बाढीपछि विद्यार्थीको छात्रावासमै आश्रय, महिनादिन बित्दा समेत सरकाले सुनेन विद्यालयको माग
बाढी प्रभावित जिल्ला रसुवाको उत्तरगया गाउँपालिका–५ बेत्रावती बजार नजिकै अवस्थित नीलकण्ठ माध्यामिक विद्यालय भदौ २५ गतेबाट पुनः सञ्चालनमा आएको छ । भदौ १० गतेको बाढीले बन्द भएको विद्यालय २५ गतेबाट पुनः सञ्चालनमा आएको हो । विद्यालयले विद्यार्थीको मनोबल बढाउँदै र भदौ १० गतेको बाढीको घाउ बिर्साउँर्दै पुरानै दैनिकीमा फर्काउन शिक्षक लागिपरेका छन् । बाढीबाट विद्यालयका ६ जना विद्यार्थी बेपत्ता छन् । ५ सय ८ जना विद्यार्थीले अध्ययन गर्दै आएको उक्त विद्यालय खुलेको २ साता पुग्दा २ सय ८५ जना विद्यार्थी पठनपाठनमा फर्किएका छन् । उनीहरुलाई पढाइभन्दा बढी सिर्जनात्मक अभ्यासमार्फत पुरानै लयमा फर्काउने प्रयासमा विद्यालय छ । विकासन्युजले विद्यालयको भौतिक पूर्वाधारसँगै शिक्षक र विद्यार्थीको मानसिक तथा सामाजिक अवस्था र स्थानीय, प्रदेश र केन्द्र सरकारले गर्दै आएको सहयोग तथा समन्वयका विषयमा विद्यालयका प्रधानाध्यापक माधव लामिछानेसँग कुराकानी गरेको छ ।
पञ्चासेमा सबैभन्दा धेरै वर्षा, धेरै नदीमा बाढीको जोखिम
काठमाडौं । पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा धेरै १८९ मिलिमिटर वर्षा भएको छ । लगातारको वर्षासँगै देशका विभिन्न नदीमा जलसतह बढ्दै गएपछि सतर्कता अपनाउन आग्रह गरिएको छ । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका अनुसार पाल्पाको अर्चलेमा १७२ मिलिमिटर, गुल्मीको भार्सेमा १७०.८ मिलिमिटर, म्याग्दीको कुहुनमा १६५.२ मिलिमिटर र दर्वाङमा १६१ मिलिमिटर वर्षा मापन भएको छ । हाल कैलालीको भजनी र धनगढी विमानस्थल, म्याग्दीको बेनी, पर्वतको कार्कीनेटा, पाल्पाको अर्चले र स्याङ्जाको पाँचमूल क्षेत्रमा वर्षा भइरहेको केन्द्रले जनाएको छ । वर्षाका कारण बाँके, म्याग्दी, पर्वत, लमजुङ, चितवन र भोजपुरका विभिन्न नदी तथा खोलामा पानीको सतह सतर्कता तह नजिक पुगेको छ । बाँकेको किरन नाला र म्याग्दीको मङ्गलघाटमा नदीको जलसतह सतर्कता तहभन्दा माथि पुगेको केन्द्रले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर मनसुनी वायु सक्रिय छ भने पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । भारतको छत्तीसगढ र उत्तरपूर्वी मध्य प्रदेश क्षेत्रमा बनेको न्यून चापीय प्रणाली उत्तरपश्चिमतर्फ सर्दै दक्षिणपूर्वी उत्तर प्रदेशतर्फ जाने क्रममा रहेको र आगामी १२ घण्टामा कमजोर हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । शनिबार बिहानदेखि काठमाडौं उपत्यकामा वर्षा रोकिए पनि देशभर अधिकांश स्थानमा बदली छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बागमती, कोशी र मधेस प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाले मधेस प्रदेशका तराई क्षेत्र तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागमा हावाहुरीको सम्भावना पनि रहेको जनाएको छ । पहाडी क्षेत्रका खोच र उपत्यकामा पनि हावाहुरी चल्न सक्ने भएकाले सडक तथा हवाई यातायात, कृषि, पर्यटन, उद्धार र राहत कार्यमा असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।
कञ्चनपुरका भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
काठमाडौं । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई तत्कालका लागि जिम्मेवारीबाट हटाइएको छ । भन्सार विभागले भट्ट र सशस्त्र प्रहरी बल नेपाल ३४ गण कैलालीका प्रहरी उपरीक्षक (एसपी) खुमबहादुर केसीबीच भएको विवादबारे सार्वजनिक भएका विवरणमा थप अध्ययन गर्नुपर्ने भन्दै भट्टलाई जिम्मेवारीबाट हटाएको हो । विभागले भट्टलाई त्रिपुरेश्वरस्थित भन्सार विभागमा हाजिर हुन पत्राचार गरेको जनाएको छ । विवादबारे थप बुझ्नुपर्ने भएकाले तत्कालका लागि भट्टलाई गड्डाचौकी भन्सार कार्यालयको जिम्मेवारीबाट हटाएर विभागमा हाजिर गराउने निर्णय गरिएको भन्सार विभागले जानकारी दिएको छ ।
सिप्रदी हायर पर्चेजले बढायो २० प्रतिशत कर्जा, आम्दानी ५४.८० करोड रुपैयाँ
काठमाडौं । सिप्रदी हायर पर्चेज प्रालिले गत आर्थिक वर्ष २०८२/८३ मा ५४ करोड ८० लाख रुपैयाँ कुल आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १.२६ प्रतिशत अर्थात् ७० लाख रुपैयाँ कम हो । आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको कुल आम्दानी ५५ करोड ५० लाख रुपैयाँ थियो । यसअघि आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले ५८ करोड रुपैयाँ, आव २०७९/८० मा ५२ करोड ८० लाख रुपैयाँ, आव २०७८/७९ मा ४९ करोड ४० लाख रुपैयाँ, आव मा ६७ करोड ८० लाख रुपैयाँ, आव २०७६/७७ मा ७७ करोड १० लाख रुपैयाँ, आव २०७५/७६ मा ८१ करोड ६० लाख रुपैयाँ, आव २०७४/७५ मा ५७ करोड ६० लाख रुपैयाँ र आव २०७३/७४ मा २० करोड ८० लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । सन् २०१४ मा स्थापना भएको सिप्रदी हायर पर्चेज नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार सञ्चालन हुँदै आएको हायर पर्चेज वित्तीय संस्था हो । कम्पनी सिप्रदी ट्रेडिङ प्रालिको शतप्रतिशत स्वामित्वमा रहेको सहायक कम्पनी हो । सिप्रदी ट्रेडिङ प्रालि नेपालमा टाटा मोटर्सको आधिकारिक वितरक हो । सिप्रदी समूहअन्तर्गत रहेको सिप्रदी ट्रेडिङले सन् १९७९ देखि नेपालमा अटोमोबाइल तथा सम्बन्धित व्यवसायमा कारोबार गर्दै आएको छ । सिप्रदी हायर पर्चेजका अध्यक्ष सिद्धार्थशमशेर जबरा रहेका छन् । कम्पनीले मुख्य रूपमा सिप्रदी ट्रेडिङमार्फत बिक्री हुने व्यावसायिक सवारीसाधनमा हायर पर्चेज वित्तीय सेवा प्रदान गर्दै आएको छ । गत आर्थिक वर्षमा कम्पनीको व्यवस्थापनमा रहेको कुल कर्जा पोर्टफोलियो ४ अर्ब ९१ करोड २० लाख रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०८१/८२ मा यस्तो पोर्टफोलियो ४ अर्ब ९ करोड ९० लाख रुपैयाँ थियो । यसअनुसार एक वर्षमा कम्पनीको कर्जा पोर्टफोलियो १९.८३ प्रतिशत अर्थात् ८१ करोड ३० लाख रुपैयाँले बढेको छ । कम्पनीको व्यवस्थापनमा रहेका कुल सम्पत्ति पनि बढेर गत आर्थिक वर्षमा ५ अर्ब ४१ करोड १० लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो सम्पत्ति ४ अर्ब ४९ करोड १० लाख रुपैयाँ थियो । कम्पनीको सञ्चालन नाफामा भने दबाब देखिएको छ । गत आर्थिक वर्षमा औसत कुल सम्पत्तिको अनुपातमा सञ्चालन नाफा करिब ४.४ प्रतिशतमा झरेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो अनुपात ५.५ प्रतिशत थियो । सञ्चालन नाफामा आएको कमी मुख्य रूपमा खुद ब्याज मार्जिन घटेका कारण भएको हो । गत आर्थिक वर्षमा कम्पनीको खुद ब्याज मार्जिन ६.६ प्रतिशतमा झरेको छ, जुन अघिल्लो आर्थिक वर्षमा ८.२ प्रतिशत थियो । बजारमा अधिक तरलता तथा बैंक तथा वित्तीय संस्था र अन्य हायर पर्चेज कम्पनीबीचको प्रतिस्पर्धाका कारण समग्र क्षेत्रमा नै खुद ब्याज मार्जिनमा दबाब परेको जनाएको छ । आगामी दिनमा कर्जाबाट प्राप्त हुने ब्याज आम्दानी र कोषको लागतबीच सन्तुलन कायम गर्न तथा कम प्रतिफल दिने क्षेत्रमा कर्जा विस्तार हुन नदिन सक्ने क्षमता कम्पनीको नाफाका लागि महत्वपूर्ण रहनेछ । कम्पनीको सञ्चालन खर्च पनि बढेको छ । गत आर्थिक वर्षमा कुल आम्दानीको तुलनामा सञ्चालन खर्च ३५.४ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो अनुपात ३४.७ प्रतिशत थियो । कम्पनीको कर्जा पोर्टफोलियोमा ब्रान्ड तथा क्षेत्रगत एकाग्रताको जोखिमसमेत रहेको छ । कम्पनीले मुख्य रूपमा टाटा ब्रान्डका व्यावसायिक सवारीसाधनमा वित्तीय सेवा प्रदान गर्दै आएको छ । कम्पनीबाट वित्तीयकरण गरिएका सवारीसाधनमध्ये करिब १०० प्रतिशत टाटा ब्रान्डका छन् । त्यस्तै, कुल वित्तीयकरणमध्ये करिब ९८ प्रतिशत हिस्सा व्यावसायिक सवारीसाधनको रहेको छ । हायर पर्चेज क्षेत्रमा बैंकिङ क्षेत्रको तुलनामा नियामकीय निगरानी तथा नियन्त्रण कम कडा रहेको छ । कर्जालाई कोषको लागतसँग आबद्ध गर्ने तथा १ प्रतिशत सेवा शुल्क कार्यान्वयन गर्नेलगायतका पछिल्ला नियामकीय सुधारले हायर पर्चेज क्षेत्रलाई नियामकीय दायरामा ल्याए पनि केही नियन्त्रणसम्बन्धी कमजोरी अझै रहेको बताइएको छ । हायर पर्चेज कम्पनीले तुलनात्मक रूपमा जोखिमयुक्त तथा मध्यम क्रेडिट प्रोफाइल भएका ऋणीलाई कर्जा प्रवाह गर्ने भए पनि निष्क्रिय कर्जा पहिचान तथा कर्जा नोक्सानी व्यवस्थासम्बन्धी प्रावधान बैंकिङ क्षेत्रको तुलनामा केही सहज रहेको कम्पनीले जनाएको छ । कम्पनीको कुल खराब कर्जा अनुपात गत आर्थिक वर्षमा ३.२ प्रतिशतमा झरेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो अनुपात करिब ६.४ प्रतिशत थियो । त्यस्तै, ९० दिनभन्दा बढी भुक्तानी अवधि नाघेको कर्जाको हिस्सा पनि करिब ५ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष यस्तो हिस्सा करिब १८ प्रतिशत थियो । कम्पनीको कर्जा नोक्सानी व्यवस्थापन अनुपात पनि बढेर करिब ८७ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात करिब ८१ प्रतिशत थियो । खराब कर्जा घटेसँगै सम्पत्तिको गुणस्तरमा सुधार आएको देखिए पनि आगामी दिनमा नयाँ खराब कर्जा थपिन नदिनु कम्पनीका लागि महत्वपूर्ण रहनेछ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण सापटी पनि बढाएको छ । गत आर्थिक वर्षमा कम्पनीको बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण सापटी ५ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो ऋण सापटी ४ अर्ब रुपैयाँ थियो ।
८ करोड १७ लाख लागतमा नन्दीकेशर सत्तल पुनर्निर्माण हुँदै
काठमाडौं । काठमाडौं महानगरपालिकाले नन्दीकेशर सत्तलको पुनर्निर्माण सुरु गरेको छ । २०७२ सालको भूकम्पपछि जीर्ण बनेर भत्काइएको सत्तल स्थानीयबीचको मतभेदका कारण लामो समयदेखि पुनर्निर्माण हुन सकेको थिएन । स्थानीय विवाद प्रशासनिक तथा न्यायिक प्रक्रियाबाट समाधान भएपछि महानगरपालिकाले पुनर्निर्माणको काम अघि बढाएको हो । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले जग पूजा तथा शिलान्यास गर्दै पुनर्निर्माणको सुरुवात गरेकी हुन् । शिलान्यास कार्यक्रममा कार्यवाहक प्रमुख डंगोलले भत्किएका सम्पदाको पुनर्निर्माण र हराउँदै गएका सांस्कृतिक सम्पदाको संरक्षणलाई प्राथमिकता दिइएको बताइन् । उनले नन्दीकेशर सत्तल काठमाडौंको पहिचानसँग जोडिएको सम्पदा भएको बताइन् । वडाध्यक्ष भरतलाल श्रेष्ठले सत्तलको पुनर्निर्माण सुरु हुनु महत्वपूर्ण उपलब्धि भएको बताए । उनका अनुसार सत्तल पुनर्निर्माणपछि वडाको प्रशासनिक सेवा पनि यहीँबाट सञ्चालन गर्ने तयारी छ । वडा सचिव सर्वज्ञराज पौडेलले निर्माणको काम सुरु भइसकेकाले तोकिएको समयभित्रै सम्पन्न गर्ने लक्ष्य रहेको बताए । निर्माण अवधि २०८५ भदौ ३० गतेसम्म तोकिएको छ । आर्किटेक्ट डिजाइनर इरु श्रेष्ठका अनुसार सत्तल ४४१ दशमलव १४ वर्गमिटर क्षेत्रफलमा निर्माण हुनेछ । दुई तलाको सत्तलको चौडाइ १८ फिट हुनेछ भने दक्षिणतर्फको लम्बाइ १४८ फिट र पश्चिमतर्फ १४७ फिट हुनेछ । प्रत्येक तला ३ हजार ८८१ वर्गफिटको हुनेछ । सत्तल पुनर्निर्माणका लागि ११ करोड ९८ लाख २५ हजार ६३५ रुपैयाँ लागत अनुमान गरिएको थियो । सार्वजनिक खरिद प्रक्रियामार्फत ८ करोड १६ लाख ९१ हजार ७२३ रुपैयाँमा आर.आर.–आर.जी.एस. निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको छ । ऐतिहासिक रूपमा नन्दीकेशर सत्तल श्री ५ सुवर्णप्रभा महारानीले शाके संवत् १७३० मा निर्माण गराएको मानिन्छ । यसको वि.सं. १९९० र २०२८ सालमा जीर्णोद्धार गरिएको थियो । २०७२ सालको भूकम्पले सत्तलमा क्षति पुगेपछि पुनर्निर्माणको प्रक्रिया अघि बढे पनि स्थानीयबीचको मतभेदका कारण रोकिएको थियो । वि.सं. २०३६ सालमा काठमाडौं नगर पञ्चायतले तयार पारेको अभिलेखअनुसार सत्तल चारैतिर समान रूपमा फैलिएको थियो । सत्तलको बीचमा एउटा मन्दिरसमेत रहेको थियो । दक्षिणतर्फको भाग नन्दी रात्री विद्यालयले कक्षा सञ्चालनका लागि प्रयोग गर्दै आएको थियो । पुरानो अभिलेखमा सत्तलको काष्ठकला र प्रस्तरकला महत्वपूर्ण रहेको उल्लेख छ । संरक्षणको अभावमा काठ मक्किएको तथा जस्ता र झिँगटीको छानाबाट पानी चुहिने समस्या रहेको पनि अभिलेखमा उल्लेख गरिएको थियो ।
साताको सेयर बजार : नेप्से १७ अंकले घट्दा कारोबार रकममा भने वृद्धि
काठमाडौं । यस साता नेपाली सेयर बजारमा नेप्से परिसूचक घटेको छ । तीन दिन खुलेको बजारमा नेप्से परिसूचक १७.४१ अंक अर्थात् ०.६६ प्रतिशतले घटेर २ हजार ६२९.८१ विन्दुमा बन्द भएको छ । गत साता नेप्से २ हजार ६४७.२२ विन्दुमा बन्द भएको थियो । यस साता तीनमध्ये दुई कारोबार दिन नेप्से बढेर बन्द भएको थियो भने एक कारोबार दिन घटेर बन्द भएको थियो । यस साता फ्लोट इन्डेक्स २.०६ अंकले घटेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स १.२८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.९६ अंकले घटेका छन् । नेप्से परिसूचक घटे पनि यस साता कारोबार रकम भने बढेको छ । गत साता दैनिक औसत ६ अर्ब १२ करोड रुपैयाँको सेयर कारोबार भएकोमा यस साता दैनिक औसत ६ अर्ब २८ करोड रुपैयाँको कारोबार भएको छ । यो गत साताको तुलनामा २.६५ प्रतिशत बढी हो। त्यस्तै, यस साता दैनिक औसत कारोबार भएको सेयर संख्या २२.९८ प्रतिशतले बढेको छ । दैनिक औसत कारोबार संख्या भने ०.३४ प्रतिशतले बढेको छ । नेप्से परिसूचकसँगै यस साता कुल बजार पूँजीकरण पनि घटेको छ । गत साताको अन्तिम कारोबार दिन ४५ खर्ब ५३ अर्ब रुपैयाँ रहेको कुल बजार पूँजीकरण यस साता २९ अर्ब रुपैयाँले घटेर ४५ खर्ब २३ अर्ब रुपैयाँमा सीमित भएको छ । यो ०.६६ प्रतिशतको गिरावट हो । यस साता कारोबारमा आएका १३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन उपसमूहबाहेक अधिकांश उपसमूहको परिसूचक घटेको छ । एक उपसमूहको परिसूचक स्थिर रहेको छ । उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.१३ प्रतिशतले बढेको छ । गत साता १० हजार ७१२.६६ विन्दुमा रहेको यो उपसमूहको परिसूचक यस साता १२०.७८ अंक बढेर १० हजार ८३३.४४ विन्दुमा पुगेको छ । यस साता जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.६८ प्रतिशतले घटेको छ । गत साता ३ हजार ६६५.०८ विन्दुमा रहेको जलविद्युत उपसमूहको परिसूचक यस साता ६१.६७ अंक घटेर ३ हजार ६०३.४१ विन्दुमा झरेको छ । अंकका आधारमा भने निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १६४.३७ अंकले घटेको छ । यस साता कारोबारमा आएका कम्पनीमध्ये सीवाईसी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक बढेको छ । कम्पनीको सेयरमूल्य ९.४० प्रतिशतले बढेको हो । त्यस्तै, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य करिब ८ प्रतिशत र सोनापुर मिनरल्स एन्ड आयलको सेयरमूल्य करिब साढे ७ प्रतिशतले बढेको छ । यस साता इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक घटेको छ। कम्पनीको सेयरमूल्य १०.८० प्रतिशतले घटेको छ । समग्रमा, यस साता नेप्से परिसूचकमा गिरावट आए पनि दैनिक औसत कारोबार रकम र कारोबार भएको सेयर संख्यामा वृद्धि भएको देखिएको छ ।
सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन चलाउन रोक
काठमाडौं । लगातारको वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेपछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । कैलाली र कञ्चनपुरबाहेक प्रदेशका सबै पहाडी जिल्लामा शनिबार बिहान ७ बजेदेखि आइतबार बिहान ७ बजेसम्म सवारीसाधन चलाउन रोक लगाइएको हो । सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले सूचना जारी गर्दै सम्भावित जोखिमलाई ध्यानमा राखेर सवारीसाधन सञ्चालनमा रोक लगाएका हुन् । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार लगातारको वर्षाका कारण पहाडी क्षेत्रमा बाढी, पहिरो तथा सडक अवरुद्ध हुने जोखिम रहेकाले यस्तो निर्णय गरिएको हो । रोक लगाइएको अवधिमा पहाडी जिल्लामा छोटो तथा लामो दूरीका कुनै पनि सवारीसाधन सञ्चालन गर्न पाइने छैन । तराईका कैलाली र कञ्चनपुरमा भने जोखिम तुलनात्मक रूपमा कम रहेकाले सवारीसाधन सञ्चालन भइरहेका छ न्। ट्राफिक प्रहरीले सूचना थाहा नपाई पहाडतर्फ गइरहेका केही सवारीसाधनलाई कैलालीको खानीडाँडामा रोकेर फर्काइएको जनाएको छ । सुदूरपश्चिमका नौवटै जिल्लामा शुक्रबारदेखि लगातार वर्षा भइरहेको छ । वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढेकाले प्रशासनले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।
नारायणी नदीमा बाढी : सुस्ताबाट २९ जनाको उद्धार
काठमाडौं । अविरल वर्षाका कारण नारायणी नदीमा जलसतह बढ्दा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ सुस्तामा बस्ती डुबानमा परेको छ । डुबानमा परेका २९ जना स्थानीय बासिन्दालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । असोज ९ गते परेको अविरल वर्षापछि नारायणी नदीको बहाव बढेर थारुटोलाका घरमा पानी पसेको थियो । त्यसपछि असोज १० गते बिहान करिब पौने ९ बजे सशस्त्र प्रहरी बल, नेपाल बीओपी सुस्ताबाट उद्धार टोली परिचालन गरिएको थियो । सशस्त्र प्रहरी निरीक्षक मनोज कार्कीको कमाण्डमा २१ जनाको टोली उद्धारमा खटिएको थियो । टोलीले डुबानमा परेका २९ जना स्थानीयलाई सुरक्षित रूपमा उद्धार गरेको हो । मानवीय उद्धारसँगै सशस्त्र प्रहरीले एक गाई र १३ वटा बाख्रालाई समेत सुरक्षित स्थानमा सारेको छ । उद्धार गरिएका स्थानीय बासिन्दा र चौपायालाई सुस्ता गाउँपालिका–५ मा रहेको होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको छ । बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी बलले थप उद्धार तथा सहयोगका कामलाई निरन्तरता दिइरहेको जनाएको छ ।