एम्बुलेन्स, दमकल तथा अत्यावश्यक खाद्यान्न बोकेका सवारीसाधनलाई भने सम्बन्धित प्रहरी इकाइसँग समन्वय गरी सञ्चालन गर्न दिने व्यवस्था गरिएको छ । प्रहरीले सडकको अवस्था र मौसमअनुसार सवारी आवागमनसम्बन्धी निर्णय परिवर्तन हुन सक्ने भएकाले यात्रुलाई सम्बन्धित निकायबाट जारी पछिल्लो सूचना हेरेर मात्र यात्रा गर्न आग्रह गरेको छ ।
कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री डा. वाग्लेद्वारा इन्द्रजात्रा अवलोकन
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इन्द्रजात्रा अवलोकन गरेको छ ।शुक्रबार अपराह्न हनुमानढोका परिसर पुगेर उनले रथ दर्जाशन, जात्रा अवलोकन एवम् रथमा फूलमाला चढाएका छन् । हनुमानढोकास्थित गद्दीबैठकमा उपस्थित भएर उनले टीका ग्रहण गरेपछि गद्दीबैठकको बार्दलीबाट जात्रा अवलोकन गरे । हनुमानढोका परिसरबाट सुरु भएको श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा दर्शन गर्दै कार्यवाहक प्रधानमन्त्री वाग्लेले रथमा फूलपाती र भेटी अर्पण गरे । सो क्रममा मन्त्रिपरिषद्का अन्य सदस्यहरूको पनि उपस्थिति थियो ।
महाधिवेशनको तयारीमा जुट्यो कांग्रेस, गगनको नेतृत्वमा केन्द्रीय निर्देशन समिति
काठमाडौं । नेपाली कांग्रेसले आगामी १५औं महाधिवेशनलाई अनुशासित, व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्नका लागि केन्द्रीय निर्देशन समितिसहित १५ वटा विभिन्न समितिहरू गठन गरेको छ । शुक्रबार कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी प्रेस विज्ञप्ति अनुसार भदौ १ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरिसकेको पृष्ठभूमिमा यी समितिहरू विस्तार गरिएको हो । महाधिवेशनसँग सम्बन्धित तत्काल निर्णय लिन, कार्य विभाजन अनुसार काम भए–नभएको अनुगमन गर्न र समग्र प्रक्रियालाई व्यवस्थित बनाउन केन्द्रीय निर्देशन समिति र अन्य विषयगत समितिहरू गठन गरिएको पार्टीले जनाएको छ । गठित समितिहरूमध्ये १५औं महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकत्व सभापति गगनकुमार थापा स्वयंले लिएका छन् । उक्त समितिमा उप-सभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुषाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे, कोषाध्यक्ष उमेश श्रेष्ठका साथै महालक्ष्मी उपाध्याय ‘डिना’, अर्जुनप्रसाद जोशी, मीनबहादुर विश्वकर्मा, राजेन्द्रकुमार केसी, सुवासकुमार पोख्रेल र सपना राजभण्डारी केन्द्रीय सदस्यका रूपमा रहेका छन् । समितिको सदस्य सचिवमा सभापतिका प्रमुख राजनीतिक सल्लाहकार प्रताप पौडेललाई जिम्मेवारी दिइएको छ । यस्तै, आर्थिक, प्राविधिक र व्यवस्थापकीय पक्षलाई सुदृढ बनाउन आर्थिक व्यवस्थापन समितिको संयोजकत्व कोषाध्यक्ष उमेश श्रेष्ठलाई र सूचना सञ्चार तथा प्रविधि समितिको संयोजकत्व प्रवक्ता देवराज चालिसेलाई सुम्पिएको छ । सञ्चार समितिमा हरिशरण नेपाली, अजयबाबु शिवाकोटी, डा. सुरेश आचार्य, शिव लम्साल, अनिता विन्दु लगायतका सदस्यहरू रहेका छन् । सचिवालय व्यवस्थापन तथा सूचना समन्वय समितिको संयोजकमा उदयशमशेर राणा चयन भएका छन् भने यसमा नानु वास्तोला, प्रकाश पन्थ लगायत उपत्यकाका तीनै जिल्लाका प्रतिनिधि र सातै प्रदेशका प्रतिनिधिहरू समावेश छन् । महाधिवेशनको भौतिक तथा आतिथ्य व्यवस्थापनका लागि सहमहामन्त्री डा. डिला संग्रौला पन्तको संयोजकत्वमा अतिथि स्वागत समिति, काठमाडौं जिल्ला सभापतिको संयोजकत्वमा उपत्यकाका अन्य जिल्ला र क्षेत्रीय सभापतिहरू सम्मिलित महाधिवेशन समारोह स्थल व्यवस्थापन समिति, र सहमहामन्त्री बहादुरसिंह लामाको संयोजकत्वमा प्रदेश र स्थानीय तहगत समन्वय समिति गठन गरिएको छ । त्यस्तै, जेष्ठ प्रतिनिधिहरूसँग समन्वय गर्न सुधीर शिवाकोटीको संयोजकत्वमा जेष्ठ महाधिवेशन प्रतिनिधि समन्वय समिति र गणेश लामाको संयोजकत्वमा भूपू सैनिक तथा प्रहरी संघका अध्यक्षहरू सम्मिलित स्वयंसेवक व्यवस्थापन समिति बनाइएको छ । प्रतिनिधिहरूको भोजन, आवास, स्वास्थ्य र यातायातको सहजताका लागि भोजन व्यवस्थापन समितिको संयोजकमा तिलक रानाभाट, आवास व्यवस्थापन समितिमा रमेशप्रसाद धमला, स्वास्थ्य समितिमा डा. केदारनरसिंह केसी र यातायात व्यवस्थापन समितिको संयोजकमा विजय बहादुर स्वाँरलाई तोकिएको छ । साथै, सांस्कृतिक-साहित्यिक संयोजन समितिको नेतृत्व सिता गुरुङलाई दिइएको छ भने पार्टीको विधान मस्यौदा समितिमा केन्द्रीय सदस्य इश्वरी न्यौपाने र अधिवक्ता प्रमिस खनाललाई थप गरिएको छ । यी समितिहरूले महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न आ-आफ्नो कार्य विवरण अनुसार तुरुन्तै काम अघि बढाउने पार्टीले जनाएको छ ।
भन्सारदेखि बैंकिङ बिदासम्म, मन्त्री साहसमक्ष उद्योगीले राखे यस्ता माग
काठमाडौं । मोरङ उद्योग व्यापार संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहसमक्ष उद्योग–व्यवसाय क्षेत्रका समस्या समाधानका लागि विभिन्न सुझाव तथा माग प्रस्तुत गरेको छ । शुक्रबार विराटनगर भ्रमणमा रहेका मन्त्री साहलाई संघका अध्यक्ष अनिल कुमार साह नेतृत्वको टोलीले स्वागत तथा भेटघाट गर्दै सुझाव पत्र बुझाएको हो । भेटघाटका क्रममा अध्यक्ष साहले मुलुकको वर्तमान आर्थिक अवस्था, उद्योग–व्यवसाय क्षेत्रले भोगिरहेका व्यावहारिक समस्या तथा तिनको समाधानका उपायबारे मन्त्री साहसँग छलफल गरेका थिए । संघले नीतिगत, व्यापार, कर, भन्सार तथा पूर्वाधारसँग सम्बन्धित विषयलाई प्राथमिकतामा राख्दै विभिन्न सुझाव दिएको छ । संघले उद्योगी–व्यवसायीको उधारो रकम असुलीका लागि द्रुत न्यायाधीकरण गठन गर्न माग गरेको छ । त्यस्तै खाद्यान्न तथा कच्चा पदार्थ आयातमा लगाइएको प्रतिबन्ध फुकुवा गर्न, अत्यधिक बैंकिङ बिदा कटौती गर्न, सार्वजनिक खरिद ऐनलाई थप लचिलो बनाउन तथा राजस्व न्यायाधिकरणमा निष्पक्षता कायम गर्न सुझाव दिइएको संघले जनाएको छ । भारततर्फ हुने निर्यातमा भारतीय गुणस्तर मापदण्डसम्बन्धी बीआईएस लाइसेन्स प्राप्तिमा देखिएको कठिनाइ हटाउन कूटनीतिक पहल गर्न पनि संघले आग्रह गरेको छ । विराटनगरस्थित एकीकृत भन्सार जाँचचौकी (आईसीपी) को सेवा शुल्क घटाउन तथा मोरङ–सुनसरी औद्योगिक करिडोरमा विशेष आर्थिक क्षेत्र स्थापना गर्न माग गरिएको छ । त्यसैगरी, विराटनगर रिङरोड निर्माण कार्य शीघ्र सम्पन्न गर्न पनि संघले सरकारको ध्यानाकर्षण गराएको छ। सीमावर्ती बजारबाट हुने अवैध कारोबार तथा चोरी पैठारी नियन्त्रणका लागि भन्सार महसुल दरमा आवश्यक परिमार्जन गर्नुपर्ने संघको सुझाव छ । संघले बहुदरको मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्न तथा स्वदेशी उद्योगको संरक्षण र प्रवद्र्धनका लागि कच्चा पदार्थ आयातमा १ देखि ५ प्रतिशतसम्म मात्रै भन्सार महसुल कायम गर्न माग गरेको छ । निर्यातलाई प्रोत्साहन गर्न मूल्य अभिवृद्धिका आधारमा ५ देखि ८ प्रतिशतसम्म निर्यात अनुदान उपलब्ध गराउन तथा निर्यातकर्ता कर्पोरेटलाई दिइँदै आएको २५ प्रतिशत आयकर छुटको व्यवस्था पुनः कायम गर्नुपर्ने संघको माग छ । त्यस्तै, ‘एक नागरिक, एक प्यान’ नीति लागू गर्न, कृषि सामग्री तथा दैनिक उपभोग्य वस्तुमा भ्याट र अन्तःशुल्क खारेज गर्न तथा गैरकानुनी मानिएको कार्गो भेइकल फी (सीभीएफ) खारेज गर्न पनि संघले सुझाव दिएको छ । सुझाव पत्र बुझ्दै मन्त्री साहले संघले उठाएका विषय वस्तुनिष्ठ र समयसापेक्ष रहेको बताएका थिए । उनले मोरङ–सुनसरी औद्योगिक करिडोरको पुनरुत्थानसँगै निजी क्षेत्रको मनोबल उच्च बनाउन संघले दिएका सुझावलाई मन्त्रालयले प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । अध्यक्ष साहको नेतृत्वमा गएको टोलीमा संघका निवर्तमान अध्यक्ष अनुपम राठी, वरिष्ठ उपाध्यक्ष अनिल सारडा, वाणिज्य उपाध्यक्ष विकास कुमार बेगवानी, उद्योग उपाध्यक्ष सञ्जय कुमार श्रेष्ठ, महासचिव अमित कुमार सारदा तथा प्रमुख कार्यकारी अधिकृत भरत शर्मा प्रसाईंलगायत सहभागी थिए । सो अवसरमा नेपाल उद्योग परिसंघ, कोशी प्रदेशको टोलीले पनि मन्त्री साहलाई स्वागत तथा भेटघाट गरेको थियो ।