नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको निर्णय
काठमाडाैं । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नेता नैनसिंह महरलाई महामन्त्री पदको उम्मेदवारका रूपमा अघि बढाउने निर्णय डडेल्धुरा कांग्रेसले सर्वसम्मत रूपमा गरेको छ । डडेल्धुरा कांग्रेसको अधिवेशनबाट पारित निर्णयमार्फत १५औं महाधिवेशनमा देश तथा विदेशबाट सहभागी हुने सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई महरको पक्षमा उभिन अपिलसमेत गरिएको छ । अधिवेशनबाट पारित अपिलमा महरलाई कांग्रेसको इतिहासको सम्मान गर्दै भविष्यको जिम्मेवारी बहन गर्न सक्ने नेतृत्वका रूपमा प्रस्तुत गरिएको छ । महरले अघि सारेको कांग्रेसलाई ‘इभेन्ट–ड्रिभन’ नभई ‘नलेज–ड्रिभन’ र ‘नेसन–सेन्ट्रिक’ पार्टी बनाउने अवधारणालाई डडेल्धुरा कांग्रेसले आफ्नो निर्णयको प्रमुख आधार बनाएको छ । संगठन, नीति र कार्यान्वयनबीचको दूरी घटाउँदै कांग्रेसलाई केवल ‘कन्भेन्टर सेन्टर’ नभई ‘पर्फर्मेन्स सेन्टर’का रूपमा विकास गर्नुपर्ने महरको अवधारणा आजको कांग्रेसको संस्थागत आवश्यकतासँग जोडिएको निर्णयमा उल्लेख छ । डडेल्धुरा कांग्रेसले महरको उम्मेदवारीलाई कुनै व्यक्ति वा समूह विशेषको पक्षमा मात्र सीमित नभई कांग्रेसको संगठनात्मक रूपान्तरणसँग जोडिएको राजनीतिक प्रस्तावका रूपमा व्याख्या गरेको छ । ज्ञानमा आधारित राजनीति, पारदर्शिता, जवाफदेहिता, पुस्तान्तरण तथा राष्ट्रिय हितकेन्द्रित राजनीतिक संस्कार निर्माणलाई महरको नेतृत्व अवधारणाका प्रमुख आधारका रूपमा प्रस्तुत गरिएको छ । महरलाई महामन्त्री पदमा अघि बढाउने निर्णयसँगै डडेल्धुरा कांग्रेसले १५औं महाधिवेशनमा सहभागी हुने देश तथा विदेशका महाधिवेशन प्रतिनिधिसँग समर्थनका लागि औपचारिक अपिल गरेको छ । अधिवेशनबाट पारित निर्णयले महरको उम्मेदवारीलाई डडेल्धुराबाट सुरु भएको पहलका रूपमा अघि बढाउँदै यसलाई १५औं महाधिवेशनसम्म पु‍र्याउन देश तथा विदेशका सम्पूर्ण महाधिवेशन प्रतिनिधिको साथ, समर्थन र अमूल्य मतको अपेक्षा गरेको छ । डडेल्धुरा कांग्रेसको यो सर्वसम्मत निर्णयले महरको महामन्त्री उम्मेदवारीलाई जिल्लास्तरीय समर्थनको विषयबाट अघि बढाउँदै १५औं महाधिवेशनमा देशभरका महाधिवेशन प्रतिनिधिसमक्ष प्रस्तुत गर्ने राजनीतिक आधारसमेत तयार गरेको छ ।
बर्सेनि डुबानको मारमा पोखराको रामघाट
काठमाडौं । पर्यटकीय नगरी पोखराको मुटु मानिने रामघाट क्षेत्र बर्सेनि डुबानको चपेटामा पर्ने गरेको छ । ठूलो र निरन्तर वर्षा भएसँगै निकासको मार्ग साँघुरो हुँदा यो क्षेत्र क्षणभरमै कृत्रिम तालमा परिणत हुने गर्दछ, जसले गर्दा सुन्दर हिमालको दृश्यसँगै स्थानीय बासिन्दाले डुबानको सास्ती भोग्दै आएका छन् । पोखराको बीचमा रहेको रामघाट क्षेत्र प्राकृतिक रूपमा अत्यन्त सुन्दर र आकर्षक छ । विशेषगरी सफा मौसममा यहाँबाट देखिने हिमश्रृंखलाको दृश्यले पर्यटक र स्थानीय दुवैलाई लोभ्याउने गर्दछ । तर यही क्षेत्र बर्सेनि बाढीको कारण जलमग्न हुनु यहाँको पुरानो समस्या बनेको छ । प्राविधिकहरूका अनुसार यस क्षेत्रमा पानीको निकासका लागि बनाइएको तल्लो भागको मुख अत्यन्त साँघुरो छ । भारी वर्षासँगै खोला वा ढलमा आउने बाढीले गर्दा पानीको बहाव थुनिन पुग्छ र सोही स्थानमा ठूलो तालको स्वरूप धारण गर्दछ । पानीको निकास सहज नहुँदा केही समयमै रामघाटको अधिकांश भूभाग डुबानमा पर्छ । स्थानीयवासीहरूका अनुसार यो समस्या लामो समयदेखि चल्दै आएको छ । यद्यपि सम्बन्धित निकायले जल निकासको संरचनालाई व्यवस्थित गर्नेतर्फ ठोस कदम नचाल्दा डुबानको जोखिम बढ्दो छ । डुबानका कारण स्थानीय पूर्वाधारमा क्षति पुग्नुका साथै जनजीवनसमेत प्रभावित हुने गरेको छ । बढ्दो सहरीकरण र व्यवस्थित ढल निकास प्रणालीको अभावले गर्दा यो समस्या थप जटिल बन्दै गएको छ ।
समयमै प्रिमियम नतिर्ने बीमितको संख्यामा सुधार, रकम भने बढ्यो
काठमाडौं । जीवन बीमा क्षेत्रमा व्यतित (ल्याप्स) बीमालेखको संख्यामा सुधार देखिएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिबिम्बअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को साउन मसान्तसम्ममा व्यतित बीमालेखको संख्या १० लाख २५ हजार ५४८ रहेको छ । अघिल्लो आवको यही अवधिमा व्यतित बीमालेखको संख्या १२ लाख २९ हजार ४४६ रहेको थियो । अघिल्लो आवको तुलनामा व्यतित बीमालेखको संख्या१६.५८ प्रतिशतले घटेको छ । व्यतित बीमालेखअन्तर्गतको रकम भने बढेको छ । २०८२ को श्रावण मसान्तसम्म व्यतित बीमालेखको रकम ३ खर्ब ७३ अर्ब ९८ करोड २८ लाख ६ हजार रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा बढेर ३ खर्ब ९१ अर्ब ४६ करोड ४४ लाख ७० हजार रुपैयाँ पुगेको छ । यसअनुसार एक वर्षमा व्यतित बीमालेखको रकम १७ अर्ब ४८ करोड १६ लाख ४ हजार रुपैयाँले बढेको छ । एक वर्षको अवधिमा व्यतित बीमालेख रकम ४.६७ प्रतिशतले वृद्धि भएको देखिन्छ । पोलिसी सरेण्डर गर्ने बीमितको संख्यामा पनि सुधार चालु आवको साउनमा बीमा लेख समर्पण अर्थात पोलिसी सरेण्डरको संख्यामा पनि सुधार आएको छ । प्राधिकरणको तथ्यांकअनुसार चालु आवको साउनमा अवधि पूरा नहुँदै पोलिसी त्याग्नेको बीमितको संख्या ७ हजार ४११ रहेको छ । जुन गत आवको यही अवधिको तुलनामा ३.३३ प्रतिशतले कमी देखिएको छ । गत आवको यही अवधिमा पोलिसी समर्पण गर्नेको संख्या ७ हजार ६६६ थियो । संख्यामा कमी आए पनि समर्पण रकम भने ५.०७ प्रतिशतले बढेको छ। तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन मसान्तसम्म ७ हजार ४११ वटा बीमालेख समर्पणबापत बीमा कम्पनीहरूले १ अर्ब ३० करोड ८३ लाख रुपैयाँ बीमितलाई भुक्तानी गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा ७ हजार ६६६ वटा बीमालेख समर्पणबापत १ अर्ब २४ करोड ५१ लाख रुपैयाँ बाहिरिएको थियो । तथ्यांकअनुसार समर्पणबापत भुक्तानी भएको रकम ६ करोड ३२ लाख रुपैयाँले बढेको छ ।
पाल्पा र नवलपरासीमा सबैभन्दा धेरै वर्षा, भोलिदेखि मौसममा सुधार आउने
काठमाडौं– देशका विभिन्न भागमा भएको भारी वर्षा आज रातिदेखि कम हुँदै भोलि (सोमबार) देखि मौसममा उल्लेख्य सुधार आउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। पछिल्लो २४ घण्टामा बागमती प्रदेशको मकवानपुर र चितवन, गण्डकी प्रदेशको म्याग्दी, स्याङ्जा, तनहुँ र नवलपरासी पूर्व तथा लुम्बिनी प्रदेशको पाल्पा र नवलपरासी पश्चिमका केही स्थानमा १५० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ । यसैगरी, कास्की, लमजुङ, बागलुङ, पर्वत, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची र सर्लाही लगायतका जिल्लाहरूमा १०० मिलिमिटरभन्दा बढी वर्षा भएको विभागले जनाएको छ। हाल उक्त मौसमी प्रणाली बिस्तारै कमजोर बन्दै गएको भए पनि आज दिउँसो देशका पहाडी तथा तराईका केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै रहेको छ । मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा आज दिउँसो पनि भारी वर्षा हुन सक्ने विभागले जनाएको छ । निरन्तरको वर्षाका कारण जमिन गलिसकेको, नदी तथा खोलाहरूमा जलसतह बढेको र पहिरोको जोखिम उच्च रहेकाले विभागले प्रभावित मध्य भूभागहरूमा उच्च सतर्कता अपनाउन सतर्कता जारी गरेको छ । आज रातिदेखि भने मौसममा निकै सुधार आउने र भारी वर्षाको सम्भावना नरहेको मौसमविद् अधिकारीले जानकारी दिए । रातिको समयमा कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा अन्य प्रदेशका थोरै स्थानमा मात्र मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ । त्यसैगरी, भोलि सोमबारदेखि देशभर नै मौसम सफा हुँदै जानेछ । विभागले भोलिका लागि देशभर नै कुनै मौसमी जोखिम नरहेको जनाउँदै ‘हरियो’ सङ्केत जारी गरेको छ । सोमबारदेखि तराई क्षेत्रमा घाम लाग्ने र पहाडी भूभागमा आंशिक बदली रही मौसम सामान्य बन्दै जाने भएकाले सर्वसाधारणले आफ्ना दैनिक कामकाज सहज रूपमा सञ्चालन गर्न सक्ने विभागले जनाएको छ । विभागका अनुसार भारतको उत्तर प्रदेश आसपासमा रहेको न्यूनचापीय प्रणाली र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले नेपालका विभिन्न भूभागमा भारी वर्षा गराएको हो ।
पूर्वप्रधानन्यायाधीश जबरालाई धम्की दिनेलाई खोज्न प्रहरी तैनाथ
काठमाडौं । नेपाल प्रहरीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई डिस्कोर्डमा सुरक्षाको थ्रेट दिने व्यक्तिको खोजी सुरू गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले राणालाई सुरक्षाको थ्रेट दिने व्यक्ति तथा समूहको खोजी भइरहेको जनाएको छ । राणाले आफूलाई असुरक्षित महसुस भएको भन्दै प्रहरीलाई खबर गरेको कार्यालयका प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए । सूचना प्राप्त भएपछि प्रहरीले उनलाई लगत्तै सुरक्षित स्थानमा लगेर राखेको उनको भनाइ छ । ‘डिस्कोर्डमा राणालाई धम्की दिनेको व्यक्तिको खोजी भइरहेको छ,’ उनले विकासन्युजसँग भने, ‘प्रहरीले त्यस्ता समूहको तीव्रताको साथ खोजी तथा अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ ।’ कार्यालयले जबरालाई कुनै कानुनी कारबाहीका लागि नभई सुरक्षाका कारण सुरक्षित स्थानमा राखिएको स्पष्ट पारेको छ । ‘राणाको घरमा हाल सुरक्षाकर्मी तैनाथ गरिएको छ,’ कार्यालयका प्रमुख सन्तोष खडकाले भने,’ उहाँलाई मात्र थ्रेट आएको छ । परिवारलाई सुरक्षाको कुनै खतरा छैन ।’ प्रहरीले उनलाई निवासबाट १२ बजे उद्धार गरेको उनको भनाइ छ । प्रहरीले सुरक्षाको थ्रेट भएकाले उद्धार गरिएको उनले उल्लेख गरे । डिस्कोर्डमा पहिलेदेखि उनीविरुद्ध सुरक्षा थ्रेटको चेतावनी आइरहेको उनले बताए । ‘हामीलाई विशेष सूचना प्राप्त भएकाले समयमा सचेत भएर सुरक्षित स्थानमा लगिएको छ,’ उनले भने ।
पर्वतमा बाढीले ३० घर बगायो, बस्ती अझै जोखिममा
काठमाडौं । अविरल वर्षाका कारण पर्वत जिल्लामा मात्रै ३० घर बगाएको छ । पर्वत जिल्ला हुँदै बग्ने कालीगण्डकी नदीमा आएको बाढीले जलजला गाउँपालिका–८ हर्षेका २८ घर बगाएको सहायक जिल्ला अधिकारी गणेशप्रसाद पौडेलले विकासज्युजलाई जानकारी दिए । ‘जलजला गाउँपालिका–८ का २८ घर बगे । यता कुश्मा नगरपालिका–१ मा रहेको माझी बस्तीमा पनि बाढीले २ घर बगाएको छ,’ उनले भने । बस्तीमा बाढीको जोखिम कायमै रहेकाले उनीहरूलाई सुरक्षित स्थानमा सारिएको सहायक जिल्ला अधिकारी पौडेलले जानकारी दिए । यस्तै, महाशिला गाउँपालिका–२ लुङ्खु कुशुनडाडामा पनि २ घर र २ गोठ पहिरोले पु्रिएर क्षतिग्रस्त बनेका छन् । ‘मानविय क्षति भएको छैन । कुशुनडाडामा २ घर २ गोठ पहिरोले पुर्यो । यता जलजला गाउँपालिका ७ टाङमाङको बस्ती पनि पहिरोको उच्च जोखिममा छ,’ उनले भने ।
कोशीको बाढीले सिंगो बस्ती डुब्यो
काठमाडाैं । सप्तकोशी नदीमा आएको बाढी तटीय बस्तीमा पसेपछि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका करिब पाँच सय घरपरिवार प्रभावित भएका छन् । नदीको बहाव बढेसँगै नगरपालिकाका कोशी तटीय क्षेत्रका चार वडाका बस्तीमा पानी पसेको हो । नगरप्रमुख वीरेन्द्र माझीका अनुसार वडा नम्बर ५, ७, १२ र १३ बाढीबाट बढी प्रभावित भएका छन् । कोशी नदीको बीच भागमा रहेको वडा नम्बर १३ को गोबरगाढा बस्ती भने पूर्ण रूपमा डुबानमा परेको उनले जानकारी दिए । बाढी बस्तीमा पसेपछि घर, आँगन तथा आसपासका क्षेत्रमा पानी जमेको छ । प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारेर अग्लो ठाउँमा पाल टाँगेर राखिएको नगरपालिकाले जनाएको छ । घरभित्र पानी पसेपछि खाना पकाउनसमेत समस्या भएपछि नगरपालिकाले शनिबारदेखि प्रभावितका लागि निःशुल्क सामूहिक भोजनको व्यवस्था गरेको छ । नगरप्रमुख माझीका अनुसार शनिबार मात्रै करिब एक हजार जनाले सामूहिक भोजनबाट खाना खाएका थिए । प्रभावितको अवस्था हेरेर आइतबार पनि उक्त व्यवस्था निरन्तरता दिइएको उनले बताए । बाढीका कारण वडा नम्बर ७ र १२ मा दुई-दुई परिवारका घर भत्किएका छन् । घरमा क्षति पुगेपछि ती परिवारलाई सुरक्षित स्थानमा सारिएको नगरपालिकाले जनाएको छ । सप्तरीकै तिलाठी कोइलाडी गाउँपालिका-५ मा पनि सप्तकोशीको बाढी पसेको छ । जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार त्यहाँ करिब १५ घरपरिवार प्रभावित भएका छन् । उनीहरू हाल छिमेकीको घरमा आश्रय लिएर बसेका छन् ।
अविरल वर्षापछि ४८३ मेगावाट विद्युत् अवरुद्ध
काठमाडौं । अविरल वर्षा, हावाहुरी, बाढीपहिरो र चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युत् प्रसारण तथा वितरणका संरचनामा क्षति पुगेको छ । संरचनामा क्षति पुग्दा केही स्थानमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । नदीखोलामा आएको बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको उत्पादन समेत प्रभावित भएको छ । बाढीका कारण १४० मेगावाटको कालीगण्डकी, २५ मेगावाटको माथिल्लो मादी, ४४ मेगावाटको सुपर मादी, २० मेगावाटको नामार्जुन मादी, ४० मेगावाटको सेती नदी, २५ मेगावाटको अपर दोर्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी, ७० मेगावाटको मध्यमर्स्याङ्दी, ६९ मेगावाटको मर्स्याङ्दी, मोदीलगायत आयोजनाको विद्युत् उत्पादन बन्द भएको छ । कालीगण्डकी करिडोर २२० केभी प्रसारणलाइनअन्तर्गत म्याग्दीको दानादेखि पर्वतको कुश्मासम्मको खण्डमा टावर नम्बर २१ र २२ मा क्षति पुगेको छ । यस्तै, कालीगण्डकी करिडोरअन्तर्गत कुश्मा-नयाँ बुटवलखण्डको प्रसारणलाइनमा समेत ‘फल्ट’ आएको छ । यसका कारण करिडोर प्रसारणलाइनमा जोडिएका करिब २०० मेगावाट विद्युत् उत्पादन प्रभावित भएको छ । बाढीपहिरोका कारण २२० केभी, १३२ केभी, ३३ केभी र ११ केभीका प्रसारण तथा वितरण संरचनामा समेत क्षति पुगेको छ । क्षतिको प्रारम्भिक विवरण संकलन, विद्युत् आपूर्ति अवरोध भएका क्षेत्रको पहिचान, वैकल्पिक माध्यमबाट आपूर्ति सञ्चालन तथा क्षतिग्रस्त संरचनाको तत्काल मर्मतका निम्ति प्राविधिक तथा मर्मत टोलीहरू विभिन्न प्रभावित क्षेत्रमा परिचालन गरिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले बताए । विद्युत् आपूर्ति अवरुद्ध भएका स्थानमा सम्भव भएसम्म वैकल्पिक फिडर तथा अरू उपलब्ध प्रसारण वितरण संरचनामार्फत यो सुचारु गर्ने व्यवस्था मिलाइएको श्रेष्ठले उल्लेख गरे । क्षतिग्रस्त संरचनाको अवस्था मूल्यांकन गरी आवश्यक उपकरण, सामग्री र जनशक्ति परिचालन गरेर विद्युत् आपूर्ति क्रमशः पुनर्स्थापना गर्ने कार्य भइरहेको छ । कार्यकारी निर्देशक श्रेष्ठले प्राकृतिक विपद्का कारण संरचनामा क्षति पुगे पनि उपभोक्तालाई विद्युत् आपूर्ति यथाशीघ्र सुचारु गर्न प्राधिकरणले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताए । भारी वर्षा, बाढीपहिरो र अवरुद्ध सडकका कारण कतिपय प्रभावित क्षेत्रमा प्राविधिक टोली पुग्न कठिनाइ भइरहेको उनको भनाइ छ । सडक तथा पहुँचमार्ग खुल्नेबित्तिकै थप प्राविधिक टोली र आवश्यक उपकरण परिचालन गरी क्षतिग्रस्त संरचनाको मर्मत तथा विद्युत् आपूर्ति पुनर्स्थापनाको काम तीव्र बनाइने उनले बताए । विपद्को अवस्थामा उपभोक्तालाई संयमित रहन तथा क्षतिग्रस्त विद्युत् संरचना, ढलेका तार वा पोलनजिक नजान प्राधिकरणले आग्रह गरेको छ ।