काठमाडौं । मोरङ उद्योग व्यापार संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहसमक्ष उद्योग–व्यवसाय क्षेत्रका समस्या समाधानका लागि विभिन्न सुझाव तथा माग प्रस्तुत गरेको छ ।
शुक्रबार विराटनगर भ्रमणमा रहेका मन्त्री साहलाई संघका अध्यक्ष अनिल कुमार साह नेतृत्वको टोलीले स्वागत तथा भेटघाट गर्दै सुझाव पत्र बुझाएको हो ।
भेटघाटका क्रममा अध्यक्ष साहले मुलुकको वर्तमान आर्थिक अवस्था, उद्योग–व्यवसाय क्षेत्रले भोगिरहेका व्यावहारिक समस्या तथा तिनको समाधानका उपायबारे मन्त्री साहसँग छलफल गरेका थिए । संघले नीतिगत, व्यापार, कर, भन्सार तथा पूर्वाधारसँग सम्बन्धित विषयलाई प्राथमिकतामा राख्दै विभिन्न सुझाव दिएको छ ।
संघले उद्योगी–व्यवसायीको उधारो रकम असुलीका लागि द्रुत न्यायाधीकरण गठन गर्न माग गरेको छ । त्यस्तै खाद्यान्न तथा कच्चा पदार्थ आयातमा लगाइएको प्रतिबन्ध फुकुवा गर्न, अत्यधिक बैंकिङ बिदा कटौती गर्न, सार्वजनिक खरिद ऐनलाई थप लचिलो बनाउन तथा राजस्व न्यायाधिकरणमा निष्पक्षता कायम गर्न सुझाव दिइएको संघले जनाएको छ ।
भारततर्फ हुने निर्यातमा भारतीय गुणस्तर मापदण्डसम्बन्धी बीआईएस लाइसेन्स प्राप्तिमा देखिएको कठिनाइ हटाउन कूटनीतिक पहल गर्न पनि संघले आग्रह गरेको छ ।
विराटनगरस्थित एकीकृत भन्सार जाँचचौकी (आईसीपी) को सेवा शुल्क घटाउन तथा मोरङ–सुनसरी औद्योगिक करिडोरमा विशेष आर्थिक क्षेत्र स्थापना गर्न माग गरिएको छ ।
त्यसैगरी, विराटनगर रिङरोड निर्माण कार्य शीघ्र सम्पन्न गर्न पनि संघले सरकारको ध्यानाकर्षण गराएको छ।
सीमावर्ती बजारबाट हुने अवैध कारोबार तथा चोरी पैठारी नियन्त्रणका लागि भन्सार महसुल दरमा आवश्यक परिमार्जन गर्नुपर्ने संघको सुझाव छ ।
संघले बहुदरको मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्न तथा स्वदेशी उद्योगको संरक्षण र प्रवद्र्धनका लागि कच्चा पदार्थ आयातमा १ देखि ५ प्रतिशतसम्म मात्रै भन्सार महसुल कायम गर्न माग गरेको छ ।
निर्यातलाई प्रोत्साहन गर्न मूल्य अभिवृद्धिका आधारमा ५ देखि ८ प्रतिशतसम्म निर्यात अनुदान उपलब्ध गराउन तथा निर्यातकर्ता कर्पोरेटलाई दिइँदै आएको २५ प्रतिशत आयकर छुटको व्यवस्था पुनः कायम गर्नुपर्ने संघको माग छ ।
त्यस्तै, ‘एक नागरिक, एक प्यान’ नीति लागू गर्न, कृषि सामग्री तथा दैनिक उपभोग्य वस्तुमा भ्याट र अन्तःशुल्क खारेज गर्न तथा गैरकानुनी मानिएको कार्गो भेइकल फी (सीभीएफ) खारेज गर्न पनि संघले सुझाव दिएको छ ।
सुझाव पत्र बुझ्दै मन्त्री साहले संघले उठाएका विषय वस्तुनिष्ठ र समयसापेक्ष रहेको बताएका थिए । उनले मोरङ–सुनसरी औद्योगिक करिडोरको पुनरुत्थानसँगै निजी क्षेत्रको मनोबल उच्च बनाउन संघले दिएका सुझावलाई मन्त्रालयले प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
अध्यक्ष साहको नेतृत्वमा गएको टोलीमा संघका निवर्तमान अध्यक्ष अनुपम राठी, वरिष्ठ उपाध्यक्ष अनिल सारडा, वाणिज्य उपाध्यक्ष विकास कुमार बेगवानी, उद्योग उपाध्यक्ष सञ्जय कुमार श्रेष्ठ, महासचिव अमित कुमार सारदा तथा प्रमुख कार्यकारी अधिकृत भरत शर्मा प्रसाईंलगायत सहभागी थिए ।
सो अवसरमा नेपाल उद्योग परिसंघ, कोशी प्रदेशको टोलीले पनि मन्त्री साहलाई स्वागत तथा भेटघाट गरेको थियो ।