विकासन्युज

कालीगण्डकीको बाढीले बगायो स्याङ्जा र गुल्मी जोड्ने बेलिब्रिज, यातायात ठप्प

काठमाडौं । कालीगण्डकी नदीमा आएको बाढीले स्याङ्जा र गुल्मी जिल्ला जोड्ने महत्त्वपूर्ण बेलिब्रिज बगाएको छ ।  आइतबार बिहान आएको भीषण बाढीले स्याङ्जाको मिर्मी र गुल्मीको हार्मिचौर जोड्ने पुल बगाएको हो । बगाएको बेलिब्रिज १४४ मेगावाट क्षमताको कालीगण्डकी 'ए' जलविद्युत् आयोजना निर्माणका क्रममा स्थापना गरिएको थियो । आयोजना कालदेखि नै सञ्चालनमा आएको यो पुलले दुई जिल्लाबीचको सहज पहुँच र स्थानीय बासिन्दाको दैनिक यातायातमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको थियो । बाढीले पुल बगाएपछि स्याङ्जा र गुल्मीबीचको सिधा यातायात सम्पर्क विच्छेद भएको छ । जसका कारण स्थानीय बासिन्दा तथा आवतजावत गर्ने यात्रुहरू समस्यामा परेका छन् ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

काठमाडौं  । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । कार्यालयका एक प्रहरी कर्मचारीले उनलाई राती पक्राउ गरेर ल्याइएको जानकारी दिए । उनलाई गएराति घरबाट पक्राउ गरिएको कार्यालयले जनाएको छ । किन पक्राउ गरिएको भनेर कार्यालयले खुलाएको  छैन । चोलेन्द्र शमशेर २०७५ पुसमा प्रधानन्यायाधीश भएका थिए ।

धाप बाँध पूर्ण रूपमा सुरक्षित, ३५ प्रतिशत पानी सुरक्षित रूपमा निकासा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गोकर्णेश्वर नगरपालिका १, शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप बाँध (ड्याम) सुरक्षित रहेको जनाएको छ ।  मन्त्रालय मातहतको सिँचाइ विभागअन्तर्गत पर्ने नागमती तथा धाप बाँध आयोजनाले शनिबार विज्ञप्ति जारी गरी काठमाडौं उपत्यकाको सुख्खायामको पानीको आवश्यकता पूर्ति गर्न निर्मित धाप बाँध र यसको मुख्य संरचना हालसम्म पूर्ण रूपमा सुरक्षित रहेको जनाएको हो ।  भारी वर्षापछि धाप बाँधको अवस्थाबारे प्रश्न उठेपछि नागमती तथा धाप बाँध आयोजनाले अवस्था स्पष्ट पारेको हो ।  आयोजनाले बाँध क्षेत्रमा केही दिनअघि देखिएको जोखिम पनि पूर्ण रूपमा हटेको वस्तुस्थितिकै भिडिओ पनि सार्वजनिक गरेको छ ।  आयोजनाका अनुसार निरन्तरको मनसुनजन्य वर्षाका कारण जलाशय तथा आसपासका क्षेत्रमा पानीको बहाव बढेपछि प्राविधिक टोलीले बाँधको अवस्था, जलसतह तथा पानीको आवगमन माथि नियमित निगरानी गरिरहेको छ । गत भदौ २४ गते साँझ स्याडल ड्याम-१ नजिकै सडक किनारामा पहिरो गएपछि सुरक्षात्मक कदम छिटो चालिएको थियो ।  आयोजनाका अनुसार सोही दिन साँझदेखि आउटफ्लोमार्फत करिब ४०० लिटर प्रतिसेकेन्ड पानी निरन्तर बाहिर पठाइएको छ ।  जसका कारण जलाशयको जलसतह २.३८ मिटरले घटेर हाल २०८४.८० मिटरमा आएको छ भने कुल सञ्चित पानीको करिब ३५ प्रतिशत हिस्सा सुरक्षित रूपमा निकासा भइसकेको छ । आयोजनाकाअनुसार धाप बाँधको सामान्य जलसतह २०८७.१४ मिटर रहेको छ। यदि आगामी दिनमा भारी वर्षा भई जलसतह यो बिन्दुभन्दा माथि पुगेमा अतिरिक्त पानी स्पिलवे बाट स्वतः बाहिर जाने प्राविधिक व्यवस्था मिलाइएको छ । हाल वर्षाको मात्रा घट्दै गएकाले बाँधमा भित्रिने पानीको मात्रा पनि कम हुँदै जाने अनुमान गरिएको छ ।आयोजनाले पहिरो प्रभावित क्षेत्रमा आवश्यक पानी निकास, तटबन्ध तथा आपत्कालीन व्यवस्थापनका कार्यहरू द्रुत गतिमा अघि बढाएको छ ।  बाँधको सुरक्षा र प्राविधिक मूल्याङ्कन निरन्तर भइरहेकाले कुनै अप्रिय जोखिम नरहेको र सर्वसाधारणलाई अनावश्यक त्रास नमान्न तथा आधिकारिक सूचनामा मात्र विश्वास गर्न आयोजनाले अनुरोध गरेको छ ।

एमालेले आफूविरूद्ध गाली गर्नेलाई दियो चेतावनी

काठमाडौं । नेकपा एमालेले आफ्नो विरोध गर्नेहरूको कमेन्ट फोटो र व्यक्तिको सामाजिक सञ्जाल प्रोफाइल सार्वजनिक गरेको छ ।  एमालेले आफ्नो विरूद्ध भ्रामक प्रचार गर्नेहरूको डिजिटल निगरानी बढाएको जनाएको छ । शनिबार बेलुकी कम्युनिष्ट पार्टी अफ नेपाल युएमल नामको फेसबुक पोष्टबाट उक्त भिडियो प्रकाशन गरिएको छ ।  एमालेले अप्रेसन ऐनामार्फत भ्रम फैलाउने,गाली गलौज गर्ने र प्रोपोगन्डाविरूद्धको डिजिटल निगरानी बढाएको जनाएको छ । आफ्नो दलविरूद्ध गलत तथा भ्रामक प्रचारप्रसार गर्नेहरूको एमालेले सामाजिक सञ्जालमार्फत प्रोफाइल सार्वजनिक गर्न थालेको छ । एमालेले अप्रेसन ऐना तपाइले लेखेको र समाजले देखेको भन्दै पोष्ट र्सार्वजनिक गरिएको छ ।  पोष्टमा भिडियोसहितको आवाजमा एमालेविरूद्ध भ्रम वा दुष्प्रचार गर्नेलाई चेतावनी दिएको छ । सभ्य बनौ र सभ्य समाज बनाउन एमालेले आग्रह गरेको छ ।  एमालेविरूद्ध भ्रामक प्रचारप्रसार गर्नेहरूको भिडियो तथा कमेन्टमु पोष्ट परिवारसमक्ष पुर्याउन अनुरोध गरेको छ । सामाजिक सञ्जालमा कुनै पनि व्यक्तिको फोटो सार्वजनिक गर्न पाइन्छ या पाइदैन भन्ने प्रश्नमा साइबर ब्यूरोका प्रवक्ता दिलिप गिरीले कानुन कसैले हातमा लिन नपाइने बताए।  कमेन्टमा गाली वा बेइज्जत गरेको जस्तो लागेमा प्रहरीकहाँ उजुरी दिनुपर्ने उनले बताए ।

रवि, ओली, प्रचण्ड र हर्क साम्पाङलाई कांग्रेसले दियो निम्तो

काठमाडौं । यही महिना हुने नेपाली कांग्रेसको १५औं महाधिवेशनमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरिएको छ । उद्घाटन समारोहमा उपस्थिति हुनका निम्ति उनीहरूलाई निमन्त्रणा गरिएको कांग्रेसले जनाएको छ । कांग्रेस महाधिवेशन यही असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने तय छ । ‘नेपाली कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका सभापतिरअध्यक्षज्यूहरूलाई पार्टीको तर्फबाट विशिष्ट आतिथ्यताका लागि निमन्त्रणा गरिएको छ,’ कांग्रेसले भनेको छ । कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा उपस्थित हुन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) लाई निमन्त्रणा गरिएको छ । यस्तै, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ, जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादव, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत नेतालाई निमन्त्रणा गरिएको कांग्रेसले जनाएको छ ।   ‘राजधानीको खुलामञ्चमा असोज १६ गते अपराह्न २ः०० बजे उहाँहरूको उपस्थिति र महत्त्वपूर्ण  प्रस्तुतिका लागि न्यानो स्वागत गर्न हामी प्रतीक्षारत रहनेछौं,’ कांग्रेसले भनेको छ ।

भारी वर्षापछि देशका ११ मुख्य सडक खण्ड अवरुद्ध

काठमाडौं । अविरल वर्षा र पहिरोका कारण देशका प्रमुख राष्ट्रिय राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन् । सडक विभागले शनिबार (१० गते बेलुका ८ः०० बजे) जारी गरेको अद्यावधिक विवरण अनुसार अवरुद्ध सडकहरू खुलाउन तथा यातायात सुचारु गराउन विभिन्न स्थानमा मेशिन तथा जनशक्ति परिचालन गरी प्रयास भइरहेको छ । विभागका अनुसार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत भाइरल डाँडा र धानखोला नजिक पहिरो जाँदा सडक अवरुद्ध भएको छ र पहिरो पन्छाउन मेशिन परिचालन गरि सकिएको छ ।  यस्तै, पृथ्वी राजमार्गको कृष्णभीर, चौकीभीर, जवाङ खोला, फिस्लिङ, बाँगे, चालिसे लगायतका स्थानमा पहिरो हटाई केही समय एकतर्फी रूपमा फसेका सवारी साधन र एम्बुलेन्स पास गराइए पनि रातिको समयमा हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै राति यातायात पूर्ण रूपमा बन्द गरिएको छ । बिपी राजमार्गको माम्ती, पिप्ले, दाउन्ने, कालोपुल, चारसयबेँसी, कटुन्जे, चौकीडाँडा लगायतका स्थानमा डाइभर्सन बगेकाले मर्मत कार्य भइरहेको छ । थप क्षति नभएमा भोलि साँझसम्म सञ्चालनमा ल्याउन सकिने आकलन गरिएको छ ।  उता कान्ति राजमार्गको चपली र तकुर्च लगायत अवरुद्ध सम्पूर्ण खण्डको पहिरो हटाई आज बिहानदेखि नै यातायात सञ्चालनमा ल्याइएको छ । मध्यपहाडी राजमार्ग अन्तर्गत घोडाबाँधे-हटिया खण्डको नरेठाँटी, काफलठुटा, झाँक्रीस्थान, चौराहा लगायतका ठाउँमा पहिरो र ढलेका रुख हटाई एकतर्फी यातायात सञ्चालन गरिएको छ भने अन्य अवरुद्ध खण्डमा मेशिन परिचालन गरी कार्य जारी राखिएको छ ।  कालीगण्डकी करिडोरको जैमिनीनगरपालिका-८, बेलबगर लगायतका स्थानमा स्थानीय यातायातका लागि एकतर्फी खुला गरिए पनि लामो दूरीका सवारीलाई अनुमति दिइएको छैन । तमोर करिडोर (मुलघाट-फिदिएम) अन्तर्गत छरुवा खोला, नावा खोला र रानीगाउँमा खोलाको बहाव उच्च रहेकाले यातायात सञ्चालन हुन सकेको छैन । बहाव कम हुनासाथ सडक खुलाउन मेशिनहरू ‘स्ट्यान्डबाई’ राखिएको छ । यस्तै, राप्ती राजमार्गको कपुरकोट–खारखोला खण्ड अवरुद्ध रहेकाले पहिरो हटाउने काम भइरहेको छ । कर्णाली राजमार्गको गगने खोला, राँका क्षेत्र, बाङ्गेसिमल-दहीखोला तथा हारे नजिकमा साना–ठूला पहिरो पन्छाउने कार्य जारी छ । हारे नजिक ठूला ढुङ्गा हटाउन लोडरसहितको टोली परिचालन गरिएको छ । भालुवाङ–चकचके–लिवाङ सडकका विभिन्न स्थानमा आंशिक अवरोध रहेकाले साना सवारीसाधन सावधानीपूर्वक आवतजावत गरिरहेका छन् ।  यसैगरी, बेसीसहर-चामे सडक अन्तर्गत मनाङको नासो गाउँपालिका स्थित खोत्रोमा निरन्तर वर्षा र ढुङ्गा खसिरहेकाले पहिरो पन्छाउन कठिनाइ भइरहेको छ ।  जलविद्युत् आयोजनाहरूसँग समन्वय गरी ठूला उपकरणहरू तयारी अवस्थामा राखिएको सडक विभागले जनाएको छ । सडक सम्बन्धी थप अद्यावधिक विवरण विभागको वेबसाइटमा उपलब्ध छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले एआइआइबीको वार्षिक बैठकमा भाग लिन कतार प्रस्थान

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले एसियाली पूर्वाधार विकास बैंक (एआइआइबी) को सञ्चालक समितिको ११औं वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै  शनिबार साँझ कतारको राजधानी दोहातर्फ प्रस्थान गरेका हुन् ।  अर्थमन्त्री डा. वाग्ले कतार एयरवेजको नियमित उडानमार्फत साँझ ७ः०० बजे दोहातर्फ प्रस्थान गरे । उनीसँगै अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख सहसचिव अमृत लम्साल पनि प्रतिनिधिमण्डलमा रहेका छन् ।  एआइआइबीको ११औं वार्षिक बैठकका क्रममा अर्थमन्त्री डा. वाग्लेले बैंकको बोर्ड अफ गभर्नर्सको सत्रमा सम्बोधन गर्नेछन् ।  सो क्रममा उनले नेपालको पूर्वाधार विकास, जलवायु अनुकूलन, नवीकरणीय ऊर्जा, विपद्पछिको पुनर्निर्माण तथा आर्थिक वृद्धिका प्राथमिकताहरूमा बहुपक्षीय सहयोग र लगानी परिचालनबारे छलफल गर्ने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा मन्त्रीले एआइआइबीका अध्यक्षका साथै भारत, बंगलादेश, कतार र मालदिभ्सका अर्थमन्त्रीहरूसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्नेछन् ।  वार्षिक बैठक तथा निर्धारित द्विपक्षीय संवादहरू सम्पन्न गरी प्रतिनिधिमण्डल आगामी असोज १४ गते (बुधबार) स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

सफ्टवेयर कम्पनी खोल्दै एनसीएचएल, सेयरधनीलाई १५.७८ प्रतिशत लाभांश

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले बैंक तथा वित्तीय संस्थाका लागि आवश्यक प्रविधि तथा सफ्टवेयर विकास गर्ने उद्देश्यले छुट्टै सहायक कम्पनी स्थापना गर्ने तयारी गरेको छ । कम्पनीको सञ्चालक समितिको असोज ७ गते बसेको बैठकले बैंकिङ, वित्तीय तथा भुक्तानीसम्बन्धी प्रविधिमा अनुसन्धान, प्रणाली तथा सफ्टवेयर विकास, जडानलगायतका कार्य गर्न सहायक वा सम्बद्ध कम्पनीका रूपमा छुट्टै पब्लिक लिमिटेड कम्पनी स्थापना गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । यसका लागि सञ्चालक समितिलाई आवश्यक स्वीकृति तथा प्रक्रिया अघि बढाउने अख्तियारी प्रदान गर्ने प्रस्ताव आगामी १५औँ वार्षिक साधारण सभामा पेस हुँदैछ । एनसीएचएलका अनुसार बैंक तथा वित्तीय संस्थाहरूले विभिन्न सफ्टवेयर विदेशबाट आयात गर्नुका साथै छुट्टाछुट्टै कम्पनीमार्फत विकास गराउँदा ठूलो रकम खर्च हुने गरेको छ । सोही बमोजिम सबै बैंक तथा वित्तीय संस्थाका लागि साझा (कमन) सफ्टवेयर विकास गर्न सकिने अवधारणा सहित सहायक कम्पनी स्थापनाको प्रक्रिया अघि बढाइएको हो । कम्पनीका अनुसार हाल सहायक कम्पनीले कुन-कुन क्षेत्रमा काम गर्ने वा यसको संरचना कस्तो हुने भन्ने विस्तृत खाका भने तयार भइसकेको छैन । आवश्यकताअनुसार भविष्यमा छुट्टै कम्पनी स्थापना गर्ने उद्देश्यले साधारण सभाबाट प्रस्ताव पारित गरी सञ्चालक समितिलाई अधिकार दिन लागिएको हो ।  एनसीएचएलले अहिले पनि बैंक तथा वित्तीय संस्थाहरूलाई आवश्यक पर्ने प्रविधि तथा सफ्टवेयर विकासमा काम गर्दै आएको छ । साथै विभिन्न प्रणालीबीच अन्तरसम्बन्ध कायम गर्न आवश्यक प्रणाली समेत विकास गर्दै आएको कम्पनीले जनाएको छ । साथै एनसीएचएलले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट चुक्ता पुँजीको १५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिले चुक्ता पुँजीको १५ प्रतिशतका दरले २१ करोड ८७ लाख ७६ हजार रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशतका दरले १ करोड १५ लाख १४ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले आगामी असोज २८ गते बिहान साढे १० बजे काठमाडौंको दरबारमार्गस्थित होटल याक एन्ड यतिमा १५औँ वार्षिक साधारण सभा बोलाएको छ । सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने तथा लेखापरीक्षण प्रतिवेदनसहित २०८३ असार मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब र नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव रहेको छ । त्यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ । कम्पनीले प्रस्तावित बोनस सेयर बराबर चुक्ता पुँजी वृद्धि गर्न प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि साधारण सभामा पेस गर्ने भएको छ । नियमनकारी निकायबाट प्रस्तावित संशोधनमा कुनै फेरबदल वा सुझाव आएमा आवश्यक संशोधन गर्न सञ्चालक समिति वा समितिले तोकेको पदाधिकारीलाई अधिकार दिने प्रस्तावसमेत रहेको छ । नेपाल राष्ट्र बैंकको नेतृत्वमा २०६५ पुस ८ गते स्थापना भएको एनसीएचएलमा वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरूको सेयर स्वामित्व रहेको छ । एनसीएचएलले बैंक तथा वित्तीय संस्थाको कार्यक्षमता र उत्पादकत्व वृद्धि गर्नुका साथै ग्राहकलाई प्रविधिमा आधारित नवीन वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले विभिन्न भुक्तानीसम्बन्धी सेवा सञ्चालन गर्दै आएको छ । कम्पनीले विद्युतीय चेक फछ्र्योट, अन्तरबैंक भुक्तानी प्रणाली, खुद्रा भुक्तानी सञ्जाल, कनेक्ट आईपीएस, कर्पोरेटपे, कनेक्ट आरटीजीएस, राष्ट्रिय भुक्तानी अन्तरसम्बन्ध, नेपालपे क्यूआर, राष्ट्रिय कार्ड सञ्जाल तथा नेपालपे कार्डलगायतका सेवा सञ्चालन गर्दै आएको छ । राष्ट्र बैंकको स्वीकृति तथा निर्देशनअनुसार एनसीएचएलले राष्ट्रिय भुक्तानी सञ्जालसम्बन्धी परियोजनासमेत कार्यान्वयन गरिरहेको छ । परियोजनाको पहिलो चरणअन्तर्गत खुद्रा भुक्तानी सञ्जाल सञ्चालनमा ल्याइएको छ, जसले कार्डबाहेकका विद्युतीय कारोबारलाई विभिन्न भुक्तानी प्रणालीबीच अन्तरसम्बन्ध कायम गरी कारोबारको मार्गनिर्देशन तथा फछ्र्योट गर्न सहयोग पुर्याउँछ । परियोजनाको दोस्रो चरणअन्तर्गत कार्डमा आधारित कारोबारलाई विभिन्न प्रणालीबीच अन्तरसम्बन्ध कायम गर्ने उद्देश्यले अन्तरसम्बन्धित कार्ड सञ्जाल तथा नेपालको घरेलु कार्ड प्रणाली कार्यान्वयन गरिएको छ । खुद्रा भुक्तानी सञ्जाल र राष्ट्रिय कार्ड सञ्जाल दुवै सञ्चालनमा आइसकेका छन् । बैंक तथा वित्तीय संस्थाहरू एनसीएचएलका विभिन्न प्रणालीमा सहभागी सदस्यका रूपमा आबद्ध छन् । उनीहरूले आफ्ना ग्राहकका भुक्तानी कारोबार तथा फछ्र्योटसम्बन्धी कार्यको जिम्मेवारी वहन गर्छन् । बैंकबाहेकका संस्थाहरू भने प्रत्यक्ष वा प्राविधिक सदस्यका रूपमा आबद्ध भई एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीमार्फत सम्बन्धित बैंकको माध्यमबाट आफ्ना भुक्तानी कारोबार सञ्चालन गर्दै आएका छन् ।